बासमती धानको बीउ पनि मासियो

Paddyगाईघाट, पुस ७ गते । थालमा पस्केको खाना खाँदा मात्र होइन बोटमै मगमग बासना आउने स्वादिलो चामलका रूपमा लिइने कालो बास्मती धानको खेती हुन छाडेपछि उदयपुरका गाउँघरबाट यो धान प्रायः लोप नै हुन पुगेको छ । तराई र भित्री मधेसमा यसको छुट्टै पहिचान भए पनि बढी मेहेनत र अन्य जातको धानको तुलनामा कम उत्पादन हुने भएकाले किसानले कालो बास्मती धानको खेती गर्न छोडेको गाउँघरका किसान बताउनुहुन्छ । 

युरियालगायतका कम्पोष्ट मलको बढ्दो प्रयोगका कारण बास्मती धानको बास्ना आउन नै छोडिसकेको छ । त्यसमा पनि कालो बास्मती त कृषकले लगाउनै छोडिसकेकाले उदयपुर जिल्लाबाट यो धान पूरै लोप भइसकेको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रामसेवक ठाकुरका अनुसार जिल्लाका अधिकांश कृषकले कम लगानीमा बढी उत्पादन हुने मन्सुलीलगायतका हाइब्रिड धानको खेती गर्ने गरेको कालो बास्मतीलगायतका स्थानीय प्रजातिका अन्य धानहरू लोप हुँदै गएको हो ।
बजारमा अन्य जातको धानको चामलभन्दा कालो बास्मती धानको चामलको मूल्य तीन गुणा बढी भए पनि मेहेनत र लगानीको अनुपातमा कम उत्पादन हुने हुँदा यो धानको खेती नगन्य मात्रामा हुने गरेको चौदण्डीगढी नगरपालिका १० हडिया का कृषक तनुकलाल चौधरीले बताउनुभयो । उदयपुरका अधिकांश धान फल्ने खेतमा सिँचाइको सुविधा नभएको र कालो धान ढिलो पाक्ने भएकाले यसका लागि सिँचाइको व्यवस्था भएको जमिन चाहिने हुँदा आकाशेपानीको भरमा यसको उत्पादन नहुने भएकैले कृषकहरूले यसको खेती गर्न छोडेको त्रियुगा नगरपालिका–२ जोगीदहका कृषक रविलाल चौधरी बताउनुहुन्छ ।
केही धनी परिवार र जमिनदारले अघिल्लो वर्षसम्ममा व्यक्तिगत खपतका लागि कम मात्रामा भए पनि यो धानको खेती लगाउँदै आएकोमा यस वर्षदेखि उदयपुरमा कालो बास्मती मासिएको गाईघाट बजारका चामल व्यवसायी रङ्गिलाल साह बताउनुहुन्छ । उहाँका अनुसार बाहिरबाट प्याकेटमा आउनेबाहेक बोरामा ल्याइने बास्मती चामलमा झण्डै ५० प्रतिशत मिसावट भएर आउने गरेको तर मूल्यचाहिँ सक्कलीकै तिर्नुपर्ने भएकाले उपझोत्ता नै मारमा पर्ने गरेका छन् ।
स्थानीय कालो बास्मती धानको चामल अत्यन्तै सुगन्धित, मसिनो र स्वादिलो भएकै कारण बजारमा यसको अत्यधिक माग भए पनि उत्पादन नहुँदा उपभोक्ताले किन्न चाहँदा पनि नपाउने गरेको अर्का चामल व्यवसायी थिरप्रसाद ढकालले बताउनुभयो । अहिले गाईघाट बजारमा छिटफुट मात्रामा कालो बास्मती धानको चाल पाइहालियो भने पनि एक किलोको एक सय ५० रपियाँ मूल्य रहेको ढकालको भनाइ छ । जिल्लामा कालो बास्मतीलगायतका स्थानीय प्रजातिका धानलाई बढी उत्पादन गराउन बाली संरक्षणसम्बन्धी कार्यक्रम सरकारले नै ल्याई कृषकलाई हौसला दिनुका साथै थप स्रोतसाधन उपलब्ध गराउँदै प्रोत्साहन गर्नुपर्ने खाँचो रहेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना