भूगोल र भौगर्भिक विशेषता

kamal rijalकमल रिजाल

वैदिक देवी–देवतामा पृथ्वी अर्थात् माता भूमि बिर्सनै नहुने नाम हो ।  प्रायः सबै वैदिक संहितामा उनी र उनका विशेषताबारे प्रशस्तै चर्चा भएका छन् ।  यसमा ऋग्वेदको स्थान सर्वाधिक अगाडि छ ।  त्यसपछिको स्थानमा क्रमशः यर्जुर्वेद, अथर्वंवेद र सामवेदलाई लिन सकिन्छ ।  ऋग्वेदका १२ वटा सूक्तले त उनलाई आफ्नो इष्टदेवता नै मानेका छन्, जुन सूक्तहरू तेस्रो, आठौँ, नवौँ र दशौँ बाहेकका मण्डलमा छरिएर रहेका छन् ।  त्यस्तै यजुर्वेदका पनि दुई, पाँच, छ, आठ, नौ, एघार, तेह्र, अठार, अठ्ठाईस, चौतीस, पैँतीस, छत्तीस र सैँतीस गरी १२ वटा नै अध्यायले उनको सम्मान गरेका छन् भने अथर्ववेदको दोस्रो काण्डको दसौँ र बाह्रौ तथा तेस्रो काण्डको आठौँ र नवौँका साथै बाह्रौँ काण्डको पहिलो गरी कुल पाँचवटा सूक्त र सामवेद महानम्निक खण्डका चौथो र छैठौँ अध्यायका पनि उनी नै इष्टदेवता मानिएकी छन् ।  जहाँसम्म वैदिक मन्त्रद्रष्टा ऋषिको कुरो छ यसमा उनी प्रत्यक्ष देखिएकी त छैनन् तर उनीजस्तै जल, तेज, वायु आदि वैदिक देवताको गणना मन्त्रद्रष्टा ऋषिहरूमा हुने गरेकाले उनलाई पनि यसैभित्र लिन सकिने आधार भने प्रशस्तै छ ।  
अथर्ववेदको बाह्रौँ काण्डको प्रथम सूक्त भूमिसूक्तको नामले परिचित छ ।  अथर्वा ऋषिद्वारा गाइएको यस सूक्तमा कुल ६३ वटा मन्त्र छन् ।  यस सूक्तले माता पृथ्वीलाई चिन्मय स्वरूपमा प्रस्तुत गर्दैै अनन्त शक्ति र सामथ्र्यशाली देखाउने प्रयास गरेको छ ।  सूक्तका अनुसार माता पृथ्वीको आध्यात्मिक, आधिदैविक र आधिभौतिक गरी तीन किसिमका रूप देखिएका छन् ।  यीमध्ये उनी आधिभौतिक रूपले चराचर जगत उत्पत्ति गर्छिन् भने आधिदैविक रूपले तिनको पालन र व्यवस्थापन गर्ने गर्छिन् ।  अनि यसबाहेकको उनको आध्यात्मिक स्वरूप चाँहि तिनै चराचर जगत्को अधिष्ठान मानिको छ, जसले प्रलय र परिवर्तनको भूमिका निर्वाह गर्दै आएको छ ।  सूक्तको तेस्रो मन्त्रले माता भूमिले आफ्नो उदरमा कसरी विभिन्न नदी, तलाउ, जलाशय तथा समुद्रलाई धारण गर्छिन् भन्ने कुरालाई जसरी प्रष्ट्याउन खोजेको छ त्यसैगरी उनका उत्पत्ति, स्थिति र प्रलयसम्बन्धी कार्यप्रणाली र विशेषतालाई केलाउने काम गरेको छ ।  
त्यस्तै सूक्तको दोस्रो मन्त्रमा माता भूमिले आफू स्वयं होचो, अग्लो, समतल आदि प्रकृतिको भए पनि कसरी सबैलाई समान किसिमको दृष्टि प्रदान गर्दै आएकी छन् भन्ने कुरालाई देखाउने प्रयास भएका छन् भने चौथो मन्त्रमा उनले कसरी जगतलाई भरण पोषण गरी प्राणवान र गतिवान बनाउने गर्छिन् भन्ने कुरालाई वस्तुगतरूपमै गएर केलाउने प्रयास भएका छन् ।  यसमा उनका अन्न तथा औषधि तìव निर्माणसम्बन्धी कला पनि व्यक्त भएका छन् ।  तिनका आपूर्तिगत विशेषता पनि प्रकट भएका छन् ।    
प्रस्तुत सूक्तका प्रायः सबै मन्त्र पृथ्वीको कल्याणकारी कार्यसितै सम्बन्धित छनु ।  तिनमा केही मन्त्र वैज्ञानिक दृष्टिले समेत उच्चकोटीका देखिएका छन् ।  उदाहरणका लागि १६ औँ, १९ औँ, २० औँ, २६ औँ र ३६ औँ मन्त्रलाई नै लिन सकिन्छ ।  यिनले भौगर्भिक शक्ति, सामथ्र्य र सम्पदाको मात्र विश्लेषण गरेका छैनन् खगोल, भूगोलका गति र विशेषता व्याख्यानमा समेत चासो दिएका छन् ।  ३६ मन्त्रमा पृथ्वीलाई जसरी षड्ऋतुको आधार मान्दै तिनको उत्पत्ति र विशेषतालाई केलाउने काम भएका छन् त्यसलाई त चमत्कार नै मान्नुपर्ने हुन्छ ।   ऋतुहरूको नाम त सबैले लिने गर्छन् र त्यसको परिवर्तनको कुरा पनि गर्छन् तर ऋतुपरिवर्तन कसरी हुन्छ भन्ने कुरा भने अहिलेसम्म भौतिक वैज्ञानिक कसैले पनि देखाउन सकेका छैनन् तर प्रस्तुत मन्त्रका द्रष्टा ऋषि अथर्वाले भने हजारौँ वर्षपूर्व नै त्यसको समेत छिनोफानो गरिदिएका छन् ।   
दिन र रात बनाउने पनि पृथ्वी नै हुन् भने तिनलाई धारण गर्ने पनि पृथ्वी नै हुन् (ऋग्वेद १ ।  १८५ ।  १)  समग्र दैवी शक्ति र सत्ताका सम्पादक पनि पृथ्वी नै देखिएका छन् भने तिनका व्यवस्थापक पनि पृथ्वी नै मानिएका छन् ।  
(ऋग्वेद १ ।  १८५ ।  ४) त्यस्तै संसारका यावत धन–सम्पदाका आधार पनि पृथ्वी नै हुन् भने तिनलाई प्राप्त गर्ने र गराउने माध्यम पनि पृथ्वी नै हुनु ।  (ऋग्वेद ४ ।  ३८ ।  १) सबैलाई आ–आफ्नो कर्म अनुसारको फल दिने पनि पृथ्वी नै हुन् (ऋग्वेद ऐ ऐ ५६) भने आकाशमा मेघमण्डल निर्माण गरी उसलाई वर्षा गराउन बाध्य पार्ने पनि पृथ्वी नै हुन् ।  अनि तिनै वर्षाका माध्यमबाट गर्भधारण गरी लोकहितमा प्रस्तुत हुने पनि पृथ्वी नै हुन् (ऋग्वेद ५ ।  ८४ ।  ३) ।  त्यसैगरी चराचर जगत्को अधिष्ठान पनि पृथ्वी नै हुन् (ऋग्वेद ६ ।  ७० ।  २) भने अनेकौँ किसिमको दिव्य शक्ति र सम्पदाले सबैलाई भुल्याउन सक्ने पनि  पृथ्वी नै हुन् (ऋग्वेद ७ ।  ५३ ।  ३)
‘माता भूमि पुत्रोऽहम पृथिव्याः’ अर्थात् अथर्ववेद १२ ।  १ ।  १२ का अनुुसार चराचर जगत्को  मातृसत्ता मानिएकी पृथ्वी दैवी दैवी शक्तिका प्रतिनिधि पात्र मात्र होइनन् तमामं देवीदेवताकै अधिष्ठानसमेत हुन् ।  वेदमा ३३ कोटी देवताको नाम आएको छ तर यो कोटी शब्द करोड नभई किसिमसित सम्बन्धित छ ।  यसअनुसार ३३ कोटी देवता भन्नाले यहाँ ३३ किसिमका देवता हुन् भन्ने बुझ्नुपर्ने हुन्छ ।  यिनमा अष्टवसु, एकादशरुद्र, द्वादशादित्य, इन्द्र र प्रजापति पर्छन् ।  यीमध्ये अग्नि, सोम आदि केही देवता पृथ्वी स्थानीयमा पर्छन् भने इन्द्र, रुद्र आदि केही देवता अन्तरिक्ष स्थानीय र द्वादशादित्य आदि केही देवता द्युस्थानीयमा पर्छन् ।  पृथ्वी स्थानीय त यसै पनि पृथ्वीसितै सम्बन्धित भई नै हाले अन्तरिक्ष स्थानीय र द्युस्थानीयसमेत कुनै न कुनै रूपमा पृथ्वीसितै सम्बन्धित देखिनुलाई थप प्रमाणको रूपमा लिन सकिन्छ ।    
पृथ्वी कहिले उत्पन्न भयो र कसले उत्पन्न ग¥यो भन्नेबारे अहिलेसम्म कसैले पनि भन्न सकेका छैनन् ।  ‘सूर्यचन्दमसो धाता यथापूर्वमकल्पयत् ।  दिवं च पृथ्वीं चान्तरिक्षमथो स्व । ’ अर्थात् ऋग्वेद मण्डल १० सूक्त १९० को तेस्रो मन्त्रमा विधाताले पूर्व कल्पअनुसार सूर्य, चन्द्रका साथै आकाश, पृथ्वी, अन्तरिक्ष र स्वर्ग आदिलाई प्रकट गरे भनिएको त छ तर पहिलो कुरो उत्पत्ति नभई पूर्व कल्प अनुसार पुनः प्रकट गरे भनिएको छ भने दोस्रो कुरो कहिले प्रकट गरेका हुन् त्यो पनि निश्चित छैन ।  त्यस्तै आधुनिक विज्ञानले पनि पृथ्वीलाई सूर्यबाट चोइटिएर आएको हो भनेको त छ तर कहिले चोइटिएको हो त्यो पनि प्रष्ट छैन ।  यसअनुसार भन्नुपर्दा पृथ्वीको सत्ता अविनाशी मात्र होइन अनन्तसमेत रहेको देखिन्छ ।  
हामीले माता भूमिको आध्यात्मिक रूप र आधिदैविक रूप देखेका छ छैनौँ ।  यी रूप आफैँमा आफैँमा अनुभवगम्य मात्र हुन्, दृष्टिगोचका विषय हुँदा पनि होइनन् तर भौतिकरूपले भने चराचर जगत्कै आश्रयस्थल बन्दै आएकी छन् ।  पञ्चमहाभूतको एउटा भूत मानिएको पृथ्वीको अभाव हुने हो भने न कसैको उत्पत्ति नै सम्भव छ न विनाशकै कुरा गर्न सकिन्छ ।  त्यसैले यो न कसैको हो न कसैको अधीनमा राख्न नै सक्छ ।  तैपनि आजका मानिस यसैका निम्ति मेरो र तेरो भन्दै आपसमा मारकाट गरिरहेका छन् भने योभन्दा बालपन के नै हुन सक्ला र ?

प्रकाशित मिति: २०७४/८/२४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना