गरीबमारा जाडो र स्वास्थ्यमा हेरचाह

Prakash budhathokiडा. प्रकाश बुढाथोकी

केही दिनयता राजधानीमा मात्र नभई देशभर अधिकतम र न्यूनतम तापक्रम घट्दै गएकाले पहाडमा हिमपात तथा तराईमा बाक्लो हुस्सु र शीतलहर गत एक सातादेखि निरन्तर जारी छ । चिसो अझै एक साता बढ्ने अनुमान छ । सर्वसाधारणले बढी चिसोको महसुस गरेका छन् र राहतको आशामा छन् । कपिलवस्तुलगायतका जिल्लामा मृत्युका खबर आइसकेका छन् । अस्पतालले बिरामीको चाप बढेको बताएका छन् । जाडो अत्यधिक बढेसँगै मुगुमा रुघाखोकी, निमोनिया र ज्वरोको भाइरल प्रकोप बढी एक सातामा ५ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धा गरी १८ बढीले ज्यान गुमाएका छन् ।
चिसो प्राकृतिक कालचक्रको स्वाभाविक देन तथा अध्येताका लागि तथ्याङ्क संकलन हुन सक्छ । जाडो याममा तराई क्षेत्रमा हुस्सु लाग्नु, शीतलहर चल्नु अस्वाभाविक होइन तर शीतलहर र अत्यधिक जाडोका कारण कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुनु दुःखलाग्दो विषय हो । चिसो र शीतलहर केही समयको मौसमी स्थिति हो भनेर मौन रहनु हुँदैन, यसले कृषि व्यवसायलाई क्षति, पशुपक्षीको मृत्यु, विद्यालयको पठनपाठन स्थगित र मानिसको मृत्यु हुन थालेको छ जुन संवेदनशील विषय हो ।
तराईका ग्रामीण क्षेत्रका विशेषतः आर्थिक रूपले विपन्न मुसहर, थारु सम्प्रदायका अधिकांश व्यक्ति न्यानो ओछ्यान तथा सिरक वा कम्बलको अभावमा र चिसो तथा ओसिलो जमिनको असरले गर्दा कठयाङ्ग्रिएर सुतिरहेकै अवस्थामा ज्यान गुमाउने गर्छन् । न्यानो लुगाको अभावमा विकल्पको रूपमा आँगनमा आगो बालेर सामूहिक रूपमा घुर ताप्ने गर्दछन् । कतिपय व्यक्ति शरीर तताउनका लागि अत्यधिक मात्रामा रक्सी सेवन गरी मातेपछि बेहोसी अवस्थामा कठयाङ्ग्रिएर ज्यान गुमाउन पुग्छन् ।
अत्यधिक चिसो र शीतलहरले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुर बढी प्रभावित हुन्छन् । झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने, हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाँही घाउ हुने, रुघाखोकी, दम र यसका जटिलता छालासम्बन्धी समस्या, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउँ जस्ता पाचनसम्बन्धी रोग र हातखुट्टा र जोर्नी सुन्निने अवस्था त्यत्तिकै निम्त्याउँछ । मुटु, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ चिसोले । शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, ल्याउँछ ।
जलवायु परिवर्तनले होला अनुमान गर्नसकिने बेला छैन, कुनबेला जाडो शुरु हुन्छ र सकिन्छ । वायुमण्डलमा विद्यमान धूलो, धुवाँलगायतका स–साना कण यत्रतत्र रहने र तिनीहरू हावाको माध्यमबाट मानिसको शरीरमा प्रवेश गरी विभिन्न खालका स्वास्थ्य समस्या देखापर्ने गर्छ । दमखोकी, बाथ लगायतका दिर्घकालीन रोगीलाई थप पीडा दिने गर्दछ । घट्दो तापक्रम र चिसो हावाले रक्तनली खुम्चिने, रक्तसञ्चार कमी भई हृदयाघात, स्ट्रोक, मांसपेशी र जोर्नीको पीडा स्वासनली खुम्चने दम, श्वासप्रश्वास समस्या, निमोनिया, ८० बढी उमेर भएको हाड विभिन्न कारणबाट खिइने तथा चिसोसंँग एलर्जी र संवेदनसीलमा टन्सिल, हातखुट्टा सुन्निने हुन्छ ।
जब जाडो शुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्छ । सरसर्ती हेर्दा हुने खानेको जीवनमा सामान्य प्रभाव तथा एकसरो लुगा समेत राम्रोसँग लाउन नपाउने गरिब जनताका लागि चिसो अभिशाप बन्दछ । मधेशमा अधिकांश समय गर्मी हुने भएकोले जाडोको लागि जोहो गरिँदैन, दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूसँग नयाँ लुगा किन्ने क्षमता हुँदैन, भएको एकसरो लुगा पनि शीतलहरले चिसो हुने, घाम नलागी नसुक्ने तथा ज्याला मजदुरी गर्ने अवसर कम भई खानपान र न्यानो लुगा तथा वातावरण कोरा कल्पना बन्दछ ।
चिसो तथा शीतलहरको असर गरिबीसग सम्बन्धित भएकोले गरिब र विपन्न समुदायको आर्थिक स्थिति सुधारिएमा त्यसको मार आफै कम हुन्छ तर असर भने कम हँुदैन । त्यसकारण मधेशी हुनेखानेले समेत न्यानो लुगा न्याना ओढ्ने ओछ्याउने, स्वास्थ्यको हेरविचार जस्ता कुराको सामाजिक चेतना जगाउनु जरुरी छ भने मुख पेटको समस्या भएका नि–सहाय र गरिबका लागि न्यानो वातावरण र कपडा उपलब्ध गराउनै पर्दछ ।
रोकथाम
गत र यस वर्ष जाडोमा लोडसेडिङ नभोग्ने भएपछि नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङलाई धन्यवाद दिनैपर्छ । दाउरा, गुइँठा र कोइलाको प्रयोग, बढी मादक पदार्थ सेवन गर्ने, प्रदूषित र गुम्म परेको बन्द कोठामा आगो बाल्ने, मकल ताप्ने, मट्टीतेल र ग्यास हिटरमाथि पानी नराखी ताप्ने, बालेरै सुत्ने, तमाखु, चुरोट रक्सीको बढी सेवन गर्ने, घरमा धुवाँ बालेर गुम्साउने चलन छँदैछ ।
घरमा भेन्टीलेसनको व्यवस्था नहुनु, घरभित्र अगेनामा आगो बाली घर न्यानो पार्ने, सन्तुलित खाना र पोषणको कमी, रक्तअल्पता आदिले गर्दा धेरैमा दम, ब्रोङकाइटिस, मुटुसम्बन्धी रोग, निमोनिया लाग्ने गर्दछ । बच्चालाई आगोमा सेकाउने गर्दा कार्बनडाइअक्साइड बढी भए विषमा परिणत हुन्छ र अक्सिजन कम हुन जान्छ जसले गर्दा निसास्सिएर मानिस बेहोस भई मृत्यु हुन्छ ।

 प्रकाशित मिति: २०७४/९/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना