जनताले प्रजातन्त्रवादीलाई छाडेर कम्युनिष्ट नरोज्ने थापाको जिकिर

हेटौँडा, मंसिर १८ गते ।  उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले २१औँ शताब्दीका नेपाली जनताले प्रजातन्त्रवादीलाई छाडेर कम्युनिष्ट नरोज्ने बताउनुभएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका अवसरमा मकवानपुर जिल्लामा आज आयोजित अन्तिम चुनावी पदयात्रापछिको सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापाले आगामी चुनावमा लोकतान्त्रिक गठबन्धनले अत्यधिक बहुमतले विजयी भएर आगामी सरकार लोेकतान्त्रिक सरकार बन्ने जिकिर गर्नुभयो । 

लोकतान्त्रिक गठबन्धन कसैको विरुद्धमा नभई अधिनायकवादी शासन र साम्यवादी विचारको विरुद्ध भएको बताउँदै उहाँले गठबन्धनले देशको समृद्धि र विकास ल्याई हिमाल पहाड र तराईका जनताबीच सेतुको काम गर्ने छ भन्नुभयो । सो अवसरमा प्रदेश नं १ कका उमेदवार अशोक शाक्य, समानुपातिक उम्मेदवार दीपक सिंहलगायतले पनि मन्तव्य व्यक्त गर्नुभयो । 

लोकतान्त्रिक गठबन्धनले आज हेलिकप्टरको प्रयोग गर्दै चुनावीसभामा भाग लिएको नेपाली काँग्रेस मकवानपुरले जनाएको छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार थापा र प्रदेशसभा क्षेत्र नं २ (ख) का उम्मेदवार इन्द्र बानियाँले आज धेरै स्थानको चुनावीसभा भ्याउनुपर्ने भएकाले हेलिकप्टरको प्रयोग गरेको बताइएको छ । 

हेटौँडाको चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार थापाले आफूले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर हेटौँडाको सडकलाई २५ मिटरबाट १६ मिटरमा झारेकाले करोडौँको सम्पत्ति जोगिएको छ भन्नुभयो । 

मत किन्नेलाई छिर्न नदिन वामपन्थीको आग्रह 
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार कृष्णप्रसाद दाहालले विसं २०७४ को निर्वाचनको नतिजाले राजनीतिक स्थिरता ल्याउने बताउनुभएको छ । वाम गठबन्धनले हेटौँडा २, ४ र १० नं वडामा आयोजना गरेको संयुक्त घरदैलोपछि गरेको कोणसभामा एमाले नेता दाहालले वाम गठबन्धनको जीतपछि देशमा रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ४० लाख युवा विदेशिएका छन्, उनीहरुलाई देशमा नै बस्ने वातावरण बनाउनेछौँ ।” 

कार्यक्रममा प्रदेशसभा (ख) का उम्मेदवार डोरमणि पौडेलले नोट बोकेर मत किन्न आउनेलाई सक्ने गाउँ शहर छिर्न नदिन पार्टी सजग हुनुपर्नेमा जोड दिनुभयो । 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना