एकता संयोजन समितिको बैठक आज

KP-oli-Prachandaकाठमाडौँ, पुस ११ गते । वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार बस्दैछ । बैठकमा पार्टी एकताका खाकाबारे विस्तृत रूपमा छलफल हुने बताइएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको संयोजन समितिको बैठकको समय र ठाउँ भने तय भइसकेको छैन । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार मङ्गलबार समितिको बैठक बस्ने मोटामोटी तयारी भएको छ तर ठाउँ र समय तय भइसकेको छैन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मङ्गलबार बिहान चितवनमा एक कार्यक्रम रहेको र त्यसपछि उहाँ काठमाडौँ फर्केपछि बैठक बस्ने तयारी भएकाले समय र स्थान तय हुन नसकेको उहाँले जानकारी दिनुभयो । यद्यपि बैठक बस्ने तयारी दुवै दलबाट भएको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाका अनुसार मङ्गलबारको बैठक तय भइसकेको छ । अध्यक्ष प्रचण्ड काठमाडौँ फर्कनुभएपछि समितिको बैठकमा भाग लिने बताउँदै उहाँले अपराह्नसम्म बैठक बस्ने बताउनुभयो ।
दुई कम्युनिस्ट पार्टीको एकताबारे विभिन्न टिकाटिप्पणी भइरहँदा संयोजन समितिको बैठकको तयारी गरिएको छ । बैठकले सरकारको गठन र नेतृत्व, दुवै पार्टीका शीर्ष नेताको व्यवस्थापन र जिम्मेवारीबारे विस्तृत खाका तयार गर्ने बताइएको छ ।
आन्तरिक रूपमा दुवै दलका नेताहरूले त्यसबारे गृहकार्य गरिरहेको भए पनि प्रमुख दुई दलका दुवै अध्यक्षको सहमतिको खाँचो रहेको एक नेताले बताउनुभयो । पार्टी एकताका लागि दुवै दलले गत असोज १७ गते लिखित सहमति गरेका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना