गरिबी र शहरी बालबालिका

laxmi khatiwadaलक्ष्मी खतिवडा

काठमाडौँ शहर, धेरैको रहरको शहर हो । बाहिरबाट हेर्दा जति आकर्षक र रमाइलो देखिन्छ, यो शहर तर वास्तविकतामा त्यति नै भिन्नता पाइन्छ । शहरका हरेक चोक र गल्लीको भीडमा हामीले चिटिक्क परेर हिँडिरहेका वयस्कलाई मात्र नियाल्छौँ तर यो भीडमा साना अनि मझौला उमेरका बालबालिका हाम्रा आँँखामा पर्दैनन् ।
यही शहरलाई नजिकबाट नियाल्ने, घुम्ने र रमाउने चाहना बालबालिकामा पनि उत्तिकै देखिन्छ तर शहर घुम्न प्रायः साना केटाकेटीलाई कुनै विशेष दिन या दशैँको किनमेल नै पर्खनुपर्छ । दशैँको लागि स्कुल बिदा भएपछिको समयमा भने हामी सडकमा बालबालिकाको उपस्थिति बाक्लै देख्छौँ । सबैभन्दा महŒवपूर्ण कुरा यो शहर, सडक र यहाँको वातावरण उमेरदार मान्छेका लागि त उपयुक्त छैन भने बालबालिका लागि उपयुक्त हुने त कुनै भएन । साना मान्छेको शहर घुम्ने चाहनालाई बुझ्दाबुझ्दै पनि कतिपय अवस्थामा आमाबाबु उनीहरूका रहर पूरा गर्न असमर्थ बनिरहेका हुन्छन् । दशैँ नै पर्खनुपर्ने कतिपय आमाबाबुको बाध्यता पनि छ ।
आफ्ना बालबच्चा सबैभन्दा बढी खुसी बनून् भन्ने हरेक आमाबाबुको चाहना हुन्छ तर काठमाडौँमा वर्षभरि नै काम नगरी गुजारा नचल्ने धेरै आमाबाबु छन्, जसले आफ्ना साना छोराछोरीको नयाँ ठाउँ घुम्ने र रमाइलो गर्ने समयलाई पनि आफूसँगै श्रममा लगाउनुपरेको छ । विद्यालय समयबाहेकको समय पनि उनीहरूका लागि महŒवपूर्ण छ भन्ने बुझेर पनि काममा लगाउनुपर्ने धेरै आमाबाबुको बाध्यता छ । जीवनयापनकै लागि आफ्ना साना छोराछोरीको सहयोगले दैनिकी चलाउन सहज भएको पनि देखिन्छ ।
शहरभित्रका गरिबीमा पिल्सिएका धेरै परिवारभित्रका साना बालबालिकाको समस्या उस्तै–उस्तै छ । उनीहरू पनि अन्य सम्पन्न आमाबाबुका छोराछोरीको जस्तै नयाँ–नयाँ ठाउँ घुम्ने, नयाँ–नयाँ कुराको अनुभव गर्ने र खुसी हुने चाहना राख्छन् । बालबालिकाको बढ्दो उमेरसँगै बालविकासका लागि यो अनिवार्य अभ्यास पनि हो तर गरिब र विपन्न परिवारका अधिकांश बालबालिका यस्ता क्रियाकलापबाट वञ्चित छन् । यो अभावले गर्दा उनीहरूको बालविकासमा प्रत्यक्ष असर परिरहेको हुन्छ । आमाबाबुको दैनिक ज्यालादारी कामसँग परिचित विपन्न परिवारका बालबालिका आफूले सके पनि नसके पनि उमेरभन्दा ठूलो काम गरेर आमाबाबुलाई सक्दो सहयोग गर्नुपर्ने बाध्यतामा छन् । स्कुल पढ्ने उमेरका छोराछोरीले बिहान–बेलुका थोरै सघाउँदा परिवारमा धेरै नै कामको बोझ हल्का हुन्छ तर सधैँभरि आमाबाबाुको दुःखलाई देखिरहेका र गरिबीसँँग मात्र जुधिरहेका यस्ता बालबालिकाले अध्ययनमा पनि समय दिन सकेका हुँदैनन्, न त नियमित विद्यालय नै जान पाएका हुन्छन् । राजधानीका प्रायः सरकारी विद्यालयमा दैनिकजसो अनुपस्थित हुने बालबालिका कहिले आमाबाबुको काम त कहिले भाइबहिनी हेर्नकै लागि घरमा बस्नुपर्ने अवस्था छ । परिणाम स्वरूप उनीहरूले विद्यालय र अध्ययनलाई पनि निरन्तरता दिन सकेका हुँदैनन् । यस्तो अवस्थाले समग्रमा बालविकासको अवस्थामा नै अवरोध पुगिरहेको हुन्छ ।
न्यून आयस्तर भएका परिवारका बालबालिका विभिन्न प्रकारका श्रममा परिवारसँग तथा एकल रूपमा पनि आबद्ध देखिन्छन् । विद्यालय समयबाट बचेको एकैछिन फुर्सदको समयमा पनि उनीहरू आमाबाबुसँगै काममा खटिन्छन् । चाहे त्यो आमाले बाटोमा मकै पोलिरहँदा, बिहान–बेलुका तरकारी बेचिरहँदा, चटपट र पानी पुरी बनाइरहँदा होस् या इँटा भट्टाजस्तै जोखिमपूर्ण काममा होस्, यस्ता बालबालिकाको संलग्नता प्रस्टै देखिन्छ । अभाव र गरिबीलाई नजिकैबाट दैनिक बुझिरहेका यस्ता बालबालिका मानसिक रूपमा नै आफूहरू अन्य बालबालिकाभन्दा फरक भएको अनुभव गर्ने हुनाले नै परिवारका लागि आयआर्जनमा जुट्नैपर्ने अवस्था छ, जसबाट उनीहरूको बाल्यवस्था अन्य बालबालिकाभन्दा पृथक् हुन्छ । अध्ययन तथा मनोरञ्जनजस्ता आधारभूत बाल अधिकारबाट उनीहरू सिमान्तकृत भइरहेका हुन्छन्, जसका प्रत्यक्ष उदाहरण राजधानीभित्रैका खोला किनार नजिक साना–साना टहराका बालबालिका हुन् । शहरी गरिबीको चेपुवामा यस्ता धेरै बालबालिकाको सुनौलो भविष्य दुःखदायी ढङ्गले बितिरहेको छ, चाहे त्यो दिनभरि साहुको काम गरेर बेलुका विद्यालय जाने विद्यार्थी हुन् या दिनभरि विद्यालय गएर बिहान–बेलुका छाक टार्न आमाबाबुको कामलाई सहयोग गर्ने बालबालिका हुन् । परिवारभित्रको अभाव टार्न सानै उमेरमा उनीहरूले खर्च गर्नुपर्ने श्रमको अवस्थाले उनीहरूको बालविकासमा पनि प्रभाव पारिरहेको हुन्छ । काठमाडौँमा रहेको रात्रि विद्यलयमा अध्ययनरत प्रायः विद्यार्थी यस्ता धेरै समस्यासँग जुधेर पनि उच्च शिक्षा र सुनौलो भविष्यको कल्पना गर्दे अध्ययन गरिरहेका छन् । यी विद्यार्थीबाट पनि अन्य विद्यार्थीले धेरै पाठ सिक्न सक्छन् । यस्ता बालबालिकाको जीवन भोगाइ जो कोहीलाई पनि सङ्र्घषमय जीवनका पाठशाला जस्तै लाग्छन् । अभाव र गरिबीको फाइदा उठाउनेको जोखिममा पर्ने पनि यस्तै समूहका बालबालिका बढी भएको विभिन्न तथ्याङ्कले जनाएको छ । धेरै बालबालिकामाथि विभिन्न खाले हिंसा र यातना र कुटपिटका घटना पनि भइरहेका छन् । न्यून आयस्तर भएका परिवारका बालबालिकाको काम गर्ने मुख्य स्थान सानातिनो खाजा घर, रेष्टुरेन्ट, होटल तथा अन्य श्रमलगायतका क्षेत्रमा बढी भएकाले कामकै सिलसिलामा बेचबिखनको जोखिममा पनि परिररहेका धेरै घटना छन्, जसले गर्दा उनीहरूको सुरक्षाको अवस्था पनि जोखिममा परेको छ । नेपालका बालबालिकाको स्थिति २०७३÷२०७४ को प्रतिवेदनअनुसार नेपालमा अझै पनि लाखौँ बालबालिकाको अवस्था दुःखदायी ढङ्गले बितिरहेको छ भने बालबालिकाको अवस्था सन्तोषजनक छैन । कुल जनसङ्ख्याको ४० प्रतिशत बालबालिका रहेको नेपालमा शहरी गरिबीमा परेको बालबालिकाको अवस्था त झन् सन्तोषजनक छैन ।
काठमाडौँ शहरभित्र गरिबीको सङ्ख्या कति छ र कस्तो अवस्थालाई गरिबी भन्ने भन्ने यकिन तथ्य नभएका कारण शहरी गरिबीमा कस्ता वर्गलाई गणना गर्ने भन्ने नै यकिन छैन तर पनि विभिन्न अध्ययनअनुसार काठमाडौँंका नदी किनार वरपर रहेका दुई दर्जनभन्दा बढी सुकुम्बासी बस्तीमा रहेका बालबालिकाको दयनीय अवस्थाबाहेक कामको खोजीमा शहर पसेका र दुई छाक जुटाउन पनि मुस्किल पर्ने हजारौँ परिवारलाई शहरी गरिबी नै मान्नुपर्ने देखिन्छ । यस्ता परिवारको जीवनयापन र दैनिक ज्यालादारीसँग साना बालबालिकाको जोखिमपूर्ण श्रम पनि जोडिएको हुनाले उनीहरूको शिक्षा, स्वास्थ्य, पर्याप्त पोषण र समग्र बालविकासको अवस्थामा सुधार ल्याउने वातावरण अब अनिवार्य छ ।

 प्रकाशित मिति: २०७४/९/६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना