जैविक विविधताको संरक्षण

तिलक कुमाल   


बहुलता र एकताको पहिचान भएको नेपाल जैविक विविधताले धनी छ ।  प्रकृति, संस्कृति र कलाको रानी र खानीमात्र नभई जैविक विविधतामा पर्याप्त स्रोतले भरिपूर्ण छ भनी गुणगान गाउनु गौरवगाथा मानौँ ।  जैविक विविधताको हिसाबले विश्वमा २५औँ एवं एसियामा ११औँ स्थानमा छ ।  संयुक्त राष्ट्र सङ्घले सन् २००० डिसेम्बरमा सम्पन्न भएको साधारणसभाले मे २२ लाई जैविक विविधता दिवस मनाउने निर्णय गरेपछि विश्वभर जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राखी विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।
जैविक विविधता शब्दको प्रयोग सन् १९८० को दशकदेखि प्रयोगमा आउन थालेपछि मानव समुदायले धर्तीलाई माता मानेर सम्बोधन गर्ने चलन छ, जब धर्तीमा जैविक विविधता नरहे प्राणीको अस्तित्व रहँदैनथ्यो ।  पृथ्वीलाई विविध उपमा दिएर धार्मिक एवं आध्यात्मिक नामकरण गरिएको पाइन्छ ।  यसको रक्षार्थ प्राणीमध्येको वौद्धिक एवं सामाजिक प्राणी मानवले पहल गर्नु अनिवार्य दायित्व हो ।  
विश्वभर जैविक विविधताको संरक्षणका लागि हामीले के कस्तो भूमिका निर्वाह गरेका छौँ ? प्रश्न आफैँले आफ्नै लागि र सन्ततिको भविष्यका लागि विचारणीय छ ।  विश्वव्यापी उष्णता वृद्धि हुनु, जलवायु परिवर्तन, तापक्रमको वृद्धि, वातावरणीय प्रदूषण, ओजोन तहको विनाश आदि खतरनाक लक्षण वा गतिले आगामी दिनमा धर्तीमा प्राणी वा मानवको जीवन रहला कि नरहला ?
यसको संरक्षण, सदुपयोग र उपयोगबाट हुने लाभको समान र न्यायोचित वितरण नै मानव जगत्को उद्देश्य हुनुपर्छ ।  यसका खातिर जनजनको मनमा जैविक विविधतायुक्त प्रकृतिलाई साक्षात भगवान्को रूपमा लिएर विश्वव्यापी जनचेतना र संरक्षणका उपाय फैलाउनुपर्छ ।  अभियानलाई प्रभावकारी बनाउन जुन कुनै देशको प्रशासनिक अङ््ग र जनतापछि पर्नुहँुदैन ।   
विश्वमा जलस्रोतमा दोस्रो धनी देशको पहिचान भएको यहाँ अरू देशमा नपाइने जीवजन्तु पाइन्छन् ।  वायु, मौसम, वातावरण र भूगोलको विविधतामय पारिस्थितिक प्रणाली पनि अनुकूल भएको मुलुक धर्तीमा बिरलै छन् ।  विश्वमा नपाइने आठ प्रकारका पुतली यहाँ पाइनुका साथै पोन्टिया शेर्पा नामक प्रजातिको पुतली पाइएको छ ।  दुर्लभ काँडे भ्याकुर र बाघ पाइनु, लोपोन्मुख भइसकेका लोपोन्मुख जीवजन्तु र वनस्पति नेपालमा पाइनुले पनि विविधताको देशमा नेपाल उल्लेखनीय रहनु पनि गर्बिलो तथ्य राष्ट्रिय स्वाभिमानको विषय हो ।
मानिस प्रकृति र जैविक विविधताबाट अलग्गिएर जीवनयापन असम्भव छ ।  नेपालमा पारिस्थितिक प्रणालीमा वन जङ्गल, झाडी, बुट्यान, गौचरण र घाँसे मैदान आदि हिमाली भेगमा अधिक क्षेत्र ओगटेका छन् ।  पहाड र तराईमा समेत पर्याप्त जैविक विविधतानुकूल वातावरण छ ।  यद्यपि, सत्यतथ्य यो हो कि परिवर्तन र विकास अपरिहार्य छ, परिवर्तन अकाट्य नियम भएकोले दिगो विकासमा भने जोड दिनैपर्छ ।  प्राण दिने वातावरण, प्राकृतिक सन्तुलन र जैविक विविधतालाई बेवास्ता गर्दैै विकासका पूर्वाधार खडा गर्ने प्रचलनमा भने गम्भीर हुनैपर्छ ।  जनसङ्ख्या वृद्धि, अव्यवस्थित बस्ती, उद्योग कलकारखानाको स्थापना, शहरीकरण र वन विनाशको कारण रैथाने प्रजातियुक्त जैविक विविधतामा खलल उत्पन्न भएको छ ।  प्रकृति माथिको अतिक्रमणले अन्ततः मानवलगायत प्राणीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पु¥याउँछ ।  यथार्थ, हो प्रकृति भावी सन्ततिलाई पनि चाहिन्छ भन्ने भुल्नु भएन ।  प्रकृतिको दोहन भएपश्चात् पैदा हुने विपत्तिको भागिदार हामी हौँ ।  
पानी, खानी र जवानीले भरपूर देशमा प्राकृतिक सम्पदाको सौन्दर्यता, सांस्कृतिक र धार्मिक सम्पदा, संस्कृति आदिमा धनी छ नै ।  जैविक विविधताले झन् अनुपम र सुन्दरता बढाएको छ ।  यसलाई राज्यले संयन्त्र खडा गरी मुलुकमा पर्यटकको सङ्ख्या वृद्धि गरी पर्यटन पेसा व्यवसाय फस्टाउनमा टेवा पु¥याएको छ, आर्थिक विकासको बलियो आधार बन्नेमा द्विविधा छैन ।  नेपाली राजनीतिक दलको ओँठेमन्त्र आर्थिक र कृषि क्रान्तिमा समेत सहजता ल्याउन मद्दत नगर्ने सवाल पनि देखिन्न ।  निकुञ्ज, आरक्ष, वन जङ्गल, वनस्पति, जीव जनावर र कृषिलगायत अवलोकन गर्न आउने पर्यटक लगभग ६० प्रतिशत रहेका छन् ।  जसबाट करौडौँ रुपियाँ राजस्व सङ्कलन हुन सुखद पक्ष हो ।
हालै विश्व संरक्षण सङ्घद्वारा सार्वजनिक गरेको प्रतिवेदनअनुसार ३६ प्रजातिका चरा १३१३ प्रजातिका जीव लोप हुने स्थितिमा देखिएका छन् ।  नेपालमा जैविक विविधताको महासन्धिलाई २३ नोभेम्बर १९९३ मा तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो ।  नेपाल जैविक विविधता महासन्धिको पक्षराष्ट्र भएपछि नेपालले विभिन्न समयमा प्रतिवेदन बुझाएको पाइन्छ भने सिमसार क्षेत्रमा १० वटा सम्पदा सूचीकृत भइसकेको छ भने अन्य क्षेत्र पनि सूचीकृत गर्न मापदण्डअनुसार जनसङ्ख्या तथा वातावरण मन्त्रालयले रणनीति तर्जुमा गर्ने दायित्वबाट पक्कै विचलित छैन ।  नेपालमा संरक्षित पशुपक्षी घोषणा गरिनु जस्ता कार्य, लोपोन्मुख वनस्पति, जीवजन्तु एवं सुरक्षित र संरक्षित रहनु अर्को सुखद लक्षण हो ।  
प्रविधिको विकाससँगै परिवर्तनको लहरबाट पन्छिन मिल्दैन ।  यन्त्र, उपकरण, जनसङ्ख्या वृद्धि कलकारखाना बिस्फोटक पदार्थ आदिको कारण अल्पविकसित र विकासोन्मुख मुलुक प्रदूषण र जलवायु परिवर्तको नतिजा स्वरूप प्रकृतिको विनाशलीला मच्चिएको कुरा नकार्न सकिँदैन ।  नेपालको परिप्रेक्ष्यमा भने जैविक विविधताको विषयमा त्यति चर्चा परिचर्चाको माहोल सुन्न वा देख्न कमै मात्रामा पाइन्छ ।  बढ्दो वन विनाश, जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि र शहरीकरण आदिको नकारात्मक असरले जैविक विविधतामा प्रतिकूलता थपिँदै गएको छ ।  विश्वव्यापी तथ्याङ्कलाई नियाल्दा कुल क्षेत्रफलमध्ये ३० प्रतिशत भूभाग वन जङ्गलले ओगटेको पाइन्छ भने प्रतिवर्ष एक करोड १० लाख हेक्टर वन प्रतिवर्ष फँडानी भएकोले यसबाट लगभग २० प्रतिशत कार्बन ग्यास उत्सर्जन हुने गर्छ ।  यसर्थ, यो वन विनाशको दर बढ्दै गएमा हरितगृह ग्यास वृद्धि हुने नै भयो ।  
पृथ्वीको तापक्रम बढ्दै हरित गृह प्रभाव र ओजोन तहको विनाश आदिबाट मानवको रोग प्रतिरोध क्षमताको कमी भई सर्ने र नसर्ने रोगका जोखिम बढिरहेको छ ।  अनुपम सर्वोच्च हिमालको हिउँको तहमा दूरवस्था भएर कालापत्थर हुने लक्षण र सम्भावना उत्पन्न हुनु नेपाली र विश्व समुदायको लागि दुःखद पक्ष हो ।  अर्कोतर्फ प्रकृतिमाथि मानवीय अतिक्रमण र औद्योगिकीकरणलगायत प्लास्टिकमय धर्ती एवं धुवाँ र धुलोमय एवं हानिकारक कार्बनमय वायुमण्डलले मानव स्वास्थ्य र पशुपक्षीमा प्रजनन क्षमतामा ह्रास भएको स्वास्थ्य अनुसन्धानले देखाएको कुरा प्रमाणित छ ।  रैथाने प्रजातिका जन्तु लोप हुँदैछन् ।  कृषि उत्पादनमा ह्रास, कृषिबाली खेती गर्ने समय र मौसममा असन्तुलित स्थिति सिर्जित छ ।  यसर्थ, रैथाने अन्नपात लोप हुँदै जानु, मौसमको प्रतिकूलता, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि, भूक्षय, बाढीपहिरो इत्यादि समस्या निराकरण गर्ने उपाय लागू गरिएन भने प्रकोप निकट भविष्यमै निम्तिन सक्छ ।  प्राणी जगत्को अस्तित्वमा निरन्तर अनुकूलता कायम राखिरहनका लागि विश्व समुदायको ध्यानाकर्षण नितान्त जरुरी छ ।  
मुलुकको आर्थिक विकास, गौरव र पर्यटन व्यवसाय र स्वरोजगार पर्यटकको आगमन सङ्ख्याको वृद्धि गर्न कृषि तथा पशु विकासका कार्यक्रमलाई बढावा दिँदै कृषि रणनीति र जैविक विविधता नीतिलाई प्रभावपूर्ण कार्यान्वयन गर्न विलम्ब नगर्नु जाती हुन्छ ।  प्राणीजगत प्रकृतिको जैविक विविधतायक्त वातावरणबाट अलग हुन असम्भव छ ।  कृषि प्रधान मुलुकको चिनारी भएको नेपालमा आर्थिक विकासमा कृषिको योगदान दुईतिहाइ भन्दा बढी रहेको कृषिको तथ्याङ्क पाइन्छ ।  कृषि विकासका लागि, मानवीय सुस्वास्थ्य, पशुपक्षीको संरक्षण, स्वच्छ वातावरणमा बाँच्न पाउने हक, जैविक विविधताको संरक्षण, सौन्दर्यका रानी हिमालको सौन्दर्यता कायम राख्न हाम्रो ध्यान जानुपर्छ ।  जैविक विविधता हामी र भावी पुस्ताको रक्षाका खातिर जलवायु अनुकूलनका कार्यक्रम ल्याउनु राज्यको निकायसँगै जनता जागरुक हुनु दायित्व हो ।  

प्रकाशित मिति २०७४/८/२५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना