काठमाडौँको खुला क्षेत्र संरक्षण

 बलराम चौलागाईं

केही दशक यता काठमाडौँ उपत्यकाको जनघनत्व ह्वात्तै बढेका कारण यहाँको वातावरण अत्यधिक प्रदूषित हुन गई जनस्वास्थ्यमा समेत गम्भीर खालको नकारात्मक असर पर्न थालेको छ ।  वातावरणको शाब्दिक अर्थ प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलापका अतिरिक्त यिनका अवयवसँग तादात्म्य राख्ने अन्तरक्रिया तथा अन्तरसम्बन्ध हो ।  त्यस्तै प्रदूषण भन्नाले वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन गरी त्यहा उल्लेख्य ह्रास ल्याउने, क्षति पु¥याउने वा वातावरणको उपयोगितामा हानि नोक्सानी पु¥याउने कार्यलाई सम्झनुपर्छ ।  वातावरण र जीवधारी प्राणीका बीच अन्योन्याश्रित सम्बन्ध रहेको कुरा घाम जत्तिक छर्लङ्ग छ ।  आर्थिक विकास र वातावरण संरक्षण एउटै सिक्काका दुईटा पाटा हुन् ।  वातावरण ह्रास भएको खण्डमा मानव जाति, जीवजन्तु, वनस्पति, प्रकृति तथा भौतिक वस्तुमाथि पर्न सक्ने प्रतिकूल असरलाई यथासम्भव न्यूनीकरण गरेर जनधनको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।  हाम्रा लागि अत्यावश्यक प्राण वायु अक्सिजनको खोजी गर्नु पर्दा रुख, बिरुवाको छहारी नखोजी सुखे छैन ।  यी सबै कुराका लागि खुला ठाँउसहितको स्वच्छ तथा स्वस्थ्य वातावरण कायम गर्नु गराउनु हामी सबैको सामूहिक दायित्व हो ।  यसै वस्तुतथ्यलाई मनन गरी हाम्रा पूर्वजले गौचरण, बाटोघाटो आदिका लागि सबैले प्रयोग गर्न पाउने गरी खुला स्थानको व्यवस्था गरेका थिए तर आजका मितिमा हामी यी स्थानलाई अतिक्रमण गरी विभिन्न किसिमका भौतिक संरचना निर्माण गरेर पूर्खाको नासोलाई नष्ट पार्दैछौँ ।  हामी घरको दैलोबाट बाहिर निस्कनासाथ खुला स्थानको खोजीमा त हुन्छौँ तर हामी आफैँ नयाँ खुला क्षेत्रको विकास गर्नुको सट्टा भएकोलाई बिगार्ने काममा लागि परेका छौँ ।  यो कार्य क्षणिक रूपमा राम्रो त देखिएला तर दीर्घकालीन सोच राख्ने हो भने यो काम राम्रो होइन ।     
विकासपछि विनाश पनि सँगै आउने कुरामा सन्देह छैन ।  बाबुबाजेका पालादेखि जोगिँदै आएको सार्वजनिक जग्गा मासेर त्याहाँ क्लब भवन, मन्दिर, बसपार्क आदि बनाएर विकास भयो भन्ने पनि यहाँ कम छैनन् ।  राजधानी काठमाडौँको मुटुमा अवस्थित सदियौँदेखिको खुला क्षेत्र टुँडिखेलमा समेत हालका शासकले बसपार्क बनाएर प्रकृति, वातावरण र जीवनधारी प्राणीलाई समेत चुनौती दिँदैछन् ।  मानिसको चाप दिन परदिन काठमाडौँ केन्द्रित हुँदैछ तर जमिन जो थियो पहिले अहिले पनि उही छ ।  वातावरण र मानिस बीचको अन्तरसम्बन्ध सुमधुर राख्नका लागि मानव बस्तीको माझमा केही खुला ठाउँको जरुरत पर्छ ।  मानिसले सास फेर्दा फ्याँक्ने कार्बोन्डाइअक्साइड बोट बिरुवाले लिने र त्यसको साटो उनीहरूले अक्सिजन फ्याक्ने गर्छन्, जुन प्राणी मात्रका लागि बाँच्ने एक मात्र आधार हो ।  अतः वनस्पति जगत् र मानिसका लागि हुर्कन, बढन र बाँच्नका निम्ति खुला क्षेत्रको नितान्त आश्यकता पर्छ ।  राजधानी बाहिरको कुरालाई थाँती राखेर काठमाडौँकै सेरोफेरोमा केन्द्रित हुने हो धने पनि एकपटक जिभ्रो नकाढीकन सुखै छैन ।  सबैले देखेको सुनेको खुला क्षेत्र अतिक्रमण भनेको राज्य स्वयंले टुँडिखेललाई मासेर बसपार्क बनाउनु हो ।  अझ नियालेर हेर्ने हो भने यस्ता उदाहरण राजधानीमै जताततै छन्  ।  उदाहरण स्वरूप गोकर्णेश्वर नगरपालिकास्थित वडा पाँचकै कुरा गर्ने हो भने पनि खुला क्षेत्र मासेर कङ्क्रिटको जङ्गल निर्माण गरी वातावरण माथि खुला हस्तक्षेप गरेर स्थानीय जन मानसमा ध्वनि प्रदूषणका साथै प्राकृतिक सौन्दर्यसमेत नष्ट पारेर जन स्वास्थ्यमा गम्भीर चुनौती थप्ने काममा केही स्थानीय लागि परेका छन् ।  राजधानीकै सेरोफेरोमा मधुमेह, उच्च रक्तचापजस्ता वातावरणजन्य रोगहरूले मुन्टो उठाइरहेको परिप्रेक्ष्यमा आश्यक व्यायाम, खुला हावा, हरियाली क्षेत्रको उपभोग गर्न पाउने जनताको नैसर्गिक अधिकार माथि खेलबाड भएको छ ।  ठूला दलका सदस्य हौ भन्दै कोही खेल मैदान बनाएर त्यसमाथि देख्दै उदेक लाग्दो अजङ्गको सयौँ फिट अग्लो टहरो निर्माण गरेर टोल छिमेकका मानिसलाई घाम पानीको उपभोग गर्न पाउने वातावरीय अधिकार माथि नै बाधा पु¥याउन लागि परेका छन् ।  खेल खेल्ने, नाँच्ने, गाउने, बजाउने बहानामा हरसमय त्रासदी सिर्जना गरेर वरपरका बासिन्दालाई थातथलो नै छोड्नुपर्ने बाध्यता यहा छेउ उब्जिएको छ ।  यो टहरो निर्माण गर्ने क्रममा आ.व. २०७१÷७२ ताका तत्कालीन जोरपाटी गा.वि.स. मार्फत सात लाखभन्दा बढी रकम व्ययभार भएको थियो भने सोही स्थानमा विगत आ.व. मा पुनः झण्डै तीन लाख पचास हजारभन्दा अधिक रकम सांसद कोषबाट खर्च देखाएर काम भने सिन्को समेत भाँचिएको छैन ।  
करिब दुई रोपनी सार्वजनिक जमिन भएको बाहुनधारा पार्क परिसरमा स्थानीय जनताले स्वस्फूर्त रूपमा सार्वजनिक उद्यान बनाएर वरिवरि फलफूलका बिरुवा, ठाँउ–ठाँउमा रुख, फूलका बिरुवा लगाएर चारैतिर बाल, वृद्ध सबैलाई हुने गरी मेच राखेर खाली ठाउँमा दूबो रोपी वातावरणलाई जीवन्त राख्ने कार्यकोे शुभारम्भ स्थानीयबाट भइसकेको थियो ।  स्थानीय जनताको चाहनाअनुसार सामुदायिक उद्यान बनाएर बिहान बेलुकाको खुला हावामा डुल्ने चाहनामा कुठाराघात भएको छ ।  
 त्यसताका स्थानीयले आवाज नउठाएका पनि होइनन् तापनि बलका आगे भूत भागे सर्वसाधारणको केही लागेन ।  सार्वजनिक स्थलमा स्थानीयको सहमति बेगर बनेको यस खाले वातावरणलाई प्रतिकूल असर पार्ने कार्य राम्रो हो भन्ने कोही पनि छैनन् तर पनि पटक–पटक त्यसै ठाउँमा राज्य कोषको पैसा खर्च हुन्छ किन ? यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो ।  यही छेउ एक ठाउँमा महादेव मन्दिर संरक्षणका नाउँमा सार्वजनिक जमिनमा चन्दा उठाएर घर निर्माण गरी भाडामा लगाएर ठगी खाने व्यक्ति ठाँटसँग हिँडेकै छन् ।  

प्रकाशित मिति: २०७४/८/१५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना