सुरक्षित र मर्यादित वैदेशिक रोजगार (सम्पादकीय)

 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्षको डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवसका रूपमा मनाइन्छ । विश्वको जनसङ्ख्याको करिब ३.४ प्रतिशत जनसङ्ख्या आप्रबासीका रूपमा बसोबास गरिरहेकाले तिनको सुरक्षा, रोजगारी र आयआर्जनको सुनिश्चितता लगायतका चुनौतीको सामना गर्न विश्वको सामूहिक प्रयासको खाँचो परेकाले यो दिवस मनाउन थालिएको हो । यातायात तथा सञ्चार क्षेत्रमा आएको नयाँ प्रविधि, औद्योगीकरण तथा विश्वव्यापीकरणको प्रभावले अन्तर्राष्ट्रिय रूपमै आप्रवासन बढेको हो । यसबाट नेपाल पनि प्रभावित छ । अहिले मुलुकको जनसङ्ख्याको ठूलो हिस्सा विदेशमा छ । अध्ययन, रोजगारी, व्यापार व्यवसाय, पर्यटन तथा बसोबासकै लागि विदेशमा रहेका नेपालीको सङ्ख्या निकै बढेको छ । यसरी जन्मभूमि छाडेर अन्य देशमा बसोबास गर्न बाध्य जनसङ्ख्याको सुरक्षा नेपालको चासोको विषय बनेको छ । 

वैदेशिक रोजगारी नेपाली विदेशिनुको प्रमुख कारण हो । हालसम्म करिब ४८ लाख नेपाली रोजगारीका लागि विदेशिएका छन् । त्यसैले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको नारा नेपालले ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी ः हाम्रो सरोकार’ तय गरी सोमबार विविध कार्यक्रमसहित मनाएको छ । आप्रवासन रहर र बाध्यता दुवै हो । ‘तान्ने’ र ‘धकेल्ने’ दुई तìवका कारण कुनै पनि व्यक्ति आफ्नो जन्मभूमि छाडेर अन्य मुलुकमा जाने गर्छ । गन्तव्य मुलुकको विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेका प्रगति र त्यसबाट सुधार भएको जीवनस्तरले धेरै युवालाई विदेशतिर आकर्षित गर्ने गरेको छ । ती मुलुकले औद्योगिक, व्यापारिक क्षेत्रमा गरेको प्रगति र त्यसका कारण सिर्जना भएको रोजगारीका अवसर र आयको वृद्धिले पनि धेरैलाई तानिरहेको छ । अर्काेतिर मुलुकभित्रको सीमित रोजगारीका अवसर, न्यून पारिश्रमिक र आय, न्यून आर्थिक वृद्धि दर, गरिबी तथा सामाजिक पछौटेपनले गर्दा मानिस राम्रो अवसरको खोजीमा विदेशिन बाध्य बनेको छ । नेपाली युवालाई पनि यिनै दुई कारणले विदेशतिर आकर्षित गरिरहेका छन् । नेपाली श्रम बजारमा रोजगारीको अवसरको कमी, न्यून पारिश्रमिक, श्रमको कदर नगर्ने संस्कार, शिक्षा, सूचना र प्रविधिको विकास तथा युवामा बढ्दो महìवाकांक्षाका कारण विदेश जाने क्रम निरन्तर बढ्दो छ ।
नेपालको श्रम बजारमा प्रत्येक वर्ष प्रवेश गर्ने पाँच लाख १२ हजारमध्ये चार लाख जति त वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । यसबाहेक, अध्ययन लगायत लागि विदेशिनेको सङ्ख्या पनि ठूलो छ । यसरी विदेशिने नेपाली युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्र धानिएको छ । आ.व. २०७२÷७३ मा कुल ६६५ अर्ब छ करोड रुपियाँ विप्रेषणबाट प्राप्त भएको थियो । यो रकम कुल गार्हस्थ उत्पादनको २९.६ प्रतिशत हो । विप्रेषणले नेपालको अर्थतन्त्रमा महìवपूर्ण सकारात्मक योगदान दिँदै आएको छ भने यसबाट समाजमा परेको प्रतिकूल प्रभाव र यस क्षेत्रका समस्या पनि कम छैनन् । मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासमा महìवपूर्ण योगदान गर्ने वैदेशिक रोजगारीका नकारात्मक प्रभाव पनि कम छैनन् । पारिवारिक विखण्डन, वृद्धवृद्धा तथा शारीरिक अशक्तको हेरचाहमा कमी, बढ्दो मानसिक विकृति समाजमा देखिएका समस्या हुन् । करार नगरी काममा लैजाने, करारभन्दा फरक काम र पारिश्रमिकमा काममा लगाउने, सुविधा र पारिश्रमिक नपाउने, जोखिमपूर्ण काम गर्नुपर्ने लगायतका घटना बढिरहेका छन् । यी समस्या समाधानका लागि गम्भीर हुन आवश्यक छ । वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न यस क्षेत्रको नियमन र व्यवस्थापनका साथै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगाउन आवश्यक छ ।

 

 प्रकाशित मिति: २०७४/९/४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना