तातोपानी नाका (सम्पादकीय)

वि.सं.२०७२ सालको विनाशकारी भूकम्पबाट नेपाल तथा चीनतर्फका भौतिक पूर्वाधार क्षतिग्रस्त भएपछि बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अहिलेसम्म पुनःसञ्चालनमा आउन सकेको छैन । पटकपटक उच्च अधिकारी र राजनीतिक तहमा भएका छलफलमा दुवै पक्षले यथाशीघ्र नाका सञ्चालनमा आउने बताउँदै आएका र भूकम्पबाट क्षतिग्रस्त भएका पूर्वाधार पुनःनिर्माण गरिए पनि भन्सार नाका सञ्चालनमा आउन सकेको छैन । यसले गर्दा विगतमा अत्यन्तै व्यस्त रहने यो नाका बन्द छ र यहाँबाट व्यापारी र यसमै आश्रित परिवार वैकल्पिक उपाय खोज्न बाध्य भएका छन् । नाका सञ्चालनमा कहिले पूर्वाधार त कहिले सुरक्षाको विषय उठ्ने गरेका छन् । पछिल्लोपटक हालै नेपाल र चीनका सुरक्षाकर्मीबीच चीनको खासामा भएको बैठकमा चिनिया अधिकारीले सुरक्षा व्यवस्था उपयुक्त भए नाका सुचारु गर्न सकिने सङ्केत गरेका छन् । बैठकमा चिनिया पक्षले ‘ज्वाइन्ट कमान्ड मेकानिज्म एग्रिमेन्ट’को कुरा उठाएका छन् र यसलाई नेपालले पूरा गरे नाका खुल्ने बताएका हुन् । 

सन् १९७० ताका निर्माण गरिएको अरनिको राजमार्ग र तातोपानी भन्सार नाका नेपाल चीनबीच व्यापार हुने एकमात्र भरपर्दाे स्थल मार्ग हो । पछिल्लो समय आर्थिक क्षेत्रमा चीनले गरेको प्रगति र व्यापार विस्तारले गर्दा चीनसँग नेपालको व्यापार बढेको छ । यसैलाई दृष्टिगत गरी दुवै देश व्यापार र आर्थिक सहयोग विस्तार गर्न तयार देखिएका छन् । चीन नेपाल हुँदै दक्षिण एसियामा आफ्नो व्यापार र आर्थिक प्रभाव विस्तार गर्न चाहन्छ भने नेपाल पनि विश्व अर्थतन्त्रमा महाशक्ति बन्दै गरेको चीनसँग बलियो आर्थिक सम्बन्ध बनाउन चाहन्छ । यसैको फलस्वरूप दुवै देश सडक सञ्जाल विस्तार गर्न चाहन्छन् । चीनले नेपाली सीमा क्षेत्रसम्म सडक र रेलमार्ग विस्तार गरिरहेको छ भने नेपालले पनि चिनिया सीमासम्म सडक विस्तार गर्ने योजनालाई अगाडि बढाएको छ । नेपाल सरकारले चीनसँगका सीमामा जोड्न एक दर्जन सडक योजना प्राथमिकतामा राखेको छ । लामो समयसम्म व्यापारको मुख्य मार्गका रूपमा रहेको तातोपानी नाका सुचारु गर्न नेपाल सरकारले आग्रह गरिरहेको छ भने तातोपानी नाका बन्द भएपछि खुला गरिएको केरुङ नाकामा थप पूर्वाधार बनाइरहेको छ । मुस्ताङको कोरला नाकासम्म सडक पुगे पनि नाका सञ्चालनमा आउन सकेको छैन । यसबाहेक ओलाङ्चुङगोला, किमाथाङ्का, यारी, हिल्सा आदि नाका व्यापारिक दृष्टिले प्राथमिकतामा छन् । चीनले केरुङ सीमासम्म रेलमार्ग विस्तार गरिरहेको अवस्थामा त्यसलाई काठमाडौँ, पोखरा र लुम्बिनीसम्म विस्तार गर्न आवश्यक सम्भाव्यता अध्ययन पनि सुरु भइसकेको छ । यी कामले दुवै देश रेल तथा सडक यातायातलाई भरपर्दाे बनाउने प्रयासमा लागेका छन् ।
वार्षिक २० अर्ब रुपियाँको आयात र पौने तीन अर्ब रुपियाँ बराबरको निर्यात भइरहेको तातोपानी नाका लामो समयदेखि बन्द हुँदा नेपालले ठूलो आर्थिक क्षति भोग्नुपरिहेको छ । यो नाकाबाट हुने व्यापार अहिले केरुङमा सरेको भए पनि तातोपानी नाका पनि सञ्चालनमा आउन जरुरी छ । तातोपानी नाका नजिकै रहेको लार्चामा चिनिया सरकारकै सहयोगमा एक अर्ब २० करोड रुपियाँको लागतमा निर्माणाधीन सुक्खा बन्दरगाह अहिले प्रयोगविहीन अवस्थामा छ । काभ्रेको पाँचखालमा प्रस्ताव गरिएको अर्काे सुक्खा बन्दरगाहको योजना पनि अलपत्र पर्ने अवस्थामा पुगेको छ । त्यसैले यी पूवार्धारको उपयोगका लागि पनि तातोपानी नाका पुनः सञ्चालनमा आउन आवश्यक छ । अर्काेतिर, नेपाल सरकारले पारवहन सन्धि गरिसकेको र त्यसलाई प्रभावकारी बनाउन अन्य सन्धि, सम्झौता गर्ने अवस्थामा पुगेको छ । दुई देशबीच स्वतन्त्र व्यापार सम्झौता गर्ने तयारी पनि भइरहेको छ । नेपाल र चीनबीचको बढ्दो आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सहज बनाउन पनि सम्भाव्य नाका सञ्चालन गर्न आवश्यक छ । त्यसमा पनि सबै भौतिक पूर्वाधार भएको तातोपानी नाकालाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्छ भने हाल सञ्चालनमा रहेको केरुङ नाकामा भौतिक पूर्वाधार विकास गरिनुपर्छ । कोरला नाकासहित अन्य नाकालाई पनि सञ्चालन गरेर दुई देशको आर्थिक तथा व्यापारिक सम्बन्ध झन् बलियो बनाउन सकिन्छ ।

 

 प्रकाशित मिति: २०७४/९/१३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना