किसुनजीको सम्झना

gorkarnaगोकर्ण अर्याल

यही मङ्सिर ८ गते नेपाली काँग्रेसका संस्थापक नेतामध्येका एक कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको ९४ औँ जन्म जयन्ती मनाइयो । उहाँको राजनीतिक जीवनलाई अनुशरण गर्ने सङ्घ संस्थाद्वारा आयोजित कार्यक्रममा किसुनजीको आदर्श राजनीतिक जीवनको स्मरणमा राजनीतिक तहमा व्यक्त विचार तथा टिप्पणी सार्वजनिक पनि भएका पनि छन् । किसुनजीलाई स्मरण गरिरहँदा उहाँले अवलम्बन गर्नुभएको जीवन पद्धतिलाई आजको राजनीतिक सिद्धान्तले कत्तिको अनुशरण गरेको छ भन्ने प्रमुख प्रश्न हो । जीवन पर्यन्त निष्ठापूर्वक राजनीतिक लडाइ लड्ने आँट र साहस किसुनजीमा कसरी पैदा भएकोे थियो ? अथवा सादगीपूर्ण जीवनबाट कसरी आफ्नो राजनीतिक अभीष्ट पूरा गराउनु भयो ? यी ज्ञिज्ञासाको सहज उत्तर हो, राजनीतिक अधिकार र स्वतन्त्रताबाहेक कुनै किसिमको लोभ मोह उहाँमा थिएन । यसको सबैभन्दा ठूलो प्रमाण २०४६ सालको परिवर्तनपछि अन्तरिम सरकारका प्रधानमन्त्री बन्नु भएका बेला सार्वजनिक भएको उहाँको सम्पत्ति विवरण नै हो । उहाँको निजी सम्पत्तिमा पानी खाने माटाको सुराही, छाता, एउटा ट्याङ्का र एउटा गीताको किताबबाहेक केही थिएन । एक वर्षपछि प्रधानमन्त्री निवासबाट बाहिरिँदा पनि उहाँको साथमा योभन्दा बढी अरू सम्पत्ति केही थिएन तर यसबीचमा उहाँले देशलाई भने ठूलो उपहार दिनुभयो । उहाँको नेतृत्वमा गठित सरकारका प्रमुख कार्यमा नयाँ संविधान निर्माण गरेर त्यसका आधारमा प्रतिनिधिसभाको निर्वाचन गराउने थियो । यो काम उहाँले निर्धारित समयमै पूरा गराउनुभयो । यसरी आफू डुबेर पनि अरूलाई पार लागाउने काम गर्नुभयो र एउटा सफल नौका चालकको भूमिकामा देखिनु भयो किसुनजी । अहिले पनि छाता, सुराही र ट्याङ्का बोकेको कुनै चित्र देख्ने वित्तिकै जो कोहीले पनि कृष्णप्रसाद भट्राईको मुहारको सम्झना आउने गर्छ । आजको राजनीतिक नेतृत्वले किन किसुनजीको जस्तो आँट र सहास देखाउन सकिरहेको
छैन ? वास्तवमा देश र दुनियाँको हितभन्दा पनि आफू र आफ्नो समूह र गुटको भलाइका लागि लिप्त हुने सोच र प्रवृत्तिले राजनीतिक नेतृत्व स्खलित र कमजोर हुँदै गएको छ । यसै कारण पछिल्लो समय राजनीतिक तहमा वा त्यसको आँडमा हुने गरेका भ्रष्टाचारले बढी चर्चा पाउने गरेको छ । आम नागरिकको बुझाइ पनि भ्रष्टाचारको मूल जरो राजनीति नै हो भन्ने छ । हुन त राजनीतिक आवरणमा मुलुकलाई भ्रष्टीकरणतर्फ लैजान प्रेरित गर्ने समूह र निकायहरू समाजमा नभएका होइनन् । यसलाई रोक्न वा नियन्त्रण गर्न राजनीतिक नेतृत्व इमानदार र नैतिकवान हुनुपर्नेमा त्यो हुन सकिरहेको छैन । यसै कारण समाजमा विभिन्न किसिमका विकृति र विसङ्गतिले मौलाउने अवसर पाइरहेको छ । यसलाई रोक्न सकिएन र यसमा सुधार ल्याउन सकिएन भने समाजमा अझ बढी वितृष्णा र नैराश्य उत्पन्न हुनेछ भन्नेतर्फ अब बन्ने सरकार विशेष चनाखो र सतर्क हुन जरुरी छ ।
यतिबेला समाजको जिम्मेवार तह र निकायमा रहेका व्यक्ति किन जिम्मेवार ढङ्गबाट आफ्नो दायित्व पूरा गरिरहेका छैनन् ? यसको मूल कारण – महाजनो येन गत सः पन्था भनेझै समाजका अगुवाले जे गरिरहेका छन् अथवा जे सिकाइ रहेका छन् तिनका अनुयायीहरूले पनि त्यसैको सिको गर्ने हो । आफूलाई तोकिएको जिम्मेवारी पूरा नगरी शक्ति केन्द्रहरूमा धाउने र त्यसैको आडमा मनपरी गर्ने प्रवृत्ति र सोचको अन्त्य नभएसम्म जस्तोसुकै राजनीतिक पद्धति अवलम्बन गरे पनि देशको प्रगति हुनसक्दैन । भाषणमा वा शब्दमा कृष्णप्रसाद भट्टराईको बखान मात्र गर्नुको कुनै अर्थ छैन । रावणमा जस्तो अहंकार देखाएर रामको गुणगान गाउनुको कुनै अर्थ रहौँँन । हाम्रो राजनीतिको चरित्र यतिबेला यस्तै देखिएको छ । हुनसक्छ आजको समय र परिवेशले सबै नेता किसुनजी जस्तो हुनसक्ने अवस्था छैन र रहँदैन पनि । तर किसुनजीप्रति श्रद्धा, सम्मान छ भने उहाँले अवलम्बन गर्नु भएको नीतिलाई थोरै मात्रामा भए पनि अनुशरण गर्नसकेमा नै त्यसको सार्थकता रहनेछ । अहिले पनि अधिकांश दल र तिनका नेताहरूले राजनीतिक मर्यादाको पालना गरिरहेका छैनन् । पछिल्लो उदाहरणका रूपमा कानुनबमोजिम पदीय मर्यादामा रहेकाले बझाउनु पर्ने सम्पत्ति विवरण र निर्वाचनमा भएको खर्चको हिसाब किताब नबुझाउलाई लिन सकिन्छ । यस विषयमा सम्बन्धित निकायले पटक–पटक तागेता गर्दा समेत बेवास्ता गरिएका समाचार सार्वजनिक भइरहेका छन् । स्थानीय निकायको निर्वाचन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि स्थानीय जनप्रतिनिधिले निर्वाचन खर्च विवरण बुझाउनेतर्फ चासो देखाएको पाइँदैन । सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवार र दलले पनि आफूले गरेको खर्च विवरण फटाफट निर्वाचन आयोगमा बुझाउने हिक्मत गरिरहेका छैनन् । यस्तो संस्कार र चरित्रले राजनीतिमा शुद्धता ल्याउन सक्छ ? यसको अर्थ कुनै पनि दल र तिनका उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर खर्च गरेका छन् भन्ने देखाउँदैन । तीनै तहको निर्वाचनमा उम्मेदवारले असीमित रूपमा खर्च गरेको कुरा सार्वजनिकसमेत भइसकेका छन् । यस प्रवृत्तिले समाजको प्रमुख शत्रुको रूपमा रहेको भ्रष्टाचारलाई न्यूनीकरण नभई मलजल पु¥याएको देखिन्छ । यसलाई रोक्नमा दलहरूको ध्यान किन गएको छैन ? आफैँभित्र रहेको भ्रष्ट प्रवृत्ति अन्त्य नगरेसम्म भाषणमा भ्रष्टाचार नियन्त्रण गर्दछु भनेर कसैले पत्याउनेवाला छैन ।
किसुनजीमा आफूमा रहेको राजनीतिक दर्शन र बौद्धिकतालाई सरल, स्पष्ट र व्यावहारिक रूपमा उतार्नसक्ने विशेष क्षमता र खुबी थियो । नेपाली राजनीतिमा सन्त नेताको रूपमा परिचित भट्टराईको समग्र राजनीतिक चरित्र र जीवन दर्शन नबुझ्नेहरूका लागि उहाँ अव्यावहारिक र हल्का नेताको रूपमा चित्रित हुनुभयो होला तर उहाँका यी विशेषता र गुण जान्ने बुझ्नेहरूका लागि भने उहाँ अत्यन्त सरल र स्पष्ट नेता हुनुहुन्थ्यो । सादा जीवन उच्च विचारका धनी कृष्णप्रसाद भट्टराईले आफ्नो सम्पूर्ण जीवन यसैमा समर्पित गराउनुभयो । उहाँमा रहेको राजनीतिक ज्ञान अनुभव र सीपलाई अनुशरण गर्ने गराउने वातावरण अहिलेको राजनीतिमा कम देखिएको छ । किसुनजीले आफ्नो विचार र दृष्टिकोणमा कहिल्यै कसैसँग सम्झौता गर्नु भएन र राजनीतिक जीवनमा कुनै पद र प्रतिष्ठाको अपेक्षा राखेर काम पनि गर्नुभएन । बीपी केइरालाले तोकिदिएको पार्टीको कार्यवाहक सभापति र २०४६ को परिवर्तनपछि गणेशमान सिंहको प्रस्तावमा नै प्रधानमन्त्री बन्नुभयो हो । त्यसैगरी २०५६ सालको आम चुनावमा पार्टीले पहिले नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेर चुनावमा गएकाले प्रधानमन्त्री हुनुभएको हो । उहाँले जीवनको पछिल्लो चरणमा पार्टीमा बिग्रह हुनलाग्दा केही पाउने खोजीमा भन्दा पार्टीबाट आफूलाई अलग राख्नु नै श्रेयष्कर ठान्नुभयो । उहाँमा अहिले जस्तो राजनीतिक लडाइँ र झगडा गरेर कुनै पद पाउने र बसिरहने अपेक्षा पनि कहिल्यै रहेन । यसरी किसुनजीले आफ्नो समग्र जीवनलाई कर्मयोगमा बिताउनु भयो । त्यसै कारण उहाँको राजनीतिक जीवन दर्शनको अध्ययन बिना गरिने टिप्पणीले उहाँप्रति न्याय गरेको ठहर्दैन । “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” भनेझै कर्ममा विश्वास गर्ने उहाँले कहिल्यै पनि फल पाउने आशामा काम गर्नुभएन । यसरी आफ्नो स्वार्थभन्दा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्नुभएका किसुनजीको जीवनबाट सिक्नुपर्ने धेरै विषय छन् । तीमध्ये केहीको मात्र अनुशरण गर्न सकेमा पनि मुलुक सामु देखापरेका वर्तमानका चुनौतीको सामना गर्न सकिन्छ । र, यसबाट देशको हित र भलाई हुन सक्छ । यसले सन्त नेताप्रतिको सच्चा सम्मान गरेको पनि ठहर्नेछ । आजको राजनीतिक पुस्ता यसको अनुशरण गर्न तयार छ कि छैन ? अहिलेको अहं प्रश्न यही बनेको छ अथवा किसुनजीको सम्झना कति सत्यमा रहेर गरिन खोजिँदैछ ।

प्रकाशित मिति: २०७४/९/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना