भारतीय रेलवेले अतिरिक्त जरिवाना हटायो

railwayवीरगञ्ज, मङ्सिर २७ गते ।  भारतीय रेलवेले गत असार ३ गतेदेखि लागू गरेको अतिरिक्त जरिवाना हटाएर सामान्य जरिवाना लागू गरेको छ ।  सामान्य जरिवानाभन्दा छ गुणा बढी रहेको उक्त अतिरिक्त जरिवाना हटाइएपछि नेपाली आयातकर्तालाई राहत भएको छ ।  यो जरिवानाको दररेट हटाइएपछि नेपाली व्यवसायीहरूले भारतीय रेलवेलाई मासिक रूपमा करोडौं रुपियाँ जरिवाना तिर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।  भारतीय रेलवेको रक्सौलस्थित गोदामका प्रभारी अजयकुमारले उक्त अतिरिक्त जरिवाना दररेट अक्टुबर २३ तारिखबाट हटाइएको जानकारी दिनुभएको छ ।     
भारतको मध्यपूर्व रेल समस्तीपुर क्षेत्रीय कार्यालयले २२ जुनमा दिएको निर्देशन अनुसार रक्सौल रेलवेले असार ८ गतेदेखि जरिवाना रकम छ गुणासम्म वृद्धि गरेको थियो ।  
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका करिब एक दर्जन सिमेन्ट उद्योगले कच्चा पदार्थ क्लिङ्कर, जिप्सम, फ्लाई एस र स्लेग भारतीय रेल्वेमार्फत आयात हुने गरेको छ ।  यसरी भारतीय रेलवेले आयातकर्ताले चाँडै सामान लैजाउन् भन्ने उद्देश्यले आयातित सामग्री थन्किएमा सामान्य दररेटमा जरिवाना लिने गरेको भए पनि असार महिनाको ८ गतेदेखि छ गुणा बढाइएकाले औद्योगिक उत्पादन लागत बढ्ने गरेको थियो तर पछिल्लो समयमा उक्त अतिरिक्त जरिवाना दररेट भारतीय रेलवेले हटाएकाले व्यवसायीहरूलाई केही राहत भएको छ ।    
 सुरुमा १० दिनको लागि भनिएको यो जरिवाना करिब चार महिना केही दिनसम्म रहेको थियो ।  भारतीय रेलवेले बढाएको उक्त जरिवाना दररेट कायम नै रहँदा भारतीय रेलवे भएर औद्योगिक कच्चा पदार्थ आयात गर्ने  नेपाली व्यवसायीले वार्षिक ३० करोडभन्दा बढी रकम जरिवाना तिर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको थियो ।  
दैनिक २ देखि साढे २ ¥याक औद्योगिक सामग्री भारतीय रेलवेको गोदामबाट उठ्नुपर्ने भए पनि रेल्वे कस्टमको बाटो र रक्सौल वीरगञ्जको बाटोको खराब अवस्था एवं ट्राफिक समस्यालगायतका विविध कारणले औद्योगिक सामग्री उठ्न नसक्ने अवस्था रहेको छ ।  समयमा सामान उठाउन नसक्दा व्यवसायीहरूले जरिवाना तिर्नुपर्ने अवस्था आउने गरेको स्वयं व्यवसायीहरूको भनाइ रहेको छ ।  
पर्साका ट्राफिक प्रहरी निरीक्षक सुरेशकुमार साहले खाल्डाखुल्डी भएको साँघुरो बाटो भएकाले र एकैपटक भारतीय र नेपाली गरी ठूलो सङ्ख्यामा सवारी साधनहरू भित्रिने गरेकाले ट्राफिक जामको समस्या हुने गरेको बताउँदै सवारी जामको समस्या पहिलेदेखिकै समस्या रहेको दाबी गर्नुभयो ।   
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका अधिकांश उद्योगले भारतीय रेलवे प्रयोग गर्दै औद्योगिक कच्चा पदार्थ आयात गर्ने गरेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव माधव राजपालले गोरखापत्र दैनिकलाई बताउनुभयो ।  
रेलको एक ¥याकमा तीन हजार आठ सय मेट्रिक टन कच्चा पदार्थ हुन्छ भने भारतीय रेलवेको गोदाममा तीन ¥याक तल र तीन ¥याकमाथि गरी छ ¥याक कच्चा पदार्थ थन्किने गर्दछ ।  त्यसका साथै निजी गोदाम तथा निजी जग्गामा करिब १५ ¥याक औद्योगिक सामग्री रहने गरेको उहाँले बताउनुभयो ।  
इन्डोनेसिया, अफ्रिका, मोजाम्बिकबाट नेपालमा कोइला आयात गर्ने आयातकर्ताहरू यो वीरगञ्ज रक्सौल नाकामा भारतीय रेलवेमार्फत राम्ररी सामग्री ढुवानी गर्ने गरेका छन् ।  तेस्रो मुलुकबाट आएको औद्योगिक कच्चा पदार्थ भारतको कोलकाता बन्दरगाह नजिकैको हल्दियाबाट भारतीय रेलवेमार्फत रक्सौलमा भण्डारण गर्नुपर्ने बाध्यता छ ।  रक्सौलको भारतीय रेलवे गोदामका प्रभारी कुमारले अक्टुबर २३ तारिकबाट अतिरिक्त जरिवाना दररेट हटेको र सामान्य दररेट कायम भएको गोरखापत्रलाई बताउनुभयो ।   एक ¥याक कच्चा पदार्थ २४ घन्टा रक्सौलमा थन्कदा तत्कालीन जरिवाना दरअनुसार १० लाख ७९ हजार भारतीय रुपियाँ अर्थात् नेपाली १७ लाख २६ हजार रुपियाँ जरिवाना बुझाउनु पर्दथ्यो ।  
रेलको एक ¥याकमा तीन हजार आठ सय मेट्रिक टन कच्चा पदार्थ हुन्छ ।  उक्त आयातित सामग्री एक दिन ढिलो हुँदा प्रतिटन चार सय ५४ रुपियाँ अतिरिक्त जरिवाना लाग्दथ्यो ।  यसरी जरिवाना तिर्दा उद्योगीलाई सिमेन्ट उत्पादन गर्दा प्रतिबोरा २२ रुपियाँ ७१ पैसा बढी लागत परी रहेको थियो ।  
तोकिएको समयभन्दा दुई घन्टासम्म ढिलाइ भएमा सामान्य दरमै र त्यसभन्दा बढी समय भए दुईदेखि चार घन्टासम्म दोब्बर, चार घन्टादेखि ६ घन्टासम्म चार गुणा र ६ घन्टादेखि बढीमा ६ गुणा जरिवाना बुझाउनुपर्ने अतिरिक्त जरिवाना दररेट लागू गरिएको थियो ।  
नेपालका लागि दैनिक तीन÷चार ¥याकमा मालसामान रक्सौलमा आउने गरेको छ तर प्रायः राति रेल आउने अनि राति ११ बजेदेखि बिहान ५ बजेसम्म नाका बन्द हुने गरेकाले समयमा सामग्री हटाउन सक्ने अवस्था नरहेकोमा व्यवासयीहरूको पहलमा वीरगञ्ज भन्सार कार्यालयले रातको समयमा पनि गाडी आउन दिने कार्य सुरु गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिनुभयो ।  रक्सौलको रेल गोदाम यार्डमा  रहेका ७,८,९ ट्रयाकमध्ये ७ र ८ नम्बर ट्रयाकको मुख साघुरो र खाल्डाखुल्डी एंव हिलोले उत्तिकै समस्या पार्ने गरेकोमा पछिल्लो समयमा ९ ट्रयाकबाट पनि काम भइरहेको भारतीय रेलवेका प्रभारी कुमारले बताउनुभयो ।  
रक्सौल रेलवेमा नेपाल रेलवेको करिब २०÷२२ बिघा जग्गा रहेकाले नेपाल सरकारले भारत सरकारसँग समन्वय गरी नेपाली आयात कर्ताहरूको औद्योगिक कच्चा पदार्थ उक्त स्थानमा थन्काउने व्यवस्था गर्न बेलाबेलामा व्यवसायीहरूले मागसमेत गर्दै आएका छन् ।  यसरी व्यवस्था गर्नसकेमा अबका दिनमा जरिवानाको भार नपर्ने व्यवसायीहरूको ठहर छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना