सार्वजनिक क्षेत्रमा नवीन प्रयोग

Gopinath-mainali-npcगोपीनाथ मैनाली

आजभोलि सरकार नागरिक सेवा कसरी छिटोछरितो र स्तरीय बनाउने भन्ने तनावमा छन् ।  यसका लागि सेवाग्राही र सरकारभित्रैबाट पनि व्यापक दबाब छ ।  लोकतन्त्रको प्रियता, नागरिक चेतना र सूचना प्रविधिको निरन्तर विकासका कारण सरकार र उसका संरचना नवीन शासकीय आविष्कार गर्न बाध्य छन् ।  नयाँ–नयाँ शासकीय अवधारणाको विकासले पनि सीमान्त सुधार होइन, नवप्रवर्तन (आविष्कार) भन्न थालिएको छ ।  सर्वसाधारण सेवाग्राही, ग्राहक, उपभोक्ता, नागरिक हुँदै कतिपय सन्दर्भमा सहउत्पादक पनि बनेकाले राजनीतिज्ञ राज्यप्रणालीमा नवप्रवर्तन गर्ने सोच र प्रशासन यसका लागि प्रणाली निर्माण गर्नमा उद्यत छन् ।  उनीहरूको सफलताको कसी पनि नवप्रर्वतन र मूल्य सिर्जना हुन थालेको छ ।  
राज्य प्रणालीमा आविष्कारका तीन विशेषता हुने गर्छन्, पहिलो प्रतिफल बढाउँछ, दोस्रो, लागत घटाइ सेवावस्तु बढी कार्यकुशल बनाउँछ र तेस्रो, सरकार र सेवाग्राही दुवैलाई थप मूल्य सिर्जना गर्छ ।  अग्रगामी सरकार यस कारण जहिले पनि नवप्रवर्तनमा उद्यत रहन्छ ।  सार्वजनिक क्षेत्रमा आविष्कार भनेको व्यावसायिकताको विषय हो अनि कार्यसंस्कृति एवं सेवा प्रक्रियामा निरन्तर मूल्य अभिवृद्धि हो ।  यसले सेवाप्रदाताका भावनालाई मात्र कदर गर्दैन, अरूका विचारको संयोजनले मौजुदाभन्दा उत्तम परिणाम उत्पादन गर्छ ।  नवप्रवर्तनलाई सिजर्नशीलता, व्यावसायिकताको संयुक्त परिणामका रूपमा लिने गरिन्छ ।  सिर्जनशीलताको अर्थ केही नौलो कार्यमार्फत मूल्य अभिवृद्धि गर्नु हो ।  यो कुनै प्राज्ञिकता काम उत्साह हो, सङ्गठनलाई गतिशील बनाउने कार्य हो ।  अर्को अर्थमा मौजुदा स्थितिप्रति चुनौती र तनाव सिर्जना हो ।   
इतिहास हेर्दा विकास र सभ्यतामा आविष्कार र पुनःआविष्कार नै भेटिन्छ ।  राम्रो गर्छु भन्ने उत्साह र ऊर्जा नै नवप्रवर्तनको कारक हो ।  साथै व्यावहारिक रूपमा अपनाउन सकिने कुरा मात्र आविष्कार हो ।  विद्वान्हरू यसलाई एक प्रतिशत विचार र ९९ प्रतिशत कार्यान्वयनका भन्न रुचाउँछन् ।  दक्षिण कोरियाले उसको आर्थिक विकासलाई एक प्रतिशत विचार, ९९ प्रतिशत कार्यान्वयन भन्ने गरको छ ।  यस अर्थमा त्यहाँको सरकार नवप्रवर्तनमुखी छ भन्ने हो ।  सबै ठूला आविष्कार एकैचोटि भएका होइनन्, ससान सफलताले ठूलो सफलताको आधार बनाउँछ ।  आविष्कारवादी सरकार सोच, प्रयास, संयम, विश्वास र प्रोत्साहनमा जोड दिन्छ ।  यो मूल्य संस्कृति निर्माणको निरन्तर प्रक्रिया हो ।  असफलताबाट आत्तिएर पनि आविष्कार हँुदैन ।  थोमस अल्वा एडिसनले एक प्रसङ्गमा भनेका थिए, ‘म असफल भएर के भयो, किन सफल भइन भन्ने हजार कुरा बुझ्न सफल भए । ’
सरकारको नवप्रवर्तन अन्य क्षेत्रको जस्तो नभई उसले सर्वसाधारणलाई दिनुपर्ने सेवा र नीति उत्पादन, त्यसका लागि साङ्गठनिक सुधार र स्रोत सामग्री उपयोगको पुनःबोधसँग गासिएको हुन्छ ।  प्रशासनको धर्म हर समय नवप्रवर्तन र आविष्कारमा जुटिरहनु हो ।  प्रशासनभित्रको पेसागत विशिष्ठता र आर्जित स्वायतताले सुधार र नवप्रवर्तनलाई आन्तरिक प्रेरणा दिने गर्छ ।  सर्वसाधारणसँगको नियमित सम्पर्कमार्फत उनीहरूको आकाङ्क्षा र आवश्यकता राज्यप्रणालीमा पुग्ने भएकोले के कसो गर्दा नागरिक आवश्यकता पूरा गर्न सकिन्छ भन्ने बोध पनि प्रशासनभित्र हुन्छ ।  यी कारणले आविष्कारवादी राज्य प्रशासनिक नवप्रवर्तनवादकै अर्को नाम हो ।  नवप्रर्वतनका पक्ष धेरै भए पनि मानव संशधान विकास, व्यवस्थापन सुधार, सार्वजनिक सेवा प्रवाहमा नयाँ–नयाँ विधि अवलम्बन, सूचना प्रविधिको उपयोग, विकेन्द्रीकरण, सेवाको सहउत्पादनजस्ता कार्यले राज्य आविष्कारका पथमा केन्द्रित हुँदै आएको छ ।  
राजनीतिक नेतृत्वका दृष्टिकोणयुक्त सोच आविष्कारमुखी राज्यको पहिलो आधार हो ।  साठीको दशकमा राष्ट्रपति जेएफ केनेडीले नासा प्रशासनका पदाधिकारीलाई निर्देशन दिँदै भनेका थिए– ‘अबको केही वर्षभित्र चन्द्रमामा अमेरिकी पाइला टेकिएको हुनुपर्छ, यसका लागि मैले के गर्नुपर्छ गर्छु तर मिसनमा पुग्ने तपाईं वैज्ञानिकहरूको काम हो । ’ त्यतिबेल साबिक सोभियत सङ्घ र अमेरिकाबीच अन्तरिक्ष प्रतिस्पर्धा चलेको थियो ।  चन्द्रमामा मानव पाइला कसले टेक्छ भन्ने कुरा दुई महाशक्ति राष्ट्रको प्रतिष्ठा थियो ।  केनेडीको केही समयपछि हत्या भयो तर वैज्ञानिकहरूको अथक प्रयासबाट निर्धारित समयभन्दा निकैअघि अमेरिकी यान एपोलोले चन्द्रधरातल टेक्यो ।  
सन् १९९० मा क्लिन्टन प्रशासनले उपराष्ट्रपति अलगोरलाई राष्ट्रिय उपलब्धि समीक्षा गरी सरकारको पुनःबोधको सिफारिस गर्न जिम्मा दिएको थियो ।  राष्ट्रपति ओबामाले ह्वाइट हाउसका प्रविधि विज्ञ अनिस चोपरालाई (क) अनुसन्धान र विकास, (ख) मानव पुँजी निर्माण,
(ग) विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणितको विकास, र (घ) ब्रोडब्यान्ड पहुँच विस्तारका लागि सुझाव दिन अख्तियारी दिएका थिए ।  यी चार क्षेत्रमा लगानी केन्द्रित गरेर अमेरिकालाई आविष्कारमुखी बनाउने सोच ओबामामा थियो ।  अमेरिकाले गणित तथा प्रविधि शिक्षालाई ज्ञान र आविष्कारको आधार मानी विशेष प्रोत्साहन गरेको छ र यसैका आधारमा राज्यहरूको नवप्रवर्तन सूचकाङ्क निर्धारण गर्दै आएको छ ।  असम्भव मानिँदै आएका कुरा कसरी सम्भव गर्न सकिन्छ भन्ने विषयमा रे क्रुजवेल जसरी अध्ययन गरिरहेका छन्, त्यसलाई मानव सुख समृद्धिका लागि उपयोग कसरी गर्न सकिन्छ भनेर इलोन मस्कजस्ता वैज्ञानिक निरन्तर अन्वेषणमा छन् ।    
अमेरिका, बेलायत, अस्ट्रेलिया, नर्वे, जापान, दक्षिण कोरिया लगायतका मुलुकले आआफ्नै आवश्यकता, स्तर र सन्दर्भमा सरकारको नवप्रवर्तन गरिरहेका छन् ।  नवप्रर्वतन भिœयाउने माध्यम भने प्रणाीभित्र सिर्जनशील तनाव नै प्रमुख रूपमा रहेको देखिन्छ ।  अमेरिकाले अवलम्बन गरेको डिभी भिसाले विविधता व्यवस्थापनमार्फत कार्यसंस्कृति परिवर्तन गरेको छ  तर जापानलगायत कतिपय मुलुक एकल संस्कृतिमार्फत नै प्रगति गरिरहेका छन् ।  
संयुक्त राष्ट्र सङ्घ सदस्य मुलुकलाई आविष्कारवादी बनाउने उत्प्रेरकको रूपमा रहेको छ ।  राष्ट्र सङ्घीय प्रणालीले विभिन्न मञ्च तथा माध्यमलाई उपयोग गरी असल अभ्यासको विनिमय गरिरहेको छ भने व्यवस्थापन सुधारका लागि विभिन्न संयन्त्रमार्फत सहयोग पनि गरिरहेको छ ।  जस्तो कि नेपालले गरिबी र वातावरणका सन्दर्भमा गरेको उत्कृष्ट कामलाई कदर गर्दै सन् २०१३ मा पहिलो पटक अन्तर्राष्ट्रिय नेतृत्व सम्मान प्रदान गरी यसलाई असल अभ्यासका रूपमा विश्वभरि फैलायो ।  
नवप्रवर्तनको एकमात्र उद्देश्य जीवन प्रणाली सुधार ल्याउनु हो ।  अर्को अर्थमा सुशासन हो तर यसका क्षेत्रगत आयाम भिन्न हुने गर्छन् ।  विश्व बौद्धिक सम्पत्ति अधिकार सङ्गठनका महानिर्देशक फ्रान्सिस गुरी नवप्रवर्तन नै आर्थिक विकासको इञ्जिन हो, जसले ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण गरी दीर्घकालीन आर्थिक विकास सम्भव गराउँछ भन्दैछन् ।  अन्तर्राष्ट्रिय मुद्रा कोषकी महानिर्देशक क्रिष्टिना लेगार्ड र राष्ट्र सङ्घीय जलवायु परिवर्तन निकाय प्रमुख क्रिस्टिने फिगुरेसले ‘असल वातावरण नै सबल अर्थतन्त्र हो’ भनेर आर्थिक विकासको ढाँचालाई हरित अर्थतन्त्रतर्फ मोड्न सुझाएका छन् ।  कोफी अन्नानले व्यवस्थपन सुधारलाई विकासको नवआविष्कारका रूपमा लिएका थिए ।  राष्ट्रपति बिल क्लिन्टले आफूलाई चाकरी गर्नभन्दा नाई भन्न सक्ने प्रशासक चाहिएको उल्लखे गरेका थिए, उनका अनुसार हुन्न भनेर प्रक्रियाको विरोध गर्न सक्ने प्रशासक नै आविष्कारको जननी हो ।  
सार्वजनिक क्षेत्रमा नवप्रवर्तनलाई धेरै प्राविधिक र जटिल रूपमा बुझ्नु आवश्यक छैन ।  सर्वसाधारणका आवश्यकता पूरा गर्न नवीन सोच, क्षमता, संस्कति र कार्यमूलकता वृद्धि गरेर नै नवप्रर्वतन पाउन सकिन्छ  ।  यसर्थ, नवप्रवर्तनका लागि मौजुदा सेवा प्रणालीको सुधार र नयाँ सेवा क्षेत्रको पहिचान गरी दुई रणनीति लिनुपर्छ ।  यसका लागि बाह्य झड्काभन्दा आन्तरिक चाहनाले साथ दिनुपर्छ, थोपरिएको होइन, स्वाभाविक र स्वतस्फूत हुनुपर्छ ।  प्रतिक्रियापरक होइन, अग्रगामी हुनुपर्छ ।  साथै पटकेभन्दा निरन्तर र सीमान्तभन्दा रूपान्तरणवादी हुनुपर्छ तर अल्पविकसित मुलुकमा पूर्वतयारी र कार्य प्राथमिकीकरण विना नै कायम गर्ने प्रवृत्तिका कारण नवप्रवर्तनको कार्य अल्मलिएको छ ।  

प्रकाशित मिति: २०७४/८/१४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना