हार्दाहार्दै जितेको काँग्रेसको अभिभारा

tc wagleत्रिभुवनचन्द्र वाग्ले


 

हिन्दी चलचित्र बावर्चीमा राजेश खन्नाले अद्भूत भूमिका निर्वाह गरेका छन् ।  भान्छे र घरेलु कामदारका हैसियतमा विभिन्न घरमा काम गर्न पुग्ने उहाँ ती घरमा चल्ने झगडा, विवाद र वैमनश्य मिलाएपछि ‘अब यो घरमा मेरो भूमिका छैन’ भन्दै अर्को त्यस्तै द्वन्द्वग्रस्त घरमा पुगेर पूर्ववत भूमिका निर्वाह गर्छन् ।  यसरी धेरै घरमा खुशी स्थापना गरेर अज्ञात यात्रामा निस्केका उनलाई ‘अब कहाँ जानु हुन्छ ? भनी सोधिएको प्रश्नमा भन्नुहुन्छ–‘जहाँ द्वन्द्व र झगडा छ । ’
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाली काँग्रेसले जितेका स्थानका आधारमा नेपाली राजनीतिमा काँग्रेस सकिएको जसरी व्याख्या गरिएको छ ।  फेसबुकमा भुराहरूले मात्र होइन केही नेता तथा कलमकर्मीले पनि करिब यस्तै निष्कर्ष निकालेका छन् तर नेपाली काँग्रसले हार्दाहार्दै पनि जितेको सुवर्ण उपलब्धिका बारेमा केही बोलिएको छैन ।  
स्थापनकालदेखि जनताद्वारा निर्वाचित विधायकले शासन गर्नुपर्छ भन्ने मान्यता राख्ने काँग्रेसले आधा जीवन विधायकी निकाय बनाउन एकदलीय नभएर बहुदलीय निर्वाचन हुनुपर्छ भनेर बिताएपछि २०४६ को आन्दोलनले काँग्रेसको शताब्दी लामो माग अनुमोदन ग¥यो ।  यसैगरी, सिद्धान्ततः आम निर्वाचनबाट नभएर पार्टी मनोनयनबाट विधायक चयन गरिने मूल्यबाट दीक्षित बामपन्थीलाई निर्वाचनको राजनीतिमा ल्याउन स्थापना कालदेखि पहल ग¥यो काँग्रेसले ।  पूर्वी युरोपका परिवर्तनले मात्र नभएर भारतमा ज्योति बशुको नेतृत्वले देखाएको बाटोमा नेपाली वामपन्थी शक्तिलाई डो¥याउन नेपाली काँग्रेसले आफ्नो जीवन खर्चेको छ ।  निर्वाचनबाट बिच्किएको माओवादी शक्तिलाई संसदीय व्यवस्थाको चुनावी राजनीतिमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको छ काँग्रेसले ।  
सबैलाई चुनावमा ल्याउन सक्ने काँग्रेसले कहाँ हा¥यो ? हारेको छैन ।  अङ्कगणितीय वा भौतिक रूपमा कमजोर देखिए पनि सिद्धान्तत ः निर्दलीय र दलविहीन शक्तिलाई निर्वाचनको घेराभित्र ल्याउने काँग्रेसले कहीँ पनि हारेको छैन ।  जनवादी, जनसत्ताका आकाङ्क्षीलाई निर्वाचनको फराकिलो प्रजातान्त्रिक बाटोमा ल्याउने काँगे्रसले चुनावमा कम स्थानमा जित्यो भनेर सम्पूर्ण रूपले हा¥यो भन्नु गैर लोकतन्त्रवादी चिन्तन हो ।  
जहाँसम्म मत परिणामको कुरा छ ।  जनताको अभिमतलाई सबैले सम्मान गर्नुपर्छ ।  निर्वाचनको यो परिणाम अनपेक्षित थिएन ।  सँधै निर्वाचनपछि भनिन्थ्यो–वामपन्थी मिलेका भए काँग्रेसले हार्ने थियो तर वामपन्थी कहिल्यै मिलेनन् ।  कहिल्यै पनि मिल्दैनन् भन्ने सोच राख्नु काँग्रेस नेतृत्वको कमजोरी थियो ।  विपरीत ध्रुवमा रहेका दुई वामपन्थी शक्ति एमाले र माओवादी केन्द्रबीच सहकार्य हुन सक्ने तर सत्तामा रहेका काँग्रेस र माओवादी मिल्न नसक्ने कुनै कारण थिएन ।  यहाँनेर काँगे्रसको नेतृत्व चुकेको हो ।  
अर्कोतिर एमाले र माओवादीमा चुनावी गठबन्धलाई जसरी स्वाभाविक रूपमा लिइयो काँग्रेसमा त्यसरी लिनसक्ने अवस्था थिएन ।  कार्यकर्तामा दम्भ थियो ।  कम्युनिष्ट फुटिहाल्छन्, टिकट पाए चुनाव जितिन्छ भन्ने घमण्ड थियो कार्यकर्तामा ।  नेतृत्वलगायत शीर्षस्थ नेता सशक्त कदम चाल्न चुके ।  स्थानीय निकायको निर्वाचनले आफूलाई किनारा लगाउँदै छ है भनेर काँग्रेस नेतृत्वले कार्यकर्तालाई बुझाउन सकेन् ।  न त उसले दह्रो निर्णयका साथ प्रतिकूलतालाई अनुकूलतामा बदल्न राजनीतिक कला (पोलिटिकल क्राफ्ट) देखाउँदै माओवादीसँग चुनावी गठबन्धन गर्न सक्यो ।  
पार्टीको विभाजन घरसम्म पुगेको थियो ।  सरकारले गरेका निर्णय, काँग्रेस शीर्ष नेताका बोली र व्यवहारले नेपाली काँग्रस पार्टी  विभाजित भएको छ ।  अहिले पनि केही ठाउँमा वामपन्थी गठबन्धनले भन्दा काँगे्रसभित्रको हठबन्धनले उसका उम्मेद्वार हारेका छन् ।  एउटा काँगे्रसले हर्दा अर्को काँगे्रसले जित्ने विभाजन कार्यकर्ताले होइन नेताले आफैँले बनाएका हुन् ।  
काँग्रेसमा निर्वाचनपछि पार्टी सभापतिले राजीनामा गर्नुपर्ने माग आएको छ ।  यो नैतिक र सैद्धान्तिक कुरा हो तर पार्टी सभापति वा एकाध नेताले राजीनामा दिँदैमा समस्या समाधान हुँदैन ।  अहिलेको शीर्षस्थ नेतृत्वले गिरिजाप्रसाद कोइरालालाई बूढो पुस्ता भनेर के के न गरौला भनेको थियो ।  के ग¥यो त तत्कालीन युवा र अहिलेको शीर्षस्थ पुस्ताले ? अहिलेका युवा काँग्रेसमा बाकचातुर्य होला, कोही वलिष्ठ पनि होलान् तर उनीहरू नै शीर्ष नेताको घरघर धाएर पार्टी विभाजनलाई संस्थागत गर्दैछन् ।  कहाँ छ युवापुस्ता एकताबद्ध ? त्यसैले राजीनामा समाधान होइन ।  शुद्धीकरण नै समाधान हो, कार्यकर्ताको योगदानको वैज्ञानिक मूल्याङ्कन गर्ने परिपाटी बसाउनु प¥यो ।  राजीनामाले मात्र पार्टीमा हुर्किएको विकृति निदान गर्न सक्दैन ।  
सरकारमा सँगै रहँदा वामपन्थीले अधिनायकवाद ल्याउने सम्भावना नदेखेको काँग्रेसले ‘शिव कहो’ को शैलीमा अधिनायकवाद र वामपन्थीको गीतलाई नै चुनावी नारा बनायो ।  संविधान, निर्वाचन, शक्ति सन्तुलन र पृथकीकरण, मानवअधिकार, आवधिक निर्वाचन स्वीकार गरेका कम्युनिष्टले अधिनायकवाद ल्याउँछन् भनेर मतदाताले विश्वासै गरेनन् ।  नेपाली समाजमा प्रचलित उखान ‘जुन रूखको बोक्रा उही रूखमा टासिन्छ’ भन्ने सत्यलाई निषेधगरी एमाले र माओवादी केन्द्र मिल्नै सक्दैनन् भनेर पहार ताप्ने काँग्रेसी नेतृत्वले विकसित राजनीतिक घटनाको खाँटी आकलन गर्न सकेन ।  वामपन्थी एकजुट हुनु प्राकृतिक घटना थियो तर काँग्रेसले यसलाई अप्राकृतिक देख्यो ।  के गरेको भए प्राकृतिक हुने थियो त भनेर मतदातालाई बुझाउन सकेन ।  
नेपालको राजनीतिमा दुई दलीय अभ्यासको सम्भावना देखिँदै गर्दा यो निर्वाचनपछि माओवादीले पनि शक्ति सञ्चय गर्ने अवसर पाएको छ ।  स्थानीय निर्वाचनको परिणाम र धरातलीय यथार्थमा हेर्दा माओवादीको क्रमश ः एमालेकरण हुने प्रक्रिया सुरु भएको थियो ।  एकातिर वाम र अर्कोतिर प्रजातान्त्रिक शक्तिको ध्रुवीकरण हुँदै गरेको अवस्थामा माओवादीलाई शक्तिशाली बनाएर एमालेलाई दीर्घकालीन राजनीतिक फाइदा पुग्दैन ।  चुनावी गठबन्धन जस्तो सहज हुने छैन यी पार्टीको एकीकरण ।  मूलत ः नेतृत्वको व्यवस्थापनले नै उनीहरूलाई ढिलो चाँडो आ–आफ्नो बाटो निर्धारण गर्न बाध्य पार्नेछ ।  वामपन्थीको जीतको आधार सैद्धान्तिक होइन, व्यावहारिक हो ।  वृद्धभत्ता वा स्थायी सरकार भन्ने नाराले उनीहरूले मतदातालाई आकर्षित गरे ।  काँग्रेससँग यस्ता नारा र कार्यक्रम थिएनन् ।  घोषणापत्रमा लेखिएका समाजवादको परिभाषा र व्याख्या हेरेर मतदिने मतदाता नै छैनन् नेपालमा ।  न मतदाताले घोषणापत्र पढ्छन् न त पार्टीले ती घोषणापत्र कार्यान्वयनका आवश्यकता देख्छन् ।  यस्तो मुलुकमा तत्कालीन लोकप्रिय नारा र कार्यक्रम नै निर्वाचन जित्ने आधार हुने गर्छ भन्ने कुरा काँग्रेसका नेताले नबुझेका होइनन् तर महìव दिएनन् ।  
जिम्मेवार प्रतिपक्षी हुन जनताले काँगे्रसलाई आदेश दिएका छन् ।  यो आदेश पूरा गर्न काँग्रेस जुट्नु नै उसको कार्यभर हो ।  संसद्मा जिम्म्मेवार प्रतिपक्ष र साना दल पनि चाहिन्छन् भन्ने काँग्रेसले सिद्धान्तत ः हारेको छैन ।  प्रजातन्त्रिक शासन व्यवस्थाका आधारभूत आधार निर्वाचन, मानवअधिकार, शक्ति सन्तुलन, आवधिक निर्वाचनजस्ता विशेषता जोगाउन उसको भूमिका अझै पनि बाँकी छ ।  मुलुकमा यी र यस्ता पक्षमा समस्या आउँदा काँग्रसले फेरि बावर्चीका राजेश खन्नाको जस्तै मिलापत्रको भूमिका निर्वाह गर्नु आवश्यक छ ।  काँग्रेस सकिएको छैन ।  उसको भूमिका परिवर्तन मात्र भएको छ ।  

प्रकाशित मिति: २०७४/८/२९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना