स्थानीय तहमा सभाबारे अन्योल


नगेन्द्र सापकोटा

 

काठमाडौँ, पुस ४ गते ।   स्थानीय तहले कानुन र बजेट पारित गर्न कम्तीमा वार्षिक दुई पटक गाउँ सभा÷नगर सभा बस्नुपर्ने भए पनि त्यसतर्फ स्थानीय तहको ध्यान गएको छैन । सङ्घीय संसद्मा जस्तै हिउँदे र बर्खे गरी कम्तीमा दुई पटक गाउँपालिका र नगरपालिकाको सभा बस्नु पर्ने व्यवस्था छ । 

हिउँदे सभा पुसमा र बर्खे सभा जेठभित्र गर्दा उपयुक्त हुने भए पनि त्यसतर्फ स्थानीय सरकारको ध्यान नगएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । हिउँदे सभाले स्थानीय सरकारका लागि आवश्यक कानुन गाउँ र नगर सभाबाट पास गर्ने र बर्खे सभाले आगामी वर्षको नीति, बजेट र कार्यक्रम पास गर्नुहुन्छ ।
स्थानीय शासन विज्ञ एवं पूर्व सचिव खेमराज नेपालले गाउँ सभा÷नगर सभाका सदस्यहरू सङ्घीय संसद्मा जस्तै स्थानीय सरकारका विधायक हुने उहाँहरूले पास गरेका विधयेक स्थानीय सरकारको ऐन हुने बताउनुभयो । त्यो अभ्यासमा स्थानीय सरकार तह नगएको गुनासो गर्दै नेपालले स्थानीय सरकार सञ्चालन ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न उहाँले सुझाव दिनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐनमा गाउँ र नगर कार्यपालिकाले स्थानीय सरकारको अधिकार क्षेत्र भित्रका विषयमा विधेयक प्रस्तुत गरी सभाले पास गर्नुपर्ने उल्लेख छ । पेस भएको विधयेक सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतले पारित गरेको १५ दिनभित्र सभाका अध्यक्षले प्रमाणीकरण गर्नुपर्ने छ ।
उहाँका अनुसार गाउँ र नगर सभाका विधायकहरुले आआफ्नो कार्यपालिकामा योजना पेस गर्ने र कार्यापालिकाले उक्त योजनालाई विधयेकको रुपमा गाउँ र नगर सभामा पेस गरी पारित गरेपछि कानुन निर्माण हुन्छ । गाउँ र नगपालिकाकाको प्रत्येक वडाका निर्वाचित वडा सदस्यहरु उक्त गाउँ र नगरसभाका विधायक रहने ऐनमा उल्लेख छ ।
पुस महिनाभित्रमा स्थानीय सरकारलाई आवश्यक पर्ने कानुनी विधयेक र जेठमा आर्थिक विधयेक कार्यपालिकामा पेस गर्नुपर्छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले अहिले स्थानीय सरकार अधिकार सम्पन्न भएकाले मन्त्रालयले स्थानीय सरकारलाई निर्देशन दिन नमिल्ने बताउनुभयो । स्थानीय सरकारले कानुनी र बजेट सभा गरी कम्तीमा दुई पटक सभा बस्नुपर्ने आवश्यकता अनुसार सोभन्दा बढी पटक पनि बस्न सकिने उहाँले स्पष्ट गर्नुभयो ।
पुस महिनलाई स्थानीय सरकारले कानुन निर्माण सभा र जेठमा नीति, कार्यक्रम र बजेट निर्माणको सभाको रुपमा गाउँ र नगरसभा बस्दा राम्रो हुने सुझाव तामाङको छ ।
सभाले आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाई कुनै सदस्यको संयोजकत्वमा लेखा, विधायन, सुशासन लगायतका आवश्यक्ता अनुसार समिति निर्माण गर्न सकिने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ ।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले हिउँदे सभा बस्नका लागि छिट्टै नगर कार्यपालिकाको बैठक बसी आवश्यक निर्णय गर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार भखरै मात्र निर्माण भएकाले कतिपय कुराहरुमा अभ्यास गर्ने क्रममा भएकाले अत्यावश्यक कामलाई नगरपालिकाले पहिलो प्राथमिकता दिदै आएको दाबी गर्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना