सद्भाव र सहकार्यका लागि संस्कृत

kamal rijalकमल रिजाल

 

जयतु संस्कृतम्को १८ औँ साधारणसभा नयाँ कार्यसमिति गठन गर्दै हालै सकिएको छ । डा. बद्रीप्रसाद पोखरेलको अध्यक्षतामा गठन भएको समितिले आगामी तीन वर्षसम्म कार्य गर्नेछ । जयतु संस्कृतम् २००४ सालमा तीन धारा संस्कृत पाठशालाका विद्यार्थीले शुरु गरेका आन्दोलन हो । यसका तत्कालीन नारा जयतु संस्कृतम् धर्मभूतये, जयतु संस्कृतम् राष्ट्रभूतये, जयतु संस्कृतम् विश्वभूतये जस्ता विशुद्ध शैक्षिक, धार्मिक र आध्यात्मिक किसिम थिए । तथापि आन्दोलनको अन्तर्य भने राजनीतिक सुधारसितै सम्वन्धित थियो । आन्दोलन आधा शताब्दीसम्म केवल आन्दोलनमै सीमित रह्यो तर उसका गतिविधि पनि कुनै न कुनै रूपमा राजनीतिसितै सबन्धित थिए, हुने गर्थे । यसले संस्थागत स्वरूप लिएको भने २०५५ सालमा संस्था दर्ता भएपछि मात्र हो । हालसम्म यसको १८ वटा साधारणसभा र छवटा त्रैवार्षिक साधारणसभा (राष्ट्रिय अधिवेशन सम्पन्न भइसकेका छन् ।
सम्प्रति जयतु संस्कृतम्को नयाँ नेतृत्वका अघि धेरै चुनौती छन् । उसले अघिल्लो कार्यसमितिले शुरु गरेको कार्यक्रमलाई निरन्तरता दिने काम त यसै पनि गर्नेपर्ने हुन्छ । साथसाथै नेपाली भाषा र विश्व साहित्यकै पनि विशिष्टतम ग्रन्थलाई संस्कृत भाषामा अनुवाद गराई संस्कृत साहित्यको भण्डारलाई थप विस्तृत गर्नेतर्फ ध्यान पु¥याउनुपर्ने देखिन्छ । यसबाहेक जयतु संस्कृतमसितै सम्बन्धित बहस र वैचारिक आन्दोलनसम्बन्धी कार्यक्रम पनि हुन सक्छन् र त्योभन्दा पनि बढी संस्था सञ्चालनका लागि आर्थिक सर्वाधिक महìवको पाटो भएकाले उसले त्यतातिर ध्यान दिनुपर्ने हुन्छ । तथापि तत्कालका लागि संस्थालाई सैद्धान्तिक कार्यक्रमभन्दा बढी संस्कृत भाषाप्रति जनचासो जगाउने खालका कार्यक्रम बढी खाँचो भएकाले नयाँ नेतृत्वको त्यतैतिर विशेष ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।
भनिरहनु परोइन आज संस्कृत भाषाप्रति विश्व–जनसमाज बढी नै आकर्षित हुँदै गएको छ । विश्वका कतिपय ठूलठूला र नाम चलेका विश्वविद्यालयमा समेत यसका पठनपाठन भइरहेका छन् । यो खुशीको कुरा हो तर हाम्रो यहाँ भने क्रमश ः यसप्रतिको चासो क्रमश ः ह्रास हुँदै गएको पाइन्छ । कतिपय राज्यसत्ताका जिम्मा जमानी तहमा रहनेहरू त यसै पनि यो र त्यो निहुँमा यसका पखेटा काट्न र हातगोडा बाँध्नुमा नै गौरव गरिरहेका छन् । पाठ्यपुस्तक जलाउने तथा पाठ्यक्रम च्यात्ने काम पनि भएकै हुन् । अझ आश्चर्य त के भने हामी आफँै जो संस्कृतलाई माया गर्नुपर्छ भनिरहेका छौं यिनै समूहबाट समेत उनीहरूको नियत र अभिमतलाई बल पु¥याउने काम भइरहेका छन् । कुरा सुन्दा कतिलाई आश्चर्य लाग्न सक्छ । कतिलाई रिस उठ्न सक्छ तर यथार्थ यही हो । आज संस्कृतलाई पेशा बनाउने र पहिचान बनाउने हामीमध्ये कतिले आफ्ना सन्तानलाई संस्कृत पढाएका छौँ सबैले आ–आफ्नो नाम सम्झे पुग्छ ।
आज युटुव वा टेलिभिजन च्यानलमा गौराङ्ग बालबालिकाले संस्कृतका श्लोक उच्चारण गरेको देख्दा र सुन्दा गर्व गर्नुको साटो लाज मान्नुपर्ने अवस्था छ यस्तो किन भयो ? समीक्षा जरुरी भइसकेको छ । व्यास, वाल्मीकि, विश्वामित्र र याज्ञवल्क्यको नाम भजाएर अब चल्दैन । संस्कृतको उठान यहाँबाट भएको हो भने उत्थानको अभियान पनि यहीबाटै हुनुपर्छ । ‘अग्निमीडे पुरोहितं..’भन्दै ऋग्वेदको पहिलो मन्त्र गाउने विश्वामित्र पुत्र मधुच्छन्दा यहींका हुन्, ‘मानिषाद’ भन्दै संस्कृत साहित्यको पहिलो श्लोक भट्याउने महर्षि वाल्मीकि यहीँका हुन् । यदि उनीहरू यहीका हुन् भने उनीहरूका धरोहर बचाउने दायित्व हाम्रै हो । हिजो मात्र जागा भएकाहरू बर्को तान्न थालिसके हामी चाहिँ आच्छुसम्म पनि भन्दैनौँ भने यो भन्दा लाजमर्दो के नै हुन सक्ला र ?
हुन त यसैका लागि मुलुकमा संस्कृत विद्यालय छन् । महाविद्यालय छन् । त्यति मात्र नभएर सिङ्गै विश्वविद्यालय नै कार्यरत छ । तिनले पनि आफ्नो स्थानबाट प्रयास गर्दै आएका पनि छन् । तथापि जति भएका छन् प्रायः सैद्धान्तिक रूपमै केन्द्रित छन्, अब यतिले मात्र पुग्दैन, पुगेन । त्यसैले यसलाई बोलीचाली तथा सरकारी कामकाजकै भाषा बनाउने प्रयास गर्नुपर्ने भएको छ तर यो काम भन्न जति सजिलो छ गर्न भने त्यति नै गाह्रो छ ।
यसका लागि सर्वप्रथम संस्कृत भाषालाई सबै प्रान्तको सरकारी कामकाजको वैकल्पिक भाषा बनाउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । यसमा तत्कालै संसदीय मन्त्रालय, संसद् सचिवालय, मन्त्रिपरिषद, कानुन तथा न्याय मन्त्रालय आदिमा पत्राचार गर्नुपर्ने हुन सक्छ । यसै पनि कामकाजी भाषाका नाममा झगडा हुन सक्ने दिन त्यति टाडा छ जस्तो लाग्दैन । भगवान्ले नगरुन् त्यस्तो दिन आओस् तर सङ्केत भने त्यस्तै देखा पर्दैछ । हामीमध्येकै केही बरु हिन्दी भाषा स्वीकार्य हुन सक्छ तैपनि नेपाली भाषा हुँदैन भन्न थालिसकेका छौँ । यस्तो अवस्था समाधानको विन्दु भनेको संस्कृत नै हुन सक्छ । किनभने यहाँका अधिकांश भाषाको जननी नै संस्कृत हो ।
दोस्रो कुरा विद्यालय तहदेखि नै सबै शैक्षिक निकायमा एक विषय संस्कृत अनिवार्य गराउने प्रयास गर्नुपर्छ । यसका लागि शिक्षा मन्त्रालय तथा पाठ्यक्रम निर्माण केन्द्रमा तत्कालै पत्राचार गरी अनुगमनको प्रक्रिया अपनाउनु मनासिव हुनेछ । पाठ्यक्रम निर्माण गर्दा शुरुका कक्षामा संस्कृतका श्लोक उच्चारण गर्न मात्र सिकाउने र विस्तारै त्यसका काव्य, कोष तथा व्याकरणत स्वरूपको जानकारी दिँदै जाने प्रावधान राखिनु राम्रो हुनेछ । साथसाथै सबै किसिमका विश्वविद्यालयमा संस्कृतको समेत पठनपाठनको व्यवस्था अप्नाउन लगाउनेतर्फ सम्बद्ध निकायको ध्यानाकर्षण गराउन बिर्सन हुँदैन ।
तेस्रो कुरा संस्कृत विद्यालयदेखि विश्वविद्यालयसम्ममा संस्कृत पढाउने गुरुहरू र संस्कृत भाषालाई पेशाको माध्यम बनाउँदै आएका पण्डित, पुरोहित, ज्योतिषीका छोराछोरीलाई अनिवार्य रूपमा संस्कृत मात्रै त नभनौँ संस्कृत पनि पढाउने वातावरण मिलाउन संस्कृत विश्वविद्यालय र स्थानीय निकायको ध्यानाकर्षण गराउनुपर्छ । यसबाहेक हाल संस्कृत विद्यालय तथा विश्वविद्यालयका जुन किसिमले पाठनपाठन हुँदै आएको छ त्यो निकै लाजमर्दो छ । संस्कृत विश्वविद्यालयमै संस्कृतको यो हविगत छ भने अन्यत्रको अवस्था कस्तो हुने सोझै अनुमान लगाउन सकिन्छ । जे भयो, भयो, अब त्यसरी चल्दैन । कम्तीमा संस्कृत भाषाको पढाइ पनि संस्कृतमै हुनुपर्छ र सबै किसिमको परीक्षा प्रणालीको माध्यम पनि संस्कृतलाई नै बनाउनुपर्छ । यसका लागि यथाशीघ्र विश्वविद्यालयको ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ ।
चौथो कुरा सबै प्रान्तका मुख्य मुख्य स्थानमा संस्कृत प्रशिक्षण शिविर चलाउने र निरन्तरता दिने कार्य हुनुपर्छ र यससम्बन्धी सिडी तथा क्यासेट तयार गरी वितरण गरेर जनचेतना जगाउन सकिन्छ । यसका निम्ति संस्कृत भाषामा नाटक तथा गीतिनाटक रचना गरी मञ्चन गर्ने र समय समयमा कविता, निबन्ध, बादविवाद तथा हाजिरीजवाफ प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै जानु थप माध्यम हुन सक्छ ।
निसन्देह जयतु संस्कृतम एउटा सामाजिक संस्था हो । यसका आफ्नै नियम, क्षेत्र र बाध्यता छन्, हुन्छन् । त्यसैले उसले कसैलाई कुनै पनि काम गर्न बाध्य पार्न सक्दैन र नगर्नेलाई कारबाही गर्न सक्दैन । तैपनि उसले नैतिक दबाब दिएर बाध्य पार्ने प्रयास भने गर्न सक्छ ।

प्रकाशित मिति: २०७४/९/९

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना