लगानी वातावरणमा सुधार (सम्पादकीय)

चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी लगानीमा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आ.व. २०७३÷७४ मा कुल १३ अर्ब रुपियाँ बराबरको विदेशी लगानी भित्रिएकोमा चालु आर्थिक वर्षको पहिलो चार महिनामै १० अर्ब १६ करोड ५३ लाख रुपियाँ बराबर प्रत्यक्ष विदेशी लगानी नेपाल भित्रिसकेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमै यो मात्रामा प्रत्यक्ष वैदेशिक लगानी भित्रिनु खुसीको कुरा हो र यसले आगामी दिन प्रत्यक्ष वैदेशिक लगानीको मात्रा बढ्ने सङ्केत गर्छ । अघिल्ला आर्थिक वर्षका तुलनामा यस वर्ष राजनीतिक स्थिरता, बन्द–हडतालमा कमी, आर्थिक गतिविधिमा सुधार आदि कारणले विदेशी लगानीकर्ता उत्साहित बनेको देखिएको छ । 

२०४६ सालको राजनीतिक परिवर्तनपश्चात् जारी भएको वैदेशिक लगानी ऐन र औद्योगिक प्रवद्र्धन ऐन लगायतले नेपालमा वैदेशिक लगानीका लागि वातावरण बनाएको हो । त्यसपछिको झण्डै तीन दशकको अवधिमा ठूलो परिणाममा वैदेशिक लगानी भित्रिए पनि यसको आकार अपेक्षित रूपमा पुग्न सकेको छैन । वैदेशिक लगानी भिœयाउन धेरै प्रयास भए पनि मुलुकको आवश्यकता र सम्भावनाको तुलनामा भित्रिएको लगानी निकै न्यून छ । लगानीकर्ताको प्रतिबद्धता आउने तर लगानी नहुने समस्याबाट ग्रसित छ । गत वर्षको फागुनमा गरिएको लगानी सम्मेलनमा १४ अर्ब अमेरिकी डलर बराबर लगानीको प्रतिबद्धता आएको थियो तर यो सबै लगानी आउने कुरामा कोही पनि विश्वस्त छैनन् । यसले उपयुक्त वातावरण भए विदेशी लगानी आउन सक्छ तर अहिलेको वातावरण लगानीकर्तालाई आकर्षित गर्नेखालको छैन भन्ने कुराको सङ्केत गर्छ किनभने लगानीकर्ताले लगानीको प्रतिफल हेरेर मात्र लगानी गर्छ । लगानीको प्रतिफल सुनिश्चित नभएसम्म लगानीकर्ताले आँट गर्दैन तर पनि पछिल्लो समयमा धेरै सुधारका काम भएका छन् । नयाँ संविधान बनेर कार्यान्वयनमा आइसकेको अवस्थामा लगानीको वातावरण बनाउन सघाउ पुगेको विश्वास गरिन्छ । नयाँ संविधान कार्यान्वयनका चरणमा छ र तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । संविधानले नै स्थिर सरकारको परिकल्पना गरेको छ र सम्पत्तिमाथिको अधिकार सुरक्षित गरेको छ । पछिल्ला वर्षमा आर्थिक वृद्धिदर बढेको, लगानीसम्बन्धी स्पष्ट नीति र कानुन बनेको, राजनीतिक दलले पनि वैदेशिक लगानी संरक्षण र प्रवद्र्धनका लागि प्रतिबद्धता व्यक्त गरिसकेका छन् । यसले पनि लगानीकर्तामा आकर्षण बढेको हो । पर्यटन, ऊर्जा र सिमेन्टमा लगानी भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष उच्च आर्थिक वृद्धिदर हासिल भए पनि चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिका आर्थिक परिसूचक उत्साहजनक छैनन् । औद्योगिक कर्जाको विस्तार, निर्माण कार्यमा गति, विद्युत् आपूर्ति सहज भएसँगै औद्योगिक उत्पादन क्षेत्रमा सुधार, पर्यटन क्षेत्रमा आएको सुधार लगायतले अर्थतन्त्रमा केही सुधार हुने सङ्केत देखिए पनि विप्रेषण आयमा गिरावट, राजस्व परिचालनमा कमी, शोधानान्तर बचतमा गिरावट जस्ता परिसूचक सन्तोषजनक छैन । यो परिस्थितिमा मुलुकमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न वैदेशिक लगानी अपरिहार्य छ । जलविद्युत्, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्य क्षेत्र विदेशी लगानीको ठूलो सम्भावना भएका क्षेत्र हुन् । यी क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न सरकारले उपयुक्त वातावरण बनाउने प्रयासलाई निरन्तरता दिनैपर्छ । प्रत्यक्ष वैदेशिक लगानीमा निजी क्षेत्रकै पुँजी रहने भएकाले स्वदेशी निजी क्षेत्रले वैदेशिक लगानी भिœयाउन महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । प्रत्यक्ष वैदेशिक लगानी भिœयाउन एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनमा सरलीकरण गर्नुपर्ने आवश्यकता छ । औद्योगिक व्यवसाय ऐन संशोधन भइसकेको छ भने वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, कम्पनी ऐन, श्रम ऐनमा समसामयिक संशोधन आवश्यक छ । विशेष आर्थिक क्षेत्र स्थापना गरेर प्रत्यक्ष वैदेशिक लगानीलाई थप आकर्षित गर्न सकिन्छ ।

 

 प्रकाशित मिति: २०७४/९/११

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना