यातायात कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा

नारायण काफ्ले

काठमाडौँ, पुस १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी अनुमतिपत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने प्रक्रियामा गैरकानुनी रूपमा संलग्न भएको आरोपमा यातायात कार्यालय सुकेधाराका प्रमुख र एक शाखा अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारले यसअघि पक्राउ परेका कर्मचारीको बयानका आधारमा कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यामलाल ढकाललाई बिहीबार कार्यालयबाटै पक्राउ गरेको हो ।
आयोगका सहन्यायाधिवक्ता एवम् प्रवक्ता पद्मप्रसाद पाण्डेयले कार्यालय प्रमुख भट्टराई र शाखा अधिकृत ढकाललाई नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशको सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गर्ने सन्दर्भमा भइरहेको छानबिनको निरन्तरतामा उहाँहरूलाई नियन्त्रणमा लिइएको हो । ’
अख्तियारले यातायात कार्यालयको निरीक्षण तथा खोजी गर्ने क्रममा दूतावासको सर्टिफिकेट तथा सिफारिसपत्र फेला पारेको थियो । सर्टिफिकेट र सिफारिसपत्र ठूलो मात्रामा फेला पारिएको अख्तियारले जनाएको छ । भट्टराई र ढकालको घटनामा संलग्नता लगायत विषयमा अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।
यातायात कार्यालय सुकेधाराले विदेशी अनुमतिपत्र नेपालीकरणमा अनियमितता गरेको विषयमा यातायात व्यवस्था विभागले पनि छानबिन गरेको थियो । विभागले कार्यालय प्रमुख भट्टराई र शाखा अधिकृत ढकाल अनियमिततामा संलग्न भएको निष्कर्षसहित जिम्मेवारी मुक्त गरेको जानकारी बुधबार मात्र दिएको थियो ।
जानकारीसँगै आवश्यक कारबाहीका लागि फाइल अख्तियार पठाएको थियो । तर, विभागले जिम्मेवारी मुक्त गरे पनि कार्यालय प्रमुख भट्टराई र शाखा अधिकृत ढकाललाई अख्तियार टोलीले बिहीबार कार्यालयबाटै पक्राउ गरेको हो ।
अख्तियारले यातायात कार्यालय सुकेधारामा कार्यरत नायव सुब्बा यादव पौडेल र खरिदार सुमन पोखरेललाई आइतबार घुससहति पक्राउ गरेको थियो । साउदी अरबियाको सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पौडेल र पोखरेललाई अख्तियारले नियन्त्रणमा लिएको थियो । छ हजार रुपियाँ घुससहित अख्तियार टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पौडेल र पोखरेलको बयान र विभागको सिफारिसका आधारमा कार्यालय प्रमुख भट्टराई र शाखा अधिकृत ढकाल पक्राउ पर्नुभएको हो ।
भूमिसुधारका नासु पक्राउ
यसैबीच, अख्तियारको विशेष टोलीले भूमि सुधार कार्यालय भक्तपुरका नायव सुब्बा राजु गौतमलाई छ हजार रुपियाँ घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको रकमसहित कार्यालय नजिकैबाट गौतमलाई अख्तियार टोलीले पक्राउ गरेको हो । पक्राउ परेका गौतममाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना