धैर्य र संयम

शुकदेव काफ्ले

 

संविधानसभाबाट जारी भएको संविधानले परिकल्पना गरेबमोजिम नेपालमा तीन तहको सरकार निर्माण हुने क्रममा स्थानीय सरकार गठन भइसकेको छ भने प्रादेशिक सरकार र सङ्घीय सरकार गठनका लागि भएको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीको परिणाम सार्वजनिक भई समानुपातिक निर्वाचनको परिणाम घोषणा हुने क्रममा छ । समानुपातिक निर्वाचनको परिणाम घोषणा र राष्ट्रियसभाको निर्वाचनपश्चात् सङ्घीय र प्रादेशिक सरकार अविलम्ब गठन भई नेपालको संविधान २०७२ पूर्ण रूपमा कार्यान्वयन हुने चरणमा नेपाल प्रवेश गरेको छ । यस कार्यमा नेपाली काँग्रेसले नेतृत्व गरेको सरकार अभूतपूर्व रूपमा सफल भएको छ । आफूले नेतृत्व गरेको दलले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेता पनि लोकतान्त्रिक शासन पद्धति र प्रक्रियालाई स्थापित गर्ने सन्दर्भमा प्राप्त भएको सफलतालाई आफ्नो पँुजी मानी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरी लोकतान्त्रिक मूल्य पद्धतिका प्रति सरकारलाई गम्भीर बन्न तथा बनाउन नेपाली काँग्रेसले अहं भूमिका खेल्नुपर्ने जनादेश प्राप्त भएको छ । प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीको हिमायती नेपाली काँग्रेसले चाहेको पद्धति र प्रणाली देशमा स्थापित भई सोहीबमोजिम निर्वाचनसमेत सम्पन्न भएको तथा लोकतान्त्रिक प्रक्रियामा अन्य राजनीतिक दलसमेत समावेश भई मूल विषयलाई अवलम्बन गरिएको घटनालाई नेपाली काँग्रेसले आफ्नो राजनीतिक विचारको विजय भएको ठानी उक्त सन्देश नेपाली जनतासमक्ष स्पष्ट ढङ्गले पु¥याउने सक्नुपर्छ ।
निर्वाचन सम्पन्न गराई सरकार निर्माणको चरणमा पु¥याउन सरकार र यसको नेतृत्व कर्तालाई धन्यवाद दिँदै सरकारको कार्यभार समाल्ने वातावरण बनाउने जिम्मेवारी जनादेश प्राप्त पक्षको हो । वाम गठबन्धनलाई प्राप्त भएको सुविधाजनक बहुमतले गर्दा लोकतान्त्रिक विधि र मूल्य पद्धतिमा खरो उत्रने चुनौती यस गठबन्धनका नेतासामु छ । जनताको विश्वासको अभिमतलाई स्वीकार गरी मन, बचन र कर्मले लोकतान्त्रिक चरित्रका आधारमा राज्य व्यवस्था सञ्चालन गर्नुपर्ने जिम्मेवारीप्रति दल र यसका नेता गम्भीर हुनु अति जरुरी छ । लोकतन्त्रको सवालमा कम्युनिस्ट गठबन्धनलाई शङ्कारहित सुविधा प्राप्त छैन । वाम गठबन्धसँग सम्बद्ध नेता तथा कार्यकर्ता, समर्थक एवं शुभेच्छुकसमेतले गर्ने गतिविधिलाई सबै क्षेत्रले सूक्ष्म रूपमा मूल्याङ्कन गरिरहेको छ । निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक नहुँदै सरकार हस्तान्तरण भएन भनी झुटा प्रचारमा लाग्ने, देउवा सरकारले नियुक्त गरेको प्रदेश प्रमुखबाट सपथ नखाने उदघोष गर्ने, राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपति कहाँ रोकेर राख्न लगाउने अनि सरकार बनाउने बाटो खोलिएन भनी सत्ता लम्याउन खोजेको भ्रामक प्रचार गर्ने तथा आरोप लगाउन कार्यले हलो अड्काएर गोरु चुट्ने लोकोक्तिलाई चरितार्थ गर्न खोजेको आभाष दिन्छ ।
यतिमात्र नभएर निर्वाचनको सम्पूर्ण परिणाम नै आई नसकेको अवस्थामा सरकारले दैनानुदिन गर्नुपर्ने कार्य पनि गर्न पाउँदैन भनी एकातिर राजनीतिक प्रचार गर्ने अर्कोतर्फ कर्मचारीलाई भेटेर र टेलिफोनमार्फत कुनै पनि निर्णय नगर्नु नगराउनु भनी धम्क्याउने कार्यले कतै सर्वसत्तावादी निरङ्कुश अधिनायकवादको सङ्केत गर्न खोजिएको त होइन ? भन्ने आशङ्का उत्पन्न भएको छ । यस्तो प्रकारको प्रस्तुति, शैली र व्यवहारले भोलिका दिनमा सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध सुमधुर बन्ला भन्ने अनुमान लगाउन कठिन हुनेछ । प्रतिपक्ष दललाई समेत विश्वासमा लिएर राष्ट्र निर्माणका महायज्ञमा जुट्नुपर्ने समयमा प्रदर्शित असहिष्णुताले विश्वासको सङ्कट निम्त्याउने खतरा हुन्छ । यसतर्फ सबैभन्दा बढी गम्भीर र संवेदशील जनादेश प्राप्त पक्ष हुनुपर्नेमा सामान्य शिष्टता समेत राख्न कन्जुस्याइँ गर्नु निश्चित रूपमा बुद्धिमानी होइन । निर्वाचनकै सन्दर्भमा जनतासमक्ष गरेका सम्भव÷असम्भव प्रतिबद्धता पूरा गर्न समेत प्रतिपक्षको सहयोग आवश्यक पर्छ भन्ने ख्याल राख्न सकिएन भन्ने सरकार सञ्चालनमा ठूलो समस्या आउने छ ।
संविधानबमोजिम सपथ खाई निर्वाचित भएको प्रधानमन्त्रीले गैरजिम्मेवार ढङ्गले सडकमा सत्ता हस्तान्तरण गर्न मिल्दैन । संविधानबमोजिम सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । संसद्को बैठक बोलाइ सांसदहरूको सपथ खुवाई, राष्ट्रपतिले समय तोकी आह्वान गरेबमोजिम सहमतीय, बहुमतीय हुँदै संसद्को ठूलो दलको संसदीय दलको नेतालाई सरकार बनाउन आह्वान गर्ने तमाम प्रक्रिया पूरा नहुँदै सरकार हस्तान्तरण भएन भनी कोकोहोलो गर्नुले धेरै सकारात्मक सन्देश दिएको छैन । कतै आशङ्का गरिए जस्ता व्यवहार सङ्केत त भएको होइन भन्ने अनुमान गर्न थालिएको छ ।
वाम गठबन्धनमा संयमता र धैर्यताको खाँचो छ यतिबेला । सङ्क्रमणकालको व्यवस्थापनको चरणमा दलहरूले आपसी विश्वास र समझदारी निर्माण गर्न नसक्दा दुर्घटना हुन सक्ने सम्भावना रहन्छ । सम्भावित खतरालाई मध्यनजर गरी दलहरूले विश्वासको वातावरण बनाउन भरमग्दुर प्रयास गर्नुपर्छ । जनादेशलाई दम्भको रूपमा प्रस्तुत गरिनुहुँदैन । दम्भले अन्ततः समाप्त नै गर्ने हो । सबै संवैधानिक अङ्गहरूले आआफ्ने संवैधानिक दायित्व र जिम्मेवारी इमानदारीताका साथ पूरा गर्नु अति जरुरी हुन्छ । दलीय आस्थाभन्दा माथि उठेर राजकाज चलाउन सकिएन भने इतिहासले कसैलाई पनि माफी गर्दैन । इतिहासमा थुप्रै घटना छन् । त्यसबाट पाठ सिक्न सकिएन भने कसैले पनि बचाउन सक्दैन । नेपालका राजनीतिक दल तथा नेताहरूमा यस्तो सुजबुझ एवं धैर्यताको खाँचो पटक–पटक खड्किएको विषय हो । यस विषयमा सम्बन्धित सबैले चिन्तन मनन गर्न आवश्यक छ । औँला तेस्र्याएर मात्र समाधान निस्कँदैन । सबैको अस्तित्व स्वीकार गरियो भने मात्र वातावरण सहज भएर जाला, होइन भने सामना गर्ने चुनौतीको पहाड खडा हुने नै छ । त्यसलाई छिचोल्न नसकेर पछाडि फर्कनुभन्दा समयमा नै सालिनता र धैर्यता प्रस्तुत गर्नु बुद्धिमानी होला ।

 प्रकाशित मिति: २०७४/९/७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना