‘पम्प स्टोरेज’लाई अध्ययन अनुमति

लक्ष्मीप्रसाद उपाध्याय

begnashकाठमाडौँ, मङ्सिर १३ गते ।  सरकारले पहिलो पटक नेपाल विद्युत् प्राधिकरणलाई पम्प स्टोरेज जलविद्युत् आयोजना अध्ययनका लागि अनुमतिपत्र प्रदान गरेको छ ।  नेपालको विद्युत् विकासको इतिहासमा पम्प स्टोरेज जलविद्युत् आयोजनाको पहिलो पटक अध्ययन हुन थालेको हो ।  
तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरणसँग मिलेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नेपालका पम्प स्टोरेज आयोजनाको सम्भाव्यता बारे बृहत् अध्ययन गरेको थियो ।  सरकारले थप विस्तृत अध्ययनका लागि प्राधिकरणलाई अनुमति दिएपछि जाइकाको प्राविधिक टोली कास्कीको रुपा र बेगनास तालको पानीलाई पम्प स्टोरेज आयोजनाको अध्ययन गर्न नेपाल आएको छ ।  प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार रुपा र बेगनासको पानीको अवस्था, तालको माथिल्लो क्षेत्रमा जलाशय निर्माणको सम्भाव्यता, रातिको समयमा माथिल्लो तहमा निर्माण गरिएको जलाशयमा पठाउनका लागि बिजुलीको पर्याप्तता, बिजुलीको मागलगायतका विषयमा सो टोलीले अध्ययन गर्नेछ ।  
पम्प स्टोरेज आयोजनामा ताल वा जलाशयमा भएको पानीलाई रातिको समयमा माथिल्लो तहमा निर्माण गरिएको जलाशयमा जम्मा गरी त्यसको पानी खसालेर तल्लो क्षेत्रमा बिजुलीको माग बढी भएको समयमा बिजुली उत्पादन गरिन्छ ।  यो प्रविधिबाट बिजुली उत्पादन गर्दा बिजुली कम खपत हुने गर्छ ।  त्यस्तै रातिको समयमा तल्लो क्षेत्रमा रहेको जलाशयको पानीलाई बिजुलीको सहायताले पम्पबाट माथिल्लो क्षेत्रमा फालेर बढी बिजुली आवश्यक भएको समयमा त्यही पानीको प्रयोग गरेर बिजुली उत्पादन गर्ने गरिन्छ ।  यो प्रविधि जापानले धेरै प्रयोग गरेकाले जाइकासँग मिलेर नेपाल विद्युत् प्राधिकरणले यो आयोजनाको सम्भाव्यता अध्ययन गर्न थालेको हो ।  प्राधिकरणका प्रवक्ता अधिकारीले भन्नुभयो, बिजुली उत्पादनका सबै विकल्पलाई प्राधिकरणले प्रयोग गर्ने सोचका साथ यो प्रविधिको आयोजनालाई पनि प्राथमिकताका साथ अघि बढाउन थालेको छ ।  चाँडो भन्दा चाँडो विस्तृत अध्ययनको काम सकेर निर्माण गर्न सम्भव देखिएमा प्राधिकरणले आवश्यक कामको थालनी गर्नेछ ।
संसारका अरू मुलुकले जलाशययुक्त जलविद्युत् आयोजनाको पानी पम्प गरेर माथिल्लो क्षेत्रमा अर्काे जलाशय निर्माण गरी त्यहाँबाट पुनः बिजुली निकाल्ने प्रविधिको विकास गरिसकेका छन् ।  नेपालमा हाल जलाशययुक्त आयोजनामा कुलेखानी पहिलो र दोस्रो तथा आँधीखोला जलविद्युत् आयोजना रहेका छन् ।  जाइकाले यी क्षेत्रमा पनि यसअघि प्रारम्भिक अध्ययन गरेको प्राधिकरणले जनाएको छ ।  यसअघिका प्रारम्भिक अध्ययनले कास्कीको यी दुवै तालको पानी प्रयोग गरेर बिजुली निकाल्न सकिने देखाएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना