क्रिसमस र सामाजिक सद्भाव

सूर्य बल तामाङ

 


संविधानसभामार्फत जारी भएको नेपालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ । संविधानमा “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ । भन्ने व्यवस्था गरिएपछि नेपाल संवैधानिक रूपमा धर्मनिरपेक्ष राज्य भएको हो । अहिलेको संविधानले उक्त व्यवस्थालाई सुनिश्चित गर्दै सबै नागरिकलाई आफ्नो इच्छाअनुसार धर्ममा आस्था राख्ने र त्यसको प्रवद्र्धन र संरक्षणका लागि गतिविधि गर्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ । यस व्यवस्थालाई लिएर यदाकदा विवाद र विरोधका स्वरहरू सुनिए पनि धर्मनिरपेक्ष राष्ट्र घोषणाले कुनै पनि धर्म मान्ने नागरिकलाई अपमानित नगर्ने र व्यक्तिको इच्छाअनुसारको धर्म मान्न पाउने अधिकारको सुनिश्चित गरेका कारण यसमा विवाद गरिरहनुको कुनै औचित्य छैन ।
संविधानले धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नुअघि पनि नेपालमा विभिन्न धर्मावलम्बीहरू एक–आपसमा मिलेरै बसेका थिए । वर्षांैदेखि फरक धर्म मान्ने नागरिकबीचको सामाजिक सद्भाव अभूतपूर्व छ । केही धर्मान्धहरूले यो सद्भाव खलबल्याएर नेपालीबीचमा द्वन्द्वको वीजारोपण गर्न खोजे पनि नेपालीको एक–आपसको सद्भावका कारण त्यो सफल हुन सकेको छैन । सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउनका लागि धार्मिक सद्भावले महŒवपूर्ण भूमिका खेल्दै आएको छ । नेपालमा विशेषगरी, हिन्दु, बुद्धिष्ट, इसाई, मुस्लिम धर्म मान्नेहरूको बाहुल्य रहेको छ । नयाँ संविधानमा नै धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि सबै धर्मावलम्बीबीचमा अन्तरधर्मबीच सद्भाव र सम्मानको विकासमात्र भएको छैन, सबै धर्मप्रति आस्था बढेर गएको छ । तराईको छठ होस् या हिमालको ल्होसार या मुस्लिम समुदायको इदमात्र होइन, क्रिश्चियन धर्मावलम्बीहरूको पर्व क्रिसमस डेमा पनि अन्तर धर्मावलम्बीहरूले खुसी र सद्भाव साट्न थालेका छन् ।
नेपाली संस्कृतिमा आधारित चार्ड पर्वहरू दसैँ, तिहार जस्तै पछिल्लो समय क्रिसमसको लोकप्रियता पनि बढ्दै गएको छ । क्रिसमस पर्वलाई क्रिश्चियन धर्मावलम्बीले मात्र होइन, अन्य धर्मावलम्बीको मोह पनि यसमा देखिएको छ । इष्टमित्र, आफन्तसँग भेटघाट र रमाइलो गर्ने पर्वका रूपमा क्रिसमसलाई लिने गरिएको छ । इस्वी संवत् ३३६ डिसेम्बर २५ मा पहिलोपटक क्रिसमस मनाइएको घटना विश्व इतिहासमा पाइन्छ, जुन समयमा पहिलो क्रिश्चियन रोमका शासक कन्स्टानटाइनले शासन गरेका थिए । त्यसको केही वर्षपछि मण्डलीका पोप जुलियसले डिसेम्बर २५ लाई आधिकारिक रूपमा क्राइस्टको जन्मोत्सव मनाउने दिनका रूपमा प्रचलनमा ल्याएको इतिहास छ । हुन त डिसेम्बर २५ मा रोमवासीहरूले धार्मिक चाडका रूपमा देशमा सार्वजनिक बिदा दिने गरेका थिए । बिस्तारै त्यहाँका मानिस येशु क्राइस्टमा विश्वास गर्न थालेका कारण क्रिसमस लोकप्रिय उत्सव बन्न थाल्यो । त्यस समयको मण्डलीले डिसेम्बर २५ लाई क्रिसमस उत्सव मान्नुको एउटा कारण सार्वजनक बिदा त छँदै थियो, येशु संसारको ज्योति हुनुहुन्छ भनी क्रिसमस मनाउन थालेको इतिहास पाइन्छ ।
क्रिसमसको समयमा येशु क्राइस्टको जन्मसम्बधी गीत गाएर मानिसले क्यारोल मनाउनेसमेत गर्छन् । क्यारोल गीतको खास अर्थ आनन्द, हर्ष र खुसीको नाच हो । क्रिसमस संसारका मानिसलाई जगाउन, अँध्यारोबाट उज्यालोतर्फ लम्कन सिकाउन, सही मार्ग देखाउन, वर्षमा एकपटक सबैबीच आउने महान् उत्सव हो । यसैले क्रिसमस संसारभरि अझ फैलिँदै छ । हामीले आफूभित्रका खराबपनलाई त्याग्न र असलपनलाई स्वीकार गर्न सकिएको खण्डमा साँचो अर्थमा क्रिसमसको विश्वव्यापी सार्थकता पुष्टि हुनेछ । प्रभु येशुलाई आफ्नो हृदयमा राखेर क्रिसमस मनाइएको खण्डमा मात्र क्रिसमसको सार्थकता हुनेछ । नेपालमा प्रजातन्त्रको स्थापना हुनुअगावैदेखि यो धर्म मान्ने प्रचलन सुरु भएको हो । प्रजातन्त्र स्थापनापछिको खुला समाजमा इसाई धर्म मान्नेहरूको सङ्ख्या बढोत्तरी हुँदै गएको भए पनि राज्यले एकल धर्मलाई मात्र मान्यता दिएका कारण अन्य धर्मको प्रवद्र्धन हुन सकेको थिएन । नेपालको हरेक राजनीतिक परिवर्तनमा सबै धार्मिक सम्प्रदायको उत्तिकै योगदान रहँदै आएको छ । राजनीतिक परिवर्तनमा उत्तिकै सहयोग र सहभागिता जनाउँदै आएका धर्मावलम्बीहरूबीचमा विभेद ल्याउने काम राज्यको नीतिकै कारण भएको हो । राज्यको विभेदपूर्ण नीतिप्रति कुनै पनि धार्मिक सम्प्रदायबाट असन्तुष्टिको आवाज देखिने गरी उठेको थिएन । यही कारण नेपाल कहिल्यै पनि धार्मिक द्वन्द्वको सिकार हुनुपरेन र कुनै पनि धर्ममा अतिवादी सोच हाबी हुन पाएन । लोकतन्त्रको स्थापनापछि राज्य आफ्ना नागारिकको आस्थामाथि समान व्यवहार गर्दै अघि बढेको छ । त्यसैको ज्वलन्त उदाहरणका रूपमा सबै धर्मावलम्बीहरूको मुख्य पर्वहरूका बेला सार्वजनिक बिदा दिइरहेको छ ।
धर्मनिरपेक्ष भनेको धार्मिक स्वतन्त्रता हो, धार्मिक उच्छृङ्खलता होइन । परिवार, समाज र राष्ट्रलाई एकताबद्ध बनाउने धर्मलाई कसैले पनि पेसा व्यवसाय बनाउन मिल्दैन । नागरिकको धर्मप्रतिको आस्थालाई पेसा बनाउन खोजियो भने त्यसले परिवार, समाज हुँदै राष्ट्रलाई नै खण्डित गर्न सक्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ । सबै धर्मलाई राज्य र नागरिकले समान रूपमा व्यवहार गर्दै त्यसको प्रवद्र्धन र संरक्षणका लागि अघि बढ्नु नै अहिलेको आवश्यकता हो । अन्य धर्मावलम्बीहरूमा जस्तै क्रिश्चियन समुदायमा पनि यदाकदा उच्छृङ्खलता बढ्दै गएको महसुस हुन थालेको छ । राजनीतिक स्वार्थका लागि कहिलेकाहीं क्रिश्चियन धर्मलाई पनि प्रयोग गर्ने गरेको पाइन्छ । नागरिकको इच्छाविपरीत क्रिश्चियन धर्म मान्न बाध्य पारिएको गुनासो पनि सुनिने गरेको छ । धर्म प्रवद्र्धनको अर्थ जबर्जस्ती अरूलाई आफ्नो धर्म मान्न बाध्य गराउनु होइन । अहिले केही क्रिश्चियन समुदायमा पनि यस्तो गलत प्रवृत्ति पक्कै देखिएका छन्, त्यसलाई सुधार गर्दै जानुपर्छ । ती अपवादका प्रवृत्तिलाई नजिर बनाएर समग्र क्रिश्चियन समुदायलाई गलत दृष्टिकोणले हेर्नुहुँदैन ।
क्रिश्चियन धर्म हो पेसा होइन । आस्था र विश्वासका आधारमा फरक धर्ममा आस्था राख्ने नागरिकले क्रिश्चियन धर्म मान्न पाउँछन् । फरक धर्म अपनाएकै आधारमा क्रिश्चियन प्रभाव बढ्यो, जबर्जस्ती धर्म परिवर्तन गराउने खेल भयो भन्नु दुर्भाग्य हो । विगतमा यो धर्म मान्नेहरू विपन्न, दलित, जनजातिको बाहुल्य थियो तर समयसँगै यस धर्ममा आस्था राख्नेहरू सबै तह र तप्काका नागरिकको सङ्ख्या बढ्दै गएको छ, जसमा उच्च खान्दानियाँ वर्गदेखि राजनेताहरूसम्म पनि छन् । यसबाट यस धर्मभित्र रहेका विकृतिहरू पनि बिस्तारै हट्दै जाने अपेक्षा गर्न सकिन्छ ।
विगतको तुलनामा क्रिश्चियन धर्म मान्नेहरूको सङ्ख्या बढ्दै गएको छ । अहिले सरकारी तथ्याङ्कअनुसार इसाई धर्मावलम्बीको सङ्ख्या करिब १५ लाखको हाराहारीमा छ भने देशभरि नौ हजारभन्दा बढी चर्च रहेका छन् । चर्च दर्ता गर्न सरकारले नीति ल्याएपछि यो सङ्ख्या बढ्दै गएको छ तर फरक आस्था भए पनि क्रिसमस मनाउनेको सङ्ख्या भने निकै बढी देखिन्छ । अहिले क्रिसमस कुनै एक धार्मिक समुदायको पर्वभन्दा पनि विश्वव्यापी रूपमा विस्तार भएको नवसाँस्कृतिक घटनाका रूपमा पनि लिन सकिन्छ, अहिले संसारमा त्यस्ता घटना विरलै होलान्, जहाँ क्रिसमस हाँसो, रमाइलो गरेर नमनाइएको होस् । निर्वाचनपश्चात् अब बन्ने सरकारले मुलुकलाई राजनीतिक स्थिरता र समृद्धितर्फ लग्यो भने निश्चित रूपमा सबै धर्महरूको प्रवद्र्धन र संरक्षण हुने निश्चित छ । सबै धर्मको न्यायिक प्रवद्र्धन र संरक्षण हुन सक्यो भनेमात्र राजनीतिक दलहरूले सोचेजस्तो देश समृद्धिको बाटोमा अघि बढ्नेछ ।

 प्रकाशित मिति: २०७४/९/१०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना