आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

pasupatiकाठमाडौँ, पुस १६ गते । “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिनुभयो । करिब ४० वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जानुहुने ७३ वर्षीय अर्याल शनिबार भने दुई महिनापछि पुग्नुभएको हो ।

शनिबार बिहानै पशुपति दर्शनमा जानुभएका बबरमहलका महेश अधिकारी भन्दै हुनुहुन्थ्यो, “मैले त जुत्ता चप्पल खोल्ने ठाउँदेखि नै सफा भएको महसुस गरेको हो, यी हेर्नुस् त मन्दिर उक्लिने सिँडीहरू टल्किएका छन्, भुइँमा कतै पनि धुलो या फोहरका पातपतिङ्गर देखिँदैन, माथि मूल मन्दिर परिसरको त झन् कुरै भएन, चारैतर्फका मूर्ति र बसाहा झलझली बलेका र उज्याला छन्– कतै बोल्लान् झैँगरी ।”
साँच्चीकै यतिखेर पशुपतिनाथ क्षेत्रको मुहार फेरिएको छ । बागमती किनारदेखि माथि मन्दिर र कैलाश चौरमुनिको भूभागमा धुलो, फोहर केही छैन भने साना मठ र संरचनामा पनि निकै चमक आएको छ । त्यसैले यतिखेर पशुपति क्षेत्रमा सरसफाइले रौनक छाएको छ । अर्याल भन्नुहुन्छ, “मैले कम्तीमा चार दशक पशुपतिनाथको दर्शन गरेर बिताएँ तर अहिलेजस्तो सफा यसअघि कहिल्यै पाएको थिइन ।”
मूल मन्दिरको उत्तरपूर्वमा रहेको सत्तलको सिँडीमा पुसको जाडोमा पनि एउटा सामान्य कमिज लगाएर ढुङ्गाको छपानी घोट्दै हुनुहुन्छ एक जना सफाइ मजदुर कुशल अधिकारी । उहाँ यो सफाइ कार्यको ‘सुपरभाइजर’ भए पनि अधिकांश आफै नै सफा गर्ने काम गर्नुहुन्छ । कस्तो लागिरहेको छ पशुपतिनाथ क्षेत्रको सफाइ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ– “जीवनमा यस्तो खुसीको अनुभव कहिल्यै भएको थिएन, अझ दर्शनार्थीले गरेको मायाको त झन कुरै नगरौँ ।”
अस्ति हामीले सफा गरिरहेको स्थानमा राति २ बजेतिर एक जना त्यस्तै ६० वर्षको जस्तो देखिने बुबा आउनुभयो र बाबुहरू लौ कफी खाउँ भन्नुभयो । हामीले पनि यसो हेरेको हामी पाँच जनालाई थर्मसमा कफी र प्लास्टिकको गिलास ल्याउनुभएको रहेछ । उहाँले पनि हामीसँगै खानुभयो । त्यति राति एक जना वृद्धले त्यसरी कफी बोकेर ल्याएको देखेर हामीलाई कस्तो अप्ठेरो लाग्यो । तर उहाँले भन्नुभयो– “तिमीहरूले यो पुण्यभूमिमा गरेको यो पुण्यकर्म देखेर म निकै प्रभावित भएँ र घरबाटै बनाएर ल्याएको हो, अप्ठेरो नमानी खानु ।” यसरी तीर्थालुले यहाँ गएको तीन महिनादेखि जारी सफाइ कार्यमा खटिएका सफाइ मजदुरलाई माया गर्ने गरेका छन् । सो क्षेत्रमा करिब तीन महिनादेखि सफाइको काम जारी छ । यो कसले र कसरी गरिरहेको छ भन्ने जिज्ञासा यहाँ पुगेका हरेक भक्तजनले राख्ने गरेका छन् । अधिकांशको भनाइ हुने गर्छ– ‘गरे के हुँदैन र, बाग्मती अहिले यस्तो सफा भयो अब भने पशुपति क्षेत्रले पनि मुहार फेर्ने भयो ।’
पशुपति क्षेत्रमा जारी सफाइबारे पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल भन्नुहुन्छ, “यो सरसफाइ खाली कुचो लगाउने र धुलो बढारेर छोड्ने मात्र होइन, अब सधैँका लागि हामी निरन्तरता दिने योजना बनाएका छौँ ।” म यहाँ एउटा प्रणालीको विकास गर्दैछु र यसले आगामी दिनमा म भए पनि या नभए पनि सदाका लागि यसले निरन्तरता पाओस् भनेर म लागि परेको छु– डा. ढकालको भनाइ छ । अहिलेको सफाइ देखेर प्रभावित भक्तजनको आगामी दिनमा पनि यस कार्यले निरन्तरता पाउँछ कि पाउँदैन भनी राख्ने गरेको जिज्ञासामा उहाँको यही जवाफ हुने गर्छ ।
सरसफाइमा विशेषज्ञता हासिल गरेको र अस्ट्रेलियामा मुख्यालय रहेको कम्पनी खेम्स क्लिनिङले यो सफाइको काम करिब तीन महिनायतादेखि गरिरहेको छ । अहिलेसम्म उसले स्वयम्सेवीका रूपमा पशुपति क्षेत्रको सफाइ गरिरहेको छ । यहाँ सो कम्पनीका ३७ जना सफाइ मजदुरले चौबीसै घण्टा काम गर्छन् । अहिलेलाई एक वर्षका लागि भनेर यो सफाइको काम सुरु गरिएको हो । उक्त कम्पनीले यसअघि त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको सफाइ गरेको थियो । नेपालका केही विमानस्थल, तीर्थस्थल, पर्यटकीयस्थल र सम्पदाको सफाइको काम सो कम्पनीले गरिरहेको छ ।
सोही विमानस्थलको सफाइको चर्चा सुनेपछि आफैले गई सो सफाइ हेरेर उक्त कम्पनीका खेम शर्मासँग अनुरोध गरी हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ क्षेत्रको सफाइका लागि अनुरोध गरेको र सोही कम्पनीले अहिलेसम्म सफाइ कार्य जारी राखेको डा. ढकाल बताउनुहुन्छ । उहाँले भन्नुभयो– “उहाँहरूको कामदेखि कोष निकै प्रभावित छ, स्वयम्सेवी रूपमा उहाँले यो पवित्र भूमिमा यस्तो पवित्रता थपिदिनुभएको छ कि अब हामी सबै मिलेर यो गुणस्तरलाई घट्न नदिई दिगो बनाउनु जरुरी छ ।”
उक्त खेम्स क्लिनिङका अध्यक्ष खेम शर्माले आफूले विमानस्थलमा प्राप्त गरेको सफलता र सबै नेपाली दाजुभाइ दिदी बहिनीको मायाले पशुपति क्षेत्रमा सफाइका लागि प्रेरणा मिलेको बताउनुभयो । “म अस्ट्रेलियाबाट नेपाल सफा गर्न आएको हुँ र विमानस्थलबाट प्रवेश गरेपछि जसरी सबै नेपाली विदेशबाट आएपछि पशुपति क्षेत्रमा जान्छन्, म पनि त्यहीँ पुगेको हुँ, यो पुण्यभूमिको सफाइले मलाई अत्यन्तै ठूलो खुसी प्राप्त भएको छ,” उहाँले भन्नुभयो ।
अहिलेसम्म स्वयम्सेवी रूपमा उहाँले यो काम गर्नुभएको छ । अध्यक्ष शर्मा भन्नुहुन्छ, “बाग्मती सफाइ अभियान्तासँग मिलेर मैले यो कार्यलाई निरन्तरता दिन सकेको छु ।” उहाँको यो कार्य देखेर काठमाडौँका एक बैङ्कले वर्ष दिनका लागि केही मजदुरको ज्यालाका लागि सहयोग गर्ने वाचा गरेको छ र केही दिनपछि त्यस सहयोग सम्झौतामा हस्ताक्षर पनि हुने भएको छ । तर, मलाई मैले कति लगानी गरेँ भन्नुभन्दा पनि पशुपतिनाथ क्षेत्रजस्तो पवित्र स्थानलाई सफा गर्ने काममा यतिधेरै सफलता मिल्नु र बागमती सफाइका अभियन्ताका साथै कोष र सबै भक्तजनबाट यति धेरै माया प्राप्त हुनुलाई जीवनको एउटा ठूलो सफलताका रूपमा हेरेको उहाँको भनाइ छ ।
बागमती सफाइका एक जना अभियन्ता तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेल भन्नुहुन्छ, “अहिले पशुपतिनाथ क्षेत्रभित्र निकै सफा भएको छ, अहिले नै एक हिसाबले भन्ने हो भने पशुपतिनाथ मन्दिर परिसर धुलोरहित बनेको छ ।”
“पशुपति परिसर तथा आर्यघाटतर्फ पनि ढुङ्गा खिया परेको थियो भने भुइँमा रहेको चिप्लो मयल र कालो पैतालामा टाँसिने गथ्र्यो तर अहिले त्यस्तो छैन, सबैतिर सफा भएको छ । यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ भनेर हामी लागि परेका छौँ”, उहाँले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना