पश्चिम नेपालका प्रसिद्ध देव श्रीमष्ठो महाराज

शान्ति भट्ट (फुलारा)

 

श्रीमष्ठो देवता पश्चिम नेपालमा सुनिने चर्चित धार्मिक नाम हो । पश्चिम नेपालका फरक फरक स्थानमा फरक उपनामले परिचित भए पनि मूल श्रीमष्ठो महाराज देवताको श्रीमष्ठो महाराजको जाँत बारेमा केही जानकारी प्रस्तुत गरिएको छ । डोटी जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नं.६ (साविकको भूमिराजमाडौं गाउँ विकास समिति) फलेडी, छत्रेश्वरमा अवस्थित श्रीमष्ठो देवताको मुख्य माणु (मन्दिर) कपल्लेकी केदारेश्वर, डोटीबाट पूर्व चौरपाटी, अछामबाट पश्चिम, लाना केदारबाट उत्तर र भागेश्वर दिपायलबाट दक्षिण दिशाको केन्द्र बिन्दुमा रहेको छ ।
इतिहास ः
करिव ६०० वर्षअघि भारतको कुमाउ गढवालबाट नेपाल आएका ब्राह्मणले जुम्ला जिल्लाको सिञ्जा भन्ने स्थानमा श्रीमष्ठो देवताको स्थापना गरेको किंवदन्ती छ । पछि ती ब्राह्मणले सिञ्जाबाट श्रीमष्ठो देवतालाई अछाम जिल्लाको पाइल भन्ने स्थानमा ल्याई थुवा÷चौरपाटी माणुको स्थापना गरी पूजापाठ सुरु गरिएको हो । श्रीमष्ठो देवताको पूजा गर्नको लागि डोटी जिल्ला फलेडी निवासी एक व्यक्ति भाद्र अन्तरे चतुर्दशीका दिन अछामको थुवा मन्दिर जाने क्रममा डोटीको नारी दाङमा रहेको सेती गंगा
(नदी) तर्दा झमेलो (नदी तर्न प्रयोग गरिने तुइन) भाचिन गई गंगामा खस्न पुगे । ती व्यक्ति नदीमा खस्ने वित्तिकै थुवा माणुमा रहेका श्रीमष्ठाको धामी काप्नु भएछ । धामी काप्दै गर्दा उहाँले लगाएको कपडाको बाहुलोमा पानी चुहिएपछि धामीले मरभर (देवता मान्न त्यहाँ उपस्थित भक्तजन) लाई मेरो ताकलो (पूजाका लागि थुवा माणु आउने क्रममा नारी दाङ्ग नदीमा बगेको फलेडी निवासी व्यक्ति) लाई नीरले बगायो भनेछन् । त्यो सुनेपछि मरभरले धामीलाई आदरपूर्वक भने, “हामीलाई के थाहा परमेश्वर, त्यसो भए बगेको ताकलोलाई नदीको तिर (किनारा) लगाइ बचाइ दे” । धामीको शक्तिले सेती नदीमा बग्न लागेको व्यक्तिलाई नदीको छालले दाङ क्षेत्रको किनारामा पु¥याएछ र उनी बाँचेछन् । ती व्यक्ति नदीबाट बाँचेर हिँड्दै अछामको थुवा माणु आई पुगेको देखेपछि धामीले “मेरो ताकलो आइपुग्यो” भनेछन् । ती भक्तको दुःख र श्रीमष्ठोप्रतिको सच्चा आस्थाबाट देवता प्रसन्न भएपछि धामीले एउटा शिला लगेर तेरो गाउँमा श्रीमष्ठो देवताको मन्दिर बनाई त्यही पुज्नु भने । पछि अछामको थुवा माणु भत्किन गई फलेडीको छत्रेश्वरमा श्रीमष्ठा देवताको माणु विधिवत् रूपमा स्थापना भएको भनाइ छ ।
पूजा विधि ः
श्रीपञ्चमी, वैशाख शुक्ल एकादशी, भाद्र अन्तरे चर्तुदशी र कार्तिक शुक्ल नवमी, दशमी र एकादशी
(जाँत बनाउने विशेष पर्व) का दिन जोशी थरका पुजारीद्वारा श्रीमष्ठाको देवताको मुख्य मन्दिर रहेको छत्रेश्वर लगायत टापु, भराण र ओखलढुङ्गा मन्दिरमा रहेका शिव–गणेशका प्रतिमा तथा अभोलिङ्गको पूजा गरिन्छ । पूजा सुरु गर्दा पुजारीले “गणनान्त्वा गणपति गुन्हबामय..” भन्ने बेद मन्त्रको उच्चारणबाट सुरु गरिन्छ । पूजा गर्दा धामीहरू काँप्छन् (डोटेली भाषामा देवता गान्ने) भने दमाई÷ढोलीले चेटो दाइनो, दमाहा, भानु र नरसिंहा आदि बजाउँदछन् । चेटो दाइनुको आवाज (डोटेली भाषामा घाई) सुनेपछि सवै भक्तजनहरूले पूजाली सुरु भएको सङ्केत पाउँछन् । यसैगरी श्रीमष्ठाको भराण र मन्दिरमा रहेका शिवजी, गणेशजीका मूर्तिहरूको नियमित पूजापाठ, धुपबत्ती श्रीमष्ठो देवताको भराणी÷धामीले नियमित रूपमा साँझ बिहान गर्ने चलन छ । विशेषतः कार्तिक शुक्ल एकादशीका दिन बनाइने जाँतको अवसरमा भराणी÷धामी आ आफ्नो घाईमा देवता काँप्दै भक्तजनको माग सम्बोधन गर्ने, आफ्नो क्षेत्रमा सुख, शान्तिको लागि एक वर्षे भविष्यवाणी गर्ने गर्छन् । शुक्ल दशमीको रात युवाले देउडा खेलेर धुमधामपूर्वक रतेणी मानी मनोरञ्जन गर्ने चलन पनि निकै रोचक छ । जाँत पर्वको आनन्द सामाजिक, सांस्कृतिक, पारिवारिक र अन्तरपुस्ता ज्ञान हस्तान्तरणको दृष्टिले निकै महìवपूर्ण छ ।
पुजारी चयन
फलेडी निवासी पुजारी हुनयोग्य जोशी परिवारको जेठो सन्तानले पुजारीको जिम्मेवारी पाउने परम्परा छ । पाँच राठका प्रतिनिधिको सहमतिमा पुजारी छनोट गर्ने प्रचलन रहेको छ ।
भराणी तथा धामी चयन ः
पाँच राठमध्ये जोशी परिवारको जेठो सन्तानमा जसलाई देवता आउँछ र धामी हुन योग्य छ भनी पाँच राठका प्रतिनिधि, धामी र पुजारी सहभागी पञ्चरात्री भेलाले नयाँ धामीको परीक्षण गरी उपयुक्त देखेमा बालो पगरी पहिराई विधिवत् रूपमा भराणी चयन÷स्वीकृति गरिन्छ । अन्य धामीको हकमा सम्बन्धित राठ÷परिवारको योग्य देवता आएको व्यक्तिलाई पाँच राठकै सहमति वा पञ्चरात्री भेलाबाट चयन गरिन्छ ।
निर्णय प्रक्रिया
श्रीमष्ठो देवतालाई अछामको थुवाबाट डोटीको छत्रेश्वरमा ल्याउने क्रममा बाटोमा सहयोग गर्ने समुदायको योगदानको मूल्याङ्कन गर्दै सुरुका चार दशकसम्म श्रीमष्ठो देवतासम्बन्धी निर्णय पाँचपालीबाट गरिने जनश्रुति रहेको छ । पाँचपालीअन्तर्गत अछाम सोकटो–साउन, डोटी मौराको–जेठारो, भिक्याल–थापा, वायलको–बोगटी, रानागाई–राना, ब्वारको–रावल र फलेडीवासी पर्दथे । । त्यसपछि अन्य जिल्ला तथा टाढाका गाविसबाट पाँचपालीका मरभरलाई फलेडी आई देवतासम्बन्धी निर्णय गर्न निकै कठिन परेको यर्थाथलाई पाँचपाली र देवताका पुजारी, धामीले महसुश गरी फलेडीमै बस्ने पाँचपाली मध्येका एक समुदाय फलेडी निवासी पाँच राठलाई आवश्यक निर्णय गर्ने अधिकार प्रदान गरियो । श्रीमष्ठो देवतासम्बन्धी सबै कार्य हाल पाँच राठको सहमतिबाट गरिन्छ । अन्य स्थानबाट आउने पाँचपालीका मरभरहरूलाई श्रीमष्ठाको पर्वमा फलेडीबासीले आमन्त्रण गरी सत्कार गर्ने र धामीले उहाँहरूको चाहनाबमोजिम आर्शीवाद दिने प्रचलन अझै जीवन्त रहेको छ ।
श्रीमष्ठो देवताको शक्ति
श्रीमष्ठो देवताको क्षेत्र, त्यहाँका नागरिक तथा देवताप्रति विश्वास गर्ने सबै भक्तजनलाई श्रीमष्ठो देवताले संरक्षण गर्छ भन्ने पूर्ण विश्वास छ । श्रीमष्ठो देवताप्रति सच्चा आस्था राख्ने व्यक्तिलाई रोगव्याधी नलाग्ने, उनीहरूको दुःख दरिद्र नास हुने, पुत्र÷पुत्रीलाभ हुने, आनामाना (रोजगारी) प्राप्ति हुने, सुख–शान्ति र न्याय मिल्ने मात्र नभई सच्चा मनले सोचेको सबै प्रकारका इच्छा पूरा हुन्छ भन्ने आम विश्वास रहेको छ । श्रीमष्ठाको उत्पत्तिमा उल्लेख भएबमोजिम सच्चा आस्था र मनले अछामको थुवा मन्दिरमा श्रीमष्ठो देवताको पूजा गर्न जाने क्रममा फलेडीबासीको उद्धार भएको घटनाबाट समेत श्रीमष्ठो महाराज देवताको शक्तिबारे सहज अनुमान गर्न सकिन्छ ।
श्रीमष्ठो देवताका विशेष पर्व ः
वैशाख शुक्ल एकादशी, भाद्र अनन्त चर्तुदशी, कार्तिक शुक्ल पक्ष (नवमी–दशमी–एकादशी) र माघको श्रीपञ्चमी मुख्य पर्व हुन । यसमध्ये कार्तिक शुक्ल एकादशीका दिन श्रीमष्ठो देवताको भव्य रूपमा जाँत मनाइन्छ । यस दिन छिमेकी जिल्ला तथा नगरापालिका तथा गाउँपालिकाबाट ठूलो सङ्ख्यामा भक्तजन आई श्रीमष्ठो देवताको दर्शन तथा पूजाआजा गरी मनोकांक्षा पूरा गर्न धामीबाट आर्शिवाद लिन्छन् । धामीहरू आफ्नो घाई (विशेष आवाज) मा नाँच्छन, लोकबारे भविष्यवाणी गर्छन् । जाँत हुनु अघिल्लो राति रतेणी मनाउँछन् । उक्त रतेणीमा देवता काप्ने, देउडा खेल्दै आनन्द लिने गरिन्छ ।
श्रीमष्ठो देवताकाका धामीको मुख्य जिम्मेवारी श्रीमष्ठोको भराणीले मष्टाको मन्दिरमा दैनिक पूजापाठ गर्नु र भराणको संरक्षण गर्नु हो । मटृेको धामीले आफ्नो क्षेत्रभित्रको माटोको रेखदेख गर्न, आफ्नो क्षेत्रमा रीतिथिति कायम गराई सुख शान्ति कायम गराउनु हो । साथै बेरसिमे, गोदारी, लाटो, गङरी र खडायतको धामीहरू श्रीमष्ठो देवताका संरक्षक मानिन्छन् ।
श्रीमष्ठो देवता नेपालमा निकै चर्चित हुनुका साथै व्यापक जनआस्था समेत छ । उक्त आस्था र शक्तिलाई दिगो बनाई राख्न यसका भराणी÷धामी, पुजारी एवं भक्तजन पूर्ण निष्ठावान, आचरणयुक्त र नियमित बन्नु नितान्त जरुरी छ । जीवन निर्वाहको समस्यामा रहेका भराणी÷धामी तथा पुजारीबाट श्रीमष्ठो देवताको शक्ति र जनआस्थालाई बचाई राख्न निकै कठिन छ । व्यक्तिगत जीवनलाई सदैव सार्वजनिक जीवनमा समर्पण गर्ने यसका भराणी÷धामी तथा पुजारीहरूलाई जीवन निर्वाह गर्न सक्ने अवसर सिर्जना गर्नु अपरिहार्य छ । उहाँहरूको जीवन निर्वाह गराउन श्रीमष्ठाको आन्तरिक आय(गुठी) बलियो हुनुपर्छ । आन्तरिक गुठी मजबुद बनाउन यसको शक्ति, ऐतिहासिक पृष्ठभूमि र मनमोहक वातावरणबारे भक्तजन एवं धार्मिक पर्यटकलाई उपयुक्त माध्यमद्वारा जानकारी गराई पूजा तथा पर्व विशेषमा त्यस क्षेत्रमा आउन आकर्षण गर्नु पर्दछ । निश्चित रकम, सुनचाँदी र जग्गा दान गर्ने व्यक्तित्वको नाम शिलालेखमा उल्लेख गरी प्रसंशापत्र प्रदान गर्ने असल परम्पराको सुरुवात गर्नु जरुरी छ । साथै सरकारी तवरबाट समेत यस धार्मिक संस्कृतिको जगेर्नाका लागि उपयुक्त संरक्षण गरिनु पनि त्यत्तिकै आवश्यक छ । भराणी÷धामी तथा पुजारीलाई जीवन निर्वाह गर्ने वातावरण सिर्जना उपयुक्त देखिन्छ । यसका लागि मुख्य मन्दिर क्षेत्र रहेको छत्रेश्वर परिसरदेखि बगरसम्मको क्षेत्रको धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न गुरु योजना तयार गर्नु आवश्यक छ । सार्वजनिक निजी साझेदारीमा पर्व विशेष तथा अन्य समयमा दर्शनका लागि आउने भक्तजनलाई बसोवासको साथै भौतिक पूर्वाधारको विकास (सडक, खानेपानी, विजुली) गर्नु आवश्यक छ । धार्मिक पर्यटकलाई मनोरञ्जन प्रदान गर्न भ्यू टावर तथा बगँैचा निर्माणलगायत श्रीमष्ठो शक्तिबारे उपयुक्त प्रचारप्रसार गर्न सके यसले पनि सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

 प्रकाशित मिति: २०७४/९/१५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना