सत्ता सञ्चालनका लागि वाम गठबन्धन

GOPAL SHOWAKOTIप्रा. डा. गोपाल शिवाकोटी

 

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रत्यक्षतर्फको मतगणनामा  वाम गठबन्धनले झन्डै दुई तिहाई बहुमतमा विजय हासिल गरेर स्थिर सरकार गठन गर्न मुलुकलाई समाजवाद उन्मुख समृद्ध नेपालको निर्माण गर्ने जिम्मा वाम गठबन्धनलाई दिएका छन् ।  यसअघि परिवर्तनमा काङ्ग्रेसलाई जिम्मा दिने गरेकोमा यसचोटी मतादेशबाट जनताले  वाम गठबन्धनलाई  दिएर मुलुकमा नेतृत्वको जिम्मा वाम पक्षलाई  दिएकोले जनताको परिवर्तनको आकांक्षा र विकल्पको खोजी समेत भएको छ ।  
    यो निर्वाचनमा प्राप्त सफलताले पाँच वर्षको लागि स्थिर सरकार गठन गर्न वामपक्षलाई अवसर प्राप्त भएको छ ।   मुख्य समस्या नै अस्थिर सरकार भएकोले सरकारको सट्टामा स्थायी सरकारबाट मात्र मुलुकको समृद्धि हासिल हुुन सक्छ भनी स्थिर सरकारको लागि दुई तिहाइको बहुमत दिएर जनताले नेतृत्व सुम्पेका छन् ।  यो मतादेशले मुुलुकको थोत्रो भैसकेको व्यवस्था र नेतृत्वको ठाउँमा नयाँ नेतृत्व र व्यवस्थाको थालनी भएको छ ।  देशको  सबै स्रोत साधन समाजको भएको छ ।  समाज देशको लागि हुने गरी व्यवस्थाको परिवर्तन भएको छ ।  नेपालको  संविधानले समाजवाद उन्मुख व्यवस्था भनी परिभाषित गरेकोले मुलुक अब समाजवादतर्फ प्रवेश गरी मुलुकले दक्षिणपन्थलाई छोडेर वामपन्थतर्फ उन्मुख भएको छ ।  यसैले बडो सुझबुझका साथ जनताले दिएको दायित्वलाई वामपन्थी गठबन्धनले सत्ता प्राप्त भएको उन्मातग्रस्त  नभई स्वंयतापूर्वक अगाडि बढ्नुपर्ने बेला आएको छ ।  यो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले वामगठ बन्धनतर्फ लहर देखिएको छ भने काङ्ग्रेस प्रतिरक्षात्मक स्थितिमा पुगेको छ ।  यसैले गर्दा वामपन्थीको एकमना   सत्ता हुने निश्चित गरेको छ ।  नेपालमा वामपन्थी बढी भएको कुरा यसअघि संविधानसभाको निर्वाचनमा देखिए पनि एमाले र माओवादीबीचको गठबन्धनपछि भएको निर्वाचनले वामको संख्या अत्याधिक भएको कुरा मतादेशबाट अभिव्यक्त भएको छ ।  
२०४६ सालको परिवर्तनपछि एमालेले अल्पमतको सरकार बनाएर सत्ताको प्रयोग गरेको थियो भने त्यसपछि बारम्बार वामपन्थीहरू सत्तामा पुगे पनि काङ्ग्रेसको राजनीतिमा अत्यन्त शक्तिशाली भूमिका रहेको थियो ।  तर अहिले ठूलो वाम दल संयुक्त भएर चुनाव लडेपछि पाँच वर्षको बहुमतको सरकार गठन गर्ने कुरा प्राप्त गरका हुन् ।  वामपन्थीको मोर्चा बनेको लगत्तैपछि नै मोर्चा नटिक्ने भनी गरिएको प्रचार र निर्वाचनमा अन्तरघात हुन्छ भनी गरिएको प्रचारलाई निर्वाचनको समयमा इमान्दारीपूर्वक मतदान भएबाट यो आशंका समाप्त भएको छ ।  निर्वाचनपछि नै गठबन्धन विघटन हुन्छ र तल्लो तहका कार्यकर्ताले यो गठबन्धनबाट विद्रोह गर्छन् भन्ने कुराको विपरित निर्वाचनको सहकार्यले वाम गठबन्धनपछि पार्टी एकीकरणको वातावरण तयार भएको छ ।  साथै वाम गठबन्धनलाई जनताले निर्वाचनमार्फत अनुमोदन गरिदिएका छन् ।  यो वामगठबन्धनले नेपाली जनताको बलियो पकड भएको समेत पुष्टि गरेको छ ।  
वाम गठबन्धनले अत्याधिक मत प्राप्त गर्नुमा गठबन्धनले स्थिरता, विकास र समृद्धिको लागि उठाएका नारा तथा उनीहरूको राष्ट्रियता प्रतिको दरो अडान नै प्रमुख कारण रहेको देखिन्छ ।  यो मतादेशले वाम गठबन्धनले उठाएको स्थिरता र समृद्धिको नारालाई जनताले रुचाएको र वामले जितेमा अधिनायकवाद वा एकदलीय तानाशाही आउँछ भन्ने कुरालाई जनताले नरुचाएको र अपाच्य भएको समेत देखा प¥यो ।  यस किसिमको अधिनायकवादको  प्रचार गर्ने नेताले दण्डित गरेर उनीहरूलाई हराइ दिएको देखियो ।  साथै जनताले धर्म निरपेक्षता विरोधी हिन्दुधर्मवादीहरूलाई समेत  पराजित गरी दिएर धर्म र राजाको नाममा राजनीति गरिरहेका  राप्रपाका दुबै पक्षलाई पराजित गरी दिएर आफ्नो अभिमतको स्पष्ट गरेको देखियो ।
यी निर्वाचनले विभिन्न चिरामा रहेको वामपन्थी पार्टीबाट निराश भएका जनतामा एक ठाउँमा आउँदा उत्साह समेत देखियो र उनीहरूले वाम शक्तिहरूलाई विभिन्न चिरामा नबाँटी एकै ठाउँमा आउन समेत मतादेश दिएको देखिन्छ ।  चुनावी तालमेल पनि पार्टी एकतामा जाने एमाले र माओवादीबीचको समझदारीलाई यसले अनुमोदन गरिदियो ।  
    वामपन्थीको गठबन्धनले सत्ता सञ्चालन गर्ने सामान्य बहुमत मात्र होइन, दुई तिहाइको निकटको बहुमत ल्याई सत्ता सञ्चालन गर्न सक्ने शक्ति उत्पन्न भएपछि यसको दिएको स्थिरता, विकास, सामाजिक न्याय र समाजवाद उन्मुख व्यवस्थालाई प्रमाणित गर्ने दायित्व दिएको छ ।  सम्पूर्ण परिणाम यही मङ्सिर ३० गतेभित्र घोषणा भएपछि सत्ताको प्रक्रिया सुरु हुनेछ ।  त्यसपछिको सत्ता समीकरण कस्तो हुनेछ भनी निर्धारण हुनेछ ।  पराजित भएको कांग्रेसले विगतका आफ्ना र आफ्ना नेताहरूको आत्म समिक्षा गरी सुध्रिएर र अगाडि बढ्ने हो वा आक्रमक भएर बढ्ने हो भन्ने कुरा देखिएको छ ।  तर अहिलेको पहिलो शक्तिको रुपमा रहेको र संविधानको कार्यान्वयनको जिम्मेवारी पाएको वामगठबन्धनले सबै शक्तिहरूलाई  साथमा लिएर संविधान कार्यान्वयन गर्ने र मुलुकको समृद्धि र स्थिरताको लागि साथै अगाडि लैजाने प्रयास गर्नु पनि आवश्यक छ ।  कांग्रेसमा विगतमा रहेको समाजवादी प्रवृत्तिलाई अगाडि बढाई उनीहरूमा रहेको दक्षिणपन्थी यथास्थितिवाद र प्रतिगमणकारीकारी प्रवृत्तिलाई सच्याउन मद्दत गर्नु पनि वाममोर्चाको दायित्व भएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासको विषय भैसकेको राजतन्त्र र आदिमकालको हिन्दुवादी धार्मिक प्रवृत्तिलाई सच्याएर उनीमा रहेको राष्ट्रवादी सम्बन्धी चेतनालाई साथै लिएर अगाडि बढ्नु पनि वाममोर्चाको दायित्व भएको छ ।  
अहिले वामगठबन्धनको प्रमुख कार्यभार भनेको पार्टीबीच सत्ता बाँटफाँट, तल्लो तहदेखि केन्द्रसम्मको पार्टी एकता गर्नु, तदर्थवादको सट्टा प्रणालीको निर्माण गर्न प्रमुख काम भएको छ ।  यस्तै निर्वाचनको क्रममा नेकपा विप्लव समूहले विस्फोटन गराएर आफ्नो उपस्थिति देखाउने प्रयास गरे पनि ऊ असफल भएकोले आक्रोशित भएर प्रस्तुत हुन सक्छ ।
यो समूहसँग वार्ता गर्ने र मुलुकमा सामाजिक विभेद, असमानता हटाएर यो पार्टीलाई पनि मुलुकको राजनीतिक मूल प्रवाहमा पनि ल्याउन सक्नुपर्दछ भने वैद्य समुहलाई समेत सम्मान दिएर वाम गठबन्धनभित्र ल्याउनु आवश्यक छ ।  अर्काे चुनौति भनेको अहिलेको मधेशको समस्या हल नगरी निर्वाचन भएको  छ ।  यी समस्याहरू ज्यूँका त्यूँ छन् ।  त्यसैले त्यहाँका अतिवादीले यसैबाट चलखेल गर्न सक्ने भएकोले मधेशका मुद्दालाई सम्बोधन गर्न सबै पक्षलाई साथ लिएर संविधानको संशोधन गरी सुल्झाएर मधेश केन्द्रित दलहरूको असन्तुष्टिलाई समेतलाई समाधान गरिनु आवश्यक छ ।  
अहिले गठबन्धनको सरकार बनेपछि अधिनायकवाद हुन्छ कि भन्ने आशंकालाई व्यवहारबाट गलत प्रमाणित गरिदिनु आवश्यक छ ।  नियन्त्रणमुखी नभएर अनुशासन र प्रणालीको निर्माण गरी मुलुकलाई प्रणालीमा हिँडाउनुपर्दछ ।  हिँडाएपछि सबै आशंका नष्ट हुनेछन् ।  प्रेस स्वतन्त्रता वर्तमान अवस्थामा वाम गठन्धनले अरु प्रोत्साहित गर्दछ र वाक स्वतन्त्रतालाई आफ्नो कमजोरी सच्याउने संयन्त्रको रुपमा ठान्दछ भनी प्रमाणित गर्नुपर्ने देखिन्छ ।  छिमेकीको सम्बन्धमा समान हैसियतको सम्बन्ध विकसित गर्नुपर्दछ ।  चीन नेपालमा स्थायित्वको लागि चिन्तित छ ।  चीनले नेपालको आर्थिक विकासमा यथेस्ट वातावरण निर्माण गर्नका साथै भारतसँगका सम्बन्धलाई आपसी हितमा अगाडि बढाइ वाम सरकारबाट कुनै किसिमको भारतको अहित हुँदैन भनी विश्वास दिलाउन सक्नुपर्दछ ।  
यो निर्वाचनबाट वाम गठबन्धन अत्याधिक बहुमत प्राप्त गरेपछि मुख्य दायित्व भनेको मतादेशको सम्मानजनक व्यवस्थापन नै हो ।  देशमा स्थिरता र विकासमा सबै शक्ति केन्द्रित गर्नु हो ।  समाजलाई वाम मार्गबाट समाजवादतर्फ उन्मुख गराउनु हो ।  संयम् धैर्यतापूर्वकको कार्य गर्नु हो ।  वामगठबन्धनले ६ वटा प्रदेश र केन्द्रमा स्थायी सरकार दिनेछन् ।  सङ्घीयताको कार्यान्वयन गरी जनताको हक अधिकारलाई संस्थागत गर्नेछन् ।  साथै दलीय व्यवस्थाको पुर्नस्थापनापछि जारी अस्थिर सरकार, राजनीति र अराजक स्थितिको क्रमङ्गता हुनेछ ।  

प्रकाशित मिति: २०७४/८/२६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना