अब योजनाबद्ध आर्थिक क्रान्ति


 rajendra kiratiराजेन्द्र किराँती

 

नेपालमा निर्वाचनको आफ्नै इतिहास छ ।  वि.सं. २०१५ मा पहिलो बहुदलीय आम निर्वाचन सम्पन्न भएको थियो तर राजा महेन्द्रले डेढ वर्षमा नै विघटन गरि निरङ्कुश पञ्चायती तानाशाही शासन व्यवस्था लागू गरे ।  त्यसपछि पञ्चायती कालमा पनि वि.सं. २०२७, २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यको निर्दलीय चुनाव भयो ।  यता बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पछि २०४८ मा पहिलो आम निर्वाचन, २०५१ मा मध्यावधी चुनाव र २०५६ मा तेस्रो संसदीय चुनाव गरियो ।  यसपछि जनयुद्ध र दोस्रो जनआन्दोलनबाट प्राप्त गणतन्त्रको स्थापना पछि २०६४ मा पहिलो र २०७० मा दोस्रो संविधानसभा चुनाव भयो ।  दोस्रो संविधानसभाले नयाँ अग्रगामी तथा उत्पीडित मैत्री संविधान जारी गरेकोछ ।  यसको कार्यान्वयन गर्नु आज हाम्रो प्राथमिक दायित्व हो ।  यसैक्रममा मङ्सिर १० मा पहिलो र २१ गते दोस्रो चरण अन्तरगत सङ्घीय तथा प्रदेश प्रतिनिधिसभाको महान चुनावी पर्व सकिएको छ ।  यसमा वाम गठबन्धनले भारी बहुमत प्राप्त गरिसकेको छ ।
नेपालमा जनताले धेरै चोटि मतदान गरिसकेका छन् ।  हाम्रो लागि चुनाव नौलो र अनौठो विषय होइन ।  मूलतः आवधिक चुनावलाई लोकतन्त्रको जीवन मानिदै आएको छ तर पनि पछिल्लो समय यो निकै विकृत र प्रदूषित हुँदै गएको छ ।  यसले गणतन्त्रलाई समेत प्रभाव नपार्ला भन्न सकिन्न, जुन आम चिन्ता र चासोको विषय बनेको छ ।  यसलाई सुसंस्कृत, मर्यादित र कम भड्किलो बनाउन गम्भीर चुनौती खडा भएको छ ।  २०१५ सालको पहिलो संसदीय निर्वाचन यता १० वटा आम निर्वाचन सम्पन्न भइसकेको छ ।  चुनावी निरन्तरताको इतिहास निकै लामो देखिन्छ ।  यद्यपि मङ्सिर १० र २१ गतेको आम निर्वाचनले भने  ऐतिहासिक र युगान्तकारी राजनीतिक महìव वोकेको छ ।  यो निरन्तरताको आवधिक चुनाव मात्र होइन ।  यसले विगतको चुनावी निरन्तरतालाई क्रमभङ्ग गर्ने हैसियत राख्नैपर्नेछ ।  विशेषतः यसको ऐतिहासिकताको आधार वा आयाम यस प्रकार रहेको छ ।  
पहिलो, नेपालमा विभिन्न कालखण्डमा भएका सङ्घर्षको कारण आम जनतामा नाटकीयरूपमा राजनीतिक चेतना बढेको छ ।  पछिल्लो समय भएको जनयुद्ध र जनआन्दोलनले राष्ट्रिय राजनीतिक पहँुच एवं दायरा फराकिलो र सहज बनाएको छ ।  मुलुकमा विकास भएको राजनीतिक वातावरणले आम जनता सचेत भएका छन् ।  सार्वभौमत ः राजनीतिक क्रान्तिपछि मात्र योजनाबद्ध आर्थिक क्रान्ति सम्भव हुन्छ ।  यस अर्थमा कुनै पनि समाजमा सर्वप्रथम राजनीतिको अग्रगामी व्यवस्थापन इतिहासको अपरिहार्य आवश्यकता हुनपुग्छ ।  राजनीतिक व्यवस्थापन पछिको आर्थिक तथा सांस्कृतिक क्रान्ति मात्र वैज्ञानिक, वस्तुवादी र सार्थक हुन्छ ।  अन्यथा भोट व्ल्याकमेलिङ्ग गर्ने झुठो आश्वासन मात्र हुन्छ, जसवाट जनता आजित हुँदै आएका छन् ।  
वास्तवमा विगतमा आर्थिक क्रान्तिको प्रतिबद्धता नारामा मात्र सीमित हुनु उचित राजनीतिक व्यवस्थापन नहुनुकै परिणाम हो तर आज हाम्रो समाजमा उल्लेख्य राजनीतिक उपलब्धि भएको छ ।  सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका नागरिकले सबै खाले अधिकार पाउँने वातावरण बनेको छ ।  आफ्नो हक अधिकार आफैँ खोज्न सक्ने भएका छन् ।  अन्याय र विभेद विरुद्ध लड्ने राजनीतिक शक्ति र सोंच पैदा भएको छ ।  जनताले राजनीतिक अधिकार पाएका छन् ।  यो ज्यादै सुखद र राष्ट्रिय गौरवको विषय हो अर्थात् राजनीतिक क्रान्ति एक खुट्किलो पूरा भएको छ ।  हामी राजनीतिक परिवर्तनको एउटा अध्याय पूरा गरी आर्थिक क्रान्तिको नयाँ अध्याय थालनीको सार्वभौम प्रक्रियामा छौँ ।  राजनीतिक अधिकार प्राप्तिपछिको आर्थिक क्रान्ति मात्र सार्थक र सफल हुन्छ ।  यसकारण यो चुनाव आफैँमा ऐतिहासिक रहेको छ ।
दोस्रो, नयाँ संविधान जननिर्वाचित संविधानसभाबाट जारी गरिएको दस्तावेज हो ।  यसलाई विश्वकै उत्कृष्ट भनेर दाबी गरिएको छ ।  गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक लगायतका अग्रगामी एजेण्डा नयाँ संविधानमा समावेश गरिएको छ ।  यसमा तमाम उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, दलित, अल्पसङ्ख्यक, सीमान्तीकृत एवं लोपोन्मुख समुदायको हक अधिकार सुनिश्चित गरिएको छ ।  उनीहरूको समान सहभागिता र पहँुचको संवैधानिक व्यवस्था गरिएको छ ।  गत स्थानीय निर्वाचनमा महिला र दलित महिला उम्मेदवार पाउन मुश्किल भएबाट पनि यसको प्रगतिशील चरित्रलाई सङ्केत गर्छ ।  यता प्रतिनिधिसभा र प्रदेशसभा लगायत राज्यको सबै निकायमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरिएबाट पनि यो संविधानको अग्रगामी चरित्र स्पष्ट हुन्छ अर्थात् यो संविधान तमाम किसान, मजदुर वा उत्पीडित वर्गमैत्री रहेको छ ।  यतिधेरै परिवर्तनका मुद्दा समेटिएको अनि सम्पूर्ण उत्पीडितहरूको परिवर्तन, विकास, स्थायित्व, समृद्धि र शान्तिको रणनैतिक सपना बोकेका संविधानलाई संस्थागत गर्ने पहिलो राजनीतिक प्रक्रिया भएकोले यसलाई ऐतिहासिक निर्वाचन भन्नैपर्ने हुन्छ ।  थुप्रै जनअधिकार संस्थागत गर्ने प्रक्रिया हुनाले यसको ऐतिहासिक महìव रहनेमा दुईमत छैन
तेस्रो, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृति र बहुधार्मिक मुलुक हो ।  यस्तो विविधताले भरिएको मुलुकमा सबै जाति, भाषा, संस्कृति र धर्मको समानुपातिक संरक्षण, विकास र प्रवद्र्धन अपरिहार्य हुन्छ ।  यही वस्तुगत सच्चाइलाई आत्मसात गर्दै  सङ्घीयतासहितको संविधान पाएका छौं ।  नेपाललाई सात वटा प्रदेशमा विभाजन गरिएको छ ।  इतिहासमै पहिलो पटक प्रदेश प्रतिनिधिसभाको चुनाव भइरहेको छ ।  पुसको पहिलो हप्तासम्ममा सातै प्रदेशमा प्रादेशिक सरकार गठन हुँदैछ ।  यद्यपि यसको राजकीय चरित्र, पद्धति र विधिको सन्दर्भमा भने ठोस निर्णय भएको छैन ।  यस्ता पक्ष सङ्घीयताको महìवपूर्ण राजनीतिक अन्तरवस्तु हुन् ।  प्राविधिक सवाल भए पनि नामाकरण र सदरमुकाम बन्दोवस्ती पनि तय भएको छैन तथापि हामी प्रदेशसभाको चुनावमार्फत हाम्रै स्थानीय परिवेशमा केही हप्ता भित्रमा नयाँ प्रादेशिक सरकार पाउँदैछौँ ।  यसले सङ्घीयताको अभ्यासलाई कार्यान्वयन गरी संस्थागत गर्दैछ ।  यो नेपाली राष्ट्रिय राजनीतिक इतिहासमा नितान्त पहिलो र नयाँ पाइला हो ।  यसकारण पनि यो चुनाव ऐतिहासिक रहेको छ ।  
चौथो, नेपाली कम्युनिष्ट आन्दोलन विगत लामो समयदेखि टुटफुट र विग्रहबाट गुज्रिदै आएको छ ।  कतिपय फुट सैद्धान्तिक, राजनीतिक कार्यदिशा र कार्यनीतिमा भएको देखिन्छ ।  अर्कोतिर कतिपय फुट नितान्त पदीय भागवण्डा, गुटगत चिन्तन र नेतृत्व टकराव जस्ता प्राविधिक सवालमा मात्र रुम्मलिएको छ ।  यस्तो गलत विरासतको कारण कम्युनिष्ट पार्टीले आफ्नो आधारभूत सिद्धान्त र रणनीतिक लक्ष्य सही हुँदाहुँदै पनि समाज परिवर्तनका मुलभूत काम गर्न नसकेको विडम्बनापूर्ण इतिहास जगजाहेर छ ।  परिणामस्वरूप जनताले कम्युनिष्ट पार्टी र दक्षिणपन्थी पार्टी बीचमा सारभूत भिन्नता अनुभूति गर्न सकेन ।   यसले तमाम दुःखी, गरिब, किसान, मजदुर तथा उत्पीडितहरूको उन्मुक्तिको संवाहक भएर पनि कम्युनिष्ट पार्टीले आफ्नो ऐतिहासिक राजनीतिक भूमिका निभाउने अवसर पाएन, यो दुःखद विषय हो ।
यही वस्तुगत यथार्थतालाई आत्मसात गर्दै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने लक्ष्यसहित चुनावी गठबन्धन बनेको छ ।  यो कसैको लहड, सनक, इच्छा र महìवाकाङ्क्षाभन्दा पनि इतिहासको अपरिहार्य आवश्यक्ताको उपज हो ।  परिपक्व आत्मगत तथा वस्तुगत परिस्थितिको परिणाम हो ।  यसले एउटै कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसमेत राखेको छ ।  यसरी विगतमा आआफ्नै दलगत एकतारे रेटेर चुनावी प्रक्रियामा भाग लिँदै आएको दुवै ठूला कम्युनिष्ट पार्टी बीचमा आज गठबन्धन भएका छन् ।  एउटै नारा र प्रतिबद्धतासहित एक साथ चुनावी अभियानमा जुटेको छ ।  यो सकारात्मक र सिर्जनशील पहलको थालनी हो ।
यो भीषण राजनीतिक क्रान्ति पछिको चुनाव हो ।   सङ्घर्षको बलबाट प्राप्त व्यापक परिवर्तन पछिको चुनाव हो ।  अग्रगामी एजेण्डा सतहमा छताछुल्ल हुँदै गाउँ शहर राजनीतिकीकरण भएपछिको चुनाव हो ।  नयाँ राजनीतिक परिवेश र धरातलमा गरिएको चुनाव हो ।  प्रगतिशील सोंच, चिन्तन, मनोविज्ञान, बुझाइ, विश्लेषण र संश्लेषण विकास पछिको चुनाव हो ।  इतिहासमै पहिलो पटक प्रादेशिक सरकार गठनको प्रक्रिया आरम्भ भएको छ ।  यसले सङ्घीयतालाई कार्यान्वयन गर्दैछ ।  त्यस्तै टुट्फुट, विचलन र विग्रहको तितो ऐतिहासिक विरासत बोकेको कम्युनिष्ट पार्टी एकताको दिशातर्फ अघि बढेपछिको चुनाव हो ।  
फरक फरक धारमा विभाजित दल आज एउटै नारा लिएर चुनावमा सहभागी भई बहुमतसमेत हासिल गरिसकेको छ ।  दुई ठूला वामपन्थी दलहरू बीचको यो समीकरण आफैँमा ऐतिहासिक रहेको छ ।  साधारण गरिब निमुखा जनताले सम्मानपूर्ण अधिकार पाएका छन् ।  उनीहरूमा राजनीतिक चेत ह्वात्तै बढेको छ ।  पुरानो अवैज्ञानिक र अवस्तुवादी प्रचलन, परम्परा संस्कृति बढारिँदैछ ।  शोषण, विभेद र अन्याय जस्ता गैरन्यायिक संस्कृति पाखा लाग्दैछ ।  नयाँ प्रगतिशील सोंच, चिन्तन व्यवहार, कार्यशैली विकास हुँदैछ ।  यद्यपि राजनीतिक कार्यभार पूरा गर्न अझै बाँकी छ ।  जनताको स्थायित्व, परिवर्तन, विकास, समृद्धि र शान्तिको मर्म र भावनाको सम्बोधन गर्नुछ ।  यसो नभए अन्य शक्ति राष्ट्रिय राजनीतिमा हावी हुनसक्ने सम्भावनालाई बेवास्ता गर्नुहुँदैन ।  जनताका आशा र अपेक्षा धेरै रहेको छ ।  चुनाव पछि गर्ने कामको चाङ असाध्यै धेरै देखिन्छ ।  यति धेरै कार्यभार पूरा गर्ने प्रक्रिया भएकोले यसले राष्ट्रिय राजनीतिमा ऐतिहासिक महìव राख्ने नै छ ।  चुनावले थुप्रै ऐतिहासिक आयामलाई सम्बोधन गर्नुछ ।  त्यसैले यो चुनावको मर्म र गर्भमा सिङ्गो नेपाली समाजको ऐतिहासिकता अन्तरनिहीत रहेकोमा दुईमत छैन ।  

प्रकाशित मिति: २०७४/८/२७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना