बालबालिका किन विद्यालय जान मान्दैनन् ?

Ramesh p gautamरमेशप्रसाद गौतम

शिक्षाको विकाससँगै विकसित र सभ्य समाज निर्माण हुने हो । समाज परिवर्तनको मूल आधार पनि शिक्षा नै हो । अतः शिक्षालाई अगाडि बढाउन के कस्तो शिक्षा नीति अवलम्बन गर्ने हो ? अबको शिक्षाले हाम्रो समाजलाई कसरी सभ्य, अनुशासित, विवेकशील र उन्नत बनाउन सक्छ ? यी यावत् पक्षलाई विचार गर्दा हाम्रो शिक्षाको जग भनेको प्रारम्भिक कक्षादेखि नै भएकाले त्यहीँदेखि बालबालिकाको रुचि र इच्छा मुताबिक रमाउने, हाँस्ने, बोल्ने खेल्ने आदिको सहज वातावरण हुनुपर्छ । बच्चालाई स्कुले वातावरणले आफ्नो घरभन्दा रमाइलो बनाउन सकेमा केटाकेटी विद्यालय जान मन गर्छन्, विद्यालय सधैँ खुलोस् र जनापाइयोस् भन्ठान्छन् ।
तर, हाम्रा वर्तमान कक्षा कोठाहरू विद्यार्थीका लागि रोचक र मन पराएको देखिँदैन । यसका लागि हामीले धेरै सुधार र परिवर्तन गर्नुपर्ने देखिन्छ । केटाकेटीहरू अक्सर सिर्जनशील र मौलिक हुन्छन् । उनीहरू जानेर वा नजानेर पनि केही गरिहाल्न खोज्छन् । उनीहरू गल्तीबाट डराउँदैनन् । जब बच्चा ठूलो हँुदै जान्छ, तब गलत भइएला कि भन्ने डर पाल्न थाल्छ । हाम्रा शिक्षक वा अग्रजहरू पनि गल्ती वा असफलतालाई नराम्रो दृष्टिले हेर्ने गर्छन् । यसरी गल्ती गर्नु ठूलो भूल वा अपराधका रूपमा हेरिन्छ भने त्यहाँ सिर्जनशीलतामा ह्रास उत्पन्न हुन सक्छ । पिकासोले एक ठाउँमा भनेका छन्, सबै बच्चा जन्मिदा कलाकार हुन्छन् । बढ्दै जाँदा पनि कलाकार नै रहिरहेमा असहज बन्न सक्छ । यसर्थ, सिर्जनशिलताका माध्यमबाट जीवनलाई सार्थकतातर्फ उन्मुख गराउँदै लगिनुपर्छ ।
अहिलेसम्मको हाम्रो शिक्षा पद्धतिले हाम्रा केटाकेटीलाई निर्दिष्ट पाठ्यक्रममा निर्देशित पाठ्यपुस्तको सीमित घेराभित्र रहेको शिक्षाले विद्यार्थीको प्रतिभालाई वाच्छित रूपमा प्रष्फुटन गराउन सक्तैन । अन्तरनिहित प्रतिभाको विकास, सही निर्णय, र नेतृत्व क्षमता वृद्धिका लागि पनि विद्यार्थीलाई स्वतन्त्र वातावरणको खाँचो पर्छ । हामी अभिभावकदेखि शिक्षकसम्मले विद्यार्थीलाई नियन्त्रणमा वा अधिनमा राख्न खोज्छौँ । आफूले भनेका कुरा मात्र मानोस् र उसका कुरा चाहिँ सुन्न नपरोस् भन्ठान्छौँ । विद्यार्थीलाई आफ्नो इच्छा मात्र लाद्न खोज्छौँ । विद्यार्थीको झुकाव र रुचिभन्दा अभिभावकको आफ्नो चाहना वा शिक्षकले इच्छायको विषय रोज्न दबाब दिइने प्रवृत्तिले प्रतिकूल असर पु¥याएको छ । विज्ञान विषय पढ, शिक्षा विषय पढ कला विषय रोज वा, व्यवस्थापन विषय पढ भन्ने सुझाव दिने चलन छ । अहिले आएर यसलाई गलत सोच हो भनेर भनिन थालिएको छ तर पनि व्यवहारमा अझै सुघ्रन सकेको छैन । धेरै प्रतिभाशाली, मेधावी, सिर्जनशील विद्यार्थी यसबाट प्रभावित भइरहेका छन् ।
यसरी हाम्रो शिक्षा पद्धतिले होस् या हाम्रा अभिभावक वा शिक्षकको व्यवहारले किन नहोस् कैयौँ विद्यार्थीको भविष्य अँध्यारोमा धकेलिएको छ । यसर्थ, अहिले जुन किसिमले विद्यार्थीलाई शिक्षा दिइरहेको छ, त्यसको आधारभूत सिद्धान्तमाथि पुनःविचार गरिनु जरुरी छ । शिक्षाले विद्यार्थीको सम्पूर्ण पक्षलाई शिक्षित गराउन सक्नुपर्छ । पाठ्यक्रम पनि जटिलताबाट सरलतातर्फ उन्मुख हुनु जरुरी छ । विद्यालयमा केटाकेटीले शैक्षिक सामग्रीका रूपमा आफ्नै वरिपरि रहेका पुलपुलेसा, घर निर्माण मचान, गोठका संरचना, हाइड्रोपावर, बारी, बगैँचा आदि पाठ्यक्रम सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ । स्थानीय छ्वाली, मक्कैको ढोँड घोगा, धानको बोट, पराल आदि पनि पठनीय सामग्रीका रूपमा विद्यार्थीलाई उत्सुकता गराएर सिकाउन सकिन्छ । विद्यार्थीको चिन्तन, आचरण र व्यवहारमा ल्याउने परिवर्तन नै गुणस्तरीय शिक्षाको मापन हो । शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा छनोट गरिएका विषयवस्तुका आधारमा विद्यार्थीले ज्ञान, र सीप सिक्छन् ।
मुलुकभित्र विद्यमान राजनीतिक अस्थिरता र अस्पष्ट शिक्षा नीति आदिले गर्दा विद्यार्थीमा सिर्जनशीलताभन्दा निरासा, कुण्ठा र पलायन प्रवृत्तिको विकास भएको छ । आफ्नै मुलुकभित्र स्वोरोजगारको शिक्षा चाहिन्छ । यस्का लागि प्राकृतिक स्रोत र साधनलाई परिचालन गर्न सक्ने ज्ञान र सीपको शिक्षा दिइनुपर्छ । सहज रूपमै स्वदेशमा नै जीवन निर्वाहका उपाय खोजी गर्ने कामका लागि विभिन्न उद्योग कलकारखाना खनिज पदार्थको उत्खनन् गर्ने परिस्थितिले निर्माण भएमा यहाँको जनशक्ति विदेश भौतारिने थिएनन् । यस दिशातर्फ हाम्रो सरकार चुकेकै ठहर्छ । आफ्नै शिक्षा नीति, योजना, पाठ्यक्रम, पाठ्यपुस्तक तथा कार्यक्रमलाई नियोजित ढङ्गबाट कार्यान्वयन गर्ने पद्धतिको प्रभावकारिता ल्याउन सकेको छैन ।
शिक्षाको विकासका कुरा गर्दा विद्यालय नेतृत्व गर्ने व्यक्तिमा पनि केही विशिष्ट गुण हुनुपर्छ भन्ने वास्तविकतालाई नकार्न मिल्दैन । यसका लागि मन्त्रालय हाँक्ने शिक्षा मन्त्री, सचिव, विभागका महानिर्देशक जिल्ला शिक्षा आधिकारी, विद्यालय निरीक्षकर प्रधानाध्यापकमा समेत विशिष्ट क्षमता भएमा नै समग्र शैक्षिक प्रणाली नै सबल बन्न गई विद्यार्थीको भविष्य र मुलुकको भावी पुस्ता अब्बल दर्जाको उत्पादन भई राष्ट्रको समृद्धि र विकास हुन सक्छ । शिक्षाका सबै तह र तप्कामा रही नेतृत्व गर्नेले सार्वजनिक जवाफदेहिताको सुनिश्चितता प्रदान गर्न सक्नुपर्छ । शिक्षा नीतिले शिक्षाका सबै तहमा काम गर्ने बीच स्पष्ट जवाफदेहिताको किटान गरिनु जरुरी छ । जसले गर्दा मन्त्रीदेखि एउटा शिक्षकसम्मले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको नसकेको सहजै बोध गर्न सकून् ।
शिक्षा क्षेत्रभित्रका हरेक निकायका कामकारबाही प्रक्रिया स्रोत प्रयोगको अवस्था आदि सम्बन्धनमा सर्वसाधारणले जानकारी पाउने गरी सार्वजनिक गरिनु उपयुक्त हुन आउँछ । शिक्षा क्षेत्रका सबै नियुक्तिलाई वस्तुगत र पारदर्शी ढङ्गले योग्य र सक्षम व्यक्तिलाई छान्ने प्रणाली अपनाउन अत्यन्त आवश्यक छ । विद्यालयको सन्दर्भमा प्रधानाध्यापकलाई बलियो र सक्षम बनाउनुुपर्छ । विद्यालयमा गरिने सबै क्रियाकलापको केन्द्रबिन्दु भनेको विद्यालय कक्षा कोठाका विद्यार्थी हुन् । शिक्षकका माध्यमबाट विद्यार्थीको सिकाइ उपलब्धि बढाउने थलो पनि कक्षा कोठा नै हो । सक्रिय शिक्षक भएमा मात्र अर्थपूर्ण सिकाइ हुन्छ ।
जीवन पर्यन्त सिकाइलाई २०३० सम्म पूरा गर्ने लक्ष्य राखे पनि नेपालको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले गर्दा पूरा हुन कठिन देखिन्छ । सरकारको यसतर्फको प्रयत्न खासै प्रभावकारी देखिँदैन भने शिक्षाको बजेट पनि विगतकोभन्दा पनि घट्दै आएको छ । अहिले छुट्याएको बजेटमा पनि ८५ प्रतिशत शिक्षक, कर्मचारी तलबभत्ता र भवन निर्माण मर्मतमा लगाइन्छ । यो अवस्थामा युनेस्कोले घोषणा गरेको समता, समावेशी, गुणस्तर र जीवन पर्यन्त शिक्षालाई कसरी सुनिश्चितता गर्ने हो ? ठूलो चुनौतीको विषय बन्दै आएको छ । अहिलेसम्मको हाम्रो चलनमा अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर गरेर आउने पछि लागू गर्न नसक्ने देखिएको छ । यसर्थ, शिक्षा मन्त्रालयले पनि आफ्नो योजना र कार्यक्रम र नीति स्पष्ट साथ राख्न सक्नुपर्छ । आफूले कुन कुरा गर्न सकिन्छ कुन गर्न सकिँदैन स्पष्ट हुनु जरुरी छ ।

 

प्रकाशित मिति: २०७४/९/४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना