पहिलो चरण निर्वाचनको सन्देश


nuhuchchhe narayanन्हुंछेनारायण श्रेष्ठ


अन्ततः नेपालको संविधान २०७२ मा व्यवस्था भएबमोजिम नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुने प्रणालीअन्तर्गत ६ प्रदेशका हिमाली र उच्च पहाडी भेगका ३२ जिल्लामा निर्धारित मिति मङ्सिर १० मै छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।  ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २८२ र ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा ४२० गरी जम्मा ७२० जना विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धा थिए ।  उक्त मतदानमा निर्वाचन आयोगले ६५ प्रतिशत मत खसेको जनाएको छ र उक्त निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाता सहभागी भएको समाचार आएको छ ।  हिमाली भेग र उच्च पहाडी भेगहरूमा हिमपातको अत्यधिक सम्भावना हुँदाहुँदै पनि उल्लेख्य रूपमा मतदाता स्वःस्र्फूत रूपमा निर्वाचनमा आफूले रोजेको उम्मेदवारलाई जिताउनका लागि मतदानमा सहभागी भएका थिए ।  निर्वाचनकै क्रममा विभिन्न स्थानमा भौगोलिक विकटता, मौसमी प्रतिकूलता र निर्वाचन बिथोल्ने तथा आतङ्कित पार्ने कार्यहरूका बाबजुद ऐतिहासिक निर्वाचन सफल भएको छ ।  अझै भन्नुपर्दा यो निर्वाचन शान्तिपूर्ण रूपमा मानवीय क्षति, बुथ कब्जा, ठूला झडप नहुँदै सकिएको छ ।  मुलुक सङ्घीय संरचनामा रूपान्तरित भएपछि पहिलोपटक भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन पहिलो चरणमा सम्पन्न भएको छ र दोस्रो चरणको निर्वाचन भयरहित, शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने थप जिम्मेवार नेपाल सरकारको काँधमा पुगेको छ ।  नेपाल सरकारले पहिलो चरणको मतदानबाट पाठ सिक्दै शान्ति सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिँदै सुरक्षा व्यवस्था चुस्त बनाउँदै मजबुद बनाउनुपर्ने आवश्यकता रहेको छ, त्यस्तैगरी निर्वाचनमा गर्भवती, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिहरूलाई सहज ढङ्गले मतदान गराउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको छ ।  पहिलो चरणको निर्वाचनमा सोलुखुम्बुको तिङ्लावासीले निर्वाचनमा सहभागी नहुनुबाहेक अन्य क्षेत्रहरूमा उत्साहपूर्वक मतदाताहरू सहभागी भएका थिए ।  निर्धारित मितिमा नेपाल सरकारले निर्वाचन गराउँछ कि गराउँदैन भन्ने आशङ्का बढिरहेकै बेला पहिलो चरणको निर्वाचन ऐतिहासिक रूपमा सफल भएको छ ।  नेपाल सरकार अब दोस्रो चरणको निर्वाचन सम्पन्न गराउनका लागि लाग्नुपर्ने बेला आएको छ ।  दोस्रो चरणको निर्वाचनपछि नेपालले ऐतिहासिक रूपमा राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै मुलुक आर्थिक समृद्धितिर अग्रसर हुने कुरामा आमनागरिकहरू ढुक्क रहेका छन् ।  
पहिलो चरणको निर्वाचनपश्चात् नेपाल सरकारले मतपेटिकाहरूलाई सुरक्षित राखी एघार दिनपछि मतगणना गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ ।  निर्वाचनमा जित वा हार कुनै एक पक्षको अवश्य हुन्छ तापनि निर्वाचन आमनागरिकहरूले आफ्नो जनप्रतिनिधि छान्ने सुनौलो अवसर हो ।  लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा गरिएको निर्वाचन सबैलाई स्वीकार्य हुनुपर्छ ।  नेपाल सरकारले सबै दलहरूलाई निर्वाचनमा सहभागी गराउने प्रयास यसअघि नगरेको होइन तर केही राजनीतिक दलहरू लोकतन्त्रमा विश्वास नगरी द्वन्द्व र विस्फोटमा विश्वास गरेका कारण निर्वाचनमा सहभागी भएनन् ।  नेपालका लागि यो दुःखद पक्ष हो ।  नेपालमै पहिलोपटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमार्फत लोकतन्त्र र प्रजातन्त्रलाई संस्थागत विकास गर्दै मुलुकलाई आर्थिक समृद्धि र विकास गर्दै देशको काँचुली फेर्ने महान् अभियानमा सबै राजनीतिक दलहरूको सहभागिता अनिवार्य नै थियो तर सङ्कीर्ण सोच र विचारका कारण केही दलहरू निर्वाचनमा सहभागी नभए पनि निर्वाचनविरोधी, विस्फोटन, उम्मेदवारलक्षित बम प्रहारका घटना हुनु निन्दनीय छ ।  
पहिलो चरणको निर्वाचनपश्चात् बाँकी रहेका क्षेत्रहरूमा आगामी मङ्सिर २१ गते संविधानसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै छ ।  ती क्षेत्रहरूमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरू अहिले घरदैलो, प्रचार, प्रसार, कोणसभा र आमसभामा केन्द्रित हुन पुगेका छन् ।  निर्वाचन आयोगले पहाडी र तराई क्षेत्रमा हुने निर्वाचनको सम्पूर्ण तयारी सकिसकेको जानकारी दिएको छ ।  निर्वाचन जतिजति नजिकिँदै छ, राजनीतिक दलहरूबीच आपसमा आरोप प्रत्यारोपसमेत चलिरहेका छन् र ती आरोप प्रत्यारोपहरू कतिसम्म सत्य छन्, वास्तविकता के हो ? निर्वाचनपछि थाहा हुने नै छन् ।  चुनावी सरगर्मी देशैभरि स्वस्फूर्त रूपमा बढिरहेको छ ।  स्वच्छ प्रतिस्पर्धाबाट स्वच्छ इमानदार नेतृत्व चयन गर्नुपर्ने जिम्मेवारी मतदाताहरूसमक्ष आएको छ ।  
नेपाली काँगेसको गठबन्धनले नेकपा एमालेसहितको गठबन्धनलाई लोकतन्त्रविरोधी, तिनले जिते अधिनायकवाद आउने, निरङ्कुशतन्त्र आउने भनेर विरोध गर्नुको कुनै तुक देखिँदैन ।  कुनै एक दललले बहुमत ल्याए पाँच वर्षसम्म स्थायी सरकार बन्ने र तिनले काम गर्न सकेन भने तिनको विकल्प खोज्ने अधिकार मतदाताहरूसँग रहेको हुँदा यस्ता मिथ्या आरोप लगाउनु प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले गर्नु राम्रो होइन ।  अर्कातर्फ वाम गठबन्धनले पनि नेपाली काँगे्रसलाई दक्षिणपन्थी भनेर आरोप लगाउनु राम्रो होइन ।  निर्वाचनमा सभ्य, शिष्ट भाषा प्रयोग गरौँ, आममतदाताहरू झुक्याउने खेल कुनै दलले पनि नगरौँ ।  दवै गठबन्धनले आफ्नो दलको नीति, सिद्धान्त र घोषणापत्रलाई आमनागरिकमाझ लानुपछै ।  यो देश बनाउने जिम्मेवारी सबै राजनीतिक दलहरूको हो, कुनै पनि पार्टीले जनता झुक्याउने खेल गर्नुहुँदैन ।  अहिलेको निर्वाचनले संविधानलाई मूर्त रूप दिने हो ।  कसको सरकार बन्नेभन्दा पनि कस्तो सरकार बनाउने भन्ने चासो अहिलेको विषय हो ।  एउटा दलले अर्का दललाई गालीगलौज गर्ने, चुनाव सकिएपछि फेरि एउटै मञ्चमा बसेर वार्ता, एकता, संवाद र सहकार्यको नाटक गर्ने, पुरानै नाटक फेरि मञ्चन नहोस् भन्ने चाहना मतदाताहरूले गरिरहेका छन् ।  
नेपाल सरकारले अब हुने दोस्रो चरणको निर्वाचन स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गराउन कुनै कसर बाँकी राख्नुहुँदैन ।  सरकारले आमनागरिकहरूको जिउधनको सुरक्षा गर्नु पहिलो प्राथमिकता रहनुपर्छ ।  अहिलेको निर्वाचनमा हाम्रालाई भन्दा राम्रालाई मतदान गर्नुपर्ने जिम्मेवारी आममतदाताहरूको काँधमा आइपरेको छ ।  अहिलेको निर्वाचनमा देश निर्माण र विकासको गति बढाउन सक्ने सक्षम दल, भाषणमा होइन व्यवहारमा काम गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।  
राजनीतिक दलहरूले गरेका घरदैलो, सभा, सम्मेलन, गोष्ठीहरूमा बालबालिकाको प्रयोग उच्च रहनु यसको ज्वलन्त उदाहरण रहेको छ ।  निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई कडा कानुनी कारबाही गर्न पछि पर्नुहुँदैन ।  
लोकतन्त्रको दिगो विकास र मुलुकलाई समृद्धिका लागि लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको संसद् र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन तोकिएकै समयमा सम्पन्न गराउन सबै दलहरू एकजुट भएर लाग्नुपर्छ ।  अबका दिनहरूमा गठबन्धनले सकारात्मक सोच र विचारका साथ देश विकास, शान्ति, स्थायित्व, संविधान कार्यान्वयन र लोकतन्त्रको दिगो विकास गर्नेतर्फ अगाडि बढ्नपर्छ ।  आममतदाताहरूले पनि सक्षम सही नेतृत्व छानी देश विकास र संविधान कार्यान्वयनका लागि योग्य, सक्षम नेतृत्व चयनका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणअन्तर्गतको निर्वाचन मङ्सिर २१ गते हुने निर्वाचनमा सक्रिय रूपमा उपस्थित भई आफूलाई मन पर्ने उम्मेदवार र राजनीतिक पार्टीलाई मतदान गर्नु हामी सबैको साझा कर्तव्य पनि हो ।

प्रकाशित मिति: २०७४/८/१४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना