आगामी सरकारका चुनौती

bamdeb paudelवामदेव पौड्याल

 

प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ वामपन्थी गठबन्धनको उल्लेखनीय सिटसहित विजयको झण्डा फहराइरहेको नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन समानुपातिकमा पनि राम्रो नतिजा निकालेको छ । यसबाट नेपालको संविधान २०७२ कार्यान्वयन गर्ने नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीको काँधमा आइपुगेको जनताले लख काटिसकेका छन् । वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री को हुने भन्ने कुराको आधिकारिक निर्णय नभैसके पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मुलुकको अबको प्रधानमन्त्री ओली हुनेतर्फ संकेत गरिसक्नु भएको छ ।
निर्वाचन अघि स्थिति सुरक्षा स्थिति जे जस्तो भए पनि केही अपवादबाहेक चुनाव स्वच्छ र धाँधलीरहित रूपमा सञ्चालन गरेका प्रधानमन्त्री शेरबहादुर देउबाको उत्तराधिकारीका रूपमा दोस्रो पटक प्रधानमन्त्री बनी सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको विश्वास जितेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिसक्नु भएको छ । उहाँले निर्वाचनबाट प्राप्त जनमतको पूर्ण उपयोग गर्दै देशलाई समृद्ध बनाउने प्रतिबद्धता जाहेर पनि गर्नु भएको छ । निष्ठा र नैतिकताको खडेरी परेको अहिलेको राजनीतिलाई शुद्धीकरण गर्दै निष्ठा र नैतिकतासहित समृद्धिको आधारशिला खडा गर्ने ओलीको अडानले जनतालाई पक्कै पनि उत्साहित तुल्याएको छ । गफ र कामको तालमेल सहज नभए पनि राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, सुशासन, विकास र समृद्धिका लागि घोषणापत्र र भाषणबाजीमा गरिएका प्रतिबद्धता पूरा गर्न पनि एमाले अध्यक्ष ओली अडिग हुने अपेक्षा गर्न सकिन्छ । सामाजिक आर्थिक रूपान्तरणका कार्यक्रममा आफू कुनै हालतमा नचुक्ने प्रतिबद्धता जनाएको वाम गठबन्धन वा ओलीले आम मतदाताको मनोविज्ञानलाई निराश नबनाई जनताले दिएको जनादेश कसरी कार्यान्वयन गर्लान् भन्ने सबैको प्रतीक्षाको विषय बनेको छ ।
वाम गठबन्धनको विजयसँगै सत्य, अग्रगामी परिवर्तन, राष्ट्रिय हित, लोकतन्त्र र समृद्धि, एकता र स्थिरताका विरुद्ध विभिन्न प्रकारले छरिएका भ्रमलाई चिर्दै वाम गठबन्धनको अत्यन्त महìवाकांक्षी घोषणापत्रलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारका रूपमा तयार पारी वाम गठबन्धनका नेताहरूले जनता सामु निर्वाचनमा गरेका प्रतिबद्धता स्थिरता, विकास र समृद्धिका लागि हुनेछन् भन्नेतर्फ आमजनताको ध्यान केन्द्रित हुनेछ । वाम गठबन्धन अझ विशेष गरेर नेकपा एमालेको नेतृत्वमा जनलहर आउँदा जनतामा एमालेप्रति आकर्षण, विश्वास, आशा र भरोसा जागेको वर्तमान सन्दर्भमा प्रगतिशील, जनपक्षीय र विकासप्रेमी सरकार चलाउने ओलीको प्रतिबद्धता देखिन्छ । पछिल्लो समयमा संसद्मा कुनै पार्टी विशेषको स्पष्ट बहुमत नहुँदा काम गर्न चाहेर पनि गर्न नसकिएका थुप्रै उदाहरण छन् । अब भने यो स्थितिबाट मुलुकले पार पाउने अपेक्षा गर्न सकिन्छ र यसै वास्तविकतामा बहुमत प्राप्त गठबन्धन तथा पार्टीहरूले देश विकासका कामलाई पूरा गर्नेतर्फ लाग्नुपर्छ साथै वाम गठबन्धन यस दिशामा खरो उत्रनेछ । अब आफूहरू आन्दोलनको अनुभव, वैचारिक हिसाबले संश्लेषण गर्न सक्ने क्षमता, विचारहरूबाट निष्कर्ष निकाल्न सक्ने खुबी, देश विदेशको परिस्थिति बुझ्ने रुझान, इतिहास र अनुभव भएको, सङ्घर्ष र संगठनका अनुभव भएको, सरकार सञ्चालन जस्ता सबै अनुभव भएको पार्टी र नेतृत्व जनताको समृद्धि र देशको विकासमा एकसाथ लगाउने ओलीले प्रतिबद्धता व्यक्त गरेका छन्, नेपाली ओलीको यस प्रतिबद्धतामा पनि त्यत्तिकै आशावादी रहेका छन् । भविष्यले नै बताउने ओलीले आफ्ना प्रतिबद्धता कसरी पूरा गर्नेछन् ।
यसपालिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जनताले वामपन्थीहरूको राष्ट्रिय गठबन्धनलाई दिएको मत अर्थपूर्ण छ । विगतमा नेपाली काङ्ग्रेसबाट भएका कमी कमजोरीलाई सच्याएर अघि बढ्ने जनमत वाम गठबन्धनले पाएको छ । यस दिशातर्फ पनि वाम गठबन्धनले विचार पु¥याउनु अत्यावश्यक छ । यसका साथै आम जनताको भारी बहुमतबाट स्थापित लोकतान्त्रिक गणतन्त्र संस्थागत गरी संविधानको लिगमा हिँड्ने र जनउत्तरदायी शासन प्रणालीद्वारा नै नेपालको समृद्धि र विकासको सपना साकार गर्ने भावना व्यक्त गरेर पनि ओलीले आफ्नो लोकतन्त्र र संविधानवादप्रतिको निष्ठा देखाएका छन् । चुनावताका विपक्षीहरूले वाम गठबन्धनविरुद्ध गणतन्त्र तथा संविधानका विषयमा विष वमन गरेका थिए । अब प्रतीक्षा यही छ गणतन्त्र तथा संविधानप्रतिको निष्ठाप्रति ओली र वाम गठबन्धनले विपक्षीका विष वमनलाई कसरी झुठा प्रमाणित गरिदिन्छन् ।
आफू प्रधानमन्त्री भएपछि देश विकास गर्न आफ्ना पाँचवटा सवाल भएको ओलीले जनाएका छन् । पहिलो हो, राष्ट्रियताको सवाल । सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानको सम्बद्र्धन गरी स्वाधीनता बचाउन विगतको सङ्घर्ष र बलिदानीबाट साँच्चै गौरवान्वित तुल्याउन यस्तो गौरवको रक्षा गर्दै अगाडि बढ्ने आजको आवश्यकता भएको उनको ठहर छ । दोस्रो हो, लोकतन्त्रको रक्षा । हामीले लोकतन्त्रका लागि सङ्घर्ष गरेका जनताले अधिकार, अवसर, सुरक्षा र सम्मान खोजेका छन् । त्यो प्रदान गरी जनजिवीका, शिक्षा स्वास्थ्य, आवास, सुरक्षा, अवसर जस्ता आधारभूत कुराहरूसहितको लोकतान्त्रिक अधिकार जनताले राज्यबाट प्राप्त गर्ने वातावारणको निर्माण सहित सहुलियत, सुरक्षासहितका हक अधिकारहरू जनताले पाउने वातावरणको निर्माण गर्ने ओलीका वाचा छन् । संविधानमार्फत् प्राप्त गरेको लोकतन्त्रलाई संस्थागत गर्ने, सुदृढ गर्ने र अगाडि बढाउने मुद्दाका निम्ति पनि आफूले नेतृत्व गर्ने वामपन्थी सरकारले अघि बढाउने प्रतिबद्धता जनाएका छन् । तेस्रो हो, समानतामा आधारित राष्ट्रिय एकता । हामी विविधतायुक्त देशमा छौँ । हिमाल–पहाड–तराई–मधेश हाम्रो भूगोल छ । यहाँ जातीय, भाषिक, धार्मिक, आस्थागत र सांस्कृतिक विविधता छन् । यिनै विविधतालाई अस्त्र बनाएर, विविधतामा भेदको विषय बनाएर, भेदलाई भिन्नतामा परिणत गरेर, त्यसलाई घृणाको विषय बनाएर वैमनश्य, परस्पर विद्वेषको खेती गराउने कुराबाट होसियार हुँदै सम्भावित द्वन्द्वको खेती अन्त गर्दै विविधतामा एकता, सामाजिक सद्भावसहित एकजुट भएर राष्ट्र निर्माणमा लैजाने ओलीको अडान छ । चौथो कुरा हो, स्थिरता र स्थायित्व । स्थिरताविना स्थायित्व नहुने भएकोले त्यसको खराब मनोवृत्ति र अभ्यासलाई अन्त गर्दै मनोवृत्ति, मनोविज्ञानदेखि लिएर मूल्य मान्यतामा आधारित स्थिरता, स्थायित्व र शान्ति आवश्यक छ । स्थायित्व भनेको गतिहीनता होइन । हामीले गतिहीन स्थायित्व भनेको हैन, गतिशील, अग्रगामी स्थायित्वका लागि संविधानमै व्यवस्था भएको शासकीय स्वरूपको धरातलबाट स्थिरता र स्थायित्व प्रदान गर्न गतिशील सरकार दिने प्रतिबद्धता अध्यक्ष ओलीले गरेका छन् । पाँचौँ कुरा, समृद्धि । राजनीतिक अधिकारका लागि गरेको सङ्घर्षबाट संविधान बनाएका हुँदा सबै मिलेर सम्झौताका साथ तयार पारी जारी भएको संविधान व्यवहारमा लागू गर्न समृद्धि हासिल गर्न आवश्यक कानुन निर्माण लगायतका सबै कुराहरूलाई परिपूर्णता दिने र संक्रमणकाल टुङ्ग्याउन आफू कटिबद्ध भएर लाग्ने ओलीको भनाइ छ । संक्रमणकालको अन्त्य नभई नेपाली जनताको प्रमुख चाहना र आकांक्षा समृद्ध नेपालको बासिन्दा बन्ने र रोजगारीका लागि विदेशिने दिनको अन्त्य हुने चाहना पूरा कसरी गर्ने भन्ने सवालमा एमाले र माओवादी केन्द्रको घोषणा पत्रमा प्रस्ताव गरिएका आर्थिक योजनाको बाटोमा हिँड्नु विकल्प नभएकोले सोही घोषणापत्रअनुरूप चुनाव प्रचार प्रसारका क्रममा गरेका वाचा पूरा गर्ने ओलीको प्रतिबद्धता पनि सार्वजनिक भैसकेको छ ।
छिमेकी मुलुकहरूसँग आफ्नो मुलुकको हितलाई सर्वोपरि राखी समदूरीमा सम्बन्ध राख्ने, भौतिक पूर्वाधार विकास र मानवीय आवश्यकताका विषयहरू शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा आवश्यक पुँजी लगानी एवं परिचालनदेखि लिएर सबै कुराहरूमा देशलाई एउटा नयाँ बाटोमा ओलीले प्रतिबद्धता जनाएका छन् । आफ्नो नेतृत्वमा काम गर्ने कुनै पनि नेता तथा कार्यकर्ताले सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौमिकताको उपहास नगर्ने ओलीको भनाइ पनि आम जनताका लागि रुचिकर हुनसक्छ ।
भन्सार, एअरपोर्ट, मालपोत, कर, अन्तशुल्क, शिक्षा, स्वास्थ्य, श्रम लगायत विभिन्न गिरोह र माफिया व्याप्त क्षेत्रहरूमा अनैतिक कार्य हुन नदिने ओलीको भनाइ पनि मननीय छ । साम्प्रदायिक विद्वेषको अन्त गर्दै राष्ट्रिय एकता कायम गरेर विकास र समृद्धिको बाटोमा मुलुकलाई लैजान्छौँ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीका यी प्रतिबद्धता पूरा हुन सके नेपाली जनताको विकास र समृद्धिको सपना साकार हुनेछ । गठबन्धन सत्ताको दाउपेचमा भन्दा राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको आधार तयार पारेर आगामी सरकार सुशासन, उत्तरदायित्व र जवाफदेही भएर देश विकासमा लाग्न सके वाम गठबन्धनको निर्माणको अभिप्राय पनि पूरा हुने थियो र यी विषय नै आगामी सरकारका चुनौती पनि हुन् ।

  प्रकाशित मिति: २०७४/९/६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना