भ्रष्टाचार नियन्त्रणमा प्रजातान्त्रिक आचरण

pradeep upretiप्रदीप उप्रेती

 

आर्थिक अपराधको रूपमा रहेको भ्रष्टाचारजन्य गतिविधि नेपाललगायत विश्वभरि नै दिनहुँ तीव्र रूपमा वृद्धि हँुदै गएको छ । संसारमा भ्रष्टाचार नहुने स्थान नै छैनभन्दा फरक पर्दैन । समाजको मन्दविषको रूपमा रहेको भ्रष्टाचारले जरो गाड्दै गएपछि नागरिक समाज, परिवार एवं सम्बद्ध मुलुकका राजनीतिक समूह सबैलाई विपत्को भूमरीमा पु¥याउने निश्चित छ । नियम सङ्गतबाहेक अन्य अवैध बाटोलाई पछ्याउँदै अतिरिक्त रकम, वस्तु तथा सेवाको चाहना गर्दै सोको प्राप्ति नै सही अर्थमा भ्रष्टाचार हो । विषेशगरी अस्थिर राजनीतिक चरित्रका कारण भ्रष्टाचारजन्य अपराध मौलाउँदै जान्छ । अराजक परिस्थितिमा मुलुकको ध्यान अन्तै मोडिन जाने भएको हुँदा भ्रष्टाचार पनि मौलाउँदै जान्छ ।
वर्तमान समयमा कुनै न कुनै राजनीतिक समूहको सामिप्यमा नरही नागरिक समाजलगायत अन्य कुनै पनि पक्षको प्रशासनिक कार्यलगायत विकास निमार्णसँग आबद्ध रहने योजना, परियोजना आदि जस्ता कार्य सहज रूपमा सम्पन्न हुन सक्दैन भन्ने मानसिकतामा वृद्धि भएको कारण भ्रष्टाचारका ठूला कसुरमा पनि दलीय प्रभाव परेको प्रस्ट छ । यसैगरी गैरकानुनी कार्यमा कुनै न कुनै दलसँग आबद्ध रहेका व्यक्ति वा समुदाय रहे भएमा ती सम्बद्ध समूहमा राजनीतिक आस्थाका आधारमा सहजै कानुनी उन्मुक्ति पाइन्छ भन्ने सोचाइ वास्तविकतामा पनि देखिएकाले आर्थिक अपराधका कसुरमा वृद्धि भएको होभन्दा फरक नपर्ला । फलतः आर्थिक भ्रष्टाचार नियन्त्रणका लागि कडाभन्दा कडा कानुनको आवश्यकता पर्छ नै किनकि यस क्षेत्रमा गरिने कानुनी कारबाही तथा दण्ड जरिवानाको रकम भ्रष्टाचार गरिने रकमको तुलनामा न्यून रहन जाने भएको हुँदा सम्बद्ध पक्षको मनोबल बढ्न गएको देखिन्छ । आर्थिक अपराधलाई न्यून गर्ने नाममा कडा कानुनी प्रावधान निमार्ण गर्दैमा पूर्ण सफलता भने अवश्य पनि हासिल गर्न सकिँदैन तथापि, धेरै हदसम्म सहजीकरणको वातावरण भने अवश्य पनि प्राप्त हुने नै छ ।
आर्थिक अपराधका सन्दर्भमा भएका अवैध कदमलाई न्यून गर्दै वास्तवमै स्वच्छ प्रशासनयन्त्रको चाहना राख्ने तदारुकता देखाउने हो भने हरेक व्यक्ति, समूह, राजनीतिक दल वा राज्यका अन्य कुनै पनि पक्षले आत्मसंयता अपनाउँदै नागरिकका काम आफ्नै हो भन्ने भावनालाई स्वःस्फूर्त रूपमा विकास गर्ने परिपाटि अँगाल्ने हो भने सफलता हात नलाग्ने प्रश्न उठ्दैन । मुलुकमा जानी नजानी दलीय संरक्षणका कारण भ्रष्टाचार न्यूनीकरण गर्ने कार्यमा असहज परिस्थिति यदाकदा पैदा नभएको होइन । साथै मुलुकका प्रजातान्त्रिक शक्तिले पनि कसुर गरेपछि अवश्य दण्डको भागिदार बन्नुपर्छ भन्ने सन्देश सम्बद्ध पक्षलाई सम्प्रेषण गर्नु नै राज्य पक्षलाई सकारात्मक सहयोग गरेको मान्न सकिन्छ ।
भ्रष्टाचारको क्षेत्रमा अर्को चुनौती के रहेको छ भने हरेक पाँच वर्षको अन्तरालमा मुलुकमा हुने प्रजातान्त्रिक निर्वाचनको समयमा कुनै पनि हालतमा विजय प्राप्त गर्नुपर्छ भन्ने राजनीतिक मानसिकताका कारण स्रोत खुलेको वा नखुलेको रकमको अत्यधिक मात्रामा खर्चिने परिपाटिको विकासले अवैध धनको प्रयोग हुन सक्ने भएको हँुदा अन्ततः आर्थिक अपराधलाई नै प्रत्यक्ष वा परोक्ष रूपमा प्रोत्साहित हुन्छ । तसर्थ, यस्ता गतिविधिलाई अविलम्ब रोकिनुपर्छ । निर्वाचन गतिविधिका लागि अतिरिक्त रकमको जोहो गर्नुपर्दा गैह्रकानुनी तवरबाट आर्जेको रकम खर्चिने परिपार्टीको विकासलाई असल प्रजातान्त्रिक संस्कारको चरित्र मान्न सकिँदैन । अन्ततः यस प्रकारका गतिविधिलाई नियन्त्रण गर्न सकिए भ्रष्टाचार नियन्त्रणमा प्रजातान्त्रिक आचरण विकसित भएको मान्न सकिन्छ ।
दल वा नेतालाई सहयोग गरेपश्चात् पारितोषिक बापत केही प्राप्त गर्न सकिन्छ भन्ने मानसिकताका कारण प्रशासकीय व्यक्तित्वमा नकारात्मक प्रभावले जरो गाडेर अघोषित रूपमा भ्रष्टाचारलाई प्रोत्साहन गर्न मद्दत पुगिरहेको पाइन्छ । तसर्थ, यस्ता क्रियाकलापले मुलुकको स्वच्छ प्रशासनयन्त्रमा व्यावधान आउने तथ्यलाई नकार्न सकिँदैन ।
आमनागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यमा नकारात्मक प्रभावपरी जनहितभन्दा पनि दलीय हितका लागि कार्यगर्ने मनोवृत्तिको विकास भई भ्रष्टाचारजन्य मनस्थितिको सम्भावना रहन्छ, जसका कारण प्रशासनयन्त्रमा रहनुपर्ने पारदर्शिता, जवाफदेहिता, कार्यकुशलता, एवं प्रशासनको दक्षतामा समेत गम्भीर प्रश्नचिह्न लाग्छ । वास्तवमा भन्ने हो भने कुनै पनि मुलुकको प्रशासनयन्त्र राजनीतिबाट पूर्ण रूपमा मुक्त रही कार्य गर्ने वातावरण नै अब्बल प्रजातान्त्रिक व्यवहार हुन् ।
हालका दिनमा भ्रष्टाचारको सम्बन्धमा मुलुकको छवि धमिलिएको पाइन्छ । यस सन्दर्भमा सन् २०१६ मा ट्रान्सपरेन्सी इन्टरनेसनले प्रकाशित गरेको सूचकाङ्क अनुसार विश्वका अत्यधिक मात्रामा भ्रष्ट्राचार हुने १७६ मुलुकमध्ये नेपालको स्थान १३१ औँ रहेको देखाइनुको साथै समग्र दक्षिण एसियामा तेस्रो स्थानमा रहेको छ भन्ने तथ्यले मुलुकको साख गिर्दै जान सक्ने हँुदा यस अवस्थालाई क्रमशः सुधार गर्दै आर्थिक अपराधलाई न्यूनीकरण गर्ने कार्यमा हरेक प्रजातान्त्रिक शक्तिले आ–आफ्नो स्थानबाट सकारात्मक सहयोग गर्नु नै वास्वविक रूपमा प्रजातान्त्रिक आचरण अवलम्बन गरेको मान्न सकिन्छ । यस्ता कदमले मुलुकको गरिमा सधैँ नै उच्च रहन्छ ।
मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न भई स्थिर सरकारको सम्भावना देखिएको छ । तसर्थ, अब सम्पूर्ण पक्षको ध्यान आर्थिक समृद्धिमा नै केन्द्रित रहनुपर्छ । यसका लागि सर्वप्रथम आर्थिक अपराधलाई नै समूल रूपमा अन्त्य गरेर मुलुकबाट भ्रष्टाचार पूर्ण रूपमा अन्त्य गर्ने प्रयासलाई उच्च प्राथमिकतामा राखिनुपर्छ । यसका लागि क्रमिक रूपमा भ्रष्टाचारजन्य क्रियाकलापलाई न्यूनीकरण गर्दै आर्थिक पारदर्शिताको अनुभूति आमनागरिक तथा समाजलाई दिँदै जानु उपयुक्त हुन्छ ।

 प्रकाशित मिति: २०७४/९/१३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना