महिलाहिंसा रोक्न चालिएका कदम

Yamuna aryalयमुना अर्याल

 

लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ, कोही नछुटौँ’ भन्ने नाराका साथ यो वर्षको महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरियो ।  हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने उक्त अभियानमा महिला, बालिबालिका मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको सहभागितामा चेतनामूलक कार्यक्रम हुने गर्छन् ।  लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको शुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो ।  सोहीअनुरूप नेपालमा पनि हरेक वर्ष यस्ता कार्यक्रम मनाउने गरिन्छ ।  राजनीतिक उतारचढावका कारण यो वर्षको महिला हिंसाविरुद्धको कार्यक्रम ओझेलमा परेको भान भइरहेको छ ।  
काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातलाई महिलामैत्री बनाउने उद्देश्यले महानगरीय प्रहरी कार्यालयले गत साउन १८ गते ‘सेफ्टी पिन’ अभियान सञ्चालन गरेको थियो ।  सार्वजनिक गाडीमा महिला हिंसा बढेको गुनासो बढेपछि उक्त कार्यक्रमको थालनी गरेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको  छ ।  महिलामाथि हुने हिंसा रोक्न एक  सार्वजनिक गाडीमा एक महिला प्रहरीसहित तीन जना प्रहरी परिचालन गर्ने प्रतिबद्धता गरिएको छ ।  त्यतिमात्रै होइन प्रहरीको भ्यान पनि तयारी अवस्थामा राख्ने र कसैले महिला हिंसा गरे तुरुन्त प्रहरी भ्यानमा हाली प्रहरी कार्यालयमा पु¥याएर कानुनी कारबाही गर्ने सम्मको सोचका साथ उक्त अभियान अगाडि बढाइएको छ, जुन आफैँमा सराहनीय कदम हो ।   
यो स्ट्रिङ अपरेसन मात्र होइन, जनचेतनामूलक कार्यक्रम हो ।  उपत्यका अन्तर्गत २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रले जनचेतनामूलक प्रचारप्रसारको काम गरिरहेका छन् ।  सेक्सुअल ह्यारेसमेन्टजस्तो अपराधमा संलग्न हुनेलाई कानुनी दायरामा ल्याउने अभिप्रायले थालिएको यो अभियानको निरन्तरता हुनुपर्छ ।  
‘सेफ्टी पिन’ अभियानका लागि प्रहरीले यातायात व्यवसायी महासङ्घ, यातायात व्यवसायी सङ्घ, बागमती अञ्चल समिति र सामुदायिक सेवा उपत्यका समन्वय परिषद् र सामुदायिक सेवा केन्द्रसँग समन्वयन गरेको छ ।  प्रायः बिहान ९ देखि १२ बजेसम्मको ‘पिक आवर’ र बेलुकाको ‘रस आवर’ मा प्रहरीको टिम सादा पोसाकमा ड्युटीमा तैनाथ हुन्छन् ।   काठमाडौँ, भक्तपुर र ललितपुरमा चल्ने सबै सार्वजनिक सवारी साधनलाई टार्गेट गरेर अभियान चलाइएको छ ।  कुनै पनि रुट नछुट्ने गरी प्रत्येक रुटमा प्रहरीको टिम खटाइएको बताइएको छ, यो अभियान उपत्यका बाहिर पनि विस्तार गरिनु जरुरी छ ।  यो अभियान सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसाका घटना नियन्त्रणका लागि प्रहरीले शुरु गरेको अभियान हो ।  अभियानको थालनीपूर्व नै महिला यात्रु आफू हिंसाबाट जोगिनको लागि साथमा सेफ्टी पिन बोक्ने गर्थे ।  सायद यही सत्यतालाई मध्यनजर गर्दै त्यसैलाई प्रतिकात्मक रूपमा लिएर उक्त अभियानको थालनी भएको हुनुपर्छ ।  कुनै महिला आफू सवार साधनमा यात्रा गर्दा हिंसाको शिकार भएको खण्डमा प्रहरी हटलाइन १०० वा ९८५१२८९१११ मा खबर गर्न सकिन्छ ।  उपत्यकामा चल्ने प्रायः सवारी साधनमा सेफ्टी पिनको विवरणसहितको स्टिकर टाँसिएको देखिन्छ ।  यो अभियान नै हिंसा न्यूनीकरणका लागि एउटा महŒवपूर्ण सेतु हो ।  
आफूमाथि हिंसा हुँदासाथ महिलाले गाडीमा टाँसिएको नम्बरमा हेरेर फोन गर्न सक्छन् ।  तत्काल गुनासो गर्न सकिने भएपछि जो कोही हिंसा गर्न हच्किन्छन्् ।  प्रहरीले थालेको उक्त अभियानको विस्तार देशैभरि भएको खण्डमा हिंसा न्यूनीकरणमा निकै सहयोग पुग्छ ।   उपत्यकामा चल्ने सवारी साधनमा महिला यात्रुमाथि दुव्र्यवहार गर्नेलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रियासमेत अगाडि बढाइएको छ ।  एक महिनाको अवधिमा काठमाडौँबाट ६१ ललितपुर र भक्तपुरबाट ५÷५ जना पक्राउ परे ।  महानगरीय प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यौनजन्य दुव्र्यवहार र अपशब्द गालीगलौज गर्ने ४८, अश्लिल हर्कत गर्ने १० र अन्य पाँच जना पक्राउ परेका हुन् ।  पक्राउ परेकामध्ये हिंसाको गाम्भीर्यता हेरी २४ जनालाई मुद्दा चलाइएको छ भने ४७ जनालाई चेतावनी दिएर आइन्दा यस्ता हर्कत नदोहो¥याउने शर्तमा आफन्तको जिम्मा लगाइएको छ ।  उच्च शिक्षा अध्ययन गरेदेखि साधारण लेखपढ गर्न जान्ने समेत हिंसामा सम्मिलत भएको अनुगमनका क्रममा पाइएको छ ।  यौनजन्य दुव्र्यवहार र गालीगलौज गर्ने ४८ मध्ये ३८ जना साधारण लेखपढ जानेका छन् भने एक जना स्नातकोत्तर गरेका व्यक्ति रहेका छन् ।  हिंसा गर्नका लागि व्यक्तिको शैक्षिक प्रमाणपत्र बाधक बन्दो रहेनछ भन्ने प्रमाण यसबाट पनि प्रस्टै हुन्छ ।  अनुगमनकै क्रममा पत्ता लागेको अर्को रहस्य के हो भने सवारी साधनमा वा सार्वजनिक स्थलमा महिलामाथि हुने हिंसाजन्य क्रियाकलापमा १५ देखि २५ वर्ष उमेर समूहको बाहुल्यता बढी हुने गर्छ ।  
यो त सार्वजनिक यातायातको हिंसाको कुरा भयो ।  महिलामाथि वा युवतीमाथि पलपलमा हिंसा भइरहेका हुन्छन् अन्य क्षेत्रका हिंसालाई कसरी न्यूनीकरण गर्ने यसतर्फ पनि ध्यान जानु जरुरी छ ।  जस्तो घरमा हुने हिंसा, कार्यालयमा हुने हिंसा, फिल्डमा खटिएको बेलामा सहकर्मीबाटै हुने हिंसा, आफन्तबाट हुने हिंसा, स्कुल कलेजमा सहपाठीबाट हुने हिंसा, शिक्षकहरूबाट हुने हिंसा, धर्मका नाममा धर्मगुरुबाट हुने हिंसा, अस्पतालमा उपचारको नाममा हुने हिंसा यस्ता ब्रगेल्ती हिंसाका चाङलाई सम्बोधन गर्ने अभियानको जरुरत छ ।  यस्ता अभियानको थालनी जति उत्साहजनक हुन्छ, त्यसको कार्यान्यवन पक्ष पनि उत्तिकै मजबुद हुनु जरुरी छ ।  पहिले घरमा महिला हिंसा बन्द गरौँ त्यसपछि सडक, सवारी, कार्यालय, शैक्षिक क्षेत्र, अस्पताल लगायतका क्षेत्र स्वतस्फुर्त रूपमा हिंसारहित हुन्छन् ।  यसमा सबैको सहयोग आवश्यक पर्ने नै छ ।  

प्रकाशित मिति: २०७४/८/२७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना