मतदाता फकाउँदै उम्मेदवार

काठमाडौँ, मङ्सिर १४ गते । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका नेता उत्साहकासाथ मतदातालाई आकर्षित गर्न विभिन्न प्रतिबद्धता गर्न थालेका छन् ।

करिब ५१ हजार मतदाता भएको उक्त क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्न हरियाली पार्क, खेल मैदान निर्माण गर्नेलगायत प्रतिबद्धता जनाउँदै विभिन्न रणनीतिक कार्यक्रम सञ्चालन गरेका छन् ।

निर्वाचनमा मतदातालाई फकाउने र विजय भएपछि नर्फकने उम्मेदवारको विकल्प खोज्न आत्तिएका मतदाता निर्णयलाई पर्खी बसेका उम्मेदवारका चुनाव केन्द्रीत गतिविधि, पद्यात्रा, सांस्कृतिक कार्यक्रम, कोणसभा, आमसभा, घरदैलोलगायतले प्रभाव पारिरहेका छन् । यस निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका नवीन्द्रराज जोशी प्रतिनिधिसभातर्फ तथा प्रदेश ‘क’ मा राज्यलक्ष्मी श्रेष्ठ र ‘ख’ मा देवनारायण डंगोल उम्मेदवार हुनुहुन्छ ।

जोशीले काँग्रेसको नेतृत्वमा संविधान जारी भएकाले अब त्यसलाई कार्यान्वयन गर्नका लागि पनि काँग्रेसकै नेतृत्व आवश्यक रहेको बताउनुभयो । स्थानीय जात्रा पर्व तथा संस्कृतिको संरक्षणका लागि आफू क्रियाशील रहने उहाँले बताउनुभयो ।

वाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठ प्रतिनिधिसभातर्फ तथा प्रदेश ‘क’ मा राजेश शाक्य र प्रदेश ‘ख’ मा अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्यसम्म ‘सम्पदा पैदल मार्ग’ निर्माण गरी पर्यटकलाई आकर्षित गरिने दुबै गठबन्धनका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोही क्षेत्रमा विसं २०६४ मा सम्पन्न संविधानसभा पहिलो र २०७० मा सम्पन्न संविधानसभा दोस्रो निर्वाचनमा जोशी निर्वाचित हुनुभएको थियो । स्थानीय तह निर्वाचनमा आठ वडामध्ये पाँचवटामा एमाले, दुईवटामा काँग्रेस र एउटामा राप्रपाले वडाध्यक्षमा जित हासिल गरेको थियो । जोशी काठमाडौँ नगरपालिकाको उपप्रमुख समेत हुनुहुन्थ्यो ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदमा दुई पटक जिम्मेवारी वहन गर्नुभएका अर्का उम्मेदवार श्रेष्ठले अहिले नेपाल ओलम्पिक कमिटिको अध्यक्षको जिम्मेवारीमा रही स्थानीय क्षेत्रमा खेलुकुद तथा सामाजिक विकासमा योगदान गर्नुभएको छ । उम्मेदवार श्रेष्ठले एमालेको नेतृत्वमा बन्ने वाम सरकारले जनपक्षीय ऐन कार्यान्वयन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– “काष्ठमण्डप दुई वर्षभित्रमा पुनःनिर्माण गरिन्छ, भूकम्पबाट क्षति भएका कतिपय निजी घर धरापमा छन, तिनको व्यवस्थापन गर्ने योजना छ ।” स्वस्थ्य जीवनका लागि खेलकुदको महत्व रहेकाले खेलमैदान निर्माण गरी खेलाडी उत्पादन गर्ने कार्यलाई प्राथमिकता दिने छु । स्थानीय विकासका लागि प्रदेश र केन्द्रका अधिकार बाँडफाँडलाई न्यायोचित र वैज्ञानिक बनाउन अहिलेको चुनावमा एमालेको नेतृत्वमा वाम सरकार आवश्यक रहेको उहाँको भनाइ छ ।

नेवार समुदायको बढी घनत्व रहेको यस क्षेत्रमा उक्त समुदायको मत लिनसक्ने उम्मेदवारले विजय हासिल गर्नसक्ने भएकाले जातीय मत तान्न उहाँहरूबीच प्रतिस्पर्धा चलेको छ । काठमाडौँ महानगरपालिकाका क्रमशः १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका क्रमशः ४ र ५ वडा समेत उक्त क्षेत्रमा पर्दछ ।

“भूकम्पबाट धरापमा परेका बस्तीलाई व्यवस्थित गरी स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका परियोजना उपलब्ध गराउने दृष्टिकोण भएका नेतालाई चुनावमा जिताउनुपर्छ,” काठमाडौँ निर्वाचन क्षेत्र नं– ८ का मतदाता सोनाम लामाले भन्नुभयो ।

जीवितदेवी कुमारी परम्परा, विभिन्न शक्ति पीठ, आकाश भैरव, भीमसेन मन्दिर, शोभाभगवती, विजेश्वरी, आदेश्वर महादेव, सीता पाइलादेवी मन्दिरको विशेष संरक्षणका लागि सांस्कृतिक पर्यटन केन्द्र स्थापना गरिने उम्मेदवारले मतदाता समक्ष वाचा गरेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना