सबैको विजय प्रजातान्त्रिक चुनावको विशेषता

प्रदिप्नराज पन्त

 


विजय पराजय चुनावमा भइरहने कुरा हो । दल या उम्मेदवारहरू पराजित हुने सामान्य हो र सामान्य रूपमा लिनु पर्दछ । प्रजातन्त्रमा चुनाव आवधिक हुने गर्दछ यसैले चुनावको नतिजा पनि समय काल र परिस्थिति अनुसार फरक फरक हुन्छ । निश्चित समय पछि पराजित उम्मेदवारहरू पनि विजयी भएको घटना संसारभरि नै पाइन्छ किनकि चुनावमा सधैँ विजयी हुने कुनै निश्चित सूत्र भने अहिलेसम्म प्रतिपादन भएको छैन ।
अमेरिकामा मतदाताहरू आपूmलाई कुनै दल विशेषको सर्मथक या स्वतन्त्र भनेर आफूलाई परिभाषित गर्ने गर्दछन् । र दलहरूले पनि आफ्ना सर्मथकहरूको पहिचान गरी उनीहरूलाई आफ्नो दलको सर्मथकको रूपमा पहिचान दिने गर्दछन् र सर्मथकको सूची बनाइ दर्ता गर्दछन् । चुनावको बेला उनीहरूको सर्मथन र विरोधको प्रतिक्रिया लिएर चुनावका उम्मेदवार तय गर्नुको साथै विजयी हुनको लागि रणनीतिहरू तयार गर्दछन् । नेपालमा दलहरूले आफ्ना सर्मथकहरूको दर्ता गर्दैनन् या उनीहरूको बारेमा सूचनाहरू सार्वजनिक गदैनन् तर सक्रिय कार्यकर्ता बनाएर उनीहरू मार्फत दलहरूले मतदाताको अभिमतको आँकलन गर्ने गरेको पाइन्छ । नेपालका दलहरूले आफ्नो दललाई विजयी बनाउन कस्ता रणनीतिहरू तयार गरेका हुन्छन् भन्ने कुरा सार्वजनिक भएको नभए पनि घोषणा पत्रलाई दलहरूको चुनावी रणनीति मान्न पनि सकिन्छ ।
चुनावको मुल्याङ्कन
विश्वभरि चुनाव फरक फरक किसिमको हुने गरेको छ र कुनै एक पद्धति नै संसारभरी सर्वमान्य भएको पाइँदैन । १९७० सम्ममा संयुक्त राष्ट्रसङ्घमा आबद्ध १९२ मुलक मध्ये आधा जसोमा मात्र अहिले जस्तो बहुसंख्यक देशमा अपनाइएको पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली अन्र्तगत चुनाव हुने गर्दथ्यो । तत्कालीन सोभियत युनियन लगायतका कम्युनिष्ट अधिनायकवाद शासन व्यवस्था भएका मुलकहरू, सैनिक शासन व्यवस्था भएको तत्कालीन स्पेन, ग्रिस, पोर्चुगल, ल्याटिन अमेरिकी मुलकहरू र केही स्वतन्त्र अफ्रिकी मुलुकहरूमा बहुदलीय व्यवस्थामा जस्तो चुनाव हुँदैन्थ्यो तर चुनाव सन् २००० मा आइपुग्दा बहुदलीय व्यवस्था अन्र्तगत चुनाव हुने देशहरूको संख्या १२० पुग्यो अर्थात् १२० देशले बहुदलीय व्यवस्थामा आधारित चुनावमा सहभागी भए । अहिले प्रजातन्त्रको सुनौलो युग भन्न थालिएको छ कारण अहिले विश्वका अधिकांश देशहरूमा आवधिक बहुदलीय चुनाव हुनेगर्दछ र चुनाव मुल्यांकन पनि विभिन्न कोणबाट गर्न थालिएको छ ।
सुरु सुरुमा चुनावमा जनताले देखाएको उत्सुकता र खसेको मतको प्रतिशतले चुनावको सफलता असफलता मापन गरिन्थ्यो । मत खसेको परिणामलाई आधार बनाउँदा विकसित मुलुकहरूले पनि मतको परिणाम लाई मात्र मापन गर्ने गरेका थिए । सालाखाला संयुक्त अधिराज्यमा ६५ प्रतिशत मत खसेको पाइन्छ भने क्यानडामा ५९ प्रतिशत, अमेरिकामा ६२ प्रतिशत छ भने न्यूजिल्याण्डमा १९८० मा ९० प्रतिशत मत खसेको भए पनि हाल ७६ प्रतिशत मत खसेको पाइन्छ । चुनावमा मत हाल्न अनिवार्य भएका देश जस्तो कि अष्टे«लियामा पनि पछिल्लो समय ७० प्रतिशत मत मात्र खस्यो । केही विज्ञहरूका अनुसार ६० प्रतिशत भन्दा बढी मत खसेको चुनावलाई सफल चुनाव मान्नुपर्ने धारणा राख्दछन् यो अर्थमा अहिले नेपालको प्रतिनिधिसभामा भएको ६७ प्रतिशत मतदानले नेपालको चुनाव पनि सफल भएको मान्न सकिन्छ ।
तर नेपालमा भएका चुनावहरूमा मत खस्ने प्रतिशत सन्तोषजनक भए पनि एउटै दलले चुनावमा बहुमत हासिल गरी सरकार बनाएको घटना चाहिँ नेपालीले नदेखेको वर्षांै बितिसकेको छ । गठबन्धन संस्कृति मौलाए पनि हालैका दिनमा गठबन्धनको स्थायित्व महसुस गर्न सकिएको छैन । तर अहिलेको चुनावमा गठबन्धन भएको छ र राजनीतिक स्थायित्व अनुभूत हुनसक्ने अवस्था सिर्जना भएको छ ।
साक्षरता बढी भएको विश्वका अधिकांश देशमा खसेको मत प्रतिशत चाहिँ ७१ प्रतिशत छ भन्ने नेपाल जस्तो साक्षरता कम भएको देशमा हुने चुनावको मत प्रतिशत ६१ छ । केही अपवाद छोडेर नेपाल लगायत संसारभरि नै चुनावमा यति प्रतिशत मत ल्याउन पर्दछ भन्ने कुनै नियम छैन जसले बढी मत ल्यायो उही विजयी हुन्छ । यसैले कति मत खस्यो भनेर चुनाव सफल असफल भएको भनेर किटान गर्न मिल्दैन । यसकारण विशेषज्ञहरूले चुनावको सफलता असफलता मापन गर्न तीनवटा अवस्थाको विवेचना गर्नुपर्छ भनेर देखाएका छन् । हुन त नेपाली सञ्चार माध्यममा चुनावको बारेमा विश्लेषण हुने गरेको छ तर जति बहस गरे पनि अनुभव, अनुसन्धान र सम्बन्धित आवश्यक शैक्षिक योग्यता नभएकाहरूले गर्ने आँकलन निर्रथक हुने कुरा स्पष्ट छ । संसारभरि प्रचलनमा भएको चुनावको सफलता असफलता मापनको पहिलो विचारणीय पक्ष भनेको युद्ध या हिंसाको बीच गरिएको मतदान, दोस्रो शक्ति पैसा र बाह्य हस्तक्षेपमा भएको चुनाव र तेस्रो नागरिकहरू देश भन्दा बाहिर रहेको र उनीहरूलाई मत हाल्ने अवसर नभएको अवस्था । यी तीन अवस्थाले गर्दा एक मत मात्र प्रभावित भएको छ भने पनि ८० प्रतिशत मत खसे पनि चुनाव सफल भएको मानिदैन । यस आधारमा झण्डै ४० लाख नेपाली मतदाताहरू नेपालबाहिर भएको अवस्थामा राज्यले या सरोकारवालाहरूले अहिलेको प्रविधिको युगमा पनि उनीहरूलाई मतदानमा सहभागी गराउन नसक्नु दुर्भाग्यपूर्ण अवस्था हो, भविष्यका निर्वाचनमा यस्तो नभए हुन्थ्यो । यति हँुंदाहँुंदै पनि अहिले नेपालमा भएको चुनावमा मतदाता र आमनागरिकको सहभागिता उत्साहजनक रूपमा रह्यो र निर्वाचन सफल भयो ।
जिम्मेवारी बहन
प्रजातन्त्रमा चुनाव विजय पराजय नभइ जिम्मेवारी लिने र दिने हो भनेर बुझ्न थालिएको छ । चुनावलाई विजय पराजय ठान्न थालियो भने त्यो अत्यन्त अप्रासाङ्गिक हुन्छ । प्रजातान्त्रिक चुनावबाट विजय भइसकेपछि पनि तानासाहहरू नजन्मिएका होइनन् । यसैले सफल प्रजातन्त्रको लागि चुनाव पछिका आचारसंहिता पालन गर्न सबैले अपरिहार्य देखिन्छ ।
पहिला र अहिले पनि किताबमा लेख्दा र विद्धानहरूले बहस गर्दा प्रजातन्त्र भनेको जनताको सरकार जनताद्धारा जनताको लागि भनेर प्रजातन्त्रको परिभाषा गरिन्थ्योे जस अन्र्तगत अभिव्यक्ति स्वतन्त्रता, निष्पक्ष र स्वतन्त्र न्यायपालिका, विभेदमुक्त समाज, सभा समारोह लगायत संगठित हुने अधिकार र विरोध गर्न पाउने अधिकार भनेर बुभ्mने गरिएको छ तर एकाइसौँ शताब्दिको प्रजातन्त्रको परिभाषामा सहभागिता र त्यो पनि स्वतन्त्र, सक्रिय क्रियाशील, र अर्थपूर्ण सहभागिता भन्ने गरिन्छ । निर्णयको हरेक तहमा सहभागिता भनिएको हो । सहभागितात्मक प्रजातन्त्र भएका मुलकमा चुनावमा मतले हुने विजय पराजय चुनाव सकिए पछि गौण हुन्छ किनकि मतले कुनै उम्मेदवार विजय या पराजय ठानिँदैन । बढी मत ल्याउनेहरूले जिम्मेवारी मात्र पाउने हो किनकि उस्को पाएको बढी मतले निश्चित समयको लागि उसले जिम्मेवारी बहन गर्न मात्र पाउने हो । अहिलेको प्रजातन्त्र भनेको सहभागितामा आधारित प्रजातन्त्र र चुनावमा बढी मत पाएर निर्वाचित हुनेले सर्वसम्मतिबाट निर्णय गर्ने अधिकार मात्र पाएको हो भन्ने बुझ्नु पर्दछ । यस्तो किसिमको सहभागितामा आधारित प्रजातान्त्रिक प्रणालीको सुरुवात ब्राजिलबाट सुरु गरिएको हो र हाल फ्रान्स, स्पेन, संयुक्त अधिराज्य, क्यानडा, इटाली, जर्मनी र सन २०१६ देखि भारतमा लागू गरिएको छ ।
सामुदायिक सहभागितामा आधारित प्रजातन्त्रमा चुनावमा विजयीहरूले बहुमतको निर्णय भन्दा सर्वसम्मत निर्णय गर्दछन् र यस्तो निर्णय नगरपालिकाको बजेट र कार्यक्रममा मात्र नभइ सवै ठाउँमा प्रयोग गरिन्छ । सहभागितात्मक प्रजातन्त्रले समुदाय र समाज, बहुमत र अल्पमत सबैलाई संगठित बनाउँछ र शक्ति केन्द्रीकृत नभई शक्ति विकेन्द्रीकरण कसरी गर्ने भन्ने भावना जागृत गर्दछ । देश सङ्घीयता मा गएको छ तर सङ्घीयतामा जाँदैमा सामूहिक भावनाको विकास भएन भने साधन स्रोतको वितरण घर घरमा पुग्न सक्दैन यसैले सर्वसम्मत निर्णय विकासमा अपरिहार्य मानिएको छ । यस्तै निर्णय गराउन सहजीकरणको जिम्मेवारी बहन गर्न जनप्रतिनिधि चुनिएका हुन् ।
चुनावमा जित र हार
महाभारतमा जनपद र गणतन्त्रको वर्णन गरिएको छ र ती ठाउँमा जनता वर्षमा एकपटक जम्मा भई प्रतिनिधि चुन्ने गर्दथे । इतिहासमा सिन्धु नदीको पश्चिमी तट हँुंदै, पश्चिम अफगानिस्तानसम्म फैलिएको भू–भागमा थुप्रै स–साना जनपदहरू थिए भन्ने कुरा पढ्न पाइन्छ । त्यस्ता स–साना जनपदलाई मिलाएर एउटा ठूलो महाजनपद बनाइएको हुन्थ्यो भनेर इतिहासकारहरूको भनाइ छ । ती महाजनपदहरूमा प्रतिनिधि चुन्नका लागि चुनाव हुने गर्दथ्यो । त्यसमध्ये हाल भारतको उत्तरमेरु गाउँको श्री निवास मन्दिरमा रहेको शिलामा तत्कालीन चुनावको वर्णन गरिएको छ । जानकारहरूका अनुसार सन् ९०७ देखि ९५५ सम्म उक्त जनपदमा राजा परान्तक देव परकेशरी वर्मनले शासन गर्दथे र उनले चुनावका लागि आधारभूत नियमहरू बनाएका थिए । उनको राज्यमा धेरै गाउँ थिए र हरेक गाउँंलाई ३० वडामा विभाजन गरिएको थियो । पञ्चायत नाम दिइएको यो गाउँमा पञ्च बन्नका लागि आधारभूत नियमहरू बनाइएको थियो । पञ्च चुन्नका लागि पनि जनताको आचारसंहिता निर्माण गरिएको थियो । राजा परान्तकले निर्माण गरेको आचारसंहिता अहिले पनि सान्दर्भिक छ । उनले बनाएको नियम अनुसार मुख्य पञ्च बन्नका लागि चार वेद पढेको र एक वेदमा चाहिँ पारंगत हुनु पर्दथ्यो अर्थात् उम्मेदवार शिक्षित हुनुपर्दथ्यो । चुनावमा विजयी हुनेले आपूmलाई नछान्ने अथवा आफुसँग फरक मत राख्ने मानिसहरूको समुदायलाई सबभन्दा पहिला केही आचारसंहितको दायराभित्र उनीहरूलाई खुसी बनाउन पर्दथ्यो र उनीहरूको असहमतिलाई पहिला प्राथमिकतामा राखेर काम गर्नुपर्दथ्यो । यसको अर्थ अल्पमतले पनि पराजित भएको महसुस गर्न पर्दैनथ्यो त्यो समयमा । यसैले त्यो समयको चुनावमा पनि मानिसहरूले आपूmलाई विजयी भएर शासकको अनुभूति गर्दैनथे बरु जिम्मेवारी बहन गर्ने सेवकको रूपमा आपूmलाई स्थापित गराउन चाहन्थे भन्ने अनुमान लगाउन सकिन्छ ।
इतिहासको यो कथा अहिलेको प्रजातान्त्रिक नेपालमा झनै सान्दर्भिक भएको महसुस हुन्छ । मानव सभ्यताको सुरुवात भएदेखि नै आफ्नो पहिचानका लागि मानिसहरू प्रयासरत हुने गर्दथे तर चुनावलाई आफ्नो पहिचानको मात्र विषय कम, जिम्मेवारीको विषय बढी भन्ने सम्झनु पर्दछ भन्ने कुरामा कहिल्यै विवाद नभएको अनुमान गर्न सकिन्छ । पहिचान कायम गर्ने अन्य विधाहरू पनि छन् तर चुनावको विजय जिम्मेवारी वहन गर्ने एउटा माध्यम मात्रै हो भन्ने कुरा इतिहासदेखि नै प्रमाणित भएको छ ।
परम्परादेखि नै प्रजातान्त्रिक चुनावमा हार जित भैरहेको छ । अमेरिका राष्ट्रपतिहरू रिर्चाड निक्सन, जिमी कार्टर, रोनाल्ड रेगन, र्जज बुस, बाराक ओवामाले सुरुवाती दिनमा राष्ट्रपति हुनु अघि अमेरिकामा भएका राज्य स्तरीय थुप्रै चुनावमा पराजय भोगेका थिए तर उनीहरू सबै प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्दथे र आफ्नो मूल्य मान्यता र विचारहरू बहुमतले स्वीकार नगर्दा पनि आशावादी भएर आफ्नो प्रजातान्त्रिक मान्यता प्रति अडिग भई चुनावमा सहभागी भइरहे । अन्तोगत्वा उनीहरू सबै राष्ट्रपतिको चुनावमा निर्वाचित हुनपुगे । अव्राहम लिङ्कनले प्रजातन्त्रको परिभाषा दिँदा सुन्दर तरिकाले चुनावको वर्णन गर्नुभएको छ । जनताका लागि जनताद्वारा जनताको जस्ता शब्दहरूले चुनावको महìव, आदर्श झल्काएको देख्न पाइन्छ । यसैले प्रजातान्त्रिक मुलुकमा चुनावलाई कसैले नहार्ने विशेष व्यवस्था भनिएको छ । यो एउटा यस्तो पद्धति हो जसले पराजितलाई पनि फेरि विजय हुने अवसर दिलाउँछ ।

 प्रकाशित मिति: २०७४/९/५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना