एक करोड जनसङ्ख्या रहन सक्ने राजधानी संरचना


bamdev gautamवामदेव गौतम

 

नेपालको राजधानी काठमाडौँ उपत्यका प्राकृतिक रूपले संसारकै अत्यन्त सुन्दर स्थानमा अवस्थित छ तर यसको सही व्यवस्थापन र संरक्षण हुन सकेको छैन । राजधानी काठमाडौँ नेपाली जनताको सभ्यता, संस्कृति र समृद्धिको पनि केन्द्र हो । भविष्यमा हजारौँ वर्षसम्म यसलाई केन्द्रका रूपमा संरक्षित र विकसित गरिरहनुपर्ने छ । नवनिर्माणको यस अवधिमा राजधानी क्षेत्रलाई प्राकृतिक र भौतिक पूर्वाधारसहित अत्याधुनिक, सुन्दर र आकर्षक बनाउन यस्ता काम गरिहाल्नु आवश्यक छ ।
– काठमाडौँ, ललितपुर र भक्तपुरसहित मकवानपुरको टिस्टुङ, दामन र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबीसेसम्मको सम्पूर्ण क्षेत्र, बिदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने सम्पूर्ण त्रिशुली उपत्यका क्षेत्र, उत्तरमा रसुवाको लाङटाङ उपत्यका तथा सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, इन्द्रावती उपत्यका, काभ्रेपलान्चोकको दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी आधुनिक राजधानीको विकास गरिनेछ ।
– काठमाडौँ उपत्यका र राजधानी विस्तारित क्षेत्रमा गुरुयोजना प्रकाशित नहुँदासम्म नयाँ निजी संरचना निर्माणको काम पूर्ण रूपले बन्द गराइनेछ ।
– महाअभियानको पहिलो वर्षमै अधिकार सम्पन्न राजधानी सुधार, विस्तार तथा विकास प्राधिकरण निर्माण गरिनेछ । प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी उत्कृष्ट परामर्शदातृ संस्थालाई माथि उल्लेख गरिएको क्षेत्रभित्र राजधानी सुधार तथा विकासका लागि अत्याधुनिक साधन प्रयोग गरेर गुरुयोजना निर्माण गर्ने जिम्मा दिनेछ ।
– विस्तार गरी विकसित गरिएको राजधानीमा एक करोड जनसङ्ख्या बसोबास गर्न सक्ने गरी एउटा मेगा शहरसहित २० वटा अत्याधुनिक स्याट्लाइट शहर विकास गरिनेछ । सबै स्याट्लाइट शहर स्मार्ट सिटीको अवधारणामा विकास गरिनेछ ।
– महाअभियानको पहिलो वर्षदेखि नै राजधानी उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सरकारी, सार्वजनिक, निजीलगायत सबै प्रकारका सवारीसाधन विस्थापन गरी विद्युतीय तथा हाइड्रोजन ऊर्जा सवारीसाधन सञ्चालन शुरु गरिनेछ ।
– उपत्यका बाहिरबाट आउने पेट्रोलियम पदार्थबाट सञ्चालित हुने सवारीसाधन राजधानी बाहिर रहेका सुख्खा बन्दरगाहमा रोकिनेछन् । त्यहाँबाट तीव्र गतिका विद्युतीय तथा हाइड्रोजन ऊर्जाबाट चल्ने गाडीहरूले सबै सवारी र सामानलाई काठमाडौँ उपत्यकामा भिœयाउने छन् ।
– हरेक स्टेशनमा सहकारी र सामूहिकतामा आधारित बहुतले सुपर मार्केट भवन र बहुतले सःशुल्क कार पार्किङ भवन निर्माण गरिनेछन् ।
– निजी प्रयोगका लागि परिवारमा आवश्यकताको आधारमा हाइड्रोजन इन्धन र विद्युतीय गाडी राख्न पाउने व्यवस्था लागू गरिनेछ ।
– महाअभियानको तेस्रो वर्षभित्र राजधानी उपत्यकाबाट सबै किसिमका कारखाना, इँटा भट्टा र वर्कसप हटाइने छन् ।
– राजधानी उपत्यकाका भूकम्प प्रतिरोधक नभएका तथा अव्यवस्थित संरचनाका परिवारलाई चलनचल्तीको मुआब्जा दिई नवनिर्मित वैकल्पिक राजधानी तथा स्याट्लाइट शहरमा स्थानान्तरण गरिनेछ ।
– अधिग्रहण गरिएका जमिनमा गुरुयोजना बमोजिम सम्पूर्ण संरचना महाअभियानको अन्तिम वर्षभित्र सम्पन्न हुने गरी निर्माण शुरु गरिनेछ ।
– राजधानीमा भित्री, बाहिरी र बृहत् गरी तीन वटा चक्रपथ निर्माण, विस्तार तथा विकास गरिनेछ ।
– विस्तारित क्षेत्रबाट काठमाडौँको सिंहदरबार आइपुग्न एक घन्टाभन्दा कम समय लाग्ने गरी द्रुतगतिका सवारीसाधन सञ्चालन गरिनेछ ।
– सबै चक्रपथ र अन्य सडकमा समानान्तर मेट्रो रेल सञ्चालन गरिनेछ । भित्री चक्रपथमा फ्लाइओभर मेट्रोरेल सञ्चालन गरिनेछ ।
– राजधानीलाई विद्युत्, पिउने र धुने पानीको अभाव नहुने गरी सुनिश्चित गरिनेछ । फोहोर, धुलो, हिलो र सबै किसिमका प्रदूषणबाट मुक्त गरिनेछ ।
– राजधानी उपत्यकाभित्र कम्तीमा ५० वटा ताल तथा पोखरीको विकास गरिनेछ ।
– त्रिशुली र सुनकोशीबाट लिफ्ट प्रणाली प्रयोग गरी पानी बागमती, विष्णुमती, मनोहरा र हनुमन्तेमा प्रवाहित गरिनेछ । चोभारमा सोही प्रणालीबाट पानी प्रशोधन गरी पिउने पानीको रूपमा पनि प्रयोग गरिनेछ ।
– बागमती नदीको शिरदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गरिनेछ । नदीको दुवै किनारामा ५०÷५० मिटर ग्रिनबेल्ट निर्माण गरी कम्तीमा २५ स्थानमा पार्क निर्माण गरिनेछ । बागमती नदीमा २५ ठाउँमा बाँध हालेर ताल निर्माण गरिनेछ । विष्णुमती, मनोहरा र हनुमन्ते नदीको पनि सोही बमोजिम व्यवस्थित विकास गरिनेछ ।
– राजधानीका सबै सानाठूला नदी, तालहरू, तथा सबै किसिमका नालामा ढल र फोहोर पानी मिसाउन प्रतिबन्ध लगाइनेछ । सबै ढलबाट आउने पानीलाई प्रशोधन गरेर मात्र नदी, नाला र तालमा मिसाउने व्यवस्था गरिनेछ ।
– राजधानीमा दैनिक १० लाख बाह्य र आन्तरिक पर्यटक रहन सक्ने गरी आवश्यक पूर्वाधार विकास गरिनेछ ।
– राजधानीमा रहेका ऐतिहासिक तथा पुराताŒिवक संरचनालाई यथास्थितिमा भूकम्प प्रतिरोधक बनाई संरक्षित गरिनेछ । भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाको पूर्वावस्था अनुरूप भूकम्प प्रतिरोधक हुने गरी पुनःनिर्माण गरिनेछ ।
– राजधानीमा रहेका पुराना र जीर्ण संरचना भत्काई भूकम्प प्रतिरोधक र कलात्मक संरचना निर्माण गरिनेछ ।
– राजधानीलाई स्वच्छ, सुन्दर, आकर्षक र पर्यावरणमैत्री बनाउनका लागि विकसित विज्ञान र प्रविधिलाई प्रयोग गरेर हरेक चार महिनामा उपत्यका र वरिपरिका पहाडमा हिम वर्षा गराइनेछ ।
– फुल्चोकी, मृगस्थली, गोकर्ण र शिवपुरीका जङ्गललाई जोडिने गरी एकीकृत विकास गरिनेछ । यो क्षेत्रलाई खुला चिडियाखाना र पर्यटन केन्द्रका रूपमा विकास गरिनेछ ।
वैकल्पिक राजधानी विकास
काठमाडौँ उपत्यकामा नेपाल राज्यको उत्पत्तिदेखि अहिलेसम्म अनवरत राजधानी रहेको छ । जनघनत्व अत्यधिक बढेका कारण त्यहाँका जनतालाई राज्यले दिनुपर्ने सुविधा सुलभ उपलब्ध हुन सकेको छैन । राजधानीमा रहनुपर्ने सरकारी कार्यालय तथा अन्य महŒवपूर्ण केन्द्रीय कार्यालय व्यवस्थित हुन पनि सकेका छैनन् । योजनाबद्ध र व्यवस्थित शहरी विकास पनि हुन सकेको छैन । पर्यटकीय, पर्यावरणीय र भूगर्भीय दृष्टिकोणले महŒवपूर्ण र संवेदनशील रहेको काठमाडौँ उपत्यकाका अधिकांश संरचना पुनः व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको छ । यी सबै तथ्यले के प्रस्ट पार्छन् भने राजधानी विस्तार तथा सुधार गर्नैपर्ने अवस्था छ । राजधानीका ऐतिहासिक तथा पुराताŒिवक महŒवका संरचना, पर्यटन तथा वातावरणीय अवस्थाको संरक्षणका लागि पनि वैकल्पिक राजधानीको आवश्यकता देखिएको छ । त्यस किसिमको उपयुक्त स्थान चितवन र नवलपुर जिल्ला रहेका छन् । त्यहाँको समथल भूमि चारैतिर हरियालीले भरिएका सानाठूला पहाड पर्याप्त पानीको स्रोतका रूपमा रहेको नारायणी नदी र देशको बीच भागमा यसको अवस्थिति राष्ट्रको वैकल्पिक राजधानीका निम्ति उपयुक्त स्थल मान्न सकिन्छ । त्यसैले महाअभियानको शुरुमै चितवन र नवलपुर जिल्लाको क्षेत्रलाई वैकल्पिक राजधानीका रूपमा विकास गर्न गुरुयोजना निर्माण गरिनेछ । काठमाडौँ उपत्यकामा पुनःनिर्माण सम्पन्न गर्नुभन्दा पहिले राजधानी विस्तार क्षेत्रमा निर्माण गरिने स्याट्लाइट सिटीका साथै वैकल्पिक राजधानीमा जनतालाई स्थानान्तरण गरिनेछ । महाअभियानको तीन वर्षभित्र सम्पन्न हुने गरी वैकल्पिक राजधानी निर्माणको काम निम्नानुसार हुने प्रस्ताव छ ।
– चितवन र नवलपुर जिल्लामा रहेको सम्पूर्ण भूमिलाई भूउपयोग नीतिको आधारमा व्यवस्थित गरिनेछ । त्यसकै आधारमा गुरुयोजना बमोजिमका संरचना निर्माण गरिनेछन् ।
– यी जिल्लामा पर्ने वन्यजन्तु आरक्षण क्षेत्र, वनजङ्गल आरक्षण क्षेत्र तथा सामुदायिक वनको पूर्ण रूपले रक्षा गरिनेछ । कृषिका लागि आवश्यक पर्ने भूमि अतिक्रमण नहुने गरी व्यवस्थित गरिनेछ ।
– शहरका निम्ति अति आवश्यक पर्ने यातायात पूर्वाधारलाई प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाइनेछ ।
– चितवन र नवलपुर जिल्लाका विभिन्न स्थानमा वैकल्पिक राजधानीलाई आवश्यक पर्ने सम्पूर्ण संरचना एकीकृत रूपमा निर्माण गरिनेछ ।
– देवघाटदेखि त्रिवेणीसम्म नारायणी नदीको तटबन्ध गरिनेछ । त्यसैगरी नवलपुरको आरुङ खोलाका साथै सबै नदी तथा चितवनमा पर्ने राप्ती नदीलगायत यसका सबै शाखा नदीको तटबन्ध गरी व्यवस्थित गरिनेछ ।
– चितवन र नवलपुरका सबै जङ्गल सफारी तथा त्यहाँ रहेका अन्य सबै पर्यटन क्षेत्रको विकास र संरक्षण गरिनेछ ।
– सम्पूर्ण वन्यजन्तु आरक्षण क्षेत्रलाई प्राकृतिक चिडियाखानाको रूपमा विकास गरी नेपालकै विशेष आकर्षण केन्द्र बनाइनेछ ।
– उपयुक्त स्थानमा सबै सुविधासम्पन्न अत्याधुनिक प्रविधिले युक्त काठमाडौँको सिंहदरबारको नमुनामा केन्द्रीय प्रशासकीय भवन निर्माण गरिनेछ ।
– नारायणी नदीमा वर्षात्का बेला बाढी नियन्त्रण हुने गरी कालीगण्डकी र त्रिशुलीमा अग्ला बाँध निर्माण गरी जलाशययुक्त जलविद्युत् परियोजना निर्माण गरिनेछ ।
– नारायणी नदीमा प्रत्येक पाँच किलोमिटरमा बाँध हाली ताल निर्माण गरिनेछ । हरेक ताल माथि चार लेनका पुल निर्माण गरिनेछ ।
– नारायणी नदीलाई त्रिवेणीदेखि देवघाटसम्म जलयात्रा उपयुक्त हुने गरी विकास गरिनेछ । नारायणी नदी प्रवाहका लागि पाँच सय मिटर क्षेत्र छोडी दुवै किनारका एक सय मिटर क्षेत्रमा ग्रीनबेल्ट निर्माण गरिनेछ । साथै ग्रीनबेल्टसित जोडेर दुवै किनारामा छ लेनका सडक निर्माण गरिनेछ ।
– चितवन र नवलपुरका ग्रामीण क्षेत्रका सम्पूर्ण जनतालाई तीन वर्षभित्र नयाँ निर्माण गरिएका शहरमा स्थानान्तरण गरिनेछ । साथै काठमाडौँ उपत्यकामा विस्थापित हुने सबै परिवारलाई पनि यसै अवधिमा यिनै अत्याधुनिक शहरमा स्थानान्तरण गरिनेछ ।
– चितवन र नवलपुरका सम्पूर्ण कृषियोग्य भूमिमा चकलाबन्दी लागू गरिनेछ ।
– चितवन र नवलपुरका पहाडी क्षेत्रमा पनि भूकम्प र चट्याङ प्रतिरोधक, पहिरो र बाढीको खतराबाट मुक्त र सबै सुविधासम्पन्न संरचना निर्माण गरी स्याट्लाइट शहर विकास गरिनेछ ।
– वैकल्पिक राजधानी क्षेत्रलाई पूर्ण रूपले समेट्ने गरी आठ लेनका बाहिरी र भित्री दुई वटा चक्रपथ निर्माण गरिनेछ । चक्रपथका समानान्तर तथा पूर्व–पश्चिम दु्रत गतिका मेट्रोरेल सञ्चालन गरिनेछ ।
– हरेक स्टेसनमा सहकारी र सामूहिकतामा आधारित बहुतले सुपर मार्केट भवनहरू निर्माण गरिनेछन् ।
– सबै शहरमा विद्युत् र टेलिफोनका तार तथा सि.एन.जी ग्यास पाइप आदि सबै भूमिगत गराइनेछ ।
– सबै भवन तथा संरचना भूकम्प, चट्याङ र अग्नि प्रतिरोधक हुने गरी निर्माण गरिनेछ । हरेक २५ भवन समूहका बीच एक पार्क रहने गरी सबै किसिमका संरचना निर्माण गरिनेछ ।
– हरेक आवास क्षेत्रमा आवश्यकता बमोजिम बालउद्यान, बालगृह, ज्येष्ठ नागरिक आश्रम, सार्वजनिक पुस्तकालय, स्नान गृह तथा स्विमिङ पुल, शौचालय, इनडोर तथा आउटडोर खेलकुद संरचना, पार्किङ भवन, होटल, रेस्टुरेन्ट तथा मनोरञ्जन गृह निर्माण गरिनेछ ।
– न्यूनतम एक विश्वविद्यालयका साथै विभिन्न महाविद्यालय सञ्चालन गरिनेछ । यसका साथै विद्यालय, माध्यमिक विद्यालय सञ्चालन गरिनेछ । सबै तहका छात्रछात्रालाई अत्याधुनिक ल्यापटप निःशुल्क उपलब्ध गराइनेछ ।
– हरेक स्थानीय तहमा योगशाला र व्यायामशाला निर्माण गरिनेछ । सबै उमेर समूहका व्यक्तिका लागि बिहान–बेलुका योग र व्यायाम गर्ने नियम लागू गरिनेछ ।
– वैकल्पिक राजधानी क्षेत्रमा करिब एक करोड जनसङ्ख्या रहन सक्ने गरी संरचना विकास गरिनेछ ।
– वैकल्पिक राजधानीका हरेक शहर स्मार्ट सिटीको अवधारणामा विकास गरिनेछ । 

(नेकपा (एमाले) का नेता वामदेव गौतमको आज शनिवार विमोचित हुने पुस्तक नेपाल नवनिर्माण महाअभियानबाट उद्धृत सम्पादित अंश)

 

 प्रकाशित मिति: २०७४/९/१५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना