होमस्टेमा क्रिसमस मनाउँदै पर्यटक

नवीनराज कुइँकेल

लमजुङ, पुस ११ गते । सहरबजारमा विकसित हुँदै गएको क्रिसमसको रमाइलो ग्रामीण क्षेत्रमा पनि सर्न थालेको छ ।
क्रिसमस मनाउन सोमबार लमजुङका ग्रामीण पर्यटकीय गाउँमा रहेका होमस्टेमा विदेशी तथा स्वदेशी पर्यटक भरिभराउ भएका छन् ।
पछिल्लो समय लोकप्रिय बन्दै गएको राईनासकोट होमस्टेमा सोमबार पर्यटकसँगै स्थानीयले क्रिसमस मनाएका छन् । गाउँमा आएका विदेशी तथा स्वदेशी पर्यटकले विभिन्न कार्यक्रम गरी स्थानीयसँग क्रिसमस मनाएका हुन् । उपहार तथा शुभकामना आदानप्रदान गरेर पर्यटक र स्थानीयले क्रिसमस पर्व मनाएको राइनासकोट होमस्टेका प्रवद्र्धक कृष्णराज ओलियाले बताउनुभयो । प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको ग्रामीण भेगमा आएर स्थानीयसँगै उत्सव मनाउन पाउँदा आफूलाई छुट्टै आनन्द मिलेको बेलायती पर्यटक यमी लिया बुलेटले बताउनुभयो । “सहरमा घरपरिवारसँग क्रिसमस मनाएको अनुभव थियो”– यमीले भन्नुभयो “अहिले धेरै टाडा गाउँमा आएर क्रिसमस मनाउन पाउँदा रमाइलो अनुभव भएको छ । ”
गाउँमा आएका पाहुनालाई आफ्नो संस्कृति देखाएर आम्दानी गर्दै आएका होमस्टे सञ्चालकहरू विदेशी पर्यटकहरूसँग उनीहरूको पर्व मनाउन पाउँदा खुसी देखिन्थे । “गाउँमा आएका पर्यटकलाई हाम्रो सस्कृति देखाउँथ्यौ, आज भने उनीहरूको संस्कृतिमा रमाउन पायाँै,” होमस्टे सञ्चालक विष्णु गुरुङले भन्नुभयो, “फरक अनुभूतिसँगै धेरै रमाइलो भयो । ” लमजुङमा रहेको एसियाकै नमुना घलेगाउँमा पनि क्रिसमस मनाउन आउने पर्यटकको घुइँचो छ । पर्यटन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार सयभन्दा बढी पर्यटक गाउँ आएका छन् । ती धेरैजसो स्वदेशी रहेका छन् । homestey
यस्तै सिउरुङ होमस्टेका अध्यक्ष उमरजङ्ग गुरुङका अनुसार पर्यटकले गाउँ भरिभराउ भएको छ । क्रिसमस बिदाको दिन धेरै जसो आन्तरिक पर्यटक गाउँ आएका छन् । काउलेपानी होमस्टेका अध्यक्ष देउबहादुर गुरुङले होमस्टेमा बस्न आउने पर्यटकहरू बढेको बताउनुभयो ।
दैनिक पर्यटकको चहलपहल हुने यी गाउँहरूमा क्रिसमसको अवसरमा थप पर्यटकहरू आएका हुन् । पर्यटकको चाप बढेपछि होमस्टे सञ्चालकहरू खुसी भएका छन । पर्यटकीय गाउँमा कृषिसँगै पर्यटन नै मुख्य पेसा रहेको छ । पर्यटकको स्वागत सत्कार गरेर नै स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् ।
ग्रामीण पर्यटनले मौलिक संस्कृति र परम्परा जोगाउनुको साथै स्थानीयको आर्थिकस्तर पनि उकासेको छ । अन्नपूर्ण पदयात्रा मार्गमा सडक निर्माणसँगै पर्यटकीय क्षेत्रमा नकारात्मक प्रभाव परिरहेका बेला ग्रामीण पर्यटकीय गाउँहरू आशाका किरण बनेका झुल्किएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना