नेपालको विविधता संसद्मा

sovakarशोभाकर पराजुली

गौतमबुद्ध पछि सबैभन्दा बढी अक्षरहरूद्वारा चर्चित नेपाली विश्वेश्वरप्रसाद कोइरालाको अठोट, दूरदर्शिता, संगठन र नेतृत्वद्वारा स्थापित नेपाली काङ्ग्रेसको नेतृत्व र अभिभावकत्वमा नेपाली जनताको स्वतन्त्रतालगायत आजसम्मका सबै परिवर्तनकारी आन्दोलनहरू निष्कर्षमा टुङ्गिएका छन् ।  नेपालको आधुनिक इतिहास यता आजसम्म हाम्रो देश संक्रमणकालबाट नै गुज्रिरहेको छ ।  विश्व नै चकित हुने खालका घटना परिघटनाका संख्या दर्जनौँ छन् ।  
नेपाली जनताको चाहनाअनुसार सात दशकसम्मको अनेकौँ बलिदान, सङ्घर्ष, आन्दोलनको परिणामस्वरूप जनताले चुनेका प्रतिनिधिले निर्माण गरेको संविधान प्राप्त भएको छ ।  केही त्रुटि, कमी, कमजोरीहरूका बीच पनि यो संविधानका आधारमा संशोधनको मार्ग प्रशस्त रहेको अवस्था यसको सुन्दर पक्ष हो ।  
देश अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको छ ।  वास्तवमा यो निर्वाचन सबै नेपालीको उत्सव मात्र होइन बरु “महाउत्सव” बनेको छ ।  यस अवसरमा सबै मतदाताहरूमा कौतुहल, उत्सुकता, क्रियाशीलता छ कि कुन दल र कस्ता उमेदवारलाई मतदान गर्ने ? प्रश्न चानचुने छैन ।  उत्तर विविध हुन सक्छन् ।  यो स्वाभाविक हो ।  अहिलेको विषम परिस्थितिमा जनअपेक्षित क्रियाकलाप राज्यबाट हुन सकेको देखिँदैन ।  उत्तम, उत्कृष्ट कोही छैन ।  तर अंग्रेजीको एउटा भनाइ खराबहरूमध्ये उत्तमलाई मध्यनजर राख्दै काङ्ग्रेसलाई नै मत किन ? भन्ने सन्दर्भमा संक्षिप्त चर्चा गर्ने प्रयास यहाँ गरिएको छ ।  
    “काङ्ग्रेसलाई नै मत किन ?” यो प्रश्न आम मतदातामा छ, पार्टीका कार्यकर्तामा छ, तटस्थ मत राख्नेसँग छ ।  जसले आफ्नो आकांक्षाअनुरूप अवसर पाएनन्, टिकट पाएनन्, तिनीहरूसँग छ, निर्णयमा अन्याय भयो भनेर महसुस गर्नेसँग छ ।  अर्थात् सबै सामु यो प्रश्न तेर्सिएको छ ।  यसबारे निर्णयमा पुग्नुपूर्व केही चिन्तन आवश्यक छ ।  
अहिलेको आम नेपालीको चाहना भनेको मानवतावादमा आधारित आर्थिक वृद्धि, स्थिर लोकतन्त्र, बलियो राष्ट्रियता, प्रगाढ सामाजिक सद्भाव नै हो ।  यो चाहनाका लागि अबको बाटो जनअभिमत अर्थात् निष्पक्ष निर्वाचन नै हो, जो हाम्रो सँघारमा छ ।  नेपालमा क्रियाशील दलमध्ये उपरोक्त उल्लेखित चाहनाको प्राप्तिका लागि नेपाली काङ्ग्रेस नै प्राथमिकतामा पर्नुपर्दछ ।  
विनोद चौधरी, जो नेपालका एक अन्तर्राष्ट्रिय उद्योगी हुन् ।  उनी अहिले नेपाली काङ्ग्रेसमा आएका छन् ।  काङ्ग्रेसमा उनको आबद्धता त्यसै भएको होइन ।  उनले सामान्य संकेत गरेका भए कुनै पनि दलले उनलाई रेड कार्पेट बिछ्याउन सक्थ्यो ।  उनलाई विगतमा सांसद् बनाइसकेको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेतृत्वको वाम गठबन्धनले त झन् दुई तिहाई बहुमत ल्याउने शंखनाद गर्दैछ ।  पार्टीका नेताहरूले नै यस खाले दाबी गरिरहेका छन् ।  यस्तो अवस्थामा उनी त्यो दलसँग किन विरक्त भए होलान् ? किनभने अहिलेको समय कम्युनिस्ट राजको होइन ।  माओको चीन पनि उदार लोकतन्त्रतर्फ लम्किरहेको क्षण हो ।  
नेपाली काङ्ग्रेसले युवापुस्ताका चम्किला ताराहरू बजरंग नेपाली र सकलदेव सुतिहारलाई क्रमशः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष एवं गणतन्त्रवादी नेता महन्थ ठाकुर र सङ्घीय समाजवादी फोरमका अध्यक्ष एवं सङ्घीयतावादी नेता उपेन्द्र यादवको विजयलाई सुनिश्चित गर्न आफ्नो उम्मेदवारी किन फिर्ता गरायो होला ? जवाफ सोझो छ– नेकपा (एमाले) ले देशमा सामुदायिक धु्रवीकरणलाई प्रश्रय दिएको छ ।  घृणा र निषेधको राजनीतिले आधुनिक समयमा मुलुकलाई ऐक्यबद्ध बनाएर राख्न सकिँदैन ।  नेपाली काङ्ग्रेसले सामाजिक सद्भावलाई बल दिन चाहन्छ ।  सँगसँगै काङ्ग्रेसले संसद्मा अरु विचारधारा पनि आउन् भन्ने चाहन्छ ।  भारतमा पनि त्यहाँका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले विपक्षका प्रभावशाली नेताहरूलाई संसद्मा ल्याउन उदार दृष्टिकोण राखेका थिए ।  त्यसैगरी, नेपाली काङ्ग्रेसले नेपालको विविधता संसद्मा देखियोस् भन्ने चाहेको हो ।  नेपाली काङ्ग्रेसले मधेशी राजनीतिका मध्यमार्गी धारलाई राष्ट्रिय, राजनीतिसँग जोड्न चाहन्छ ।  यस अघि पनि पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले गजेन्द्रनारायण सिंह प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि उनलाई राष्ट्रियसभामा ल्याउनु भएको थियो ।  
नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले चुनाव सार्ने देशीविदेशी जालझेल भैरहेको भनेर आशंका छर्ने दुष्प्रयास गरिरहेको अवस्थामा काङ्ग्रेस चाहिँ निर्वाचनका पक्षमा एकटकले अर्जुनदृष्टि राखिरहेको थियो र छ ।  यसको तात्पर्य भनेको नेपाली काङ्ग्रेस संविधानसभाद्वारा निसृत संविधानको इमान्दार कार्यान्वयन चाहन्छ ।  तर वाम गठबन्धनले अनेक जालझेल गरेर यो संविधानलाई च्यात्न चाहन्छ ।  कम्युनिस्ट सत्ताले नेपालको एकता र अखण्डतालाई सुरक्षित राख्न सक्दैन ।  भारतको लोकतान्त्रिक संविधान अन्तर्गत चुनिएर आएका प्रतिनिधिहरूले त्यहाँको पश्चिम बंगाल राज्य (कम्युनिस्ट) मा शासन गर्दाका बखत त एउटा व्यक्तिले आफ्नो निजी घर बनाउन आवश्यक पर्ने निर्माण सामग्री छड, सिमेन्टलगायत किन्न पनि पार्टीले अनुमति दिएको पसलबाट मात्र किन्नुपथ्र्यो ।
अहिलेको समाजवाद भनेको प्रत्येक नागरिकको पहिचान र सम्मान, समावेशी राज्य संरचना, सार्थक सङ्घीयता, सामाजिक न्यायको प्रत्याभूति, सहिष्णुता, खुला समाज, वैयक्तिक सम्पत्तिको सुरक्षा, उदार लोकतन्त्र र सामाजिक सद्भाव हो ।  यसको सार्थक कार्यान्वयन एवं समय सापेक्षित परिस्कार गर्ने कार्य नेपाली काङ्ग्रेसको नेतृत्वले मात्र गर्न सक्छ ।  तपाई अँध्यारो कोठामा बस्ने कि उज्यालो भएको कक्ष रोज्ने ? चम्किलो कोठामा एउटा सुइ खस्दा पनि तपाईंले बोल्ने र औँला उठाउने स्वतन्त्रता पाइराख्नुहुन्छ ।  
अहिले नव महेन्द्रपथ जन्मँदैछ ।  लोकतन्त्रलाई झ्याकझुक पार्ने तानाबाना बुन्दैछ ।  वाम गठबन्धनले संविधान संशोधन गरेर चिनिया मोडेलको पार्टीतन्त्र र शासनतन्त्र ल्याउने कुरा उजागर भइसकेको छ ।  यस्तो बेलामा टिकट पाइएन भनेर मौन बस्ने बेला होइन ।  काङ्ग्रेसको पक्षमा प्रचारमा होमिने बेला हो ।  यो देश र लोकतन्त्रको लागि सक्रिय हुने अवसर हो ।  

प्रकाशित मिति: २०७४/८/१४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना