समाज रूपान्तरण

मुरारी ढुङ्गेल

 

परिवर्तनको संवाहक मानिससँगै संसार परिवर्तनशील छ ।  विश्व समाज पनि परिवर्तनशील छ ।  व्यक्तिको रहनसहन, चालचलनमा आउने भिन्नतालाई नैै परिवर्तन भएको मान्न सकिन्छ ।  परिवर्तन सधैँ सकारात्मक दिशाउन्मुख हुनुपर्छ ।  मानिसले निर्माण गरेका वस्तुहरू तथा उसले अङ्गीकार गरेका मूल्य–मान्यतामा निरन्तर परिवर्तन भइरहन्छन् ।  मानिसले चाहेर पनि नचाहेर पनि समाजको विकास क्रमैसँगै परिवर्तनको दिशामा स्वतः अघि बढिरहेको हुन्छ ।  समाजकै मार्गनिर्देशअनुसार मानिसले आफ्नो रहनसहन तथा चालचलनमा परिवर्तन ल्याउँछ ।  अनि परिवर्तनको कर्ताको श्रेय आफू भएको अनुभूति गर्छ ।  समाज परिवर्तनसँगै मानिसको विचार, बानी व्यवहार, आर्दश, मनोभावना मात्र होइन, उसले आफ्नो लवाइखवाई, चालचलन धर्मसंस्कृतिमा पनि परिवर्तन अङ्गीकार गर्छ, जसले उसलाई सामाजिक बनाउँछ ।  परिवर्तनको नाउँमा समाजले अस्वीकार गर्ने चालचलन भित्रिन सक्छ तर त्यो दिगो हुन सक्दैन ।  समाजले स्वीकार गर्न नसक्ने प्रकारको परिवर्तन बिस्तारै हराउँदै जानु परिवर्तनको नियम नै हो ।  समाजमा हुने परिवर्तनलाई पूर्वअनुमान वा परिकल्पना गर्न सकिँदैन ।  यो स्वचालित रूपमा समाजको आवश्यकतालाई मध्यनजर गर्दै समाजलाई परिवर्तनको दिशामा डोहो¥याइरहेको हु्न्छ ।
परिवर्तन एउटा शाश्वत नियम हो, यो मानिसले चाहेर वा नचाहेर जुनै अवस्थामा हुने गर्छ ।  परिवर्तनका स्रोत आन्तरिक र बाहिरी दुई प्रकारका हुने गर्छन् ।  समाजले प्रत्यक्ष रूपमा हासिल गर्ने राजनीतिक तथा सामाजिक परिवर्तनसँगै देखिने परिवर्तन हो, यसलाई आन्तरिक परिवर्तन भनिन्छ भने विदेशी समाजको नक्कल–सिको सिक्दै मानिसले अङ्गीकार गर्ने नक्कल बाह्य परिवर्तनको स्रोत हो ।  नेपाली समाज बाह्य परिवर्तनबाट बढी प्रभावित भएको कुरा हाम्रो सामु छर्लङ्ग छ ।  जसले समाजलाई विकृत बनाइरहेको जनगुनासो सुनिने गर्छ ।  पश्चिमा कला संस्कृतिले हाम्रो समाज विकृत बन्यो भन्ने गुनासो सुनिनु यसको उदाहरण हो ।  संसारको सबै समाज परिवर्तनको पक्षधर हुन्छन् ।  समाजसँगै मानिसका संस्कृतिमा पनि परिवर्तन भइरहन्छ ।  समाजको स्वीकृति वा आवश्यकता विनाको परिवर्तन दिगो तथा स्थायी हुँदैन ।  अतः समाजद्वारा स्वीकार्य मूल्यमान्यता तथा संस्कृतिमा हुुने परिवर्तन भनेको नै सामाजिक रूपान्तरण वा परिवर्तन हो, जुन स्थायी हुन्छ ।  
सामाजिक परिवर्तन कुनै बेला तीव्र गतिमा हुने गर्छ भने कुनै बेला सुस्त वा धिमागतिमा हुने गर्छ ।  समाजको आवश्यकता र चाहनाअनुरूप परिवर्तनको गति कायम हु्न्छ ।  सामाजिक अवस्थाको कारण व्यक्तिमा परिवर्तन हुन पुग्छ, जुन समाज उपयोगी हुनुपर्छ ।  सामाजिक परिवर्तनसँग सांस्कृतिक परिवर्तन जोडिएर रहेको हुन्छ ।  सामाजिक परिवर्तन सांस्कृतिक परिवर्तनको एउटा भाग अथवा एक पाटो मात्र हो ।  सामाजिक परिवर्तन आफैँमा पूर्ण हुँदैन ।  सामाजिक परिवर्तनमा मानिसबीचका मानवीय सम्बन्ध गाँसिएको हुन्छ तर सांस्कृतिक परिवर्तनमा मानिसले अङ्गीकार गर्ने उसका दिनचर्याका विषयवस्तुलगायत मानिसका कला, साहित्य, भाषा, धर्म, रीतिरिवाज आदिमा परिवर्तन हुनुपर्छ ।  अर्को शब्दमा भन्नुपर्दा सामाजिक परिवर्तनले वर्तमान समाजमा हुने परिवर्तनलाई बुझिन्छ भने सांस्कृतिक परिवर्तनले दीर्घकालीन परिवर्तनलाई आत्मसात् गरेको हुन्छ ।  जसको प्रभाव लामो समयसँगै चीरकाल रहन्छ ।  सामाजिक परिवर्तनको गति तुलनात्मक रूपमा सांस्कृतिक परिवर्तनकोभन्दा दु्रतत्तर हुन्छ, जसको कारणले तत्कालै समाजमा परिवर्तन देख्न सकिन्छ तर सांस्कृतिक परिवर्तनको गति धिमागतिमा हुने गर्छ ।
परिवर्तनले समाजलाई विकास उन्मुख बनाउँछ ।  समग्र रूपमा समाज रूपान्तरित हुन ठूलो परिवर्तन आवश्यक हुन्छ ।  जसले समाजलाई सकारात्मक परिणाम दिन सक्छ तर कहिलेकाहीँ समाजमा नकारात्मक परिवर्तन हुन सक्छ ।  ठूला विश्वयुद्ध, गृहयुद्धजस्ता कुराले समाजमा अद्योगतिका परिवर्तन ल्याउने गर्छ ।  सामाजिक अवस्थालाई मध्यनजर गर्दा अभियान, आन्दोलन, क्रान्ति, युद्ध जस्ता कुराले समाजलाई परिवर्तन गर्न सक्छ ।  परिवर्तनकै सिलसिलामा समाजले परापूर्वकालदेखि स्वीकार गर्दै आएको मूल्यमान्यता, धर्म, संस्कृति, परम्परामा आघात पु्ग्ने क्रियाकलाप समाजलाई पाच्य हुँदैन तर पनि कुनै–कुनै परिवर्तन नचाहेर पनि हुने गर्छन् ।  
परिवर्तनलाई अग्रीम आँकलन तथा पूर्वानुमान गर्न नसकिने भए पनि राज्यस्तरको योजना तथा राजनीतिक दलका घोषणापत्रमा सामाजिक परिवर्तन गर्ने खालका योजना अघि सारेका हुन्छन् ।  नेपालका राजनीतिक दलहरूले देशमा हुने राजनीतिक परिवर्तनसँगै नेपाली समाज रूपान्तरणको ठूलो अपेक्षा गरिएको थियो तर परिकल्पना गरिएअनुसार हाम्रो समाजमा सामाजिक परिवर्तन हुन सकेको छैन, अर्थात् परिकल्पना गरिएअनुसार समाजको रूपान्तरण हुन सकेको छैन तर के कुरा सत्य हो भने नेपाली समाजमा राजनीतिक चेतनाको परिवर्तनलाई हेर्ने हो भने यसको विकासमा परिवर्तन दु्रतत्तर गतिमा भएको देख्न सकिन्छ ।  जसको उदाहरणको रूपमा पहिलो संविधानसभाको चुनाव र दोस्रो संविधानसभाको चुनावको परिणामलाई हेरे पुग्छ ।  नेपालीमा आफूमा परेको थिचोमिचोको खुलेर विरोध तथा आफ्ना हक अधिकारका प्राप्तिका विषयमा खुलेर आवाज उठाउन सक्ने परिवर्तन भएको नकार्न सकिँदैन ।  राजनीतिले पारेको सामाजिक परिवर्तनलाई पनि नजर अन्दाज गर्न मिल्दैन ।  हरेक तह तप्कामा महिला सहभागिता, आफ्नो हकहित, जातीय आरक्षणका विषय र आफूलाई पर्न गएका थिचोमिचोको प्रस्ट विरोध, सामाजिक सहभागिता आदि विषयलाई लिन सकिन्छ ।  राणाकालको अन्त्य पछि नेपाली समाजमा रूपान्तरणको केही उपलब्धि अनुभव गरिने खालका भएका थिए ।  समाजमा जातीय छुवाछूतको केही हदसम्म परिवर्तन त्यस्तै जमिन्दारी प्रथाको उन्मूलन शिक्षा क्षेत्रमा देखिने गरिको परिवर्तन आदि भए पनि त्यसपछिको राजनीतिक परिवर्तनले वर्गीय असमानतामा हटाउन खासै प्रभाव पार्न सकेको देखिँदैन ।  २०४६ सालको परिवर्तनपछि नेपाली समाजमा जातीय तथा धार्मिक कुरामा परिवर्तनका रेखा देखिएको पाइन्छ ।  जातीय विभेद र वर्गीय विभेदका घटना पनि शहर हुँदै गाउँ स्तरका कम हुँदै गएको यथार्थ हाम्रो सामु प्रस्ट छ ।
नेपाली समाजलाई ध्यानमा राख्दा विगत ५० वर्षमा नभएको सामाजिक परिवर्तन अथवा समाज रूपान्तरण माओवादीले अघि सारेको दशवर्षे सशस्त्र युद्धमा भयो भन्ने माओवादीको जिकिर छ ।  राजनीतिक चेतनाको विकासलगायतका आफ्ना अधिकारका विषयमा जनता सुुशुचित भएको उद्घोष गर्छन् ।  भलै उनीहरूको जिकिर सत्य होस् या जे होस् सकारात्मक नकारात्मक जुन रूपमा लिइए पनि नेपाली समाजमा राजनीतिक परिवर्तनले ल्याएको मूल परिवर्तन भनेकै जनतामा भएको वाक् शक्तिको विकास भएको भने पक्कै हो ।  अन्य दलभन्दा सिद्धाततः माओवादी पार्टीले समाज रूपान्तरणको मुद्दालाई उठाए पनि त्यसको आशातीत उपलब्धि भएको देखिँदैन ।  सामाजिक रूपान्तरणमा समाजको वस्तु् स्थिति सामाजिक–सांस्कृतिक, मूल्यमान्यता, रीतिरिवाजको ख्याल गरी प्रगतिशील योजना न राज्य स्तरबाट ल्याइयो न राजनीतिक दलबाट आयो भन्ने गुनासो समाज विकासका जानकार बताउँछन् ।  

प्रकाशित मिति: २०७४/८/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना