उपत्यकामा खानेपानी मागको ३० प्रतिशत मात्रै

सीता शर्मा

काठमाडौँ, पुस ७ गते । सुक्खा मौसम सुरु भएसँगै काठमाडौंँ उपत्यकामा खानेपानी अभाव हुन थालेको छ । मागको ३० प्रतिशत मात्रै खानेपानी आपूर्ति हुन सकेका कारण हरेक वर्ष सुक्खा मौसम सुरु भएसँगै उपत्यकामा खानेपानीको हाहाकार हुने गरेको हो ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार अहिले उपत्यकामा खानेपानीको दैनिक माग ४० करोड लिटर छ तर आपूर्ति भने १४ करोड लिटर मात्र छ । केयूकेएलले गरेको एक अध्ययनअनुसार आपूर्ति हुने पानीमध्ये पनि ४० प्रतिशत पाइप लाइनबाटै चुहिएर खेर जान्छ ।
केयूकेएलका प्रवक्ता सुरेशराज आचार्यले उपत्यकामा वितरण हुने खानेपानीका पाँचवटा प्राकृतिक स्रोत शिवपुरी, फर्पिङ, सुन्दरीजल, मनोहरा र भक्तपुर रहेको भन्दै तिनै स्रोतबाट जोहो हुने पानी भण्डारण गरेर घरघरमा पु¥याउने गरेको जानकारी गराउनुभयो ।
उहाँका अनुसार ती स्रोतमध्ये सुन्दरीजलबाट दैनिक छ करोड लिटर, शिवपुरी स्रोतबाट दैनिक चार करोड लिटरको हारहारीमा पानी उत्पादन हुने गरेको छ भने बाँकी चार करोड लिटर पानी फर्पिङ, मनोहरा र भक्तपुरबाट आपूर्ति हुने गर्छ ।
प्रवक्ता आचार्यले राजधानीमा पानीको अभावको पीडा हुन थालेको एक दशकभन्दा बढी भएकाले उपभोक्ताले केयूकेएलको मात्रै भर नपरेर निजी ट्याङ्कर, आआफ्नै घरमा इनार, बोरिङ गरेर पानीको पूर्ति गर्दै आएकाले पनि त्यति ठूलो समस्या नभएको बताउनुभयो । उपत्यकामा लोडसेडिङ हुने बेलामा जस्तो अहिले पानीको समस्या त्यति ठूलो भोग्न नपरेको उहाँले बताउनुभयो ।
केयूकेएलका अनुसार उपत्यकामा प्रत्येक वर्ष झन्डै १० प्रतिशत पानीको माग थपिन्छ तर आपूर्तिमा सानासाना स्रोतबाट थप्नेबाहेक अन्य उपलब्धि हुन सकेको छैन । “उपत्यकामा घरघरमा पानी पु¥याउने कतिपय पाइप लाइन सय वर्षभन्दा बढी पुराना छन्”, प्रवक्ता आचार्यले भन्नुभयो, “यसलाई प्रतिस्थापन नगरेसम्म खानेपानी चुहावट रोक्न सकिन्न । ”
मेलम्चीको पानी ल्याउने प्रयास अन्तिम चरणमा रहेकाले पुराना पाइप लाइन प्रतिस्थापन गरेर नयाँ जडान भइरहेको र उक्त काम सकिएपछि पाइप लाइनबाटै पानी खेर जाने समस्या कम हुने उहाँले बताउनुभयो ।
मेलम्ची आयोजना सम्पन्न भएपछि उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिनेछ । यसले काठमाडौँको पानीको अभाव परिपूर्ति गर्ने केयूकेएलको दाबी छ ।
आर्थिक वर्ष २०५५÷५६ देखि निर्माण सुरु भएको मेलम्ची आयोजना दुई दशक बित्न लाग्दा पनि अझै यही दिन पानी आउँछ भनेर ढुक्क हुने अवस्था छैन ।
यस्तै सरकारले एसियाली विकास बैङ्क (एडीबी)को आर्थिक सहायतामा चक्रपथबाहिर थप पानी वितरणका लागि भण्डारण, प्रशोधन केन्द्र र पाइप लाइन विस्तारको अध्ययन पनि अगाडि बढाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना