७५ प्रतिशत होटल बुकिङ नयाँ वर्षमा भरियो पोखरा

एकराज गिरी

 

पोखरा, पुस १५ गते । पर्यटकीय सहर पोखरामा अँग्रेजी नयाँ वर्षसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । एक साता यता पोखराका होटल तथा रेष्टुरेन्टमा आन्तरिक तथा बाह्य पर्यटकको भीड बढेको हो । अँग्रेजी नयाँ वर्षसँंगै पोखरामा पर्यटकको सङ्ख्या बढेको पर्यटन व्यवसायीहरूले बताउनुभएको छ ।
पोखरामा पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित देखिएका छन् । नयाँ वर्षका लागि पोखराका ७५ प्रतिशत होटल बुकिङ भइसकेको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । ‘नयाँ वर्ष मनाउन आउनेहरूले होटल बुकिङ ७५ प्रतिशत देखिएको छ, त्यो अझै बढछ । ’ अध्यक्ष तुलाचनका अनुसार अहिले आन्तरिक पर्यटकको सङ्ख्या बढी रहेको छ । बाह्य पर्यटकको भन्दा आन्तरिक पर्यटकको सङ्ख्या बढी अध्यक्ष तुलाचनले भन्नुभयो, आन्तरिक पर्यटक ५५ प्रतिशत र अन्य २० प्रतिशतको हाराहारीमा छन् । pokhara lake side
उहाँले पोखराका होटलहरूको अबस्था अहिले सन्तोषजनक रहेको बताउँदै ३० र ३१ तारिखमा होटल बुकिङ सय प्रतिशत हुने बताउनुहुन्छ । बुकिङ नगरी आउने आन्तरिक पर्यकको सङ्ख्या २५ प्रतिशत हाराहारी हुन्छ, त्यसैले नयाँ वर्षको दिन र अघिल्लो दिन थप बढी हुने भएकाले बुकिङ सत प्रतिशत हुन्छ । उहाँकानुसार पोखरामा चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या सोचे जस्तो छैन । भूकम्पछि घटेको चिनियाँ पर्यटकको सङ्ख्यामा अझै सुधार नआएको उहाँको भनाइ छ । ‘भूकम्पपछि बिग्रिएका सडक निर्माण नहँुदा चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या सोचे जस्तो छैन र अन्य देशका पर्यटक पनि आउने नसक्दा आन्तरिक पर्यटकले नै राहत मिलेको छ । ’ अङ्ग्रेजी नयाँ वर्ष मनाउन अन्यत्र जाने पर्यटकलाई पोखरा ल्याउन पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । विगत १८ वर्षअघि पर्यटकलाई पोखरा आकर्षित गर्न सडक महोत्सवको योजना ल्याइएको रेवान पोखराका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेल बताउनुहुन्छ ।
यस वर्ष रेष्टुराँ एण्ड बार एसोसिएसन पोखराले डिसेम्बर २८ देखि जनवरी १ सम्म लेकसाइडको ३ किलोमिटर क्षेत्रमा ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऊँ नारा दिएर महोत्सव आयोजना गरेको छ ।
यहाँका होटल र रेष्टुराँ व्यवसायीले पनि स्थानीय एवं राष्ट्रिय कलाकार बोलाएर महोत्सवलाई विशेष बनाउने बताएका छन् । नयाँ वर्षको स्वागतमा पोखराको आकाशमा आतीशबाजी समेत गरिने भएको छ । करिब पाँच मिनेट जति आतीशबाजी गरेर नयाँ वर्षको स्वागत गरिने हुदाँ त्यही हेर्न हजारौँ आन्तरिक पर्यटक पोखराको फेवा किनार पुग्ने व्यवसायीको भनाइ छ । त्यही आतीशबाजी हेर्न छिमेकी जिल्ला र पोखरेलीहरू आउने गरेका छन् रेवान पोखराका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । ‘नयाँ वर्ष र क्रिसमसमा बढी भीडभाड हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले होटल अग्रिम बुकिङ गरेका
छन्,’ उहाँले भन्नुभयो ।
पोखरामा पर्यटकस्तरका छ सयभन्दा बढी होटल सञ्चालनमा छन् । सञ्चालित होटलमध्ये पश्चिमाञ्चल होटल सङ्घमा चार सय होटल आबद्ध छन् । ती होटलहरूमा करिब १८ हजार बेड रहेको होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । उहाँका अनुसार थप दुई हजार बेड बन्दै रहेको र आगामी दुई वर्षभित्र २० हजार बेड पुग्ने र एकै रातमा २० हजार पर्यटक पोखरामा राख्न सकिने छ । पोखराको होटल क्षेत्रमा मात्रै हालसम्म दुई खर्व रुपियाँ लगानी भैसकेको
अध्यक्ष तुलाचनले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना