मतदाता शिक्षामा कमजोरी (सम्पादकीय)

 गत मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आउन बाँकी छ तर बदर मतको प्रारम्भिक तथ्याङ्कले सबैलाई झस्काउन सक्छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कुल मतदाताको यो ६८ प्रतिशत अर्थात् एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको थियो । पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणाली गरी दुईवटा निर्वाचन प्रणाली अन्तर्गत समानुपातिकतर्फ बदर मतको सङ्ख्या धेरै छ । प्रत्यक्षतर्फ ५.१८ प्रतिशत मात्रै मत बदर भएको छ, जुन अघिल्ला निर्वाचनको हाराहारीमै छ । समानुपातिकतर्फ भने २६ लाख १० हजार ९६८ मत बदर भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ । प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख ४२ हजार ७७७ मत बदर भएको छ भने प्रदेशसभातर्फ भने १५ लाख ६८ हजार १९१ मत बदर भएको छ । प्रतिनिधिसभामा ९.८४ प्रतिशत र प्रदेशसभामा १४.८१ प्रतिशत मत बदर भएको छ । निर्वाचन आयोगले चार÷प्रतिशत मत मात्रै बदर हुने अनुमान गरेको थियो । 

२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा औसतमा ४.९६ प्रतिशत मत बदर भएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चार प्रतिशत र समानुपातिकमा तीन प्रतिशतको हाराहारीमा बदर भएको थियो । यसै वर्ष तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बदर मतको सङ्ख्या झण्डै ११ प्रतिशत थियो । यो सङ्ख्या विगतको भन्दा निकै बढी हो । स्थानीय तहको निर्वाचनमा सातवटा चिह्नमा छाप लगाउनुपर्ने, धेरै चुनाव चिह्न र ठूलो आकारको मतपत्रका कारण मतदातालाई समस्या भएको हुनसक्छ । त्यसमाथि राजनीतिक दलहरूको तालमेलले गर्दा मतदातालाई आफूले चाहेको दलको चुनाव चिह्न खोज्न र सही तरिकाले सही सङ्ख्यामा छाप लगाउन समस्या परेको हुनसक्छ । तीन मतपत्रमा चारवटा छाप लगाउनुपर्ने अवस्थाले गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा सजिलो थियो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ सानो मतपत्र, थोरै चुनाव चिह्न र एउटा मतपत्रमा एउटा मात्रै छाप लगाउनुपर्ने भएकाले मतदाता झुक्किने अवस्था थिएन । त्यसैले प्रत्यक्षतर्फको बदर मत निकै कम रह्यो तर समानुपातिकतर्फ भने प्रतिनिधिसभा र प्रदेशसभा दुवैका लागि एउटै मतपत्र थियो । त्यसमाथि राजनीतिक दलको समीकरणले एकभन्दा बढी राजनीतिक दलको चुनाव चिह्न छान्नुपर्ने भएकाले मतदाता अलमलमा परेको देखिएको छ । यसै कारणले गर्दा समानुपातिकतर्फ बदर मतको सङ्ख्या निकै उच्च रहेको हुनसक्छ ।
२६ लाख मत निकै ठूलो सङ्ख्या हो । यसले निर्वाचन परिणाम नै फरक पार्न सक्थ्यो । यति ठूलो सङ्ख्यामा मत बदर हुनु चिन्ताको विषय हो । यो विभिन्न कारणले हुनसक्छ । मतपत्र सजिलो र अशिक्षित मतदातालाई बुझ्न कठिन हुनु पहिलो कारण हो भने मतदाता शिक्षा पर्याप्त र प्रभावकारी हुन नसक्नु अर्काे कारण हो । मतदाता शिक्षाकै लागि ठूलो रकम खर्च गरिनु तर काम प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या बढेको हो । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि स्वयंसेवक नियुक्त गरेको भए पनि उनीहरू मतदाताको घरदैलामै गएर मतदान शिक्षा दिन भनिएको थियो तर उनीहरूको कामको अनुगमन भने भएको पाइएन । निर्वाचनकै अवधिमा मतदाता शिक्षा कमजोर भएको चर्चा हुने गरेको भए पनि सम्बन्धित निकायले त्यसबेला ध्यान दिन सकेन । अर्काेतिर मतदाता शिक्षा निर्वाचन आयोगको मात्रै नभई राजनीतिक दल र तिनका कार्यकर्ताको जिम्मेवारी हो । राजनीतिक दल र तिनका कार्यकर्ताले पनि मतदाता शिक्षालाई प्रभावकारी रूपमा अगाडि बढाउन सकेनन् । यसको फलस्वरूप स्वस्तिक छाप लगाउनुपर्नेमा ल्याप्चे लगाएका मतपत्र पनि निकै भेटिएका थिए । यसपटकको यो निर्वाचनले आगामी निर्वाचनका लागि पाठ सिकाएको छ । यसलाई गम्भीरतापूर्वक लिएर आगामी निर्वाचनमा मत बदरको सङ्ख्या घटाउनेतर्फ सबै सरोकारवालाको ध्यान पुग्नु जरुरी छ ।

 प्रकाशित मिति: २०७४/९/६

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना