मेलम्चीकै आश (सम्पादकीय)

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको अन्तिम चरणको निर्माण कार्य भइरहेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको पानी उपत्यकामा ल्याउने २७ किमि लामो सुरुङको केही भाग मात्रै खन्न बाँकी छ । पछिल्लोपटक ठेकेदार कम्पनीले चैत १२ गतेसम्म सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । सुरुङसँगै ‘हेड वक्र्स’ लगायतका अन्य काम पनि भइरहेका छन् । सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सफल परीक्षणसमेत भइसकेको छ । त्यत्ति नै क्षमताको अर्काे प्रशोधन संरचना निर्माणको काम पनि सुरु भएको छ । उपत्यकामा खानेपानी वितरणका लागि पाइप बिच्छ्याउने काम भइरहेको छ र चैतअघि नै सम्पन्न हुने बताइएको छ । मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिनेछ । 

विगतझैँ यस वर्षको सुक्खा याम लागे पनि काठमाडौँ उपत्यकामा पानीको अभाव हुन थालेको छ । यसबेला उपत्यकामा दैनिक ४० करोड लिटर पानीको माग भए पनि मागको ३० प्रतिशत अर्थात् दैनिक १४ करोड लिटर मात्रै आपूर्ति हुने गरेको छ । यो क्रम दुई दशकदेखि यथावत् छ । उपत्यकामा बर्सेनि १० प्रतिशतले खानेपानीको माग बढ्दै आएको छ । अर्काेतिर पुरानो वितरण प्रणालीका कारण ठूलो परिणाममा पानी खेर जाने गरेको छ । पाइपबाट वितरण हुने पानीको अभाव भएपछि उपभोक्ता महँगो मूल्य तिरेर निजी ट्याङ्करको पानी र आफ्नै घरमा इनार वा बोरिङ गरेर समस्यासँग जुध्दै आएका छन् । उपत्यकाको बढ्दो मागलाई ध्यानमा राखेर मेलम्ची खानेपानी आयोजना ल्याइएको हो । २०६४ सालमै सम्पन्न गर्ने लक्ष्यका साथ आ.व. २०५५÷५६ देखि निर्माण कार्य सुरु भएको यो आयोजना दुई दशक बित्नैलाग्दा पनि सम्पन्न हुन नसक्नु विडम्बना नै हो । सम्पन्न हुने मिति पटकपटक सर्दै आएकाले अबको वैशाखमा पनि खानेपानी वितरण गर्ने सरकारको लक्ष्य पूरा हुने कुरामा उपभोक्ता विश्वस्त हुन सकेका छैनन् । २०७३ असोजभित्रै सुरुङको काम सम्पन्न गर्ने सम्झौता भए पनि छ महिनाअघि नै सम्पन्न हुने भनेपछि वैशाख १ गते नै काठमाडौँमा मेलम्चीको पानी झार्ने भनेर सरकारी अधिकारीले घोषणा गरे तर इटालेली ठेकेदार कम्पनी सीएमसीले भूकम्प, नाकाबन्दी लगायतका कारण देखाउँदै काम गरेन । यसअघि २०६६ सालमै सुरुङ खन्ने ठेक्का लिएको चिनिया कम्पनी भने काम नगरी भागेको थियो ।
मेलम्ची खानेपानी आयोजना काकाकुलसरह बनेका उपत्यकाबासीको खानेपानीको समस्या समाधानको एकमात्र आशा हो । त्यसैले यो आयोजनालाई यथाशीघ्र सम्पन्न गर्नुपर्छ तर यतिले मात्रै उपत्यकाको खानेपानीको समस्या पूर्ण रूपमा समाधान हुनसक्दैन । हालको माग र आपूर्ति तथा मेलम्चीको थप पानीलाई विचार गर्दा दैनिक करिव १० करोड लिटर पानीको अभाव बाँकी रहन्छ । खानेपानीको दिगो व्यवस्थापनका लागि उपत्यकाभित्र रहेको परम्परागत मूल सुकेका, भूमिगत पानीको तह पनि क्रमशः घट्दै गएको र ‘रिचार्ज’को लागि कुनै पहल नभएको, स्रोत संरक्षण र सुरक्षामा ध्यान पुग्न नसकेको अवस्थामा उपत्यकाको सम्पूर्ण प्रणालीलाई नै वैज्ञानिक बनाउनुपर्ने आवश्यकता छ । केही समयअघि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गरेको अध्ययनले कुल प्रणालीमध्ये ७० प्रतिशत पानी चुहावट हुने गरेको र उपभोक्ताको घरमा ३० प्रतिशत मात्रै पानी पुग्ने गरेको छ । त्यो पनि पिउनयोग्य छैन । सोही अध्ययनले उपत्यकामा वर्षेनी २.५ मिटरका दरले भूमिगत पानी घट्दै गएको छ । काठमाडौँ उपत्यकामा वर्षाका बेला साढे तीन खर्ब लिटर पानी बगेर जाने अध्ययनले देखाएको छ । त्यसमा २५ प्रतिशतमात्रै वचत गर्नसके वर्षभरि सहज रूपमा पानी वितरण गर्न सकिन्छ । त्यसैले खानेपानी आवश्यकताको दिगो र भरपर्दाे व्यवस्थापनका लागि पानीको नयाँ स्रोतको पहिचान र योजना निर्माण थालिहाल्नुपर्ने अवस्था छ ।

 प्रकाशित मिति: २०७४/९/९

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना