व्यवस्थित सहर बनाउने प्रतिवद्धता

BHAKTA_1
गोरखापत्र समाचारदाता-
भक्तपुर, पुस १० गते । कमेरोटार नगर विकास संयोजन समाजले भक्तपुर २ निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यलाई सम्मान गरेको छ ।
समाजले सोमवार एक कार्यक्रम आयोजना गरी भक्तपुर २ बाट निर्वाचित सांसद महेश बस्नेत र प्रदेशसभा (क) बाट निर्वाचित प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठलाई समाजले कदर पत्रद्वारा सम्मान गरेको हो । आयोजनाका बाँकी काम पूरा गर्न आवश्यक पहल गरी व्यवस्थित सहर निर्माणका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै समाजले दुवै जनालाई सम्मान गरेको हो ।
सम्मान ग्रहण गर्दै सांसद बस्नेतले कमेरोटार जग्गा एकीकरण आयोजनालाई व्यवस्थित सहर निर्माण गर्नका लागि आवश्यक काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिले अधुरो भएको कामलाई पूरा गर्न आफूले पहलकदमी लिने भन्दै उहाँले आयोजनालाई व्यवस्थित सहर निर्माण गर्नका लागि सबैले आआफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
आयोजनाबाट सङ्कलित रकम आयोजनाकै विकास लागि खर्च गर्नुपर्ने भन्दै उहाँले आयोजनालाई व्यवस्थित सहर निर्माण गर्न कानुनी अवरोधलाई समेत चिरेर आफूले काम गर्ने स्पष्ट गर्नुभयो ।
त्यस्तै भक्तपुर २ प्रदेशसभा (क) बाट निर्वाचित सांसद श्रेष्ठले अयोजनालाई व्यवस्थित सहर निर्माण गर्न आफ्नो तर्फबाट सबै सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एकहजार ४८६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त आयोजना भित्र एह जार ४८६ घर परिवार बसोबास गर्दै आएको कमेरोटार नगर विकास संयोजन समाजले जनाएको छ ।
आयोजनाभित्र आवासीय क्षेत्रका लागि एक हजार ११६ रोपनी, हरियाली क्षेत्रका लागि ५२ रोपनी, सडक क्षेत्र ३०७ रोपनी, खुल्ला क्षेत्रका लागि आठ रोपनी र पार्किङ, बजार तथा सामुदायिक क्षेत्रका लागि सात रोपनी र खेल मैदान निर्माणका लागि २३ रोपनी जमिनलाई भू–उपयोग गर्ने लक्ष्य रहेको समाजका अध्यक्ष श्रीबहादुर खड्काले बताउनुभयो ।
स्थानीय वासिन्दाबाट सङ्कलित रकमको बजेट स्थानीय तहकै विकास लागि खर्च गर्नुपर्ने खड्काद्वारा प्रस्तुत कार्यपत्रमा उल्लेख छ । आयोजनाभित्र व्यवस्थित सहर निर्माणका लागि भने बाटो, सडक पीच, खानेपानी, विद्युत टेलिफोन लगायतका पूर्वाधार निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।-नगेन्द्र सापकोटा

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना