उचित वितरण प्रणाली आवश्यक (सम्पादकीय)

समय, समयमा किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ ।  बर्खे वा हिउँदे बाली लगाउने समयमा किसानले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् ।  अहिले पनि बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरी, सुनसरी लगायतका तराई क्षेत्रमा मलको अभाव छ ।  एक बोरा मल लिन किसानले दिनभर लाम लाग्नुपर्ने बाध्यता छ ।  पर्याप्त मात्रामा मलको आपूर्ति हुन नसक्दा किसान बिचौलियासँग महँगो मूल्यमा मल किन्न बाध्य छन् ।  समयमा मल आयात गरी बिक्री वितरणको व्यवस्था नहुँदा किसानलाई मर्का पर्ने गरेको हो ।  वार्षिक तीन लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ ।  यो प्रतिवर्ष बढिरहेको छ ।  सरकारले २०५५ सालदेखि रासायनिक मलमा अनुदान दिँदै आएकाले माग वृद्धि भएको छ तर त्यस अनुरूप आपूर्ति हुन नसक्दा समस्या परेको हो ।  रासायनिक मल अनुदानका लागि सरकारले वार्षिक करिब छ अर्ब रुपियाँ खर्च गर्दै आएको छ ।  
परम्परागत रूपमै कृषि जीवन निर्वाहको एक प्रमुख माध्यम हो ।  आधुनिक ज्ञान र प्रविधिको विकासले कृषि क्षेत्रमा धेरै सुधार आएको छ र कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा पु¥याउने योगदान क्रमशः घट्दै ३० प्रतिशतभन्दा कम भइसकेको छ तर कृषिक्षेत्रमा आश्रित जनसङ्ख्याको हिस्सा सोही अनुरूप घट्न सकेको छैन ।  विभिन्न समयमा कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सरकारबाट प्रयास भइरहे पनि कृषि उत्पादन र उत्पादकत्व सन्तोषजनक रूपमा बढेको छैन ।  २०५२ सालमा ल्याइएको दीर्घकालीन कृषि योजनाको कार्यान्वयनपछि सन् २०१५–२०३५ को २० वर्षे अवधिका लागि कृषि विकास रणनीति लागू भएको छ ।  यो रणनीतिमा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, प्रतिस्पर्धात्मक व्यावसायिक कृषि प्रणालीको विकासबाट रोजगारी अभिवृद्धि गर्ने एवं खाद्य तथा पोषण सुरक्षा र दिगो वातावरण संरक्षण गर्ने उद्देश्य छन् ।  आ.व. २०७३÷७४ देखि आन्तरिक स्रोतबाट कृषि विकास रणनीतिको पूरक योजनाका रूपमा प्रधानमन्त्री आधुनिकीकरण परियोजना लागू भएको छ ।  यी कार्यक्रमले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने भएकाले रासायनिक मल, विषादी, आधुनिक प्रविधि र ज्ञानको माग बढ्ने गरेको छ तर माग अनुसार आपूर्ति हुन सकेको छैन ।  अहिले पनि करिब ४० जिल्लामा खाद्यान्न अपुग हुने गरेको छ ।  
वैज्ञानिक भू–उपयोग नीति अनुरूपको कानुन एवं कार्ययोजना नहुँदा कृषि भूमिको विनाश हुनु, कृषि ऋणको कमी, आधुनिक कृषि औजार, मल र प्रविधिको प्रयोग हुन नसक्नु, आयातित कृषि उपजले प्रतिस्थापन गर्नुजस्ता समस्या छन् ।   अर्काेतिर रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले जमिनको उर्वराशक्तिमा ह्रास आइरहेको छ भने उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्नेगरेको छ ।  रासायनिक मलको माग बर्सेनि बढिरहेको भए पनि स्वदेशमा उत्पादन हुन नसकेका कारण किसानले खोजेका बेला मल पाउन नसकेका हुन् ।  कमजोर वितरण प्रणालीले समस्या झन् थपिएको छ ।  कतिपय अवस्थामा ढुवानीको समस्याले पनि मल किसानसम्म पुग्नसक्दैन ।  अनुदानको मल वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले आफ्नो गोदाममा मौज्दात मल बन्द–हड्ताल, कहिले काहीँ ढुवानीकर्ताको आनाकानीले पनि किसानसम्म ढुवानी गर्न समस्या हुने गरेको छ ।  समयमा टेन्डर नहुँदा पनि मल आपूर्तिमा समस्या हुन्छ ।  सीमा क्षेत्रमा रासायनिक मलको तस्करी हुने गरेको छ ।  यसरी तस्करी भएर आउने मल कमसल हुन्छ ।  कृषिमा भएको रासायनिक मल र विषादीको प्रयोगलाई व्यवस्थित गर्नुका साथै यान्त्रीकरण, उन्नत बिउ तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कृषि उत्पादनमा वृद्धि गर्न आवश्यक छ ।  मुलुकमा रासायनिक मल उत्पादन नहुनाका साथै वितरण व्यवस्था उपयुक्त नभएकाले पनि सधैँ आयातित रासायनिक मलमा निर्भर हुनु उचित हुँदैन ।  त्यसैले प्राङ्गारिक खेतीतर्फ पनि जोड दिनुपर्छ  ।  


प्रकाशित मिति: २०७४/८/२७


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना