बहसमा प्रजातान्त्रिक समाजवाद

dhundi raj sastriढुण्डिराज शास्त्री

 


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल बढेको छ । केन्द्रीय नेताहरू चुनावी दौडाहामा व्यस्त हुनुहुन्छ । निर्वाचन आयोगले दिनै पिच्छे आचारसंहिता उल्लङ्घन भएको गुनासो गर्दै आएको छ । पहिलो चरणको निर्वाचन सकिएको छ र दोस्रो चरणको निर्वाचन प्रतीक्षा भइरहेको छ । चुनाव जतिजति नजिकिँदै छ उतिउति नेताहरू मर्यादा भुल्दै जान थालेको पाइएको छ । उग्र, चर्का र झण्डै अराजकशैलीका मन्तव्य छापामा पढ्दा भय लाग्छ । प्रजातान्त्रिक तथा संसदीय पद्धतिमा हुने आवधिक निर्वाचनमा पार्टीका नीति र कार्यक्रम मुद्दा हुने गर्दछन् । तर अहिले त्यो नभएर कम्युनिस्ट पार्टीका केन्द्रीयस्तरका नेताहरू आठ दश वर्ष लगाएर बनाएको संविधानमा व्यवस्था नभएको शासन पद्धति नै फेर्ने, सरकारले संवैधानिक रूपमा ल्याएका स्वास्थ्य, शिक्षालगायतका सुधारात्मक कार्यक्रम फिर्ता गर्ने अहंकारपूर्ण डरलाग्दा अभिव्यक्ति दिन थालेका छन् । अहिलेको कम्युनिस्ट गठबन्धनले सय वर्ष अघिको रुसी कालरात्रिको सपना देख्न थालेको भान हुन्छ । यसले समस्त प्रजातन्त्रप्रेमीको मनमा शंका उत्पन्न गराएको छ ।
हाम्रो संस्कारमा चेतनालाई बुद्ध मानिएको छ । प्रत्येक मानिसको आत्मा दीपवत् प्रकाशित बनोस् भन्ने सन्देश दिएको छ– ‘आत्मा दीपो भवः’ । यही सन्देश र भावलाई बीपीले अभाव र दबाबमुक्त समाजको निर्माण भन्नुभएको छ । अभाव र दबाब मुक्त समाज नै प्रजातान्त्रिक समाजवाद हो । अभाव र दबाबविहीन समाजको परिकल्पनालाई बीपीले आफ्नो राजनीतिक विचारमा समेट्नु भएको देखिन्छ । उहाँको मान्यताको प्रजातान्तिक समाज अभाव र दबाबमुक्त हुन्छ । नेपाली काङ्ग्रेसको २०१२ सालमा सम्पन्न वीरगन्ज महाधिवेशनले सर्वसम्मतिबाट प्रजातान्त्रिक समाजवादलाई नेपाली काङ्ग्रेसको सिद्धान्त र उद्देश्यको रूपमा स्थापित गरेको हो । प्रजातान्त्रिक समाजवाद प्रकृतिमा आधारित जीवन रक्षा र विकासको प्रमुख आधार हो । सम्पूर्ण मानव मात्र नभई सबै प्राणीको जन्मजात गुणलाई यो सिद्धान्तले आत्मसात् गरेको छ भन्दा अत्युक्ति हुने छैन ।
बीपी, सुवर्ण शमशेर, गणेशमानजस्ता महापुरुषको नेतृत्वमा यही उद्देश्य प्राप्तिका निम्ति २००७ सालमा जनक्रान्ति भएको थियो । प्रजातन्त्र स्थापनापछि २०१६ सालमा बीपी कोइरालाको नेतृत्वमा गठित सरकारले अभाव र दबाबमुक्त प्रजातान्त्रिक समाजवादी समाज निर्माण गरी देशलाई समुन्नत बनाउने खँदिला पाइला चालेको सर्वविदितै छ । सत्र सालको सैन्य ‘कू’ ले नेताहरूको जीवनमा यी कार्य अगाडि बढाउन दिएन जसको फलस्वरूप जनमुखी कार्यक्रम ठप्प भए । फलतः प्रजातान्त्रिक समाजवादी समाज निर्माणका कार्य रोकिँदा जनतामा व्यापक असन्तुष्टि आयो । जनचाहनालाई आत्मसात् गरी सुवर्णसमशेरको नेतृत्वमा २०१८ सालमा सशस्त्र सङ्घर्ष सुरु भयो । यसमा तमाम देशभक्त जनवादी योद्धा मारिए । कतिपयलाई लामो अवधिसम्म जेलमा सजाय दिइयो । प्रजातन्त्रको स्थापनाका लागि सङ्घर्ष गर्दागर्दै बाँचेकाहरू जीवनभर लडे । प्रजातन्त्रको पुनःस्थापनाका लागि नयाँ पुस्ताको उत्साहप्रद सहभागिता बढ्दै गयो । २०४६ सालमा गणेशमानजीको नेतृत्वमा जनआन्दोलनमार्फत प्रजातन्त्रको पुनःस्थापना भयो ।
तीस वर्षको अनवरत सङ्घर्षको प्रतीकात्मक जनआन्दोलनद्वारा संसदीय प्रणालीको पुनःस्थापना भयो । तत्कालीन सन्त नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सुझबुझ र कौशलताका कारण अल्पसमयमा अनुकूल वातावरण सिर्जना गर्न सक्दा समय सुहाउँदो संविधान नेपाल अधिराज्यको संविधान २०४७ निर्माण भइ जारी पनि हुनसक्यो । नेतृत्वले देशको परिस्थिति र जनभावना बुझेको स्थितिमा संविधान जारी भएको छोटो समयभित्र महानिर्वाचन सम्पन्न भएको थियो । सबै इच्छा, भावना र अन्तरदृष्टि परिलक्षित भएको लक्ष्य प्राप्तिमा आम जनताको एकताबद्ध अठोटको पहिचान दिएको त्यो संविधान उत्कृष्ट मानिएको थियो ।
बत्तीस वर्षपछिको निर्वाचनमा नेपाली काङ्ग्रेसले पूर्णबहुमत हासिल ग¥यो । नवगठित सरकारले नयाँ ढंगले कार्यक्रमको कार्य शुभारम्भ गरेको पनि हो तर समय बित्दै जाँदा बीपी, सुवर्ण र गणेशमानले निर्दिष्ट गर्नुभएको उपयुक्त र सही बाटो भुल्दै जाँदा लक्ष्यबाट टाढिने क्रम सुरु भयो । प्रजातान्त्रिक समाजवादी बाटो भुलेपछि गन्तव्य अल्मलिने नै भयो । सिद्धान्त, नीति र आदर्श एकातिर नेताहरूको चालचलन र गतिविधि अर्कोतिर तानियो जसले गर्दा विडम्बनापूर्ण स्थितिको सिर्जना भयो । आजको संकटपूर्ण अवस्था हामी सबैले देखेकै छौँ, भोगका छौँ । नेपाली काङ्ग्रेसको सिद्धान्त, आदर्श र नेताहरूको त्याग, तपस्या र बलिदानप्रति आमनेपाली जनता सम्मान गर्दछन् । नेपाली काङ्ग्रेसका अनुरागीको संख्या ठूलो छ । राजा र विभिन्न तानावाना बुनेर पञ्चायत प्रवेशी कम्युनिस्टको प्रताडना भोग्दै आएका जनसाधारणको आस्था र भरोसाको केन्द्र भनेकै नेपाली काङ्ग्रेस हो । विभिन्न सङ्घ, संस्था र गैरसरकारी संस्थाको अध्ययनमा पनि नेपाली काङ्ग्रेसप्रति आस्थावान जनमत बहुमतमा भएको देखिएको प्रतिवेदन आएका छन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पद संख्यामा दोस्रो भए पनि लोकप्रिय मतमा काङ्ग्रेस नै अग्रणी रहेको यथार्थले स्वयंमा काङ्ग्रेसको बहुमत भएको प्रमाणित हुन्छ । दुर्भाग्य केन्द्रीय नेतृत्वले सही ढंगले परिचालन गर्न नसक्दा पार्टीभित्रै अलमल देखिएको छ । यस्तो अलमलको असर प्रमुख प्रत्यक्षतः आमजनतामा पनि पर्ने नै भयो । त्यही अलमल काङ्ग्रेसको निम्ति चुनौती बन्दै आएको छ । केन्द्रीय नेतृत्वले नेपाली काङ्ग्रेसको आदर्श र सिद्धान्तलाई बिर्सेर जथाभावी गर्दै जाँदा पाटीभित्र ठूलो संख्याका कार्यकर्तामा एकताको भावना जागृत हुन सकेको छैन जसले गर्दा नेपाली काङ्ग्रेस विपतमा पर्न सक्ने संकट देखिएको छ । अलमलले सबैलाई डुबाउँछ । सबै डुब्नु भनेको प्रजातन्त्र र काङ्ग्रेस डुब्नु हो । काङ्ग्रेस र प्रजातन्त्र डुब्दा नेपालको स्वाधीनता डुब्न पुग्दछ ।
सिद्धान्त र नीतिहरू ओझेलमा पार्ने यस पटकको चुनाव प्रचार अतिरञ्जित बन्दै गएको छ । कम्युनिस्ट गठबन्धनका नेताहरू साम्यवाद स्थापित गर्ने अहंकारपूर्ण कोलाहल गर्दै छन् । पचास वर्ष काङ्ग्रेसले टाउको उठाउन नसक्ने हुङ्कारका साथ दश वर्षभित्र साम्यवाद स्थापित गर्ने सनसनीपूर्ण चुनौती दिएर देशलाई कुबाटोमा धकेल्ने धृष्टता कम्युनिस्ट नेतृत्वबाट हुँदैछ । हामीहरू यस्ता अनर्गल प्रलापको पछि नलागेर कम्युनिस्ट गठबन्धनले दोहो¥याउने गरेको जनवाद र प्रजातान्त्रिक समूहले भन्ने गरेको प्रजातान्त्रिक समाजवादबारे बुझ्न र जनतामा बुझाउन जरुरी भएको छ ।
अहिले कम्युनिस्ट गठबन्धनले चर्चा गर्ने गरेको जनवाद मूलतः माक्र्सवादी सोच हो । प्रजातान्त्रिक समाजवादजस्तै माक्र्सको सोचको जनवाद पनि अभाव र दबाबमुक्त व्यक्ति भएको समाज निर्माण गर्नु हो । मानव समाज विकासको इतिहासलाई हेर्ने हो भने जंगली युगदेखि अभाव र दबाबमुक्त जीवनयापनका लागि सङ्घर्ष गर्दै आएको देखिन्छ । जंगलीयुगबाट कृषि युगमा आउनु पनि अभाव र दबाबमुक्त जीवनका लागि नै हो । मानव समाजको विकासको क्रममा ग्रामीण राज्य, नगर राज्य आदिको विकास हुँदै गयो र कालान्तरमा थोरै मान्छेले धेरै मान्छेको अभाव र दबाब सिर्जना गर्ने अवस्था सिर्जना भयो । यसैलाई चिर्नका लागि प्रजातान्त्रिक समाजवादले युक्त समाजको परिकल्पना गरिएको हो । यसरी हेर्दा माक्र्सको सोचको जनवाद र प्रजातान्त्रिक समाजबीच ताìिवक अन्तर देखिन्न । तर जनवादको नाउँमा सर्वप्रथम रुसमा लेनीन र स्टालीनले प्रयोगमा ल्याउन त खोजेका थिए । यसरी प्रयोगमा ल्याउँदा उनले त्यहाँ जनवादको ढाड भाँचेर केन्द्रीय सर्वसत्ताको थालनी गरेका थिए । जननिर्वाचित संविधानसभा बन्दुकको भरमा बर्खास्त गरी आफै हैकम चलाउन थाले । माक्र्सको सोचको अभाव र दबाबमुक्त जनवादी समाज निर्माणको त कुरा परै जाओस्, रुसी जनता चरम दबाब र अभावले तड्पिए । माक्र्सवादको लागि भनेर सङ्घर्ष गरेका नेताहरू जेल पु¥याइए, कतिलाई फाँसी दिइयो भने कतिपयलाई साइबेरियाको श्रम शिविरमा पठाइयो त्यसबाट भाग्न सक्नेहरू विस्थापित भए ।
यदि कम्युनिस्टले साँच्चै नै देशमा समाजवाद लागू गर्न खोजेको भए सबै समाजवादीलाई आह्वान गरेर अगाडि बढ्न सक्दथे । नेपाली काङ्ग्रेस प्रजातान्त्रिक समाजवादका लागि नै क्रियाशील पार्टी हो । देशमा प्रजातान्त्रिक समाजवादको स्थापनाका लागि नेपाली जनताले नेपाली काङ्ग्रेसलाई साथ दिएका हुन् र दिइरहेका छन् । साँच्चै नै देशमा समाजवादी व्यवस्था लागू गर्ने सोच कम्युनिस्टमा हुन्थ्यो भने प्रजातान्त्रिक समाजवादलाई आफ्नो लक्ष्य बनाएको पार्टीलाई वर्ग शत्रुको रूपमा राख्ने थिएनन् । नेपाली काङ्ग्रेस कहिल्यै पनि सर्वसत्तावादी र अधिनायकवादी हुन सक्दैन त्यसैले नै नेपालका कम्युनिस्टले नेपाली काङ्ग्रेसलाई वर्ग शत्रुको रूपमा राखेका हुन् । रुसमा समाजवाद स्थापनाको नाममा कम्युनिस्ट अधिनायकवाद स्थापना गरे जस्तै यथार्थमा नेपालका कम्युनिस्टले पनि यस्तै शासन गर्न खोजेको शंका छ ।
प्रजातान्त्रिक समाजवादको सिद्धान्त मानिसको जन्मजात गुण प्रवृत्तिको मौलिक शाश्वत मान्यतामा आधारित छ । यसको अभावमा विभिन्न व्यवस्था र अवस्थाको कारण विश्व आज बाटो नपाएर निकास नभेटेका आतंकवादतर्फ बढिरहेको छ । बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा एउटाले जित्ने र अरुले हार्ने क्रम चलिरहन्छ । कम्युनिस्ट पार्टीले जित्दछन् भन्ने प्रजातन्त्रवादीलाई डर होइन यहाँ उनीहरूले जस्तो क्रियाकलाप गरे र गर्न गइरहेका छन् त्यसले स्वतन्त्रता खतरामा पर्ने आशंका उब्जिएको छ ।
लेखक : पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका पाका नेता हुनुहुन्छ ।

प्रकाशित मिति: २०७४/८/१२

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना