नेपाली विद्यार्थीले बनाए ‘मोतिका’

केदार भट्टराई

काठमाडौँ, पुस ११ गते । नेपाली इन्जिनियरिङ अध्ययनका विद्यार्थीले नयाँ प्रविधिको सवारीसाधन निर्माण गरेर त्यसको सफल परीक्षण गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका स्नातक तहमा अध्ययनरत मेकानिकल तर्फका चार जना विद्यार्थीले मौलिक प्रविधिको यस्तो गाडी तयार पार्नुभएको हो । 

वि.सं. २०७० को ब्याचका अमित पण्डित, वसन्त आले, दिपेश बुढाथोकी र रविकान्त चौधरीले चौथो वर्षको परियोजना कार्यका रूपमा थोत्रा गाडी र मोटरसाइकलका सामग्रीको संयोजन गरी नितान्त नयाँ प्रविधिको सवारी साधन निर्माण गर्नुभएको हो । उहाँहरूलाई सोही क्याम्पसका सहप्राध्यापक डा. नवराज भट्टराईले निर्देशन गर्नुभएको थियो । गाडीको गति पेट्रोल इन्धनमा प्रतिघन्टा ७० किलोमिटर र ब्याट्रीमा प्रतिघन्टा १७ किलोमिटर रहेको छ ।
मोटरसाइकल र कारका विशेषता रहेको तीनपाङ्ग्रे सवारी साधनले काठमाडौँका व्यस्त तथा उकाला ओराला सडकमा सफल यात्रा गरिसकेको छ । अनेक समस्या झेल्दै चार जना विद्यार्थीले तयार पारेको सवारी साधनले पुल्चोकबाट चोभारसम्मको उकालो ओरालो, बागबजारको व्यस्त, गठ्ठाघरसम्मको फराकिलो बाटोको यात्रा तय गरेको छ । members
गठ्ठाघर यात्राका क्रममा रहेकै बेला सडकमा गुडेको अनौठो सवारी साधनको फोटो खिचेर केदार वाशिष्ठले फेसबुकमा नाम, थर, गोत्र थाहा नभएको तर मोटरसाइकल, तीनपाङ्ग्रे र कारका संयोजित विशेषताका आधारमा उक्त सवारी साधनको नाम ‘मोतिका’ राखिदिएको पाएर निर्माता विद्यार्थीमध्येका एक वसन्त आलेले टिप्पणीमा लेख्नुभयो, “वाहनको न्वारान गरिदिनुभएकोमा सरलाई धन्यवाद !”
कारमा जस्तै अगाडिका दुई सिट रहेको उक्त सवारी साधनको पछाडिको संरचना सेनाको ट्याङ्कको जस्तो छ । मोटरसाइकलको साइलेन्सरलाई ट्याङ्कको तोपजस्तो गरेर डिजाइन गरिएको छ ।
पेट्रोल र विद्युतीय दुवै इन्धनबाट चल्ने ‘हाइब्रिड’ गाडी तयार पारेर सडकमा गुडाउँदासम्म त्यसलाई उचित नाम दिन नसकेको तर परियोजना कार्यको प्रतिवेदनमा भने हाइब्रिड ट्राइसाइकल भनेर उल्लेख गरिएको निर्माताहरूले बताउनुभयो ।
गोरखापत्रका सहसम्पादक केदार भट्टराईले आफ्नो फेसबुकमा सुझाएको नामबारे सहमति जनाउँँदै उहाँहरूले आफूहरूले उक्त सवारीको नाम वज्र राख्ने कि भनेर सोचेको भए पनि संयोजित विशेषता र नेपाली मौलिकता र मूल्य चेतनाका आधारमा पनि मोतिका नाम साँच्चिकै सही लागेको र त्यही नाम प्रयोग गर्ने बताउनुभयो ।
निर्माता विद्यार्थीको यो आविष्कार पहिलो भने होइन । चार वर्षअघि २०७० सालमा इन्जिनियरिङको प्रथम वर्षमा नै औपचारिक अध्ययन मात्र होइन, केही गरेर देखाउने जोश ती युवामा जागेको थियो । त्यसैले दोस्रो वर्ष नपुग्दै खेलौना रेसिङ कार ‘गो कार्ट’ तयार पारेको उहाँहरूले बताउनुभयो ।
यसैबीचमा २०७२ मा नेपालमा भारतले नाकाबन्दी ग¥यो । नेपालीले इन्धनको चरम अभाव झेल्नुपर्दा उहाँहरूको विचारमा परम्परागत र नवीकरणीय ऊर्जा दुवैबाट चल्ने सवारी साधन बनाउने सोच आयो । निर्मातामध्येका टोलीनेता अमित पण्डितले भन्नुभयो, “हामीलाई नाकाबन्दीले अवसर दियो । हामीले पुराना अटोमोबाइलका सामग्री प्रयोग गरेर नै मौलिक गाडी तयार पार्ने अठोट ग¥यौँ । ”
त्यसपछि उहाँहरू मोटरसाइकल र गाडीका इन्जिन तथा पार्टपुर्जा जुटाउन लाग्नुभयो । त्यसैका आधारमा मोटरसाइकलको इन्जिन एउटा पाङ्ग्रा, साइलेन्सर र कारको मोटर, दुईवटा पाङ्ग्रा, स्टेयरिङ, क्लज, ब्रेक लगायतका सामग्री जुटाएर तीनपाङ्ग्रे सवारी साधन तयार भएको हो ।
तीनपाङ्ग्रे सवारी साधन अरू पनि भए पनि यसको आफ्नै विशेषता छ । त्यो हो, अन्यको भन्दा बेग्लै पछाडिको पाङ्ग्रा एउटा र अगाडिका पाङ्ग्रा दुईवटा । प्राविधिक रूपमा मोतिका अगाडिको एक पाङ्ग्रा भएको सवारी साधनभन्दा स्तरीय रहेको निर्माताहरूको
दाबी छ । यसको सफलतासँगै फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूका लागि हाल प्रयोगमा आउँदै गरेको सवारी साधनमा लागत र गुणस्तर दुवै प्रभावकारी बनाउन सकिने धारणा उहाँहरूको छ । त्यसका लागि उहाँहरूले काम गर्न पनि लाग्नुभएको छ ।
अपाङ्गता भएका २४ जना व्यक्तिको अनुभवका आधारमा त्यस्ता व्यक्तिले प्रयोग गर्ने हालको चारपाङ्ग्रे सवारी साधनलाई परिमार्जन गरेर तीनपाङ्ग्रे बनाउने अभियानमा उहाँहरू लाग्नुभएको छ ।
पण्डितले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिले अहिले चढ्ने स्कुटर उहाँहरूको स्वास्थ्यका लागि थप हानिकारक छ किनभने त्यसका पछाडिका पाङ्ग्रालाई सन्तुलनमा राख्न अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो शरीर नै ढल्काएर चलाउनुपर्छ । फेरि कतै फसेको खण्डमा पछाडिका पाङ्ग्राले त्यसलाई निकाल्न नै सक्दैन । ”
उहाँहरूका अनुसार अगाडि दुई र पछाडि एक पाङ्ग्रा मात्र राखेर त्यसको संरचना गर्दा एउटा पाङ्ग्राको खर्चसमेत जोगिने र आफैँ सन्तुलनमा रहने सवारी साधन तयार हुन्छ । “त्यसैका लागि हामी लागेका छौँ”, पण्डित, आले र बुढाथोकीले संयुक्त रूपमा बताउनुभयो ।
यसका अतिरिक्त थापाथली क्याम्पसमा गाडी निर्माण कार्यशाला सञ्चालन गर्ने योजना उहाँहरूको छ । त्योभन्दा पनि सप्तरी, कपिलवस्तु र बारा घर भएका तीन जनाले आआफ्नो घर जाँदा धान रोप्ने र काट्ने मेसिन लिएर जाने योजना बनाउनुभएको छ ।
यी सबै बनाउँदा नयाँ सामग्री केही खोज्नु पर्दैन । पुराना सामग्री जोडजाड गरेर नै बनाउन सकिने तथा त्यसरी निर्माण भएका सामग्रीको आयात मूल्यभन्दा ज्यादै नै थोरै मूल्य पर्ने उहाँहरूको अनुभव छ । मोतिकाको निर्माणका लागि दुई लाख ५० हजार रुपियाँ खर्च भएको तर त्यसमध्ये धेरै निजी खर्च, शिक्षक तथा आफन्तको सहयोग खर्च र थोरै क्याम्पसको सहयोगबाट जुटाइएको उहाँहरूले जानकारी दिनुभयो ।
मोतिकामा प्रयोग भएका मोटरसाइकलका सामग्रीका लागि आफूहरूले मोटरसाइकल नै किन्नु परेको तर कारका लागि भने सरकारले क्याम्पसको रोबोटिक्स क्लबलाई दिएको थोत्रो टोयोटा कोरोलाका सामग्री प्रयोग गरेको उहाँहरूले जानकारी दिनुभयो ।
विश्वविद्यालय अनुदान आयोगमा अनुसन्धान प्रस्ताव स्वीकृत भएको भए पनि आफूहरू कलेजबाट उत्तीर्ण भइसकेकाले त्यो लिन नपाएको बताउँदै त्यस्ता अनुदान दिँदा विश्वविद्यालयको क्यालेन्डरअनुसार मिलाउन सुझाव दिनुभयो ।
नेपालमा नयाँ प्रविधिको अनुसन्धान र विकासमा सहयोग र प्रोत्साहन नभएको बताउँदै पण्डितले भन्नुभयो, “उपयुक्त नीति भएको खण्डमा हामी अटोमोबाइल क्षेत्रमा धेरै काम गर्न सक्छौँ । ” उहाँले मोतिकाजस्ता सवारी साधनको आमप्रयोग गर्न तत्काल सम्भव नभए पनि होटल र रिसोर्टहरूमा पर्यटकहरूलाई नेपाली आविष्कारका साथ स्वागत गर्न तथा रेसिङ र गेमिङ जोनमा प्रयोग गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना