ओली र प्रचण्डबीच भेटवार्ता: नयाँ सरकार गठन प्रक्रियामा छलफल

लक्की चौधरी

KP-oli-Prachandaकाठमाडौंँ, पुस १ गते । वाम गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चुनावपछि शुक्रबार पहिलो पटक औपचारिक भेटवार्ता भएको छ ।
काठमाडौंँको ववरमहलस्थित एक कार्यकर्ताको निवासमा भएको भेटवार्ता करिब डेढ घण्टा चलेको थियो । बैठकमा दुवै अध्यक्षले चुनावी परिणामबारे सन्तुष्टि जनाउनुभएको छ । छलफलमा वाम गठबन्धनको उपादेयता, पार्टी एकीकरणको विषयमा केन्द्रित भएर छलफल गर्नुभएको थियो । दुवैजना अध्यक्षले सहायक नेताबेगर एक्लाएक्लै छलफल गर्नुभएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।
भेटका क्रममा नयाँ सरकार गठन प्रक्रिया, कानुनी अड्चन, वर्तमान काम चलाउ सरकारले गरेको निर्णय तथा त्यसको कार्यशैली बारेमा समेत गम्भीर छलफल भएको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो । निर्वाचन परिणाम दुवै दलले सोचेकोजस्तो आएकाले भावी कार्यनीति तथा रणनीति कसरी बनाउने बारेमा दुवै अध्यक्षबीच छलफल भएको हो ।
सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्तिको निर्णयलाई लिएर एमालेले यसअघि विरोध जनाइसकेको छ । निर्वाचन परिणाम आइसकेपछि गरिने राजनीतिक नियुक्तिलाई नयाँ सरकारले मान्यता नदिने सो दलले प्रष्ट पारेको छ ।
गत असोज १७ गते छ बुँदे सहमति गरेर चुनावी अभियानमा होमिएका दुवै दलका अध्यक्षले पार्टी एकीकरणमा बाधा नपुगोस् भनेर आफ्ना पार्टीका कार्यकर्तालाई सजग गराउने विषयमा समेत सहमति बनेको अधिकारीले बताउनुभयो । पार्टी भित्रका नेता तथा कार्यकर्ताले पार्टी एकीकरणमा समस्या पर्नेगरी कुनै अभिव्यक्ति र व्यवहार प्रदर्शन नगर्नेतर्फ दुवै नेताले पार्टी मातहतका पंक्तिलाई सजग गराउने प्रतिवद्धता जनाउनुभएको छ ।
नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्ति, राष्ट्रिय सभा गठन प्रक्रिया, अध्यादेशको जटिलता तथा त्यसको समाधानका विषयमा समेत दुवै अध्यक्षबीच छलफल भएको प्रेस संयोजक अधिकारीले बताउनुभयो । निर्वाचनपछि उत्पन्न राजनीतिक परिस्थिति र त्यसको व्यवस्थापनमा दुवै पार्टी एकभएर लाग्ने र नयाँ सरकार गठनमा दुवै दलको सहमतिअनुसार अगाडि बढ्नेमा दुवै नेता सहमत हुनुभएको छ ।
दुवै पार्टीबीच भएको छ बुँदे सहमतिअनुसार पार्टी एकीकरणका लागि पार्टी एकता संयोजन समिति गठन गरिएको छ । सो समितिको प्रमुखमा दुवै दलका अध्यक्ष रहनुभएको छ । संयोजन समितिले पार्टी एकताको कामका विषयमा आवश्यक तयारी गरिरहेको दुवै दलका नेताहरुले प्रतिक्रिया दिंदै आउनुभएको छ ।

 राष्ट्रपति र ओलीबीच भेट

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भेटवार्ता गर्नुभएको छ । सरकारले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ पठाएकाबेला अध्यक्ष ओलीले उहाँसँग पछिल्लो छलफल गर्नुभएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीकाअनुसार दुवैजनाबीच वर्तमान समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटपछि राष्ट्रपति भण्डारीलाई भेट्न अपराह्न शितलनिवास पुग्नुभएको थियो । अध्यक्ष ओलीले निर्वाचनको परिणाम तथा हुनसक्ने भावी राजनीतिक मार्गका विषयमा जानकारी गराउनुभएको स्वकीय सचिव अधिकारीले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना