अधिकारको मूल पाटो मानव अधिकार


krishna kandelकृष्ण कँडेल

झन्डै ७० वर्षदेखिको नेपाली जनताको सपनाको साकार रूपको पहिलो खुड्किलोको रूपमा हिंसाका केही घटनाबीच सङ्घीय गणतन्त्र नेपालको संविधानबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ ।  स्थानीय निर्वाचन निर्वाध र उत्साहजनक रूपमा सम्पन्न भएपछि संविधानले निर्दिष्ट गरेबमोजिम माघ १७ भित्रै निर्वाचन सम्पन्न भएर अब मुलुकले नयाँ काँचुली फेर्दैछ ।  
लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो ।  करिब दुई दशकदेखि थाती रहेको स्थानीय निर्वाचन संविधानसभाको अत्यधिक बहुमतले पारित भएको संविधानले निर्देश गरेबमोजिम स्थानीय निर्वाचन सम्पन्न भयो ।
विकास र समृद्धिका लागि स्थानीय जनप्रतिनिधिको अभावमा वर्षौंदेखि नेपाली जनता विकासका सबै आयामबाट पछि परिरहे ।  फलस्वरूप यसपटकको स्थानीय निर्वाचनमा दलहरूले अपेक्षा गरेभन्दा ठूलो परिणाममा सहभागिता रह्यो ।  जनतामा स्थानीय निर्वाचनमा जुन उत्साह र उमङ्ग देखिन्थ्यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा त्यो देख्न पाइएन ।  त्यसो त चुनाव होला नहोला भन्ने शङ्कै शङ्काको घेरामा स्थानीय निर्वाचन सम्पन्न भयो ।  संविधानसभाबाट आएको वर्तमान संविधानलाई असफल तुल्याउन खोज्ने देशी विदेशी तप्का संविधान सभाबाट संविधान पारित भएकै दिनदेखि कुनै न कुनै नामबाट सक्रिय हुँदै आएका छन् ।  त्यसो त नेपाल २००७ सालको जनक्रान्तिदेखि आजसम्म भएका हरेक आन्दोलन र क्रान्तिपश्चात् प्रयोगशालाको रूपमा प्रयोग हुँदैआएको छ ।  दुई भिमकाय मुलुकको चेपुवामा पर्दै आएको नेपालले सामान्यतया आफ्नो इच्छाबमोजिम आफ्नो गन्तव्यमा पुग्नै पाएको छैन ।  
 नेपाल र भारतको भौगोलिक सिमानामा दशगजा ठिङ्ग उभिए पनि सांस्कृतिक र सामाजिक जीवनमा कुनै दशगजाले छेकेको छैन ।  वर्षौंदेखि नागरिक स्तरको सम्बन्ध प्रगाढ छ ।  त्यसैले भारतीय वा नेपाली सत्तामा नयाँ नयाँ नेतृत्वको सत्तारोहणको खेलले  ती भुइँमान्छेलाई खासै ताìिवक असर पर्दैन ।  नाकाबन्दीको  सबैभन्दा ठूलो असर सिमानामा बस्ने नेपाली र भारतीय हरूलाई नै प¥यो ।  यसको कारण दुई देशबीचको सम्बन्ध नै हो  
नेपाली नेताहरूको अक्षमताकै कारण नेपालको परराष्ट्रनीति सधैँ धरापमा पर्दै आएको छ ।  जसरी संविधान निर्माणका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँगे्रसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले दक्षिणको दबाबलाई झेल्दै खरो रूपमा उभिएर संविधानको घोषणा गर्न सफल हुनुभयो त्यसैगरी देशको सार्वभौमिकता, अखण्डता र परराष्ट्र मामिलामा पनि सबै राजनीतिक दलले एउटा साझा धारणा बनाउन नितान्त जरूरी छ ।  दलैपिच्छेका फरक धारणाका कारण कैयौँपटक नेपालले विश्वमञ्चमा असमान्य परिस्थितिको सामना गरिरहनु परेको छ ।  नेपाली नेताले मित्रराष्ट्रको राम्रा कार्यको अनुसरण गर्न पनि सक्नुपर्छ ।  त्यही भारत हो सरकार परिवर्तन भए पनि वैदेशिक मामिलामा कुनै परिवर्तन हँुदैन ।  आफ्नो देशको हित प्रतिकूल हुनेगरी कुनै नेता देश बाहिर देशको प्रतिनिधित्व गरेर जाँदैनन् चाहे जस्तोसुकै रेडकार्पेट ओच्छ्याइयोस तर हामीकहाँ त्यस्तो स्थिति छैन नेपाली नेताले के कुराको हेक्का राख्नुपर्छ भने नेपाल एक स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक मुलुक हो ।  लोकतन्त्र, मानव अधिकार र शान्तिको विरूद्धमा उभिएका  विश्व नेताको विचारसँग असहमति जनाउने आँट र साहस पनि देखाउन सक्नुपर्छ ।  
यतिबेला उत्तर कोरियाली शासक किमजोगले देखाएको व्यवहार त्रासदीपूर्ण छ ।  उत्तर कोरियाले गरेको लगातारको हाइड्रोजन बम र शक्तिशाली क्षेप्प्रयास्त्रको परीक्षणले विश्व समुदायमा भय र त्रास फैलिएको छ ।  उत्तर कोरियाले गरेको आणविक परिक्षणको विरूद्धमा दुनियाँले बोलिरहँदा नेपालमा पनि मानव अधिकार तथा शान्ति समाजलगायतका संस्थाले कोरियाली दूतावास अगाडि प्रदर्शन गरेर शान्तिका पक्षमा आफ्नो अभिमत जाहेर गरेका थिए ।  नेपालका शान्तिकामी जनताले कोरियालाई मात्र होइन उत्तर कोरियाको नजिकको मित्र चीनलाई समेत खबरदारी गर्दै कोरियाली आणविक परीक्षण बन्द गर्न आफ्नो मित्र शक्तिलाई बेलैमा सच्चिन आग्रह गर र दबाब देऊ भनेको थियो ।  उत्तर कोरियाको व्यवहारले जापानलगायतका मुलुकमा सन्त्रास फैलिएको छ ।  यही निहुँमा कोरिया र अमेरिका युद्धमा होमिए भने नोक्सानी मानवताकै हुने हो ।  तसर्थ मानव अधिकार, शान्ति र अहिंसाका हिमायती सबैले विश्वका नेतालाई आआफ्नो ठाउँबाट निरन्तरको दबाबलाई तीव्र पारिरहनु वाञ्छनीय देखिन्छ  ।  स्वतन्त्रताको लहर विश्वव्यापी रूपमा चलिरहेको वर्तमान घडीमा रूस, अमेरिका, चीन, भारत र उत्तर कोरियाली शासकमा युद्धको उन्माद फैलियो भने त्यसको पहिलो शिकार एशियाली नै हुनेछौँ ।  
यसपटकको निर्वाचनमा नेपाली जनताले प्राय सबै दल र तिनका नेता समक्ष सुशासन, विकास र शान्तिका विषयलाई नै प्रमुखताका साथ अगाडि सारे ।  सुदूर ग्रामीण भेगका जनताका लागि एकसरो लगाउने, साँझ बिहान हातमुख जोर्न र बिरामी हुँदा सहज तबरले स्वास्थ्य सेवा पाउनु नै मानव अधिकार हो भने सुगम भेगका जनताका लागि स्कूल, बाटो, अस्पताल, पिउने पानी, इत्यादि अर्थात् जीवनका आधारभूत आवश्यकता नै मानव अधिकारको आधारशिला हो ।  राजनीतिक तथा नागरिक अधिकारले मात्र मान्छेको आवश्यकता पूरा हुँदैन ।  मानव अधिकारको एउटा पाटो नागरिक तथा राजनीतिक अधिकार हो भने आर्थिक, सांस्कृतिक तथा सामाजिक अधिकार मानव अधिकारको अर्कों पाटो हो ।   यी दुवै अधिकार एउटै सिक्काका दुई पाटा हुन् ।  अझ यसलाई एउटै रथका दुईटा पाङ्ग्रा हुन भन्दा अतिशयोक्ति नहोला ।  
विश्वले ६९ औँ मानव अधिकार दिवस मनाइरहेको यो साता नेपाली जनताले राजनीतिक दलसँग सुशासनको माग गरिरहेका छन् ।  भ्रष्टाचार अन्त्यको माग उठाइरहेका छन् ।  तर महँगो र भड्किलो चुनावको कारण जनप्रतिनिधि भोलि सुशासनको कित्तामा कसरी खरो रूपमा उभिन सक्लान ? यो यक्ष प्रश्न सबैसामु पहाड भएर खडा भएको छ ।  यसतर्फ सबै राजनीतिक दल बेलैमा सचेत हुनै पर्छ ।  नेपाल भ्रष्टाचारले चुर्लुम्ब डुबेको देशको रूपमा चित्रित मात्र छैन जनताले आफ्नो मौलिक हक प्रयोग गर्दा पनि ‘घुस’ दिनैपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भइरह्यो र परिवर्तनको आभास ती भुइँमान्छेसम्म पुगेन भने अर्को विष्फोट हुनसक्छ ।  
यतिबेला लोकतन्त्र नचाहने तप्का विभिन्न नाममा सलबलाइरहेका छन् ।  विखण्डनकारीलाई देशको मौजूदा कानुनबमोजिम बेलैमा तह नलगाउने हो भने यो देश फेरि प्रयोगशाला बन्न सक्छ ।  के नेपाल हिंसाको खेती गर्ने प्रयोगशाला हो ? अब नेपाल र नेपाली जनताले हिंसा सहन गर्न सक्दैन ।  अहिंसात्मक आन्दोलनको बाटो विश्वभर लोकप्रिय र सर्वस्वीकार्य छ ।  मानिसको सबैभन्दा ठूलो हक बाँच्न पाउने अधिकार हो ।  लोकतन्त्रको सुन्दर पक्ष नै त्यही हो ।  जीवन र स्वतन्त्रताको लागिनै लोकतन्त्र चाहिने हो ।  

प्रकाशित मिति: २०७४/८/२४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना