नेपाली काँग्रेस पुनर्जागरणको कार्यदिशा

hom raj dahalहोमराज दाहाल

 

नेपाली काँग्रेसले वि.सं. २०७४ वैशाख, जेठ र असोजमा सम्पन्न स्थानीय निर्वाचन, २०७४ साल मङ्सिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचमा पराजय बेहोरेको छ । सो परिणामले नेपाली काँग्रेसका नेताहरु कार्यकर्ता एवं शुभेच्छुक निराश छन् । लोकतान्त्रिक प्रणालीको जीवन्तता र सुदृढीकरण रहेसम्म नेपाली काँग्रेस पुनः जनताद्वारा अनुमोदित भई विजयी भई पाँच वर्षपछि हुने निर्वाचनमार्फत प्रथम राजनीतिक शक्ति एवं दल बन्न सक्छ । त्यसका लागि काँग्रेसभित्र पुनर्जागरण र नयाँ योजना ल्याउनु आवश्यक छ ।
लोकतान्त्रिक मुलुकमा आवाधिक निर्वाचन भइरहन्छन् । प्रतिनिधिमूलक लोकतन्त्रमा सार्वाभौम जनताद्वारा निर्वाचित जनप्रतिनिधिको निर्वाचित संस्थाले ती जनताको तर्फबाट वैधानिक शासन गर्छन् । यस्तो आवाधिक निर्वाचनको परिक्रमा र चक्रको यथार्थलाई हृदयगंम गर्दै जानु लोकतान्त्रिक दल नेपाली काँग्रेस र यसका नेता कार्यकर्ताको जिम्मेवारी हो ।
हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको मत परिणाम सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फका प्रतिनिधिसभाको कुल १६५ सिटमा नेपाली काँग्रेस
(ने.का) ले मात्र २३ सिटमा विजय हासिल गरेको छ । सत्तारुढ पार्टीका लागि यो परिणाम लज्जास्पद हुन गएको छ । ने.काका नेतादेखि उदीयमान र आशालाग्दा युवा नेतासम्म पराजयबाट बढारिदा कुन काँग्रेसीको मन नरोएको होला ?
यस्तो पराजयको अवस्थामा हाम्रा मतदाताले हामीप्रति नै कठोर आक्रोश र लान्छना लाइरहेका छन् । मानांै युद्धमा पराजित सेनापति उपर उनकै घरमा आफन्तले गर्ने अपमानित व्यवहारजस्तो हाम्रो अवस्था भएको छ । अथवा अन्तर्राष्ट्रिय खेलमा पराजित खेलाडी स्वदेश फर्किंदा उनीहरुप्रति खेलप्रेमीले गर्ने गाली गलौजजस्तै हाम्रा मतदाता शुभेच्छुक, इलेक्ट्रोनिक र प्रिन्ट मिडियामा अझ फेसबुक, ट्वीटर, अनलाइन जस्ता सोसल मिडियामार्फत व्यक्त कठोर प्रतिक्रियाले प्रहार भइरहेको पाउँछांै । यी सबै घटना पराजयपछिको गम्भीर दिशाहीन र क्षणिक आक्रोश हो भनी ठान्नु गलत हुनेछ । नेपाली काँग्रेसको आन्तरिक व्यवस्थामा आएको अव्यवस्था र अकर्मन्यता, विपक्षीको एकता र प्रहार एवं सरकार सञ्चालनबाट जनतामा पलाएको आशाको सट्टा निराशा पराजयका प्रमुख कारण हुन गएका छन्  । 
निर्वाचमा पराजय
कुनै पनि राजनीतिक विजय वा पराजय एकै दिनको घटना वा एउटै निर्णयले मात्र सम्भव हँुदैन । हालको पराजय पनि राजनीतिक झागिँदै गएको प्रभावको परिणाम हुन गएको छ । सारा प्रयत्न, प्रयास र गतिविधिको बावजुद परिणाम उल्टो भएको छ । परिणाम आउनुको पछाडिको पृष्ठभूमिको प्रस्थान विन्दु वि.सं. २०४६ को जनआन्दोलन र त्यसको उपलब्धिलाई लिनुपर्छ । सो प्रथम जनआन्दोलनको सफलतापछि राजनीतिक शक्ति सन्तुलनमा राजतन्त्र, नेपाली काँग्रेस र कम्युनिष्ट शक्ति गरी त्रिपक्षीय आयाम रहन गए । तर २०५२ सालबाट शुरु भएको माओवादी विद्रोहले सो शक्ति सन्तुलनलाई विचलित तुल्यायो । अन्तत २०६२÷६३ को जन आन्दोलनपछि राजनीतिक शक्ति सन्तुलनमा माओवादीको प्रमुखमध्ये एक भूमिका रहन गयो भने राजतन्त्र समाप्त भयो । अन्तत ने.का, एमाले र माओवादीको प्रमुख शक्ति सङ्घर्षमा हालको निर्वाचनमा एमाले र माओवादी एकताले ने.का. सत्ता पक्षबाट जनादेशअनुसार विपक्षी बेन्चमा आसीन हुन पुग्यो  ।
निर्वाचनमा पराजयको पृष्ठभूमिमा निर्वाचन अगाडि नै आशङ्का गरिएजस्तै परिणामले यथार्थ बोध गराएको छ । ने.का.ले हारलाई लोकतान्त्रिक चरित्रअनुसार स्वीकार गरेको छ । संवैधानिक, कानुनी, निर्वाचन नियम र नियमावली एवं प्रक्रियाअनुरुप विजयी कम्युनिष्ट गठबन्धनका नेतालाई प्रधानमन्त्री पद हस्तान्तरण गरी काँग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकाका लागि तयार हुनेछन् ।
प्रतिनिधिसभा, राष्ट्रियसभा र ७ वटै प्रदेश सभामा ने.का. सत्ता पक्ष हैन विपक्षी बेन्चमा रहनेछ । आगामी दिनमा ने.का जस्तो लोकतान्त्रिक पार्टीलाई सम्मान गर्दै एमाले र माओवादीले सुशासन कायम गरे भने देशमा स्थायित्व हुनेछ । ने.का ले रचनात्मक भूमिका खेल्नेछ । यदि उनीहरुले लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार गर्दै कम्युनिष्ट तानाशाही र सर्वसत्तावादी राजनीतिक दुस्साहस गरे भने देश ठूलो राजनीतिक सङ्कटमा फस्नेछ । उनीको कार्यउपर सचेत हुँदै अगाडि बढ्नु ने.का.का लागि उचित हुनेछ ।
वि.सं. २०७४ मा शुरु भएको निर्वाचन प्रक्रिया प्रतिनिधिसभाको गठन सँगसँगै समापन हँुदैछ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा एवं राष्ट्रियसभामा पराजय भएको छ । यसको जिम्मेदारी नेतृत्वले लिने नै छ । पार्टी सभापति एवं प्रधानमन्त्री, वरिष्ठ नेता, केन्द्रीय समिति, जिल्ला समिति सामूहिक रुपले हारका जिम्मेदार छन् । मूलरुपमा मूल नेतृत्व र केन्द्रीय समितिले जिम्मेदारी लिनु उचित हुन्छ  ।
पुनर्जागरण सम्भव छ ?
एमाले र माओवादीले ६०।४० को भागबन्डा गरी उम्मेदवार उठाएकोले ने.का. पराजित बन्न पुग्यो । समानुपातिकतर्फ एमालेभन्दा करिब ४५ हजार १०५ मतले ने.का.पछि परेको छ । तसर्थ समानुपातिकतर्फ एमालेले ४१ र काँग्रेसले ४० सिटमा प्रतिनिधिसभामा निर्वाचित हुनेछन् । यसरी प्रतिनिधिसभामा कुल सिटमा एमाले, ने.का., माओवादी, राजपा र संसफो क्रमश प्रथमदेखि पाँचांै शक्ति हुनेछन्  ।
ने. का.का लागि पुनर्जागरण सम्भव छ भन्ने सकरात्मक उत्तर दिन जति सजिलो छ । यथार्थमा उतार्न भने ठूला चुनौती पार गर्नुपर्नेछ । तत्कालका लागि ने.का.ले आफ्नो आन्तरिक पार्टी जीवनलाई व्यवस्थित गर्नु पहिलो कार्य हुनेछ । विचार, विश्लेषण र नेतृत्वका दृष्टिले छरपष्ट र विशृङ्खलित अवस्था छ । गम्भीर विश्लेषण, ठण्डा दिमाग र अन्तरदृष्टि युक्त अध्ययन गर्नुपर्छ । केही सत्यता छन् । तीनलाई स्वीकार गर्नुपर्छ । केही आरोप छन् तीनलाई चिरफार गर्नुपर्छ । सत्यको नजिक पुग्नुपर्छ । पार्टी जीवनलाई पुनर्ताजगी दिने खालको योजना आउनुपर्छ । आम कार्यकर्ता र मतदातालाई विश्वास दिलाउँदै एकताबद्ध राख्नुपर्छ ।
अब काँग्रेसले कस्तो कार्य दिशा लिनेछ । यो गहन प्रश्नको उत्तर आजको समयको मुख्य माग हो । निराशा र विचलन त कमजोर र काँतर स्वभावका उदाहरण हुन् । तसर्थ राजनीतिक विचलन र असन्तुलन आउन दिनुहुन्न । अबको काँग्रेसको नीति, कार्यक्रम, मार्गदर्शन, अविचलित, सन्तुलित र समझदारी युक्त निडर एवं दूरदृष्टिले भरिपूर्ण हुनु उपयुक्त हुनेछ ।
ने.का.को पराजय विश्व राजनीतिक मञ्चमा नै उदेकलाग्दो भएको छ । यो पराजयभन्दा पनि ठूलो आश्चर्य त कम्युनिष्ट गठबन्धनको दुई तिहाई नजिकको जितको खबरले विश्व थप उद्वेलित भएको छ । एशिया महादेशको दक्षिण एशियाभित्रको भारत र चीनजस्ता विशालमित्र राष्ट्रको बीचमा अवस्थित भूराजनीतिक हिसाबले रणनीतिक महìवले हेरिने नेपालमा कम्युनिष्ट मतले करिब ४७ प्रतिशत हुुनु र दुई कम्युनिष्ट पार्टी एकताबद्ध भई लोकतान्त्रिक शक्तिलाई पराजित गर्नु उदेकलाग्दो यथार्थ भएको छ  ।
माथिका राजनीतिक वास्तविकतालाई संयमतापूर्वक ग्रहण गर्दै पराजयबाट पाठ सिक्नु, प्रमुख प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नु अहिलेको आवश्यकता भएको छ । वि.सं. २०४६ को प्रथम जनआन्दोलनसँगैको सहयात्री कम्युनिष्टले २०७४ सालमा आईपुग्दा नेपालको राजनीतिमा प्रभावयुक्त शासन गर्ने क्षमता बुलेटबाट हैन ब्यालोटबाट प्राप्त गरेका छन् । कम्युनिष्टको लोकतान्त्रिक मार्गबाट सत्तारोहणलाई आत्मसात गर्दै उनीलाई पूर्णरुपेण लोकतान्त्रिकरणतर्फ डो¥याउनु ने.का.को र लोकतन्त्र दुवैको भविष्यका लागि सही मार्ग हुनेछ । यस्तो कार्य गर्दै गर्दा नेतृत्वले आफ्ना कमीकमजोरी स्वीकार्दै पार्टीभित्र वैधानिक उच्चतम निकायदेखि स्थानीय तहसम्म सकरात्मक र सुधारोन्मुख बहस चलाउँदै नयाँ ढङ्गले पुनर्जागरण यात्रा आरम्भ गर्नुपर्छ ।

प्रकाशित मिति: २०७४/९/१६

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना