मत परिणामपछिको राजनीतिक तरङ्ग

dhanpati koiralaडा. धनपति कोइराला

 


नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनपछि एकीकरण नै गर्ने उद्घोषसहित तत्कालका लागि चुनावी गठबन्धन गरी निर्वाचनमा होमिएका वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झण्डै दुईतिहाइ सिटमा विजय हासिल गरेपछि यसको तरङ्ग अन्तर्राष्ट्रिय जगत्मा पैदा भएको छ । यसले निकै हलचल पैदा गरेको छ । मूलतः वाम गठबन्धन भएसँगै कम्तीमा बहुमत र बढीमा दुईतिहाइ सिटमा विजय हासिल गर्ने सम्भावना रहेको यथार्थ स्वदेशी शक्ति र विदेशी शक्तिले समेत आँकलन गरिसकेको सन्दर्भमा यसलाई अप्रत्याशित परिणाम ठान्नु सान्दर्भिक हुने देखिन्न ।
अप्रत्याशित रूपमा भएको वाम गठबन्धन रूपमा हेर्दा अप्राकृतिक र सारमा हेर्दा सत्तारोहण गर्ने कुटिल चाल भएको भन्दै तिखो टिप्पणी गरियो । धेरैले उम्मेदवारको सिट बाँडफाँटमै समस्या पैदा भई गठबन्धन भङ्ग हुने प्रतिक्रिया पनि दिए । सिट बाँडफाँटको समस्यालाई चिर्दै वाम गठबन्धन अघि बढेपछि एकका कार्यकर्ताले अर्कोलाई विश्वास नगर्ने र मतदान पनि नगर्ने पक्का स्थिति रहेको भन्दै ठोकुवा पनि गर्ने र मतदाताले समेत विश्वास नगर्ने भन्ने कतिपयको धारणा बेमौसमी रागमा परिणत भयो ।
देशभरिबाट प्राप्त विजय र मत सङ्ख्यालाई सरसर्ती आँकलन गर्दा र कतिपय क्षेत्रको विजेता र पराजय भोग्ने उम्मेदवारको प्राप्त मतसङ्ख्याको अन्तरलाई हेर्दा यो तथ्य सिद्ध हुन्छ । यसमा एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुक सबैले केही त्यस्तै व्यक्ति, स्थान, पूर्वाग्रहलाई आँखा चिम्लने हो भने गोलाकारभित्रको हँस्याहथौडाचिह्नमा मतदान गरे । माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा शुभेच्छुकले पनि सूर्यचिह्नमा मतदान गर्नबाट चुकेको देखिएन । समानुपातिक तर्फको मत सङ्ख्यालाई हेर्दा एमाले र माओवादी केन्द्रको मतअन्तर सोचेभन्दा धेरै गुणा भिन्न छ । त्यही एमाले र काँग्रेसको मत परिणाम भने झण्डै समानान्तरमा छ । यसले के देखाउँछ भने एमाले एक्लै चुनावी मैदानमा उत्रिएको भए आशातीत परिणाम आउने सम्भावना क्षीण रहेछ र माओवादी केन्द्र एक्लै अग्रसर भएको भए पनि त्यो अहिले प्राप्त नतिजाको सम्भावना प्रायः कमजोर नै रहेछ ।
अर्को कुरा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकमा प्राप्त गरेको नतिजालाई हेर्दा एमाले र माओवादी केन्द्रका पारस्परिक मत सङ्ख्या जोडेर नै यत्तिको ऐतिहासिक जित सम्भव भएको देखिन्छ । यसले पार्टी एकीकरण गर्नमा कुनै द्विवधा रहने देखिन्न । माओवादी केन्द्रले काँग्रेससँग गठबन्धन गरेको भए पनि सम्भवतः यति परिणाम आउने थिएन । यो तथ्य भरतपुर महानगरपालिकाको परिणामले सिद्ध गरेको छ । त्यसै पनि पुरानो र ठूलो पार्टी भएका कारणले काँग्रेसभित्र टिकटका आकाङ्क्षी अत्यधिक थिए । यही कारणले राजपा र संसफोसँगको गठबन्धन सुखद बनेन । यहीस्थिति माओवादी केन्द्रसँगको तालमेलमा लागू हुने सम्भावना थियो नै । शीर्षस्थ नेतृत्वले सहमति गरे पनि सिट बाँडफाँट गर्नै हम्मेहम्मे पर्ने र कसै टिकटमा मिलाए पनि टिकट नपाउने आकाङ्क्षीले बागी उठ्ने प्रचुर सम्भावना थियो । त्यसबेला नेपाली कांँग्रेस वा माओवादी केन्द्रका उम्मेदवारले हार्ने परिस्थिति सिर्जना हुने तथ्यलाई माओवादी केन्द्रले राम्ररी बुझ्यो । फलतः उसले तत्कालका लागि काँग्रेससँग गठजोड गरे पनि दीर्घकालका लागि यो लाभदायी नहुने पक्का थियो । उसका निम्ति यसको राम्रो विकल्प भनेकै एमाले थियो । विचार, दर्शन, कार्यक्रम र कार्यकर्ताको मनोभावना पनि एमालेसँगै मिल्ने र निर्वाचनको मुद्दामा क्रियाशील हुन ऊर्जा पनि प्राप्त हुने भएकाले उसले येनकेन एमालेसँग कम्तीमा चुनावी तालमेल गर्नैपर्ने परिस्थिति थियो ।
यही बाध्यात्मक स्थिति एमालेमा थियो । एकातिर क्षेत्र निर्धारण गरी नयाँ निर्वाचन क्षेत्र बनाइएको परिस्थिति थियो । हिजोका धेरै क्षेत्र वर्तमानमा खुम्चिएर थोरैमा परिणत भएको र स्थानीय तहको निर्वाचनमा २ नं. प्रदेशबाहेक अन्य प्रदेशको नतिजामा एमाले सबैभन्दा ठूलो पार्टी बन्न सके पनि सुविधाजनक बहुमतको अवस्थामा देखिएन । हरेक निर्वाचन क्षेत्रमा काँग्रेस बलियो स्थितिमै रहेको र विजय र पराजय प्राप्त हुँदा पनि थोरै मतले मात्र हुने परिस्थिति रहेकाले एमालेले माओवादी केन्द्रसँग गठबन्धन गर्नैपर्ने अवस्था थियो । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सत्ताको बागडोर सम्हाल्ने उत्कट अभिलाषा थियो । आफ्नै नेतृत्वमा रहेको दलले मुलुकको मुहार फेर्न सकिन्छ भन्ने दृढ अठोट पनि थियो । यसलाई साकार पार्न एमालेको नेतृत्व अपरिहार्य रहेको अनुभूति गरेका ओलीले केन्द्र र प्रदेश सबैतिरको बागडोर सम्हाल्न पनि कम्तीमा बहुमत ल्याउनु जरुरी थियो ।
यसका निम्ति उनले दोस्रो चरणको निर्वाचनको मत परिणाम प्राप्त हुँदा नहँुदै आफ्ना विश्वासपात्र नेतृत्वमार्फत नै माओवादी केन्द्रको नेतृत्वसँग सहकार्यको हात बढाएको देखिन्छ । भरतपुर महानगरपालिकाको मत गणना प्रक्रियामा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि शुरुमा निकै रुष्ट र आक्रामक देखिएका ओली बिस्तारै नरम–नरम बन्दै गएको अनुभूति सबैले गरेकै थिए तर यसको गुत्थी खोल्न भने काँग्रेसको केन्द्रीय नेतृत्व तथा उसको खुफिया एजेन्सी र राष्ट्रिय अन्तर्राष्ट्रिय गुप्तचर विभाग पनि असमर्थ नै देखिए ।
यसरी रूप र सार दुवै पक्षमा हेर्दा दुवै दलको बाध्यात्मक स्थितिकै कारण यो वाम गठबन्धन भएको तथ्य जगजाहेर नै छ । यति हुँदाहुँदै पनि वाम गठबन्धनमा देशी तथा विदेशी शक्तिको योगदान रहेको देख्ने छन् । कदाचित यो सत्य नहोला भन्न सकिन्न । अस्थिर राजनीतिकै कारण मुलुक भ्रष्टाचार, दुराचार, सीमा अतिक्रमण, दण्डहिनता, विकृति र विसङ्गति, महाशक्ति राष्ट्रको वैदेशिक हस्तक्षेप बढिरहेको, व्यापार घाटामा उत्कर्षता, बेरोजगारी, गरिबी र पछौटेपन जस्ता बेथिति बढिरहेको जस्ता कारणले एकातिर जनताको स्थिर सरकार देख्ने चाहना र उत्तर ब्लकको एक चीन नीतिप्रतिको तरलतालाई व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अन्तर्राष्ट्रिय परिस्थितिले विद्यमान रहेको स्थितिमा अरूले पनि मिल्न प्रेरित गरिरहेको हुन सक्छ तर यस्तो मिलन अरूको हितका खातिरभन्दा स्वदेशकै हितका निम्ति सिद्ध हुने तथ्यलाई नकारिहाल्न मिल्दैन ।
जुन उद्देश्य र भावनाले वाम गठबन्धन गरिएको भए पनि अहिलेसम्मको नतिजालाई आँकलन गर्दा यो मुलुक र जनताका निम्ति हितयुक्त हुने देखिएको छ । संविधान कार्यान्वयनको अभिभारा पूरा गर्ने र सामाजिक तथा राजनीतिक न्याय दिलाइ मुलुुकलाई आर्थिक समृद्धि र विकासका मार्गमा हिँडाउन आवश्यक बहुमत जनमत प्राप्त भएको छ । जनताले दुवै दललाई आफ्ना वैयक्तिक महŒवाकाङ्क्षा र कुण्ठा एकातिर थन्क्याएर राष्ट्र निर्माणको महान् अभिभारा सुम्पेका छन् । एमालेले एक्लैले या राजपा, संसफो आदि शक्तिलाई साथमा लिएर बहुमत पु¥याएर सरकार बनाउने मार्गमा लाग्नु जनादेशको विपरीत हुन्छ । माओवादीले पनि सत्ताका निम्ति बढी कसिकसाऊ गर्ने नीति प्रत्युत्पादक हुन सक्छ । यसर्थ, अहिले दुई दललाई मिलेर एउटै दल बनाई अघि बढ्नकै निम्ति जनादेश प्राप्त भएको छ ।
यसर्थ दुवै गठबन्धनभित्रका दलका नेतृत्वले विभिन्न विश्लेषक, विभिन्न शक्ति केन्द्रका दबाब र प्रशंसाका बलमा एक्लै अघि बढ्नुहुँदैन र सत्तामा मात्र केन्द्रित हुनु हुँदैन, बरु एकतामै शक्ति हासिल भएकाले तनमन, विचार र व्यवहार पनि पार्टी एकीकरणमै केन्द्रित गर्नु जरुरी छ । यस क्रममा सत्ता राजनीतिमा गाजिएको नेपाली नेतागणको अतिशय महŒवाकाङ्क्षा सिर्जना, विकास र निर्माणको बाधक बन्ने गरेको छ । यसर्थ, शीर्ष नेतृत्वले पहिले आफ्नो र अनि आफ्ना दलका नेतागणका महŒवकाङ्क्षाको व्यवस्थापन गर्नु अहिलेको पहिलो चुनौती बनेको छ ।

 प्रकाशित मिति: २०७४/९/७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना