विकृति त्यागौं, संस्कृति नछाडौं


कमला रेग्मी भट्टराई

 

वर्तमान अवस्थालाई हेर्दा जनतामा विगतका राजनीतिक दमनबाट माथि उठेर आफ्ना हक र अधिकारका लागि लड्ने बौद्धिकताको स्तर वृद्धि भएको महसुस हुन्छ । विकेन्द्रित सोचमा नारीको सहभागिताका आवाजलाई चाहेर वा नचाहेर अलिकति दबाबका कारण पनि ध्यान दिइएका सकारात्मकता छन्, तर भनाइ र गराइमा असमानता नभएका होइनन् । घरको गर्जो टार्ने ध्याउन्नमा रातोदिन भुलिरहँदा अन्य कुनै पनि संसारसँग नातो नजोड्ने समाजले थोरै भए पनि देश, समाज या त विश्वप्रविधिप्रति चासो राख्दै गएको पाइन्छ । बिहानदेखि बेलुकैसम्म घाँस दाउरा, वस्तुभाउ, घरखेतलाई मात्र आफ्नो संसार ठान्ने ग्रामीण दूरदराजका नेपालीहरूले समेत् राजनीतिक गफमा चासो दिन थालेका छन् । अलिकति आफ्नो हक, अधिकार या त स्वामित्वका भावमा सचेत बन्नुपर्छ भन्ने बौद्धिकता जागेको सत्य हो । समाजले नवीन पुस्तालाई शिक्षाको विकासतिर डटेर लम्काउँदै लैजानु, आफ्नो कर्मशीलतामा चासो बढ्नु देशका लागि महान् उपलब्धि बन्दै गएका हुन् । यसरी समाजतिर नियाल्दा आत्म निर्भरताका लागि लड्न नचाहने युवाशक्ति पक्कै नहोला । मानिस केही न केही त गर्न चाहन्छ, हात बाँधेर बसीखाने सोचमा नेपाली युवाशक्ति चुपचाप बस्न चाहँदैन नै । यसैकारण अन्तिम अवसरको आधार परदेशका भूमिमा जीवनलाई दाउमा राखेर, परिवारको ममतालाई आँसुको भेलमा मुछेर भए पनि पाखुरीको पाइन पोखिरहन्छ । वैदेशिक रोजगारीमा गएका ती शक्तिले बौद्धिकताको स्तरवृद्धिमा दिएको योगदान झनै उच्च स्तरको छ– प्रविधिबाट, पैसाको लगानीबाट या त देखेर, भोगेर, सिकेको अनुभवकै कारणबाट पनि ।
परिवर्तित नेपाली समाजमा चेतनाको स्तरवृद्धि हुनुका कारणलाई खोज्दै जाँदा २००७ को प्रजातन्त्र प्राप्तिसम्मका विषय जोडिन्छन् । पञ्चायती व्यवस्थाले जनतामा अधिकारलाई कुण्ठित गरेको इतिहाससँग हक र अधिकारको लडाइँ भएकै हो । तत्पश्चात् २०३६ हुँदै २०४६ को बहुदलीय व्यवस्था, माओवादीको क्रान्तिपछि ०६२÷०६३ को आन्दोलन, संविधानमा सङ्घीयताका कुराले स्थान पाएका राजनीतिक पक्षले चेतनाको विकासमा साँच्चै ठूलो भूमिका खेलेछ । जनतामा स्वतन्त्रता, मुक्ति, स्वाधीनताका विचार जाग्न थाले । नारी सशक्तीकरणको इतिहास धेरै लामो नभएर विश्वमा बीसौँ शताब्दीको उत्तरार्धतिर मात्र विकसित बन्न पुग्यो । तातो इतिहासलाई केलाउँदा १० वर्षे जनयुद्धले निम्त्याएका तिक्ततालाई एकछिन बिर्सने हो भने ग्रामीण समाज, अल्पसङ्ख्यक वर्ग, जातिगत पहिचानका मुद्दालाई उकास्ने सोचलाई विकसित तुल्याएको हो भन्दा फरक नपर्ला ।
जनतामा चेतना अभिवृद्धि कसरी भइरहेको छ भन्ने पक्षलाई मिहिन रूपबाट केलाउने नै हो भने त्यसमा सामाजिक सञ्जालको विकास, विशेषतः मोबाइल र इन्टरनेट नै दह्रो माध्यम हो । आजको समाज प्राविधिक यान्त्रिक विकाससँग अवश्य हातेमालो गर्दै अघि बढ्न चाहन्छ । यसरी हेर्दा बौद्धिकतालाई तीव्र गतिमा दौडाउने कार्य सञ्चारको विकाससँगै भएको हो । स्थानीय स्तरमा रेडियो, टेलिभिजन, पत्रपत्रिकाजस्ता स्रोतसाधनको विकास हुनु, अनलाइन पत्रिकाको तीव्र विकास हुनुले मूल रूपमा जनतामा चेतनाको स्तर बढिरहेको बुझिन्छ । मुलुकमा प्रगतिका पानालाई राजनीतिक क्रान्ति र आन्दोलनसँग मात्र हेर्ने हो भने त्यो अधुरो र अपूरो हुने कुरा अबका दिनले निर्धारण गर्दै जालान् । आज देशले परिवर्तनका विभिन्न रूपमा गर्व गर्न पाएको केही उपलब्धिमूलक इतिहासमा यस्ता प्रशस्तै आधारले आपैmँ पनि भूमिका खेलिरहेकै हुनाले कसैले उपलब्धिको पुन्तुरोलाई आफ्नो कम्मरमा बाँधेर धेरै गर्व गर्नुपर्ने होइन ।
परिवर्तनलाई झ्वाट्ट स्वीकार गर्न नसक्ने स्थिति नेपाली समाजमा हुनु नौलो विषय होइन । बालबच्चामा प्राविधिक ज्ञानसँग मितेरी गाँस्ने क्षमता जति छ त्योभन्दा अघिल्लो पुस्ताले त्यसरी ग्रहण गरिरहेको हुँदैन । कम्प्युटर, मोबाइल, ल्यापटपमा भित्र पसेर सिक्ने, जान्ने, बुझ्ने क्षमता बालबच्चामा बढी रहेको पाइन्छ । हजुरबालाई नाति नातिनाले मोबाइल नम्बर भण्डारण गरिदिन्छन्, गीत भरिदिन्छन् या त अन्य त्यसका प्राविधिक तरिका खोजेर पढ्ने क्षमता उनीहरूले आपूmमा राखेको पाइन्छ । यसरी हेर्दा बालबच्चा समेत परिवर्तनका कारक हुन् । मूलतः प्राविधिक विकास अङ्ग्रेजी भाषाबाटै हुनुले पनि यो विषयमा नयाँ पुस्ता अघि बढेको हो । अतः भोलिका भविष्य निर्मातामा यस्ता खाले ज्ञान हुनु गर्वको कुरा हो । आजको जगत्ले सेवा र सुविधाका अद्यावधिक प्रविधिलाई समात्न सक्नुपर्छ नै । यस्ता नवीन सोचले चेतनाका फराकिला भावना विकसित बन्दै गएको भान हुन्छ । फलस्वरूप सोच र विचारको दायरा बढ्दै गएको पाइन्छ । कैयौँ सामाजिक अन्धविश्वासलाई चिर्दै जाँदा समावेशी समाजलाई हुर्काउने बाटो खुलाएको पाइन्छ । समाजले एकपछि अर्को पुस्तामा गएर मात्र परिवर्तन गर्ने गरेको सचेतनामा झ्वाट्ट परिवर्तन ल्याउने खुबी यदि कसैमा छ भने त्यो एउटा प्राविधिक शक्तिबाटै सम्भव भएको पाइन्छ ।
तथापि, ग्रामीण भेगतिर वर्तमान सन्दर्भमा पार्टीगत खेमामा विभाजित मनका कारण एकतामा कालो बादल मडारिनु पक्कै दुःखद् विषय बन्न पुग्छ । चेतनाको अभिवृद्धि हुँदै गर्दा नेपालीपनको चोखो एकता र सहयोगी भावमा असर पर्न थालेका विडम्बना पनि आजभोलि देख्नु नपरेको भने छैन । नेपाली मानवीय भावनामा पद, प्रतिष्ठा र पैसाको स्वार्थी आचरणले धमिल्याउनु हुन्न भन्ने पक्षमा आज अर्को सचेतनाको खाँचो बढेको महसुस हुन थालेको छ । जनतामा चेतनाको वृद्धिसँगै अमानवीय पक्षले डेरा जमाउँदा स्वार्थी प्रवृत्ति, असहयोगी विचार, असामाजिकता बढ्न पुग्छन् । यसमा सबैभन्दा ठूलो दोष राजनीतिक विचारले सिकाएको स्वार्थी भावना, विभेदकारी व्यवहार अनि फरकताको महसुस गराउने प्रवृत्ति हो । मानिस व्यस्त बन्दा असहयोगी बन्दै जाने भन्ने विषय भने व्यक्तिगत आचरणमा निर्भर हुँदो रहेछ तर एउटा समूहले अर्को समूहलाई टेढो नजरले हेर्ने भावना विकसित बन्नु समाजका लागि विषाक्त व्यवहार हुन् ।
जिउँदाको जन्ती र मर्दाको मलामी भएर बाँच्न सिकेका नेपालीले सबैको चुह्लो बाल्नमा हात पैmलाएका हुन्छन्, चाडबाडमा सघाएका हुन्छन्, सबै भावना भुलेर विकासका बाटामा जुटेका हुन्छन् । अतः समाजलाई विभेदकारी सोचको डोरीले बाँध्न दिनुहुँदैन । मानिस समाजसँग हुर्कन, बढ्न अनि रम्न चाहने प्राणी हो तर विभेदसँग चेतना वृद्धिभित्रको असचेतनाको ज्वालाले नातो गाँस्छ । हाम्रो सहयोगी भावना, सामाजिक एकताको संस्कृतिमा राजनीतिक विचारले आक्रमण गर्न नदिने चेतना वृद्धिका लागि अबको बौद्धिक वर्गले सजगता अपनाउनु आवश्यक छ । समाजले प्रविधि जानोस्, विकृति तोडोस् तर संस्कृति नछोडोस् । यही सांस्कृतिक एकताको चेतना वृद्धि हुँदा शान्ति र समृद्धिका बाटा फराकिला भएका हुन् । पाश्चात्य मुलुकमा सम्पन्नता छ तर एकता नभएकैले मानिस भौतिक सम्पन्नताको एउटा सपनामा लीन बन्न पुग्दा त्रासदी संसारमा बाँचेको छ । आत्मघाती प्रहार हुन्छ, युद्धजन्य आक्रामक व्यवहारले डेरा जमाएको हुन्छ । अमानवीय निर्दोष व्यक्तिमा नरसंहारबाट रगत होली खेलिरहिएको छ । विकासको उच्च स्तरमा रहेर दाम र नाम भए पनि आराम नहुँदा मानिसमा जिउनुको अर्थ नरहेको हीनताबोधले असहजता जमाउँछ ।
प्राविधिक सञ्जालको आवश्यकताले मानिसमा अभावका भावना जागृत नभएका होइनन् । मानसिक अशान्तितिर समाजलाई यसले डो¥याउन पुगेको देखिन्छ । मानिस एकोहोरो मोबाइलमा, ल्यापटपमा या त प्राविधिक क्षेत्रमै भुल्ने बानीका कारण सामाजिक आचरणको मूल्य बिर्सेका तीता पक्ष छन् भने विकृत र अश्लील चरित्र मौलाएका चर्का पीडा छन् । अर्को पक्ष हाम्रा आदरवादी आचरण, अनुशासित व्यवहार, आत्मा आलोचनागत आचरणमा भने नैतिक ज्ञानको पक्ष केही हदमा कमजोर बनेको आभाष नभएको होइन । चेतनामा विज्ञानले सहजता, सरलता दिन्छ, श्रम, समय र सम्पत्तिको बचत गर्छ । मानिसलाई सुलभतासँग आराम पनि दिएकै हुन्छ । यसर्थ फाइदागत चेतनासँग नेपालीले यी विषयमा आफ्नोपना भुल्नुपर्ने विवशता जोडिनु आवश्यक छैन । तर, यसको अर्थ विकासको वायुमार्गमा अवरोध गर्ने भन्ने अवश्य होइन बरु सन्तुलित विकासमा अघि बढ्ने नै हो । नेपालीत्व भावमा विज्ञान र समाजको सदाचार जोडिएमा हाम्रो सहयोगी भावना, मानवीय सेवाभाव, आँसु–हाँसोको साटासाट गर्ने कति सुन्दर चालचलनले बिलाउनु पर्दैन । यसर्थ सुनको पलङले सजिएको महल भन्दा झुप्रोमा खुसीले अस्तित्व जमाएका सत्य हाम्रा आफ्नापना हुन्, नेपालीका पहिचान हुन् ।

 

प्रकाशित मिति: २०७४/८/१२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना