सार्वजनिक सवारी चढ्न लाइन !

laainकाठमाडौंँ, पुस ४ गते । लाइन लागेर सार्वजनिक सवारी साधन चढ्दा कतिको सहज भयो ? नयाँ सडकस्थित एनएसीबाट माइक्रो बस चढेर कोटेश्वर जाँदै गरेका रन्जन श्रेष्ठलाई प्रश्न सोध्न नपाउँदै जवाफ आयो– एकदम राम्रो ।  सोमबार साँझ एनएसीबाट भक्तपुरका लागि छुटेको माइक्रो बसमा सवार अधिकांश यात्रुले लाइनमा बसेर सवारी साधन चढ्ने अभियानको निरन्तरताका लागि आग्रह गरेका छन् । पालो कुर्दा अलि ढिलो हुन्छ तर, यात्रा सहज र सुरक्षित बनाएको छ, एक यात्रुले थप्नुभयो । 

आइतबारदेखि उपत्यकाका १० स्थानबाट एकैसाथै सुरु भएको सो अभियानले यात्रुलाई शिष्ट र सभ्य बनाउन पनि सघाउ पु¥याएको देखिन्छ । माइक्रो बस चढ्न पालो पर्खेर बसेका चाबहिलका रविन्द्र शङकरले भन्नुभयो– गरे पछि के कुरामा नै सुधार हुँदैन र ?
‘एक आपसमा ठेलमठेल र लडाईं गरेर गाडी चढ्न हतार गर्नुभन्दा एक मिनेट पालो कुरेर बस्दा पनि सहजै रुपमा गन्तव्यमा पुग्न सकिँदो रहेछ’ शङकरले थप्नुभयो– यस्तो अभियान कडाइका साथ निरन्तर रुपमा लागु गर्नुपर्छ ।
यसअघि बालाजु वनस्थली क्षेत्रमा यात्रु लाइन लागेर सार्वजनिक सवारीमा यात्रा गर्ने गरेको कुरा विभिन्न सञ्चार माध्यमबाट जानकारी पाएको बताउने लक्ष्मी पराजुली एनएसीमा पनि सो अभियान लागु भएकोप्रति खुसी व्यक्त गर्नुभयो ।
न्यूरोडस्थित एक बैङकमा कार्यरत पराजुलीलाई साँझको समयमा घरपरिवारको भन्दा माइक्रो बस चढेर कसरी घर जाने होला भन्ने कुराको पीरले सताउँथ्यो । नजिक भए त हिँडेर गइन्थ्यो तर बुढानीलकण्ठ पुग्नका लागि त झुण्डिएरै भए पनि जाने गर्थेँ, उहाँले भन्नुभयो ।
लाइन लागेर यात्रा गर्नेहरुको सहजताका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई–दुई मिटरको अन्तरमा विभिन्न रुटका लागि छुट्ने माइक्रो बस तथा मिनी बसको पार्किङ तोकिदिएको छ । अगाडि एउटा सवारी साधनले यात्रु चढाइरहेको छ भने अवदेखि सोही पछाडि अर्कोले पार्किङ गर्न पाउने छैनन् ।
प्रत्येक बस तथा माइक्रो बसले आफूलाई तोकिएको निश्चित स्थानमा मात्र रोकेर यात्रु ओराल्ने र चढाउनु पर्नेछ । त्यस्तै, महिला, बालबालिका, अशक्त, अपाङ्ग, सुत्केरी र वृद्धालाई सिट आरक्षण गरी अन्यलाई यात्रा गराउनु पर्नेछ ।
यात्रा गराउँदा अगाडि लाइनमा बसेकाहरुलाई पहिलो प्राथमिकता दिई त्यसपछि क्रमशः सबैलाई सहज र सुरक्षित यात्रा गराउन चालक तथा सहचालकलाई निर्देशन दिइएको जानकारी महाशाखा प्रमुख खनालले दिनुभयो ।
यात्रुको चाप बढ्दै गएको अवस्थामा राति अबेरसम्म पनि सार्वजनिक सवारी चलाउनुपर्ने विषयमा यातायात व्यवसायीहरुसँग छलफल भइरहेको महाशाखाले जनाएको छ । यात्रुको चाप बढेमा राति अबेरसम्म सवारी चलाउन सकिने कुरामा व्यवसायीसमेत सहमत देखिएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना